खोइ युवा कता छन् ?

आज मुलुक अत्यन्तै जटिल मोडमा गुज्रिरहेको सर्वविदित नै छ  । यस्को जिम्मेबार राजनीतिक दलका अतिरिक्त हामी युवा पनि हो  भन्दा फरक नपर्ला । हामीलाई थाहा भएकै कुरा हो यो मुलुक राजनीतिक दलहरुको अकर्मन्यताका कारण देश लथालिङ भएको छ । हिजो पञ्चायती व्यवस्थाको अन्त्य देखि मुलुकमा विदेशी दलालहरुको हैकम चलिरहेको सबैलाई थाहा भएको नै हो । हाम्रो देशको स्वाभिमान कसरी गुमेको छ तर हामी युवा किन मौन छौं ? के यही बेथिति देख्न पञ्चायती व्यवस्थाका विरुद्ध हामी आन्दोलन गरेका थियौं ? परिवर्तनपछिका यतिका वर्ष हामीले के पायौं ? बढ्दो महंगी, कालोबजारी, शून्य विकास, युवा गाउँमा देख्नै मुस्किल छ के यस्तै देख्न हामीले यी राजनीतिक दलका झोले भएका थियौं ?

पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्दा बखत हाम्रा पिता पूर्खाहरुले साथ दिएकै हुन्, राज्य एकीकरणको विरुद्ध लड्ने हाम्रा पिता पुर्खाहरुले बहादुरी साथ नै लडेका थिए भन्ने इतिहासले पुष्टि गरिसकको छ्र । गोर्खाली भन्ना साथ संसार काँप्थ्यो । सबैलाई थाहा छ हामी तिनै पिता पूर्खाका सन्तान हौं । न कसैसँग झुक्न जान्यौ न डग्न जान्यौं । तर आज देशमा यस्तो अवस्था आउँदा किन मौन छौं ? हिजो हाम्रा पिता पुर्खाहरुले यो देशको लागि रगत बगाएको ईतिहास भुलिसक्यौं ?

मुलुक प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा प्रवेश गरिसक्यो हामी युबा राजनीतिक दलका पछाडि लागेर परिवर्तनका सम्वाहक बनेर आन्दोलन गर्यौं, खोइ के पायौं ? देशले के पायो ? नेताहरुले फलाक्ने गरेको भाषा अहिले त्यही पुराना बेथितिको अन्त्य गर्छौं भन्ने होइन ? खोइ त यत्तिका वर्ष के गर्दैछन् दलहरु ? सत्ता प्राप्ति मात्र हो त उनिहरु को लक्ष्य ? लोकतन्त्र स्थापनाको दश वर्ष पुगेर ११ औं वर्षमा लागेको छ । तर यतिबेला प्रश्न उठेको छ, लोकतन्त्र स्थापना पछि जनताले के पाए त ? यो प्रश्नमा जनताले अभाव, महंगी र कष्ट बाहेक केही नपाएको जवाफ पाइन्छ । अहिले सार्वजनिक कार्यक्रममा नेताहरुले लोकतन्त्र र आर्थिक समृद्धिका कुरा गर्न छुटाउँदैनन् । तर, अवस्था कस्तो छ भने लोकतन्त्र बहाली पछि पनि बालबच्चा र आफ्नो पेट भर्नकै लागि तीस लाख युवा विदेशिइ सकेका छन् । गाउँ रित्तिएका छन् । भ्रष्टाचार बढ्ने र महंगीले जनताको ढाड सेकिरहेको छ । जनताले विश्वास गरेका नेताहरुको कद घटिरहेको छ । सहिद तथा घाइतेहरुको आक्रोश चुलिंदो छ जसका कारण लोकतन्त्रप्रति निरासा र असन्तुष्टि बढ्दै गएको छ ।

पञ्चायती व्यवस्थाको अन्त्यसँगै देशमा भएका उद्योग, कल कारखाना राजनीतिक भर्ती केन्द्र बनाएर ध्वस्त पारे । रोजगारीको अवसर छैन, गाउँ घर युवाविहिन अवस्थामा छन्, खोइ हाम्रा धरोहर हेटौंडा कपडा उद्योग ? बासँबारी छाला उद्योग ? ट्रली बस ? हेटौंडा टेकु रोपवे जनकपुर चुरोट, वीरगंज चिनी कारखाना, कृषि औजार कम्पनिजस्ता उद्योग कता पुगे युवा मित्रहरु के हामी खोजी गर्ने कि तिनै नेताहरुको झोले बन्ने हो सोच्ने बेला भैसक्यो ? रोजगारीको अवसर नपाएर हजारौं युवा विदेशमा रगत, पसिना बगाउन बाध्य छन ।
हामी को हौं ? कसका पछाडि लगेका छौं ? तिनीहरुले देशलाई कस्तो अवस्थामा पुर्‍याए ? बिचार  गर्नुपर्ने अवस्था आइपुगेको छ मित्रहरु  । अझै पनि हामी युवा राजनीतिक दलहरुका पछाडि झोले भएर हिंड्ने ? उनीहरुको पछाडि लगेर राष्ट्रिय स्वाभिमान गुमाउने खेल मा लाग्ने, हमी युवाहरुलाई सबै कुरामा समय मिल्छ तर देशको लागि समय मिलाउँदैनौ किनकी हामी कसका सन्तान हौं भन्ने कुरा पनि बिर्सिसक्यौं होइन र ?
यो देश हाम्रा पिता पुर्खाले रगत पसिनाले बनाइदिएको हो यसलाई जोगाउने कर्तब्य हाम्रो हो । अब राजनीतिक दलहरुका पछाडि लागेर हुँदैन युवामित्रहरु हामी एक भएर यिनीहरुको स्वाभिमान गुमाउने कार्यका विरुद्ध नागरिक खबरदारी गर्नु आजको आवश्यकता हो । धेरै ढिला भैसक्यो मित्रहरु, हामीले अहिलेदेखि नागरिक खबरदारी नगरे हिजोको जस्तै कोशी, गण्डकी, माहाकाली, सुगौली जस्ता राष्ट्रघाती सान्धि सम्झौता नहोलान् भन्न सकिंदैन । अहिले पनि यिनीहरुका बिरुद्ध नागरिक खबरदारी गर्न नसके यहाँ लेन्डुप नजन्मिएला भन्न सकिंदैन । सिमा अतिक्रमण हुँदा दलहरु मौन, देशका खोला नाला बगाइसके दलहरु मौन, कल कारखाना सकिसके दलहरु मौन, अब पनि झोले बन्ने ?

युबा मित्रहरु, हामी सलाईका काँटी हौं, यसलाई सही प्रयोग गरे आगो बल्छ, दुरुपयोग भयो भने डँढेलो लाग्छ तर अज किन मौन छौं हामी ? आउनुहोस्, मौनतामा क्रमभंग गरौं, एक होऔं, हामी मिलेर यी राजनीतिक दलहरुका विरुद्ध नागरिक खबरदारी गरौं, अब हामी “राष्ट्रिय स्वाभिमानको रक्षार्थ नागरिक खबरदारी” भन्ने मूल नारा लिएर अगाडि बढौं । स्वाभिमानी नेपाली बनौं, यही आज को आवश्यकता हो ।

–मिलन शमशेर रोका
अध्यक्ष, स्वाभिमान युवा प्रतिष्ठान नेपाल

SHARE THIS

Author:

Facebook Comment