साँच्चै मनले भनेको कि ठट्टा गरेको ?

–स्वयम्भुनाथ कार्की


वर्तमान निराश छ, आक्रोशित छ अनि उकुसमुकुसले निसास्सिएको छ । यो नेपालको वास्तविकता हो ।

४७ सालको संविधानलाई विश्व मै उत्कृष्ट भनिएको थियो । त्यो संविधानलाई ‘आलोचनात्मक समर्थन’ गर्नेहरुले नै सबैभन्दा धेरै लाभ लिए ।

७२को संविधानलाई एसियाको उत्कृष्ट भनिदैछ , तर यसले आफ्नो खाका कोर्नेहरुलाई नै पनि संतुष्ट पार्न सकेको छैन । भनिदैछ, संसारमा सबैको मनको संविधान कहाँ बनेको छ र, परिमार्जन गर्दै लैजानु पर्दछ ।

यो साँच्चै मनले भनेको हो कि ठट्टा गरेको ? साँच्चै भनेको भए यस अघिको संविधानलाई पनि यहि कुरा लागु हुनु पर्ने थियो , ठट्टा गरेको हो भने यो भन्दा ठूलो अपराध अरु के होला ?

जनताको हैन दलको हातमा सार्वभौमिकता जानुलाई लोकतन्त्र भनेर वहस गर्नेहरु नेपालको अस्तित्वमा संकट देख्दैछन । आधुनिक नेपालको निर्माण भएपछि अर्थात करिव अढाई शताव्दी सोच्न पनि नसकिएको यो कुरा वर्तमानमा सबैभन्दा ठूलो खतरा देखिएको छ ।

यो साँच्चै मनले देखेको खतरा हो कि ठट्टा गरेको ? साँच्चै मनले देखेको भए आफुहरु समेत भएर संघर्ष (?) गरेर ल्याएको यो अवस्थाको जिम्मेवारी आफुहरु पनि हुन , पानी माथिको ओभानो बन्न पाईन्न । ठट्टा गरेको हो भने के मुलुक ठट्टा गर्ने वस्तु हो ?

अनेकौ वेलामा दल र नेताहरुले अयोग्यता देखाएको कुरा गरेर मनको भडास निकाल्ने गरिन्छ । तर जव त्यही नेता वा दलको कुनै कार्यक्रम हुन्छ ‘वफादार सिपाही’ हुने होड चल्छ ।

यो वफादरिता साँच्चै मनको हो कि ठट्टा ? साँच्चै भएको भए अयोग्यहरुको चाकरीमा तम्तैयार किन भएको ? आफ्नो योगदानको विवरणले बनेको भिक्षापात्र लिएर राजनैतिक नियुक्तिको भिक्षा थाप्न उचित हो ? ठट्टा हो भने आफुले मानेर अरुलाई पनि यहि ठिक हो भनेर मोडेको कुरालाई ठट्टामा उडाउन मिल्छ ? आखिर त्यो दल वा नेता टिकाउने काम गर्नेहरु त यीनै ‘वफादार सिपाही’ हुन ।

यो सवै आक्रोश, कुन्ठा कुनै परिस्थितिजन्य उत्पादन हैन । यो सवै किसिमका जनताको गैरजिम्मेवारीपूर्ण कामका नतिजा हुन । आफ्नो भागको दोष अर्काको टाउकामा थोपार्ने दुस्प्रयास हुन ।

अव यस्ता काममा शिर्ष भनिएका नेताहरु पनि विस्तारै सामेल हुँदै जादैछन । एक वाक्यको भए पनि संविधान जारी हुनै पर्दछ नत्र वित्याँस पर्छ भनेर संविधान सभाको रोष्टम कुर्लने बाबुराम आफैले अध्यक्षता गरेको समितिले बनाएको संविधान हुवहु लागु हुँदा पनि असंतुष्ट भएर ‘नयाँ शक्ति’ उत्पादन यज्ञमा होमिएका छन । यो उनको साँच्चैको काम हो कि ठट्टा ?

नयाँ नेपाल र अग्रगमनको नाममा हजारौ नेपालीको ज्यान जाने कारण बनेको जनयुद्धका (?) कमाण्डर भएका प्रचण्ड अहिले आएर राणाकाल र पञ्चायतमा बनेका विकासका पुर्वाघार गणतन्त्रमा भत्केको कुरा भन्दै गोहीको आँशु चुहाउदैछन ।

उनको यो प्रलाप संचारमाध्यमलाई ट्वाक्क परेको चटनी भएको छ । भौतिक संरचना भत्काउदै, राज्य व्यवस्थाको आधार पड्काउदै जनयुद्ध हाँकेका उनले साँच्चै यसो भनेको भए त्यो अपराधको साविती बयान हो । हैन ठट्टा गरेको भए भन्नु पर्दछ कस्तो नेपाल बनाउन कलिला केटाकेटीसम्मलाई बन्दुक बोकाईएको हो ?

ठट्टाको श्रृखला यतिमै मात्र सिमित छैन । यी उदाहरणहरु त सागरमा थाृपा सरह मात्र हो । काम गर्न पाईएन भनेर बहना बनाउनेको कमी छैन । पहिलेको व्यवस्थालाई आफुले काम गर्न नदिंदा पनि यो भन्दा दह्रो नेपाल र सुखी नेपाल दिएको थियो ।

आज कसैले आफ्ना योजनामा अविश्वास गर्ने वित्तिकै पारो तात्नेहरुले सम्झनु पर्ने कुरा के हो भने यहि स्वतन्त्रता भएन भनेर आफुले संघर्ष गरेको, जेलनेल खपेको इतिहास देखाएको छ ।

हिजो आफुलाई आवश्यक भएको कुरा आज अर्कोले प्रयोग गर्दा उठेको रिस साँच्चै हो कि ठट्टा ? यो सबै कुराको कुन मोल चुकाउनु पर्ला भन्ने झलक त यस पटकको नेपाली कांग्रेस अधिवेशनका प्रतिनिधि निर्वाचनले दिएको छ । ठट्टा नगरियोस नेपाल ठट्टाको विषय हैन ।

विराटनगर १
२०७२।११।२
(जनआवाज)

लेखकलाई फेसबुकमा फलो गर्न यहाँ थिच्नुहोस्

SHARE THIS

Author:

Facebook Comment