बीस हजारको सोलारबत्ति उद्घाटन गर्न तीन लाखको हेलिकप्टर चार्टर

रामभरोसी यादव
सिरहा/कुनै बेला मन्त्रीको सुविधाबापत पाउने गाडी नचढेर आफ्नो सुरक्षाकर्मीलाई समेत साइकल चढ्न लगाउने वातावरण तथा जनसंख्या मन्त्री विश्वेन्द्र पासवानको निकै चर्चा र तारिफ भएको थियो । उनले आफू मात्र नभएर विभिन्न पार्टीका शीर्ष नेताहरुलाई साइकल उपहार दिँदै निकै चर्चा बटुले ।

तर, मंगलबार भने मन्त्री पासवान छुट्टै मुडमा देखिए । २० हजारको सोलारबत्ति उद्घाटन गर्न तीन लाखको हेलिकप्टर चार्टर गरेर सिरहा पुगे ।

व्यस्त तालिका हुँदा कुनै विशेष कार्यक्रममा सहभागी हुनका लागि मन्त्रीले हेलिकप्टर प्रयोग गर्नुलाई अस्वभाविक मान्दैनन् । तर, मन्त्री पासवान भने कुनै विशेष काम नभएर दुई थान सोलारबत्ति उद्घाटन गर्न हेलिकप्टर चार्टर गरेर गृह जिल्ला सिरहा आएर काठमाडौं फर्किएका छन् ।

मन्त्रालयको सहयोगमा आफना निजी कार्यकर्तासँग सिरहाको बेल्हा गाबिसको स्थानिय डिहबार मन्दिर र मदरसामा जडान गरिएका २० वाट क्षमताको सोलार बत्ति उद्घाटन गर्न मन्त्री पासवान राज्यको ढुकुटीबाट हेलिकप्टर चार्टर गरेर सिरहा आएका हुन् ।

२० वाट क्षमताको सोलारबत्तिको स्थानीय बजार भाउ दर १० हजार पर्छ । २ थानको २० हजार पर्ने सोलारबति उदघाटन गर्न तीन लाख खर्च गरेर ९एन आरएएल कलसाइन भएको हेलिकप्टर चार्टरबाट मन्त्री पासवान बेल्हा आएपछि हेलिकप्टर हेर्न सयौंको भीड थियो । यस विषयमा मन्त्री पासवानको प्रतिक्रिया माग्न खोज्दा उनको मोबाइल स्वीचअफ गरिएको थियो ।

प्रकाशन मितिः २०७२ चैत्र १८ गते बिहीवार
फोटो श्रोतः अन्नपूर्णपोष्ट

SHARE THIS

Author:

Facebook Comment