जनसम्पर्क र जनसम्बन्ध असल शासन, प्रशासनको माध्यम

– सन्तोषकुमार मिश्र– 
राजनीतिक दल, सरकार, प्रशासन, उद्योग व्यवस्थापन लगायत सबै क्षेत्रमा जनसम्पर्कको खाँचो पर्दछ । आजको युग सूचनाको युग हो । बास्तविक सूचना जनताको तह बाट प्राप्त हुन्छ । जन गुनासो एउटा सशक्त मार्ग दर्शन हो । जन चर्चाले सतर्क र सजग गराउँछ । हावा नलागी पात हल्लिदैन भने झैं घर, परिवार, समाज र देशमा केही नभएसम्म जन चर्चा हुँदैन । कहिले काँही भ्रामक कुराको पनि हल्ला चल्छ । यस्तो हल्लाले पनि धेरै कुरा सिकाउछ । हिजोआजको आधुनिक शिक्षामा ‘जनसम्पर्क’ विषयको अध्यापन गराइन्छ । जनसम्पर्क सूचना अधिकृतका लागि अनिवार्य आवश्यकता हो । आजको विश्व असल सूचनाकै भरमा टिकेको छ । कहिले काँही फैलिने गलत, भ्रामक, कपोकल्पित हल्लाले ठूलो समस्या पैदा गर्न पुग्दछ । नेपाल सरकारको सबै कार्यालयमा हिजो आज सूचना अधिकृत, जनसम्पर्क अधिकारीको ब्यवस्था गरेको छ । सूचनाको हक नेपाली जनताको नैसर्गिक अधिकार बनेको छ । नेपाली जनताले जान्न पाउने अधिकार र सूचना जुनसुकै निकायमा पुगेर माँग्न सक्दछन । आवश्यक सूचना दिनु पर्ने कानूनी ब्यवस्था नै गरिएको छ । जनसम्पर्क अधिकारीको हिजो मात्र सबै ठाउँमा माँग छ । पत्रकारिता क्षेत्रका लागि जनसम्पर्क आवश्यक र अभिन्न तत्व हो । जुन संचार गृहको राम्रो जनसम्पर्क छ उसले विश्वसनिय, सन्तुलित र तथापुरक समाचार प्रशारण, प्रकाशन गरेरै पाठकहरुको मनजित्न र आफ्नो जिम्मेवारी र दायित्व निर्वाह गर्न सक्दछ । जन सम्पर्क र जन सम्बन्ध असल शासन, प्रशासनको माध्यम भएकोले सरकार र प्रहरीले जनसम्पर्कलाई विशेष महत्व दिएको छ । जनसम्पर्कका लागि प्रकाशनको ज्ञान, मिडिया ज्ञान, लेखन, समन्वय गर्न सक्ने, आकर्षक व्यक्तित्व कला, सीप, अनुभव, सबै गुण हुनु पर्दछ । जनसम्पर्कको क्षेत्रमा लागेका व्यक्तिहरुले एकैसाथ धेरै ज्ञान र जानकारी राख्नु पर्दछ । स्मरण शक्ति बलियो, तृक्ष्ण बुद्धि हुनु आवश्यक पर्दछ । तालिम र प्रशिक्षण बिना योग्य र दक्ष जन सम्पर्क अधिकृत कोही पनि हुन सक्दैन । दक्ष एवं व्यवसायिक जन सम्पर्ककर्मीको नियुक्ति जुन संख्यामा छ त्यो संस्था बिवादमुक्त र जवाफदेही भएको पाइन्छ । संस्थागत विकासका लागि, असल व्यवस्थापनका लागि जनसम्पर्क अभिन्न अंग नै हो । सरकार र पुलिसले बाहिरी सूचना प्राप्त गर्न सिआइडीको व्यवस्था गरेको हुन्छ । सिभिल ड्रेसमा हिंडने त्यस्ता व्यक्तिहरु रहश्यमय हुन्छन्, सजिलैसँग पहिचान गर्न सकिदैन । राजनीति र कुटनीति क्षेत्रका महत्वपूण सूचना जन सम्पर्ककर्मीले लिएर तहल्का मच्चाउन सक्दछन । आवश्यकता, परिवेश र सन्दर्भअनुसार जनसम्पर्क नीति तथा कार्यक्रम बनाउनु पर्दछ जुन चुनौतीपूर्ण हुन्छ । समयमा नै उपलब्ध सहि सूचनाले ठूला ठूला घटना, दूर्घटना हुन रोक्न सक्दछ । जनसम्पर्कको आवश्यकता महत्व र क्षेत्र ठूलो छ । जुन पार्टीको जन सम्बन्ध बलियो छ त्यो पार्टी दीगो हुन्छ, जुन सरकारको असल जनसम्पर्क छ त्यसले राष्ट्रलाई निकै फाइदा पुर्‍याउन सक्दछ । अहिले विज्ञान र प्रविधिको युगमा जन सम्पर्कमा नयाँ आयाम थपिएको छ । प्रत्यक्ष टेलीफोन, इन्टरनेट एवं सोसल मिडिया, मेला जनसम्पर्कका लागि उपयोगी हुन्छन । संस्थाका काम कारबाही लक्षित वर्गसम्म पुर्‍याउने सशक्त माध्यम जन सम्पर्क र सहयोग नै हो ।

SHARE THIS

Author:

Facebook Comment