
राष्ट्रको हित भन्दा महत्वपूर्ण अरु कुनै कुरा हुुन सक्दैन । अनि कुनै राष्ट्र केवल भुगोलले मात्र हुँदैन । यो कसैले आधुनिक युगमा परेको परिभाषा हैन सनातन परंपराको आधारभूत कुरा हो । यस कुरालाई प्रमुखता दिईएका अनेकौ प्रसंगहरु धार्मिक ग्रन्थहरुमा मात्र हैन इतिहासमा पनि प्रशस्त पाईने गर्दछन् । राजकाजको जटिलता हल गर्न सर्वसाधारणको सम्मती र सल्लाह लिएका शासकहरुले नै इतिहासमा सफल शासकको रुपमा स्थान बनाएका छन । सनातन शास्त्र भन्दछ जनता जनार्दन अर्थात बिष्णु हुन् र राजा त्यही जनार्दनको अंश । जनता जनार्दन भनेर भन्ने चलन आज पनि कायम छ ।
नेपालको एकीकण गर्ने शाहवंशका पृथ्वीनारायण शाह यदि आफ्नो राज्य गोर्खाका बाह्रहजार घरधुरीका जनताको सम्मति र सहयोगमा नचलेका भए आधुनिक नेपाल संभव नै थिएन । अझ गोर्खाका घले राजाहरुले जनताको कुरा सुनेका भए द्रव्यशाह गोर्खाका राजा नै हुन सक्ने थिएनन् । जनतालाई सर्वसुलभ र छिटो न्याय दिएर रामशाहले “न्याय नपाए गोरखा जानु” भन्ने उखान नै चलाएका थिए । शाहवंशमा जो समर्थ राजा देखिए सबैले लोकसम्मतिलाई शासनको आधार बनाए । राजा राजेन्द्रले यही कुरा छोड्दा राजा र प्रजाको बीचको सम्पर्क सुत्र कमजोर भयो । उनको यो कमजोरीले नेपाल १०४ बर्षसम्म अस्वभाविक उत्तराधिकार नियम भएको जहानिया शासनको सुरुङमा फस्न बाध्य भयो ।
सन्तानमा उत्तराधिकार जाने परंपरा तोडेर भाईमा उत्तराधिकार जाने व्यवस्था जंगवहादुरले गरेका थिए । यो त्यो वेला क्रमभंग नै थियो, एक ठूलो परिवर्तन थियो र अग्रगमन नै थियो । राजालाई दायरामा बाँधेर केवल भनेको ठाँउमा लालमोहर लगाउन पर्ने गरिएको थियो । यो नै अलंकारिक राजाको प्रयोग थियो जो बेलायत पछि संभवत नेपाल मै भएको थियो । यो अवस्थाको कारक रणबहादुर शाहले शिशुराजा बन्नुपरेको वाध्यताले थियो भन्न सकिन्छ । यसरी नेपालले सक्षम, संवैधानिक आलंकारिक र शिशु राजाको अवस्थाको अनुभव गरिसकेको छ । वर्तमानमा गणतन्त्र पनि चाख्दैछ ।
यी सबै अवस्थामा कुनै वेलामा एक्लो र निरिह भएको नागरिकले पनि आफु राज्यको निमित्त महत्वपुर्ण भएको ठानेको छ । अनि राज्यले आफ्नो ध्यान राखेको अनुभूति गरेको छ, उत्तर दिन आवश्यक नै छैन । कथनी र करनीमा भएको अन्तर जनताले भोगेर जानेको छ । त्यसैले वर्तमानमा नेपाली जनता असंतुष्ट भएको छ । जब कोही असंतुष्ट हुन्छ तव मनको भडास निकाल्ने कुनै पनि मौकाको उपयोग गर्दछ । चाहे त्यो मौका नैतिक होस वा नहोस । संविधान पारित गर्ने प्रक्रिया संगै वर्तमानसम्ममा देखिएका अनेकौ असहिष्णु र कुनै कुनै त अमानविय आक्रोशको प्रदर्शन हो ।
नेपालमा अनेकौ पटक सत्ता र व्यवस्था परिवर्तन भए । हरेक श्री ३ ले लिखित नियम अत्यन्त कम र हुकुमी नियम ज्यादा चलाए । यसैले ती हरेक व्यक्ति परिवर्तन व्यवस्था परिवर्तन सरह थिए । जंगवहादुर, चन्द्र शम्शेर र जुद्धशम्शेर बाहेक अरु राणा श्री ३ वर्तमानमा इतिहासकार वाहेक अरुले सम्झेको छैन । वीर अस्पताल अनि वीरगंजले पनि वीर सम्सेर सम्झाउन्न । किनभने उनका यी किर्तीहरु जनताको हितको भन्दा जनतालाई गुन लगाउने प्रयोजनले भएका थिए । जंगवहादुर लगायतकाले केही मात्रामा भए पनि आफुलाई जनतासंग जोडेका थिए ।
हरेक परिवर्तन संगै नेपालीले पुरानै व्यवस्था चटक्कै त्यागिदिए । केवल राजसंस्था मात्र एक यस्तो कुरा रहेको जसलाई नेपालीले आफ्नो मनमा राखेका छन् । यो अनुभूति गणतन्त्रका अभियन्ताहरुलाई पनि भईसकेको छ । त्यसैले बेलाबेलामा राजाले शुरुदेखि नै भन्ने गरेको जनताले चाहे भने राजसंस्थाको पुर्नस्थापना संभव छ भन्ने कुरा भन्दैछन् । पुगनपुग दश बर्ष राजा शब्द समेत उच्चारण गर्न वन्देज जस्तै लगाएकाहरु अहिले गणतन्त्र संस्थागत (?) गरिसकेपछि फेरी त्यसको रक्षा गर्न जे पनि गर्ने अभिव्यक्ति दिन विवश छन ।
यो स्पष्ट संकेत हो अव उनीहरुलाई गणतन्त्र थाम्न कठिन भई रहेको छ । जनताको मनमा राजसंस्था झन गहिरो गरेर बसेको उनीहरुले ठानेका छन् । कुनैपनि वेला राजसंस्थाको पुर्नस्थापना हुने उनिहरुको अनुमान छ । त्यसैले विदेशीले स्थापना गरिदिन लागेको हल्ला चलाउँछन र आफैं त्यसैमा भ्रमित भएर विदेशी मुलुकहरुको सम्वन्धमा करिव–करिव चाकरी भन्न सकिने व्यवहार गर्दैछन । नेपालका कसैलाई पनि भुईचालो प्रभावित क्षेत्रमा सहयोग गर्न रोक लगाएको राज्य वेलायती राजकुमारलाई त्यहाँ निर्वाध गतिविधि गर्न दिन्छ । बाढी पिडितलाई दार्चुलामा सहयोग गर्न जाँदा राजालाई जेलहाल्ने धम्की दिनेहरु विदेशी राजकुमारलाई रातो तुल विछ्याउछन ।
अनेकौ नयाँ संगठनहरु गठन गरिएका छन । तर जनता र राष्ट्रको हितको निमित्त काम गर्ने कार्यक्रम दिने हविगत र ल्याकत छैन । त्यसैले कहिले कुचो बोकेर सडक बढार्न लाग्छन् कहिले बागमतीबाट प्लास्टिक बटुल्न लाग्छन् । जनताको दैनिकीमा असर गर्ने वस्तुहरुको अभाव हटाउनु भन्दा भाषण गर्नु । कुचो लगाउनु अनि प्लास्टिक टिप्नु महत्वपुर्ण काम भएको छ । स्वदेशमा रोजगारी श्रृजना गर्ने कुरा भाषणमा मात्र सिमित छ । त्यसैले राजा महेन्द्रको कार्यकाल र त्यसमा भएका जनकल्याणका कुराहरुको चर्चा जनताले गर्दैछन् । गणतन्त्र बचाउने हो भने नेपाल र नेपालीको हित सबैभन्दा ठूलो मानेर काम गरे हुन्छ । तर बिना भागवण्डा गणतन्त्र चल्न सकेको देखिन्न त्यसैले यो असंभव छ ।
विराटनगर–१
प्रकाशन मितिः २०७२ चैत्र १८ गते बिहीवार