Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts
अर्को महाभारत

अर्को महाभारत

–अश्विनी कोइराला

एक जना ६९ वर्षका बृद्धसँग केही दिनअघि कुरा भएको थियो । त्यसलाई जस्ताको तस्तै राख्ने अनुमति चाहन्छु....
‘बा, मेरो नाम अश्विनी, लेख्ने काम गर्छु । मलाई तपाईंका पालामा हुने प्रेमका कुरा लेख्न मन लागेको छ । एउटा कुनै प्रेमकथा सुनाउनुस् न ।’
‘कति पढेका छौ ?’
‘विश्वविद्यालयसम्म ।’
‘अचेलका केटाहरू खुव पढेलेखेका भन्छौ, केही जानेका हुदैनौ । मेरो कथा बुझ्छौ त ?’
‘बुझ्ने प्रयास गर्छु, बा ।’
‘त्यसो भए हाम्रो देशको एउटा चर्चित प्रेमकथा सुने । त्यसलाई चारैतिर फैलिनेगरी लेखे । जनजनमा पुगे, त्यति भए तिम्रो नाम अमर हुनेछ...।’
उनले सुनाएको कथा जस्ताको तस्तै ...
एकजना बडे नाम भएका राजा थिए । साह्रै प्रतिभाशाली लेखपढ गर्न जान्ने, राजनीति बुझेका । मान्छेहरू भन्थे, राजा भोलिको भविष्य आजै देख्न सक्छन् रे ।
यिनै राजाका पालामा एक जना तिखो, साह्रै विद्वान् वाहुन केटो थियो । राजकाज बुझेको । उच्च पदमा पनि पुगेको । लेखपढ गर्न जान्ने र साह्रै असल । देश दुनिया बुझेको र जनतालाई माया गर्ने मान्छे । अँ त्यो बाहुन केटोको नजर साह्रै कामुक थियो । कुनै स्त्रीलाई एकपल्ट हेरपछि ती स्त्रीहरू भुतुक्कै हुन्थे ।
त्यो बाहुनसँग राजाको राम्रो दोस्ती थियो । राजाले नबुझेको कुरा बाहुनलाई सोध्थे, बाहुनले नबुझेको कुरा राजालाई सोध्थ्यो । बाहुन भए पनि ऊ प्रत्येक साँझको भेटमा राजासँगै जाँडपानी पनि खाइदिन्थ्यो । यसले उनीहरूको दोस्ती झन् गहिरो हुन थाल्यो । भेटघाटमा उनीहरूका श्रीमती पनि सँगै हुन्थे । यी दुईको प्रेम देखेर दुवैका श्रीमतीहरू पनि खुसी थिए । भारदारहरू बीचमा बाहुन र राजाको दोस्ती चर्चित हुन थाल्यो । हुँदा हुँदा राजालाई सल्लाहकार नै नचाहिने, बाहुनलाई अरु साथी नै नचाहिने । यसले देशको खर्चमा कटौति हुन थाल्यो । देश कमजोर हुँदा छिमेकी राज्यले फाइदा लिइरहेका थिए । अब त्यो रोकियो । राजाको चाकडी गरेकै भरमा खान पल्केकाहरूको पनि जागीर जान थाल्यो । जो दरवारबाट बाहिर निकालिन थाले, उनीहरू छिमेकी राज्यको जासुस भएर आफ्नो दुनो सोझ्याउन थाले ।
एक साँझ जाँडपानी खानुअघि नै बाहुनलाई राजाले थुनिदिए । बाहुनकी श्रीमतीलाई उनका आफन्तसहित देश निकाला गरिदिए । त्यसपछि राजाले कहिल्यै बाहुनको मुखमा हेर्दा पनि हेरेनन् । आफ्नो गल्ती केही नभए पनि यसरी थुनिनु पर्दा बाहुनलाई साह्रै चित्त दुख्यो । राजाले त भेट्न चाहेका थिएनन् तर रानी बाहुनलाई अति माया गर्थिन् । यो कुरा बाहुनलाई थाहा थियो । बाहुनले रानीसँग भेट्न चाहेको सन्देश पठाए । एक रात राजा राजधानी बाहिर गएको मौका छोपी बाहुनसँग भेट्न रानी गोप्य रूपमा थुनुवा कक्ष पुगिन् ।
‘महारानी साहिबा, मेरो के गल्ती थियो ? मेरो परिवारको के गल्ती थियो ? ममाथि किन अन्याय गरियो ?’ बाहुन आक्रोशित थियो ।
‘तिम्रो गल्ती केही थिएन, छैन । तिम्रो आँखाको गल्ती हो ।’ रानीले भनिन्, ‘तिम्रो आँखाले मलाई फकाइरह्यो, तर तिमी कहिल्यै अघि बढेनौ । एक दिन म बेलायती रक्सी खाएर मात्तिएकी थिएँ । तिमीसँग बात मारिरहेकी थिएँ, कुन बेला राजाले मलाई तानेर कोठामा लगे, होसै पाइन । मैले त तिमी ठानेर सबै कुरा भनेँ । मैले मन पराएको कुरा गरेँ । तिम्रो आँखाको प्रसंसा गरेँ ।’
‘अहो, महारानी, नकाम भएछ...... अनि के भयो ?’
‘राजाले मलाई एक झाप्पु हिर्काए । त्यसपछि रुन थाले । मात्तिएको स्वरमा राजा भन्दै थिए, ‘तिम्रो गल्ती छैन प्रिये, म स्त्री भएको भए म पनि उसलाई यसैगरी माया गर्थें । तर एउटा म्यानमा दुईटा तरवार बस्न सक्तैन । उसले अब नाङ्गो हुनुपर्छ । उसका दुर्दिन सुरु भए ।’
‘अब के हुन्छ त ? राजा र म एक ठाउँ नबसीकन यो देशको भलाइ हुँदैन । के भन्नुहुन्छ त महारानी ।’
‘राजनीतिका बीचमा स्त्री आउनु हुँदैनथ्यो । महाभारतमा पनि द्रौपदी आएकी थिई । यहाँ म आएँ । अब महाभारत हुन्छ । मलाई लाग्छ, यो महाभारत १८ दिनमा टुङ्गिने छैन । हामी कोही रहने छैनौं । यो प्रेम पनि वियोगमै टुङ्गिने भयो ।’
त्यसपछि रानी धुरुधुरु रुन थालिन् । आजसम्म पनि रोइरहेकी छन् ।
कथा भनिसकेपछि ती बुढाले मतिर हेर्दै भने, ‘यो कथा सबैलाई सुनाऊ, बुझाऊ र यसको प्रचार गर ।’
कथा कतै सुनेजस्तो–पढेजस्तो लाग्यो । तर कहाँ पढेको सम्झन सकिन । बुढालाई फकाएर सोधेँ, ‘बा, कथा लेख्न राजा र बाहुनको नाम चाहिन्छ । के थियो उनीहरूको नाम ?
‘राजाको नाम थियो, मवि र बाहुनको नाम विपी ।’

(कोइरालाको फेसबुक वालबाट साभार)
मुस्कान ( लघुकथा )

मुस्कान ( लघुकथा )

 ~ रवीन्द्र समीर~
बूढाबूढी, केटाकेटी तथा गृहणीमात्र रहेकाले राजुलाई गाउँमा बस्न लाज लाग्यो । बेरोजगार भए पनि खेतीपाती गरेर परिवार पालेकै थियो ।
- ‘कस्तो लाछी लाठे रहेछ ! यसो अरबतिर जानु, पैसा कमाउनु !
राजुलाई यो वाक्यले बारम्बर ठुँगिरह्यो । त्यसैले ऋण गरेर भए पनि स्थानीय एजेन्टमार्फत् ऊ खाडीतिर लाग्यो ।

मरुभूमिको प्रचण्ड धूप, खाना तथा पानीको कमी, कामको चाप एवं साहुको पेलानबाट राजु निरुत्साहित भयो । उदास भयो । डिप्रेसनको शिकार भयो । उसको मुखमण्डलबाट मुस्कानको लाली सर्लक्क पुछियो ।

श्रीमतीले उसको छायाछवि खोज्दै फोनमा भनी – ‘तपाईं त कस्तो निष्ठुरी ! विदेश गएको दुई वर्ष भयो, एउटा फोटो पनि नपठाउने ?’
पर्वको दिन उसले कामबाट छुट्टी पायो । साथीहरुसँग मिलेर ऊ एउटा ठूलो सपिङ मलमा गयो । यता हेर्‍यो, उता हेर्‍यो । धेरै ठाउँमा सोध्यो । अन्त्यमा फुटपाथमा गएर एक जोर राम्रा कपडा किन्यो ।

पाश्र्वमा गगनचुम्बी महलहरु आउनेगरी साथीलाई एउटा फोटो खिच्न लगायो । कपडा चम्किला भए पनि उसको अनुहार औंशीको रातजस्तै थियो ।
- ‘कमसेकम फोटो खिच्ने बेलामा त एकपटक हाँस् !’
यन्त्रमानवले झैँ यन्त्रवत् चिज-हाँसो हाँस्यो, खिसिक्क ।

उसकी श्रीमती फोटो हेरेर दङ्ग परी – ‘आहा ! मेरा श्रीमानले त खुब सुख पाउनुभएको रहेछ विदेशमा । ठूलो सहर, राम्राराम्रा कपडा अनि मीठो मुस्कान… !’


डा. रवीन्द्र समीरले लघुकथा संग्रह एकलब्य दृष्टिमा यस्तै कथाहरु लेखेका छन् ।
  ~ रवीन्द्र समीर~लाई फेसबुकमा फलो गर्नुहोस्  
ईश्वर हुनुको प्रमाण

ईश्वर हुनुको प्रमाण

– प्रवीण अधिकारी
एकदिन कुनै राजाले आफ्नो राजसभामा सभासदहरु संग कुरो राखे -तिमीहरु मध्ये कसैले यो ब्रह्माण्डमा ईश्वर भएको प्रमाण दिन सक्छौ ? सबै सभासदहरु सोच्न थाले तर उत्तर फर्काउन सकेनन अंतमा एउटा मंत्रीले भन्यो ‘महाराज, म भोली यो प्रश्नको उत्तर लिएर आउने प्रयास गर्छु ! सभा सकिएपछी ती मंत्री राजाको प्रश्नको जवाफ दिन सक्ने मान्छे खोजी गर्न भनी हिडे ! जादा जादै बाटामा उनले कुनै गुरुकुलमा पढ्ने बिद्द्यार्थी भेटे ! त्यो मंत्रीलाई चिंतित मुद्रामा देखेर बिद्द्यार्थीले सोध्यो - मन्त्री ज्यू तपाई ठिक ठाक त् हो ? यसरी हस्याङ्ग फस्यांग गर्दै कतातीर हिड्नु भयो ?

मंत्रीले भने - तिम्रो गुरुकुलको गुरुभा ठाउँमा ईश्वर भएको कुराको प्रमाण खोज्न जादैछु ! विद्यार्थीले भन्यो ‘यत्तीकोलागि गुरुजीको मा किन गई रहनुहुन्छ ? म नै दी हाल्छु नी ! भोली पल्ट ती मंत्रीले ती विद्यार्थीलाई लिदै राजसभामा पुनः उपस्थित हुन् पुगे र राजाका सामु बिन्ति बिसाए ! ‘सरकार यो विद्यार्थीले हजुरको प्रश्नको उत्तर दिनेछ ! उतिखेरै विद्यार्थीले राज सभामा एक कचौरा दूध माग्यो ! राज दरवारबाट एक कचौरा दूध ल्याएर ती बीद्यार्थीलाई दिइयो ! दूध पाएपछि, दूध भरिएको कचौरामा एउटा उम्लो डुबाएर त्यो बिद्द्यार्थी उभिइ रह्यो ! छिन छिनमा दूधमा डुवाएको उम्लो निकाल्दै हेर्दै गर्न थाल्यो ! धेरै वेर बितेपछी राजाले रिसाएर ती बिद्द्यार्थीलाई भने ‘तिमीले दूध नपीइ किन बसिरा ? दूधमा उम्लो डुबाएर के हेरी रा छौ ? विद्यार्थीले जवाफ दिए ‘मैले सुनेको छु दूधमा नौनी हुन्छ रे त्यही खोज्दै छु ! राजाले भने ‘तिमीलाई थाहा छैन दूध उमालेर त्यसलाई बेस्सरी मथे पछी नौनी निस्किन्छ ? विद्यार्थी ले हास्तै राजालाई जवाफ फर्कायो - ‘हे राजन, त्यसरीनै ईश्वर यस संसारमा चारै तीर व्याप्त छन् तर यो दूधमा नौनी मिसिएझै अदृश्य छन् ! ईश्वरलाई निकै तपस्या गरेपछी मात्र प्राप्त गर्न सकिन्छ !’ राजा त्यो जवाफ सुनेर संतुष्ट भए र पुनः सोधे ल भन त् ‘आखिर यी ईश्वरले गर्छन के ?

ती विद्यार्थीले सोधे महाराज यो प्रश्न ‘गुरु बनेर मलाई सोधिएको हो कि चेलो भएर ?’ राजा ले भने , ‘शिष्य भएर ’ ! विद्यार्थीले भने , त्यसो हो भने ‘राजन यो कस्तो आचरण हो ? शिष्य सिंहासनमाथि बस्ने अनि गुरु जमीनमा ’ यो त् मिलेन नी ! राजाले तुरुन्त उक्त विद्यार्थीलाई सिंहासनमा बसाएर आफु उसको ठाउमा उभिए !त्यसपछी त्यो दृश्य व्याख्या गर्दै ती विद्यार्थी बोले , ‘ईश्वरले राजालाई रंक र रंकलाई राजा तुरुन्त बनाईदिन सक्छन ! जसरी अहिले मलाई बनाए !

(अधिकारीको फेसबुक वालबाट साभार)
तिरस्कारको मूल्य ?

तिरस्कारको मूल्य ?

आफु माओवादीमा हुंदा तिमीले कतिलाई मारे वा घाईते पारे होलाउ । तर आफु या आफ्नो सन्तानको बारेमा कसैले छुसुक्क केही भन्दा तिमीलाई त्यत्रो रिष उठेर अरुलाई तिरस्कार गर्न सक्ने तिम्रो त्यत्रो आँट ? आखिरमा प्रकृतिले साटोको पैंचो गरेरै छाड्छ । त्योदिन जति डाँको छाडेर रोएपनि तिम्रो अपराध कम हुनेवाला छैन । एउटा निरपराधलाई ढिलो कुरा बुझ्ने, मनोरोगी, एबनर्मल र अडबागँे भनेर तथानाम भन्न तिमीलाई कसले अनुमति दियो ?
आखिरमा तिमीलाईपनि तीनै बनावटी अनुहार र बनावटी कुरा मन पर्ने रैछन् । तिमीले निष्पाप मनले कसैले गरेको मायाको अनादर गर्यौ । तिमीले त्यो निष्कपट मनलाई अपराधी देख्यौ तर तिमीले बिर्सर्यौ कि त्यो बन्द ओठभित्र लुकेका केही सत्य जुनदिन बाहिर आउनेछ तिम्रो खुशीको संसार तहसनहस हुनेछ । तिमी यति धेरै पढेका बुद्धिमान र तार्किक छौ ? तिम्रो सुयोग्य मगजले यति तर्क किन गर्न सकेको छैन कि ती मौन ओठले जब कुनैदिन आँखाको पट्टि हटाएर सत्य उदघाटित गर्नेछ तिमीसहित आठजना बर्बाद हुनेछन् । तिम्रो कसैप्रतिको तिरस्कारले तिम्री मायालु र तिम्रो परिवार उजाडिने छ । तर तिमी बुझेरपनि बुझ पचाउंदैछौं  ।
भनिन्छ  ”सुतेको बाघलाई कहिल्यै नजिस्काउनु” । तर तिमीले त बहादुरी देखाउंदै सुतेको बाघको कान नै अठ्याउन पुग्यौ । हो सोझो र निष्कपट मान्छे तिनै सोझा बाघ हुन् जो आईलाग्नेमाथि जाईलाग्नु लाई उचित ठान्छन् । तिमीलेपनि सुतेको बाघलाई जिस्क्याउने गल्ती गर्यौ अब त्यसको जस्तोसुकै परिणाम आएपनि तिमी भोग्न तयार होउ । किनकि विष रोपेर अमृत आजसम्म फलेको छैन ।
 तिमीलाई बल्ल थाह हुनेछ कसैलाई घोका दिदां वा  तिरस्कारगर्दा त्यसको कति ठूलो मूल्य चुकाउनु पर्दछ भन्ने । बिना सबुतको कोही केही बोल्दैन । तिमी विरुद्धका अकाटय तथ्यहरुले तिम्रो अनुहार
मा लागेको भलादमीपनको जालो हटाउनेछ । दुनियाले थाह पाउनेछ तिमी भित्रबाट कति पतित छौ भनेर । तिमी रुपयौवनका पूजारी मात्र हौ । भन्नेबेला आफुभन्दा श्रीमतीको बढी माया लाग्ने भन्छौ तर तिमी तिनै श्रीमतीलाई धोका दिदैं बाहिर अर्कि र्खोज्दै हिडंछौ । तिमी नारी शरीरको भोका हौ प्रेमको हैन ।
केही महिनामा झाँगिएको मित्रतालाई तोडेर तिमी आफैले फेसबुकबाट ती युवतीलाई अनफ्रेण्ड गर्यौ । पछि तिमी आफैले प्रेम दिसवकोदिन आफ्नो मित्रतालाई दिगो बनाउन तिनै युवतीसित प्रेम निवेदन गर्यौ । उसले त तिम्रो मित्रता अनि तिम्रो प्रेमलाई सहज रुपमा स्विकारे कै थिई । तिमीलाई नै धेरै युवतीहरुसंग सम्बन्ध राख्ने चस्का परिसक्या रैछ । त्यसैले फेसबुकमा साथी भएका युवतीहरुसंग मीठो मीठो कुरा गरेर तिनलाई मक्ख पार्नमा तिमी खप्पिस रहेछौं । ती युवतीलाई फेसबुकबाट आफ्नो जालमा फसाएर घण्टौसम्म कुरा गरेर शुरुमा हो मा हो मिलाएर मक्ख पार्यौ । अब आएर तिनै युवती तिम्रालागि अर्धपागल भईन् ।
हो सब कसैको ईमानदारी र चरित्रमाथि औंला उठाउन नसकेपछि मान्छेलाई त्यो व्यक्तिलाई पागल भनेर आरोप लगाउंछ । तिमीलेपनि त्यही गर्यौ किनकि तिमीलाई बनावटी प्रेम र बनावटी मान्छे मन पर्ने रहेछन् ।
तिमी बडो भावपूर्ण तरिकाले पत्रपत्रिकामा लेख लेख्छौ । निमुखा र पीडितहरुको कथा भन्छौ तर तिमी आफै गोहीको आँशु झारेर तीनैलाई ठगिरहेका छौ । तिम्रो वास्तविकता ती नीरिह पाठकले हैन कोही एकले राम्ररी थाहा पाईसकेको छ । अनि उसैले बिस्तारै उदागाँे पार्नेछ तिम्रो अतितका काला कर्तुतहरु । तिमी हेर्दैजाउ तिमी बर्बाद हुनेछौं र नासिनेछौ एकदिन । कसैले गरेको सानो गलिलाई पहाड बनाएर र माफी माग्दापनि नदिएर तिमीले उसमाथि जुन दोषारोपण गरेका छौं त्यसले तिम्रो पाईतालामूनिको जमिन हल्लाई दिनेछ ।
तिमीले आफु धेरै नबोल्ने, आफनो योग्यता र चरित्रको जुन बखान गरेका छौं त्यसको बखिया उधिन्नेछ एकदिन । तिमीले आफ्नो परिवारको जुन भक्तिगान गरेर कसैलाइ हदैसम्म होच्याएका छौ त्यसको परिणाम तिम्रोलागि पक्कैपनि राम्रो हुनेछैन । जसको बुवाले भारतको स्वत्त्रता आन्दोलनमा सक्रिय भागिदारी गरे । २००७ सालको क्रान्तिमा जसले गीत लेखे तर आफ्नो नाम दिएनन् । नाम र दाम संधै टाढै रहेर काममात्र गर्न चाहने  कर्मयोगी ती युवतीका बुवाले लेखेको गीतले क्रान्तिकारीमा उत्साह थप्यो तर उनी त्यो गीत लेख्ने बेनाम  पात्र भएर बसे । निरकुशँ राणाशासन विरुद्ध विद्रोह गर्दा उनी जेल गए तर उफ भनेनन् । न सरकारसित आफुले देशको स्वतन्त्रताकोलागि दिएको योगदानको बदला मा केही लिए । सरकारले पछि दिन चाहंदापनि नलिएर राजनीतिबाटै ती कर्मयोगीले सन्यास लिए ।
जसले अरुको अध्ँयारो जीवनलाई उज्यालो पार्न उनीहरुलाई शिक्षत हुन घचघच्याए । आफैले कतिलाई घरमा राखेर पढाए । त्यस्ता स्वाभिमानी, निस्वार्थी र विवेकी व्यक्तिको  छोरीको अगाडि आफ्नो परिवारको प्रशँसाको वँशी बजाउन तिमीलाई कति सुहाउंछ होला ? तिमीले तिनकि छोरीलाई स्वार्थी, कुरा नबुझ्ने तथानाम भनेर अनेक विशेषणले सुशोभित गर्याै ।
तिनी एउटा मित्रको रुपमा तिमीलाई साँच्चैको मान र आदर गर्थिन तर तिमीले तिनीसंग एकान्तमामात्र सम्बन्ध राख्न चाह्यौ । आफ्ना साथीभाइ र श्रीमतीसंग तिनको परिचय गराउन तिमी हच्कियौ किनकि तिम्रो मनमा कपट थियो । तिमी तिनलाई भोग्न चाहन्थ्यौ तर तिम्रो बारम्बारको सम्बन्ध बनाउने उक्साहट र होटल जाने अनुरोधलाई तिनले मानिनन् । अनि तिमीले तिनीमाथि नभएको दोषारोपण गरेर मानसिक सन्तुलन ठीक नभएको सम्म भन्यौ ।
तर तिमी त त्यो पतित व्यक्ति हौ जसले १९ वर्षको उमेरमा माओवादीमा हुंदा आफ्नै बाल्यकालकि साथीसंग सम्बन्ध बनायौ । आफ्नी ती साथीलाई बिहा गर्ने भ्रममा राखेर वर्षौसम्म बारम्बार लुट्यौ ।जसको नराम्रो परिणाम तीनले गर्भपात गराउनु पर्यो । त्यो एउटा हाड नपलाएको मासुको थिलथिलो टुकडाले कुनै आकार नपाई शरीरबाट निकालेर फाल्नुपर्दाको पीडा तिमीलाई के थाहा ? के त्यो अजन्मा शिशु तिम्रो सपनामा आएर तिमीलाई धिक्कार्दैन ? के त्यो अपराध सानु हो र ? तिमीले त्यो पापको परिणाम त भोग्नैपर्छ नि जसरी भएपनि ।
तिम्री ती बाल्यकालकि साथीको अहिले अन्यसंग बिहा भएर दुईवटा छोराछोरी भईसकेकाछन् । पक्कै तीनका श्रीमानलाई अतितमा आफ्नी श्रीमतीले गरेको गल्ति र तिम्रो कर्तुतका बारेमा थाहा छैन होला ? कुनैपनि पुरुषले यो कुरा थाहा पाएर सजिलैसंग पचाउन सक्दैनकि उसकि श्रीमती उ भन्दा पहिले अरु कसैकि भोग्या थिई । त्यसपछि तिम्री प्रेमिकाको सुखी परिवार तासको महल झैं ढल्नेछ । के त्योबेला तिमी त्यो सबै हेर्ने र सहने आँट गर्न सक्छौ ? अहं सक्दैनौ आफुले अतितमा गरेको अपराध वर्तमानमा उभिएर ताण्डव देखाउन थाल्छ भने त्योबेला सहन जसलाईपनि गार्हो हुन्छ ।
तिमीलाईपनि पक्कै हुन्छ तर के गर्ने तिमीले एउटी निरपराध युवतीलाई तिरस्कार गरेर विभिन्न लान्छ ना लगाएका छौं । अब त्यसको परिणाम त तिमीले जुनसुकै हालतमा पनि भोग्नैपर्छ । आखिरमा तिमी ढीठ कहिल्यै आफ्नो गल्ति नसकार्ने र माफी त झनै नमाग्ने मान्छे पर्यौ । तिमीबाट राम्रो कुराको आशा गर्नुपनि बेकार छ । ती निर्दोष युवतीले तिम्रो बाटो हेरिन, आनेर वा नजमनेर भएका आफ्ना गल्तिहरुकालागि माफीपनि मागिन् तर तिमी पग्लिएनौ । न तिमी फर्केर आयौ न उसलाई माफ नै गर्यौ ।
अनि कसरी तिमी आफु र आफ्नो परिवारलाई एकदम राम्रो र चरित्रवान भन्न सक्र्छौ । तिमीलाई अलिकतापनि लाज लाग्दैन ? परिवारमा  राम्रो शिक्षा र संस्कार पाएर हुर्केको व्यक्तिले कहिल्यै त्यस्तो निच र चरित्रहीन काम गर्दैन । तिमी यसलाई प्रेमको नाम दिएर उम्किन खोजौला तर त्यो प्रेम होइन वासना हो । यही वासनाको खोजीमा भौतारिदैं तिमी ती स्वतन्त्रता सेनानीकि छोरीलाई रिझाउन पुग्यौ ।
पहिला प्रेमको नाटक गर्यौ र टाँसियौ अनि उसंगपनि प्रेमको नाममा वासनाको त्यही खेल खेल्न खोज्यौ । तर बारम्बारको उक्साहटले र तिम्रो तातोलेपनि जब तिनी तातिनन् । अनि तिमीले तीनलाई घृणा गर्यौ र धोका दिर्यौ । विभिन्न आरोप लगाएर तिनी र आफुबीचको मित्रता, प्रेम र बिश्वासलाई नै गाली दियौ ।   तिमीले तीनलाई अर्धपागल सम्म भन्यौ । तर तिमीले बिर्सयौ ती स्वत्त्रता सेनानी र तीनको स्वाभिमानी छोरीको अगाडि तिमी र तिम्रो निम्छरो परिवार झुसे बारुलो हो ।
तिमीले गरेको एकएक गल्ति र भनेको एकएक शब्द कसैको मुटुमा नराम्ररी बिझेको छ । एकदिन ती सबै घाउहरुको भरपाई हुनेछ अनि थाहा पाउनेछौ तिमीले कसैलाई धोका दिनु र तिरस्कार गर्नुको परिणाम कति घातक हुने रहेछ भनेर । 'सोझो र निर्दोष व्यक्तिलाई कहिल्यै नरुवाउनु तीनको एकएक आँशुले सराप्छ’ भन्छन् । तिमीले त्यही गल्ति गरिसकेका छौ अब परिणाम भोग्न तयार भएर बस ।

भत्किए सम्झनाका थुङ्गो–सुनिता राई

भत्किए सम्झनाका थुङ्गो–सुनिता राई

भर्खरै त जाडो सकियो र सुरु हुँदैछ अलि अलि गर्मी । शिशीरलाई बिदा गर्दै वसन्तका बास सर्वत्र फैलँदैछ मग मग चमेली फूल सँगै । सुन्दर उज्यालो छ धर्ति, धमिला तुवालोका बुर्का हटाएर मुस्काइरहेकी छिन् उनी । जुनसुकै मौसममा बाटाभरि, वरिपरि सुन्दर सवारी साधन थुप्रै रङ्गका तिनले कहिल्यै मन लोभ्यायेन न त इष्र्या नै लाग्यो तर  यतिखेर ती सब्बै गाडीहरु नै छपक्क छोप्ने गरि आरु र सिरीशका फूल फुलेका छन्, बाटै भरि त्यसले भने मन औधि लोभ्याउँछ साँच्चै म मेरो सगरमाथाको टाकुरा मुनिको गुराँस फुलेको  आँगनमा पुग्छु, डुब्छु,  रमाउँछु, घुम्छु , फनफनी घुम्छु , मेरी आमाले ठाउँ ठाउँमा टाली दिएकी फरक (स्कर्ट) लगाएर म उफ्रन्छु सायद मेरो खुशीमा डाँफे, मुनाल, मयुर पनि खुशी छन् र त उ त्यसरी प्वाँख फिंजाई फिंजाई नाचिं रहेछन् अनि सेता हिमाल मुस्कुराइरहेको देख्दछु  म ।
सम्झना नै त हो जति गर्न सकिन्छ, जहाँ पनि गर्न सकिन्छ, जहिले पनि गर्न सकिन्छ हो सकिन्छ अनि सपना देख्न जत्ति पाइन्छ, देख्नु पर्छ । म त्यहि सपनाका बुकी बोकी पुगे सजाउन मेरो सगरमाथाको आँगनमा डाँफे, मुनालसँग, चौरीसँग खेल्न ।  टंग टंग गरि चौरीको  घाँटीमा झुण्डिएको घण्टा बजि रहन्छ म मेरो सानो लौरोले हल्लाएर बजाई दिन्छु त्यहि घन्टी जुन चौरीको घाँटीमा झुण्डिएको छ तुन्द्रुङग । उ फ्वाँ . .  गर्दै टाउको हल्लाउँछ  म मज्जाले रमाउँछु, मज्जाले, उ पुन: चर्न थाल्छ चिसोले किकृक्क परेको पिप्रारबुचौरीमा । आहा कति स्वर्गीय आनन्द, कत्ति रमाइलो... झ् हो, यहीं हो मेरो स्वर्गीय  आँगन, जुन सगरमाथाको काखमा छ ।
मेरी प्रिय बजै (माल्किनी) खुब माया गर्छे । उसको बेमौसमी अनि चिरिक्क परेको रीस नाकैको टुप्पामा झुण्डिएकोछ तर मन सफा । जेसुकै होस्, भनिदिन्छु तँ यतिखेर यस्ती छेस तेरो बैंसमा कस्ती थिइस् ? धेरै इन्टेलिजेन्ट उसको जवाफ, घमण्डपूर्ण झ् ठट्टै ठट्टामा तँ तँ र म म हुन्छ फेरी सरि भन्दै सामान्य । लाग्छ सम्बन्धको गाँठो  मिठो, सुमधुर हुनको लागि रगतको नाता नै चाहिन्छ भन्ने  हुँदो रहेनछ, मनको ट्युन मिलेसी सबै मिल्दो रैछ । सायद संसारमा सबै भन्दा ठूलो र माथिको नातारसम्बन्ध नै मानवियताको हो ।  प्रिय बजैलाई सहयोग र सहाराको खाँचो मलाई इमान्दारी पूर्वक भनँम पैसाको, माध्यम विनिमय, प्रेममयी । अचम्म गरि... कठोर सँग व्यतित भए बिगतका बर्ष ।  हर स्वास अरुको अधिनमा धितो राखी एक मुठ्ठी मुस्काउन कम्ता मुस्किल छैन ।
गर्मीमा पुरै झ्याल खोल्नु पर्छ । सानो कुर्सि चाहिन्छ झ्याल खोल्न, कति ठूला र लामा हुन् झ्याल । मेरो भोलि चम्काउने सपना बोकी पर्देशीएकी म ती सिसाहरु टिलिक्क चम्काउँदै गर्दा नजिकैको स्कुलमा रहर लाग्दा केटाकेटीहरु खेलेको मनै हर्ने दृश्यमा आँखा अडिन पुग्छ । कठै झ् त्यति सानोमा छोडेको मेरो छोरो अहिले त्यत्रै भयो होला, रहर लाग्दो । सायाद त्यो भन्दा नि ठूलो । तोतेबोली र उसको ताते ताते सँग धीत  भरुञ्जेल काँ खेल्न पाएँ र ? फेरी उहीं सम्झनाले मन घोच्छ , घोचि रहन्छ बाध्यता र परिस्थितिले । थाहै नपाई दुखाइका डल्लाहरू आँखाका डिलबाट पल्टिन्छन् र छातीका छाङ्गा हुँदै मैले नपूजेको माटोमा खस्छन् कतै ।  गह्रुङगो मन, सम्झना, हो यहीं एक सम्झना त छ एक प्रिय साथि । जसलाई जहाँ सुकै, कहीं पनि, जसरी पनि सम्झन सकिन्छ र गरिन्छ पनि । बिना अनुमति, बिना कुनै बिघ्न बाधा, बिना बन्धन हो स्वतन्त्र अझ यसो भनुँ निलो आकाशमा उड्ने स्वतन्त्र चरा झैं स्वतन्त्र निसंकोच उड्छ मन र पुग्छ सम्झन सबै... । ताजा स्मृति, मस्तिष्क चङ्गा हो चङगा जस्तै हल्का । हो उडी रहन्छ जता–ततै, जहाँ सुकै स्वतन्त्र मन र सम्झना.....। मन गह्रुङगो भएसी तन यसै भारी हुन्छ, झ्याल चम्काउँदै गरेका हात लथ्रक्क खस्छन, मन गलेर शरीर थुचुक्क हुन्छ ।
कुनै एक कुनाबाट संसार सयर गर्छ, हसाउँछ रुवाउँछ अनि हावा भन्दा छिटो उड्छ मन अनि यहीं एक सम्झना त छ जससँग म सम्पूर्ण मेरा सुन्यता बाँड्छु । जसलाई मैले जसरी तकियाँ बनाइ लगाए नि हुन्छ । जत्तिनै मेरा मौनता पोखाए पनि उ चुपचाप बसिदिन्छ, निरुत्तर आफैं मौन । यी खस्रक्क परेको बेडमा प्रिय घर परिवारको सुकोमल सम्झना बिछ्याई अनन्त सागरमा डुब्छु...  कतैबाट मेरो कानमा पर्छ हेल्प मी... हेल्प मी...  मेरी बजै (मालिक्नी) ले हेल्प मि स्वर सँगै झसङ्ग हुन्छु र  भित्तोमा झुण्डिएको घडी हेर्छु रातको दुई बजेको देखाउंछ काँटाले । सपनाको मिठो मन्थनबाट ब्युँझी , भर्खरै भताभुङग भत्किएको सम्झनाका सुन्दर थुङ्गो सम्हाल्दै जान्छु उनै बजैलाई हेल्प गर्न... ।
 (कथाकार राई हाल वैदेशिक रोजगारको क्रममा इजरायलमा हुनुहुन्छ)
प्रकाशित मिति:२०७१ असार १९ गते बिहीवार