नेपाली काँग्रेसमा अब राष्ट्रवादी स्थापित हुने ?

–मिन बहादुर थापा


नेपालको सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेपाली काँग्रेस आगामी हुने तेह्रौं केन्द्रिय महाधिवेशन पछाडी लगभग गिरिजा पथको विरासतबाट सदाकालागि मुक्ति हुने निश्चित देखिदै छ । यति बेला देशभरीका पीडित निष्ठावान आम कार्यकर्ता दोहोरो स्वास फेर्न सक्ने अवस्थामा भए जस्तो प्रतिनिधि छनौटले देखाएको आभास मिल्न थालेको छ । मोरंग जिल्लामा यसपटकको जिल्ला अधिवेशनमा विगतमा नेपाली काँग्रेस विभाजन हुँदा नेपाली कांग्रेस प्रजातान्त्रिक “शेर बहादुर देउबा”का जिल्ला सभापति एवम् वर्तमान सभासद डिग बहादुर लिम्बुले अत्यधिक मतले सिंगो नेपाली कांग्रेसको सभापतिमा जित्नुले गिरिजा पथ जसले मोरंग नेपाली कांग्रेसलाई आफ्नो निजी सम्पत्ति भन्दा पनि दाइजो सरह सम्झेका थिए उनीहरुलाई आज ठूलो बज्रपात भएको सबैले महसुस गरेका छन् ।

गिरिजाकै गृह जिल्लामा सस्थांपन पक्षले नराम्रोसंग पराजित हुनुले पनि निकट भविष्यमा हुने नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशनमा लगभग राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तित्व बनिसकेका शेर बहादुर देउवाको आगमनलाई रोक्न भवितव्य भन्दा अर्को कुनै विकल्प नरहेको नेपाली काँग्रेसका आम महाधिवेशन प्रतिनिधिहरुमा एकमत रहेको बुझिन थालेको छ ।

वर्तमान नेपाली कांग्रेसका सभापति शुशील कोइरालाको असामयिक निधनले अझ स्वाभाविक रुपले शेर बहादुर देउबामा नै नेतृत्व हस्तान्तरण हुनेमा बहुमत कांग्रेसका प्रतिनिधि देखि शुभचिन्तकहरु एकमत देखिन थालेका छन् । यसपटक देशभरि नै बहुमत संख्यामा शेर बहादुर देउवाको पक्षले जित हाँसिल गरेको देखिन्छ । यसो हुनुको मूख्य कारण शुरु देखि नै गिरिजा प्रसादले दोस्रो पुस्ताका पहिलो पंक्तिका नेता शेर बहादुर देउबा, रामचन्द्र पौड्याल, खुम बहादुर खड्का जस्ता नेता र अरु धेरै नेता लगायत आम कार्यकर्ताको राय सल्लाह बेगर अप्रत्यासित रुपले राष्ट्रलाई कम्युनिष्ट र बिदेशीहरुको मिलोमतोमा रातारात धर्म निरपेक्ष घोषणा गरे । क्षणिक आवेगमा आई संवैधानिक राजतन्त्रलाई बर्खास्त गरियो । जुन आम नेपालीले कल्पना पनि गरेका थिएनन् ।

उनैका दलका नेता देखि कार्यकर्ताले राम्रो मानेका थिएनन् तर उनको सामु बोल्न सकेका थिएनन् । जुन कुरा जननायक बिपी कोइराला, सवोच्च नेता गणेश मानजी र सन्त नेता किसुन जीको आदर्श, सिद्धान्त र विचार भन्दा अलग थियो । यो भावनालाई खुम बहादुर जस्ता जुझारु नेताले निकै पहिले देखि नै अभियानको रुपमा आन्दोलन नै थालेका थिए र छन् । फलस्वरूप नेता शेर बहादुर देउबाले पनि केहि समय अगाडी हिन्दु राष्ट्रको पक्षमा आफ्ना भनाइ सार्बजनिक गर्दै आएका छन् । नेपाली काँग्रेसका शुभचिन्तक र पार्टीभित्र ठूलो संख्यामा सुसुप्त अवस्थामा नेपाल हिन्दु राष्ट्र हुनु पर्छ भन्ने विचारका नेता कार्यकर्ता छन् । आज शेर बहादुर देउवा, खुम बहादुर खड्का अन्तरिक पार्टीको चुनाबमा अग्र पंक्तिमा देखिनु र हुनुको मुख्य कारण पनि यहि हो जुन कुरा राष्ट्रियताका लागि अपरिहार्यता छ भनि पहिले नै बि.पी., गणेशमान जी, किसुनजीले भनिसक्नु भएको छ । यहि आदर्श र सिद्धान्तले वहाँहरु पार्टीमा स्थापित हुने मात्रै होइन राष्ट्रलाई पनि बचाउने छ । जय नेपाल, जय हिन्दु राष्ट्र नेपाल ।

प्रकाशन मितिः२०७२ माघ २८ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment