प्रधानमन्त्रीको भारत भ्रमण: आत्मग्लानी कि आत्म स्वाभिमान ?


सन्तोष मिश्र
नेपाल–भारत सम्बन्धमा प्रशस्त भय र भ्रम छन् । भारतको विस्तारवादी नीतिले नेपालले खुम्चँदै जानुपर्ने र नेपालको शासनसत्ताको नेतृत्व लिनेहरूले सदासर्वदा आत्मसमर्पण गर्नुपर्ने बाध्यता छ । भारतको आशीर्वाद बिना शासन सत्तामा पुग्न र टिक्न नसक्ने अवस्था छ । नेपाल–भारतबीचको यथास्थितिको सम्बन्धमा क्रमभंग गरेर नयाँ असल कुटनीतिक सम्बन्ध कायम गर्न सक्ने इमान्दार, देशभक्त, क्षमतावान नेतृत्व देखा पर्न सकेको छैन ।

यतिखेर नेपाल–भारतबीचको बिग्रिएको सम्बन्ध कडा चुनौतिका साथै समयानुकूल नयाँ र नौलो सम्बन्ध कायम गर्न सक्ने अवसर पनि बनेको छ । अहिले नेपाल र भारतबीचको सम्बन्ध नराम्रोसँग बिग्रिएको छ र पुरानो यथास्थितिको सम्बन्धको क्रमभंग गरी उत्कृष्ट सम्बन्ध विकास गर्न आवश्यक छ ।

नेपालको राष्ट्र, राष्ट्रियता र विकासकालागि नेपाल–भारत सम्बन्धमा रहेका अनेकौं विकृति, विसंगति, गलत चिन्तन र व्यवहार हटाउन र सच्याउनु पर्दछ । भारतीयकरण, सिक्किमीकरण र भुटानीकरणको खतराबीच नेपाल बाँच्ने कि स्वतन्त्र र स्वाधीन राष्ट्रको आधारमा बाँच्ने ? यो चुनौतीलाई स्पष्ट रुपमा सामना गर्न सक्नु पर्दछ । नेपाल भारतको अद्र्ध उपनिवेशका रुपमा रहेको छ । भारतको नियन्त्रण र प्रभावमा नेपाल टिकेको छ । नेपालको आन्तरिक मामिलाका ससाना कुरामा पनि भारतको निर्देशन, हस्तक्षेप, नियन्त्रण र प्रभाव रहँदै आएको छ ।

न नेपाल स्वतन्त्र छ, न नेपाली जनता स्वाभिमानी बन्न पाएका छन् । नेपालको स्वाधीनता हरबखत संकटमा छ । नेपालले भारतलाई हेर्ने नीति कुनै पार्टी वा नेताको स्वार्थ वा सत्ता स्वार्थमा केन्द्रित हुँदै आएको छ । अहिलेसम्म राजनीतिक दल र नेताहरूले आफ्नै स्तरमा मात्र सम्बन्ध विकास गरेका छन् । यो नै गलत नीति र व्यवहार हो । यस्तो नीति र व्यवहार कायम रहेसम्म नेपाल–भारत सम्बन्ध सुध्रिन र नयाँ आयाम थप्न सकिंदैन । अब प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भारतीय पक्षको मध्यस्थता स्वीकार गरिनु हुँदैन । राष्ट्र–राष्ट्रबीचको सम्बन्धको दायरामा दुबै देश रहनु पर्दछ ।

प्रष्ट छ, भारतले २००७ सालदेखि २०४६ साल, २०६३ साल हुँदै मधेश आन्दोलन हुँदासम्म आन्दोलनमा जसरी भूमिका खेल्यो, श्रेय लियो, लिन खोज्दैछ । देशमा विद्यमान समस्या समाधानको जश भारतलाई दिने गल्ती अब गर्नु हुँदैन । बिगतमा जे भयो, भयो । त्यसबाट पाठ सिकेर अब उप्रान्त एक्काइसौं शताब्दीलाई सुहाउँदो दुबै देशबीच कुनै पनि दोषा–दोष र विवाद नहुने, दुबै देशको साझेदारी, नयाँ र दिगो विश्वास कायम हुने सम्बन्ध हुनु पर्दछ ।

नेपाल–भारत सम्बन्ध अनिवार्य रुपमा पुनरावलोकन हुनु पर्दछ र नयाँ शीराबाट नयाँ सम्बन्ध कायम हुनु पर्दछ । त्यस्तो वातावरण बनाउन तराइ–मधेश, पहाड र हिमालका जनताहरूले एकता कायम गरी अघि बढ्नु पर्दछ । नेपाली–नेपालीबीच आन्तरिक कलह भएसम्म छिमेकीको चियो चर्चो र हस्तक्षेप रहिरहन्छ । नेपाली राष्ट्रियता कमजोर र असफल हुन नदिन नेपालीहरूले नै चिन्ता र चासो लिनु पर्दछ । नेपाल भारत सम्बन्ध सुदृढ बनाउन भनेर आजसम्म थुप्रै सहमति, सम्झौता र सन्धि भएका छन् तर तिनीहरूलाई औंल्याउँदा सबै असमान छन्, भारतीय विस्तारवादको चाहना मुताबिक छन् ।

नेपाल–भारतबीच पटक–पटक आर्थिक नाकाबन्दी रहेको र नेपाललाई दु:ख र सास्ती दिने काम निरन्तर रहेको पाइन्छ । नेपाल–भारत सम्बन्धको जग नै भत्किएको छ । नयाँ जग नबनेसम्म नेपाल–भारत सम्बन्ध निर्माण हुन सक्दैन । पछिल्लो पटक मधेश आन्दोलनका कारण उत्पन्न आन्तरिक असुरक्षाको कारण देखाइ भारतले नेपालमा व्यापार तथा पारवहनमा जुन असहजता कायम गर्‍यो त्यसले गर्दा सिंगो नेपालका सम्पूर्ण नेपाली जीवन मरणको दोसाँधमा रहन बाध्य भए । ऐतिहासिक दु:ख सास्ती खेप्नु पर्‍यो । नेपाल कति परर्निभर बन्दै गएको रहेछ, नेपालको स्वाधीनता, नेपालीको स्वाभिमान र नेपाली राष्ट्रियताको कस्तो अवस्था रहेको रहेछ भन्ने छर्लङ्ग भयो । असक्षम नेतृत्वका कारण नेपाल अविकसित भएको र नेपाल–भारत सम्बन्ध अब साविक अवस्थामा रहन नसक्ने प्रमाणित भयो ।

एउटा संक्रमणकाल र विषम परिस्थितिमा नेपालको नयाँ संविधान निर्माण र जारी भइसकेपछिको पहिलो नेतृत्वको भारत भ्रमण हुँदैछ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री खड्ग अर्थात केपी शर्मा ओलीको भारत भ्रमण निरासा वा उत्साह के मा परिणत हुने हो ? ओलीको भारत भ्रमण आत्मग्लानी वा आत्मस्वाभिमान वा आत्मसमर्पण केमा परिणत हुने हो ? यो अहिले अनुमान बाहिर छ ।

नेपाली राष्ट्रवादको पक्षमा नेपालको सर्वोपरी राष्ट्रिय स्वार्थको जगेर्ना गर्न नेपाली जनताको साथ र समर्थनमा दरिलो रुपमा प्रधानमन्त्री ओलीमाथि छ । नेपाल र नेपालीको स्वाभिमान र गौरवको रक्षा गर्ने सहाराका रुपमा रहेका केपी ओलीले खुट्टा नकमाइकन आफ्ना जायज अडान भारतसँग राखेर आउन सके भने त्यो उत्तम हुनेछ । आफ्नो सत्ता स्वर्थ टिकाउन आत्मसमर्पण गरेर आए भने त्यो बिडम्बना, दुर्भाग्य र नियति बन्ने छ ।

ओलीको भारत भ्रमण कोशेढुंगा साबित हुने हो कि रच्छ्यानमा फालिएको ढुंगा हुने हो त्यो केपी ओलीको कार्यशैली र प्रतापमा भर पर्दछ । नेपालले आफ्नो स्वाधीनता रक्षामा हार्न र असफल हुनु हुँदैन । भारतको स्वार्थरहित समानतामा, साझेदारीमा आधारित सम्बन्ध नेपालाई चाहिएको छ । नेपालको कुटनीतिक सम्बन्ध भारत र चीनसँग सन्तुलित हुनु पर्दछ । नेपाल भूमि दुबै छिमेकी राष्ट्रका विरुद्ध प्रयोग हुनु हुँदैन । नेपाल भूमिमा नेपालका केही दलाल नेताहरूका कारण युरोपेली महासंघको नियन्त्रण, प्रभाव, चिन्ता र चासो बढ्दै गएकाले नेपालसँग भारत र चीन यतिखेर दुबै चिढिएका छन् । नेपालको आन्तरिक राजनीति र भारत र चीनसँगको कुटनीति दबै असफल छ । भारत भ्रमण केपी ओली सरकारको अग्निपरीक्षा हो । भारत भ्रमणपछि नेपालमा शान्ति र विकासको अवस्था, नेपाली जनताको दैनिक जीवन कस्तो हुने हो भन्ने कुरामा विभिन्न अड्कलवाजी भइरहेका छन् । भारतपरस्त भएर नेपालको स्वतन्त्र अस्तित्व जोगाउन सकिंदैन भन्ने एकथरी छन् भने भारतपरस्त नभइकन नेपालको शासनसत्ता टिकाउन सकिंदैन भन्ने अर्काथरी छन् । यसैमा निर्णायक भूमिका निर्वाह गरी नेपालको राष्ट्रवादमा सन्तुलन कायम गर्नु पर्दछ । खोक्रो, अन्ध र नक्कली राष्ट्र राष्ट्रवाद होइन, गतिशील स्पष्ट राष्ट्रवाद हुनु पर्दछ ।

भारतले विस्तारवादी नीति अन्तर्गत पटक–पटक शासक–शासकबीच मनमोटाव, मतभिन्नतालाई लिएर दु:ख दिने काम छाड्नु पर्दछ । विगतमा भएका सबै असमान सन्धी, सम्झौता खारेज हुनु पर्दछ । अतिक्रमित नेपाली भूभाग फिर्ता गरी स्पष्ट र विवादरहित सिमांकन गरिनु पर्दछ । नेपाल–भारत सम्बन्ध अब एक अर्काको विश्वासमा र विकास साझेदारीमा आधारित हुनु पर्दछ ।

व्यापार, घाटा, र परनिर्भरता हटाउन सक्नु पर्दछ । भारत र चीन दुबै विश्वकै शक्तिशाली राष्ट्र बन्ने होडबाजीमा रहेकाले दुबैको विश्वास जितेर, दुबैकालागि हितकर राष्ट्र बनेर सामरिक र तटस्थताको महत्व बुझेर चीन र भारतसँग देश र जनताको सर्वोत्तम हितका लागि भरपूर फाइदा लिने राजनीति र परराष्ट्र नीति अवलम्बन गरिनु पर्दछ । चीनलाई चिढाएर भारतलाई रिझाउने, भारतलाई चिढाएर चीनलाई रिझाउने हिजो आजको जस्तो दुबैलाई आघात पुर्‍याउने, चिढाउने र सत्ता स्वार्थमा केन्दित रहने परराष्ट्रनीति र सम्बन्धको काम छैन ।

प्रकाशन मितिः २०७२ फागुन ०६ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment