तपाईं “उन्नान्सय”मा हुनुहुन्छ भने विरोध गर्ने अधिकार छैन

–जनकमान डंगोल

राजधानी देखि विदेसमा समेत विभिन्न पार्टीका हनुमानहरुले सम्पर्क समिति, सम्पर्क समाज खोलेको देखिन्छ । यस्ता समितिदेखि समाजहरुको काम भनेको कुस्त लेबी उठाएर वर्षमा एक पटक पार्टीका ठुला नेताहरु बोलाएर बनभोज कार्यक्रमको आयोजना गर्नु हो त्यो भन्दा अरु केहि लछारोपाटो लाएको देखिन्न ।
अहिले सामाजिक संजालको भित्तामा काँग्रेसले कर्णाली बेचेर खायो भनेर गोहीको आंसु बगाउँंदै गरेको देखियो । नेपालको सबै नदीनाला भारतलाई सुम्पिने नेपाली कांग्रेस पार्टीनै हो यसमा दुईमत छैन । सत्य कुरा थाहा हुँदाहुँदै पनि तिनै कांग्रेस पार्टीको अगुवाईमा पटक पटक ठूला आन्दोलन गरेर शासनसत्ता किन परिवर्तन गराईन्छ ? यस्ता कुराहरु बुझ्दाबुझ्दै पनि रोष प्रकट गर्दै सामाजिक संजालको भित्तामा बगाएको आँसुले तिनका पार्टीका नेताहरुलाई बगाउँदैन यो चै कुरा ध्रुवसत्य हो ।

धेरैले राजेन्द्र महतोलाई अंगिकृते भनेर सरापेको देख्छु । विदेसमा जन्मेर नेपालमा हुर्केकाहरुलाई नेपाली भाषामा अंगिकृते भनिन्छ । नेपाली कांग्रेस २००४ साल, नेपाली कम्युनिस्ट पार्टी २००६ साल, यी दुवै कांग्रेस तथा कम्युनिस्ट पार्टीहरुको जन्म भारतमा भएको हो भने बिदेसी भूमिमा जन्मेका कांग्रेस तथा कम्युनिस्ट पार्टीहरु अंगिकृते भयो कि भएन ?

नेपालमा सयमा ९९ सय राजनैतिक पार्टी तथा दलहरुमा आबद्ध छन् । पार्टी तथा दलहरुलाई समर्थन गरेन भने गाउँ, टोल समाज देखि मोहल्लामा टिक्न गारो हुन्छ । सानै देखि राजनीतिक पार्टीको नारा जुलुस हड्ताल देखेकाहरु पछि युवा भई अध्ययन देखि वैदेशिक रोजगारीको सिलसिलामा गाउँ छोडेर बाहिर गएपछि सम्पर्क देखि समाज भन्दै टोली गठन गर्छन् । सामाजिक संजाल धेरै उपयोग गर्ने पनि यस्तै जमातेहरु हुन ।

हिजो बाजेको पालामा नेपालमा राणा शासन थियो । राणाहरुले जहाँनिया शासन अंगालेका थिए । एकै व्यक्ति वा परिवारले मात्र शासन गर्ने भएर नै होला जहानियां शासन भनेका । राजनीतिक पार्टी पनि परिवार जस्तै हो । परिवार जस्तै भएसी कुनै एक पार्टीले मात्र लामो समयसम्म शासन चलायो भने त्यस्तो शासन जहानिया, अधिनायकबादी हुन्छ कि हुन्न ? उदाहरणको लागि उत्तरी छिमेकी चीन देखि उत्तर कोरिया सम्मलाई हेरे पुग्छ । एकदलीय शासनकै कुरा गर्ने हो भने लिबिया, ईराक जस्ता देशहरुलाई लिन सकिन्छ, जाहाँ लामो समय सम्म एकै व्यक्तिले शासन चलाएको थियो ।

पश्चिमाहरू धूर्त छन् । बाजेको पालामा पनि संसारलाई गुलाम बनाएका थिए । गुलामीको जन्जिर तोड्ने भन्दै “ईन्कलाब जिन्दाबाद” भन्ने नारा घन्काएर क्रान्ति गरेका थिए । नेपालमा अहिले शासन गर्ने कांग्रेस देखि कम्युनिस्टहरुले “ईन्कलाब जिन्दाबाद” भन्ने पाठ छिमेकी भारतमा सिकेका र प्रयोगात्मक परीक्षा उतै दिए पछी मात्र नेपालमा ईन्कलाब जिन्दाबादको पाठशाला खोलेर जनताको छोराछोरीहरुलाई दिक्षान्त दिन सुरु गरेका हुन् ।

समय अनुसार नाडी छाम्न पश्चिमाहरू माहिर छन् । जनता जागे अब सकिन्न भन्ने सोचेर आफुले लुटेको देशलाई स्वतन्त्रताको बिल्ला भिराएर आफ्ना देश फर्की गए तर जाने बेलामा कलहको बिउ रोप्न भने छोडेनन् । उदाहरणको लागि भारत र पाकिस्थानलाई हेरे पुग्छ ।

हिजो बन्दुकको बलमा अर्काको देश हडप्ने पश्चिमाहरूको नीति थियो । संधै एकै प्रकारको नीति सफल पनि हुन्न । धर्म भनेको अफिम हो भनेर कम्युनिष्टहरु भन्छन् । कुरा सोरै आना सहि हो । अफिम जस्तै गरि लठ्याउन पश्चिमाहरुले सरकारमा बसेका उच्च पदस्थ देखि गैह्र सरकारी संस्थाका आफ्ना आसेपासे देखि लठैतहरुलाई लगाएर युद्धस्तरमा संसारभरि नै धर्म परिवर्तन गर्न लगाएका छन् ।

आफ्नो शासन सत्ता टिकाउन सबैले शक्तिको पूजा गर्छन् । हिजो बाजेको पालामा राणा शासन थियो । राणाको पालामा छिमेकी भारतमा अँग्रेजको शासन थियो । फरक के थियो भने छिमेकी भारत अंग्रेजको गुलाम हुँदा नेपाल भने स्वतन्त्र देश थियो । शासन सत्ता टिकाउन सजिलो कुरा हैन त्यसैले राणाजिहरुले अंग्रेजको गुलामी गर्थे ।

राणाहरुले अंग्रेजको गुलामी गरेता पनि आफ्नो देशको अस्मिता बेचेका थिएनन् । एक ईन्च भूमि तल माथि गरेनन् बरु अंग्रेजले लुटेको नेपाली भूभागहरु मध्येको अहिलेको चार जिल्ला बाँके, बर्दिया, कैलाली र कन्चनपुर समेतको चार जिल्ला नेपालमा फर्काउन सफल भएका थिए । चाहेको भए अहिलेका पार्टीका नेताहरुले जसरी देश बन्धकीमा राखेर लामो समय सम्म शासन पनि गर्न सक्थे होलान् किनभने नेपालको २००७ साले क्रान्ति सफल हुनुमा छिमेकी भारतकै ठूलो योगदान रहेको छ । जसरी मधेसवादीको दलको आन्दोलन तुहाई दिए त्यसै गरि सातसाले क्रान्ति पनि तुहाई दिन सक्थे होलान् ।

सित्तैमा कसैले पनि सहयोग गर्दैनन् । यो बैज्ञानिक युगमा सल्लाह समेत पैसामा बिक्ने भई सकेको छ भने छिमेकी हुन या पश्चिमा तिनले दिएको दान दक्षिणा सित्तैमा दिएका हुन् भनेर सोच्नु महामूर्ख हुन आउछ ।
कुरो सुरुकै हरफको गरौं । कर्णालीको बिषयमा सामाजिक संजालको भित्ता देखि पत्रपत्रिकाहरुमा समेत रांडो रुवाई गर्नु भन्दा पहिला आफूले कुन दल वा राजनीतिक पार्टीलाई समर्थन गर्ने गरेको छु भनेर गहिरिएर सोच्नुस् । यदि तपाई सयको एक हो भने तपाईले देशको चिन्तन गर्नु सुहाउँछ । उन्नान्सय भित्र पर्ने व्यक्तिहरुले रास्ट्रबादको नारा घन्काउन मिल्दैन किनभने तपाईले समर्थन गरेको सबै राजनीतिक पार्टी तथा दलहरुले आजका मिति सम्ममा राष्ट्रहितको बिषयमा एउटा सिन्को समेत भाँचेका छैनन् । उल्टो देशकै अस्मिता बिदेशीको पोल्टाहरुमा हाल्ने काम चै गरेका छन् ।

आफ्नो क्रान्ति सफल पार्न देखि शासन सत्ता समेत टिकाउन २००७ साल देखि आजको मिति सम्म के कति खोला नाला विदेशीको पोल्टामा सुम्पे भनेर राजनीतिक पार्टीका नेताहरुलाई सोध्ने आँट कोही कसैले गरेका छन ? नेपाललाई विदेशी चलखेलको अखडा किन बनाईयो भनेर कोहि कसैले सोधेको छ जस्तो यो पंक्तिकारलाई लाग्दैन । लागेको भए पश्चिमाले संसारभर रोपेका बिषवृक्षरुपी वर्षे च्याउ जस्ता एनजिओ आइएनजिओहरू कसरी उम्रिन्थ्यो ? आफ्नै पूर्खाको धर्म नाश गरेर विदेशी धर्म अंगाल्ने देखि युद्धस्तरमा फैलिंदा समेत मुकदर्शक भएर बस्नेहरुले राष्ट्रबादको बिषयलाई लिएर सामाजिक संजालको भित्तोमा गोहीको आंसु बगाउनु भनेको राजनीतिक पार्टीका नेताहरुको “नक्कली रास्ट्रवाद” जस्तै हो ।

नेपालका सबै राजनीतिक पार्टी तथा दलका नेताहरु देस र जनता प्रति उत्तरदायी छैनन् भन्ने कुरा थाहा पाउँदा र देख्दा देख्दै पनि नाममात्र बिरोध त्यो पनि आर्को पार्टीको गर्ने तर पार्टीका नेताहरुलाई भोट हाल्न चाहिं नछोड्ने हो भने राष्ट्रवादको नाउँमा किन गोहीको आंसु बगाउनु हुन्छ ? यो खाँट्टी प्रश्नलाई एकपटक गहिरियर सोच्नुस त ।

प्रकाशन मितिः२०७२ माघ २८ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment