अर्को महाभारत

–अश्विनी कोइराला

एक जना ६९ वर्षका बृद्धसँग केही दिनअघि कुरा भएको थियो । त्यसलाई जस्ताको तस्तै राख्ने अनुमति चाहन्छु....
‘बा, मेरो नाम अश्विनी, लेख्ने काम गर्छु । मलाई तपाईंका पालामा हुने प्रेमका कुरा लेख्न मन लागेको छ । एउटा कुनै प्रेमकथा सुनाउनुस् न ।’
‘कति पढेका छौ ?’
‘विश्वविद्यालयसम्म ।’
‘अचेलका केटाहरू खुव पढेलेखेका भन्छौ, केही जानेका हुदैनौ । मेरो कथा बुझ्छौ त ?’
‘बुझ्ने प्रयास गर्छु, बा ।’
‘त्यसो भए हाम्रो देशको एउटा चर्चित प्रेमकथा सुने । त्यसलाई चारैतिर फैलिनेगरी लेखे । जनजनमा पुगे, त्यति भए तिम्रो नाम अमर हुनेछ...।’
उनले सुनाएको कथा जस्ताको तस्तै ...
एकजना बडे नाम भएका राजा थिए । साह्रै प्रतिभाशाली लेखपढ गर्न जान्ने, राजनीति बुझेका । मान्छेहरू भन्थे, राजा भोलिको भविष्य आजै देख्न सक्छन् रे ।
यिनै राजाका पालामा एक जना तिखो, साह्रै विद्वान् वाहुन केटो थियो । राजकाज बुझेको । उच्च पदमा पनि पुगेको । लेखपढ गर्न जान्ने र साह्रै असल । देश दुनिया बुझेको र जनतालाई माया गर्ने मान्छे । अँ त्यो बाहुन केटोको नजर साह्रै कामुक थियो । कुनै स्त्रीलाई एकपल्ट हेरपछि ती स्त्रीहरू भुतुक्कै हुन्थे ।
त्यो बाहुनसँग राजाको राम्रो दोस्ती थियो । राजाले नबुझेको कुरा बाहुनलाई सोध्थे, बाहुनले नबुझेको कुरा राजालाई सोध्थ्यो । बाहुन भए पनि ऊ प्रत्येक साँझको भेटमा राजासँगै जाँडपानी पनि खाइदिन्थ्यो । यसले उनीहरूको दोस्ती झन् गहिरो हुन थाल्यो । भेटघाटमा उनीहरूका श्रीमती पनि सँगै हुन्थे । यी दुईको प्रेम देखेर दुवैका श्रीमतीहरू पनि खुसी थिए । भारदारहरू बीचमा बाहुन र राजाको दोस्ती चर्चित हुन थाल्यो । हुँदा हुँदा राजालाई सल्लाहकार नै नचाहिने, बाहुनलाई अरु साथी नै नचाहिने । यसले देशको खर्चमा कटौति हुन थाल्यो । देश कमजोर हुँदा छिमेकी राज्यले फाइदा लिइरहेका थिए । अब त्यो रोकियो । राजाको चाकडी गरेकै भरमा खान पल्केकाहरूको पनि जागीर जान थाल्यो । जो दरवारबाट बाहिर निकालिन थाले, उनीहरू छिमेकी राज्यको जासुस भएर आफ्नो दुनो सोझ्याउन थाले ।
एक साँझ जाँडपानी खानुअघि नै बाहुनलाई राजाले थुनिदिए । बाहुनकी श्रीमतीलाई उनका आफन्तसहित देश निकाला गरिदिए । त्यसपछि राजाले कहिल्यै बाहुनको मुखमा हेर्दा पनि हेरेनन् । आफ्नो गल्ती केही नभए पनि यसरी थुनिनु पर्दा बाहुनलाई साह्रै चित्त दुख्यो । राजाले त भेट्न चाहेका थिएनन् तर रानी बाहुनलाई अति माया गर्थिन् । यो कुरा बाहुनलाई थाहा थियो । बाहुनले रानीसँग भेट्न चाहेको सन्देश पठाए । एक रात राजा राजधानी बाहिर गएको मौका छोपी बाहुनसँग भेट्न रानी गोप्य रूपमा थुनुवा कक्ष पुगिन् ।
‘महारानी साहिबा, मेरो के गल्ती थियो ? मेरो परिवारको के गल्ती थियो ? ममाथि किन अन्याय गरियो ?’ बाहुन आक्रोशित थियो ।
‘तिम्रो गल्ती केही थिएन, छैन । तिम्रो आँखाको गल्ती हो ।’ रानीले भनिन्, ‘तिम्रो आँखाले मलाई फकाइरह्यो, तर तिमी कहिल्यै अघि बढेनौ । एक दिन म बेलायती रक्सी खाएर मात्तिएकी थिएँ । तिमीसँग बात मारिरहेकी थिएँ, कुन बेला राजाले मलाई तानेर कोठामा लगे, होसै पाइन । मैले त तिमी ठानेर सबै कुरा भनेँ । मैले मन पराएको कुरा गरेँ । तिम्रो आँखाको प्रसंसा गरेँ ।’
‘अहो, महारानी, नकाम भएछ...... अनि के भयो ?’
‘राजाले मलाई एक झाप्पु हिर्काए । त्यसपछि रुन थाले । मात्तिएको स्वरमा राजा भन्दै थिए, ‘तिम्रो गल्ती छैन प्रिये, म स्त्री भएको भए म पनि उसलाई यसैगरी माया गर्थें । तर एउटा म्यानमा दुईटा तरवार बस्न सक्तैन । उसले अब नाङ्गो हुनुपर्छ । उसका दुर्दिन सुरु भए ।’
‘अब के हुन्छ त ? राजा र म एक ठाउँ नबसीकन यो देशको भलाइ हुँदैन । के भन्नुहुन्छ त महारानी ।’
‘राजनीतिका बीचमा स्त्री आउनु हुँदैनथ्यो । महाभारतमा पनि द्रौपदी आएकी थिई । यहाँ म आएँ । अब महाभारत हुन्छ । मलाई लाग्छ, यो महाभारत १८ दिनमा टुङ्गिने छैन । हामी कोही रहने छैनौं । यो प्रेम पनि वियोगमै टुङ्गिने भयो ।’
त्यसपछि रानी धुरुधुरु रुन थालिन् । आजसम्म पनि रोइरहेकी छन् ।
कथा भनिसकेपछि ती बुढाले मतिर हेर्दै भने, ‘यो कथा सबैलाई सुनाऊ, बुझाऊ र यसको प्रचार गर ।’
कथा कतै सुनेजस्तो–पढेजस्तो लाग्यो । तर कहाँ पढेको सम्झन सकिन । बुढालाई फकाएर सोधेँ, ‘बा, कथा लेख्न राजा र बाहुनको नाम चाहिन्छ । के थियो उनीहरूको नाम ?
‘राजाको नाम थियो, मवि र बाहुनको नाम विपी ।’

(कोइरालाको फेसबुक वालबाट साभार)

SHARE THIS

Author:

Facebook Comment