आमाको फाटेको चोली
बुवाको फाटेको टोपी हेर्दै,
निन्याउरो मुख लगाएर
खुट्टामा प्याट–प्याट चप्पल पट्काउँदै
अलिकती आमाको माया बेरिएको गुन्द्रुक
बाबाको पसिना भिजेको चमल बोकेर
काठमाण्डौ छिरेको म बेरोजगारी ।।
काठमाण्डौका घरहरू, जहाँ कुकुरको सम्मान हुन्छ
गाउँलेलाई ढलमती सोच्छन्
र सबै आफ्ना धन्दामा हुन्छन्
पैसा कमाउने उपायको खोजीमा हुन्छन्
यहाँ कसैलाई कसैको मतलब छैन
पैसा नभए बाबुआमा पनि आफ्ना हुँदैनन्
त्यही दुनियाँमा आफ्नो भविष्य खोज्दै छु
म एउटा बेरोजगारी ।।
आँखाभरी सपना सजाउँदै
मनभरी कुराहरू खेलाउँदै
बाबाको फाटेको टोपी फेर्नु छ,
आमाको फाटेको चोली फेर्नु छ
चुहिएको छाना फेर्नु छ र
फेर्नुछ मेरो वस्तीको अन्धविश्वास
रुढीवादीहरू,
हिंड्दै सर्टिफिकेट काखी च्यापेर
प्रत्येक ढोकाहरू ढकढकाउँदै देखाउँछु
यहाँ काम पाइन्छ हजुर ?
म एउटा बेरोजगारी ।।
सूचना आचार्य
गोरखा
हाल: काठमाण्डौ
प्रकाशन मितिः २०७२ चैत्र १८ गते बिहीवार