
विचित्रको मानव जीवन, विचित्रको परिभाषा अनि विचित्रकै शैली र विचित्र तरीकाले गरिएका सम्झौताहरु ! कसैले यस्ता सम्झौताहरु तोडेर विभिन्न आरोह–अवरोहहरु पार गर्छन् भने कसैले यही सम्झौतालाई स्वीकारेर बस्छन् ।
एउटी महिला जसले चार वर्षदेखि गरेर आएको जीवनको कहालीलाग्दो सम्झौतालाई तोडेकी छन् । एउटा नानीको आमा बनिसकेकी अनि आफ्नो लोग्नेको मारपिट र यौनशोषण बाट छट्पटिएकी देवकीले आज आफ्नो र नानीको लागि त्यो कहालीलाग्दो सम्झौतालाई तोड्दै चुनौतीको संघारमा उभिएर चुनौतीलाई नै ललकार्दै अगाडी बढेकी छन् ।
बिहे गरेको केही हप्ता त ठिकठाकनै चल्यो तर.....“सानै देखी लागेको बानी कस्ले छोड्ला नानी” भने झैं बिहे गरेको पाँचौ हप्ता पछि सुरेशले आफ्नो रंग देखाउन थाली हाल्यो आधा रात सम्म बाहिर बस्ने अनि मध्यरातमा नशाको हालतमा घर आउँने, शुरु शुरुमा देवकीलाई डर लाग्यो केही बोल्न सकिन अनि माइतीमा गएर रुँदै सबै वृतान्त बताउँदा माइतीले भने हेर ¤ यो तेरो भाग्य हो, भाग्यको अगाडी कसैको केही लाग्दैन । त्यसैले सहनु नै बेश छ ।
कस्ता माइती ती आफ्नै घरकी चेलीको आँसुले पोलेन तिनको आत्मा ? घरमा पनि कसलाई भन्नु सबै दिक्क नै थिए सुरेशको व्यवहारले । विवश देवकी पनि चुप लागेर नै बसी शोषण र अत्याचारको भुमरी भित्र ।
अहिले उसको नानी दुई वर्षको भइ सकी ! देवकीको भविष्य बच्चीको भविष्यसँग जोडिएको हुनाले ऊ चिन्तित थिई जुन स्वभाविक पनि हो, कतैबाट हार गुहार हुने नदेखे पछि अन्तमा जीवनसितको कहालीलाग्दो सम्झौतालाई तोड्दै कठोर निर्णय लिएर ऊ घर छोडन बाध्य भई, अनि अब अगाडीको भाग्य म आफैं बनाउछु भन्दै ऊ शहर पसी ¤ धेरै लेखपढ नभएको हुनाले कतै जागिर खाने सम्भावना त थिएन तर सोधपुछ गर्दै जाँदा एउटा घर भेटी जुन घरमा एउटा काम गर्ने मान्छेको आवश्यकता थियो । घरायसी काममा घरमालिक्नीलाई सघाउनुको साथै उनका दुईवटा नानीहरू हेर्ने काम । भनिन्छ नि “जहाँ इच्छा त्यहाँ उपाय” अब देवकी पनि ढुक्क भइ आफ्नो अनि बच्चीको सुरक्षित भविष्यको नयाँ सुरुवातबाट, अब ऊ बाहिरिएकी छे त्यो डर लाग्दो भुमरीबाट...
यहाँ भन्न खोजिएको के हो भने सधैं मेरो भाग्य यस्तै छ र यही नै मेरो भोगाइ हो भन्दै सम्झौता मात्रको भरमा आफू सक्रिय नहुने हो भने जीवन पहिलाको देवकीको जस्तो नै रहिरहन्छ तर मार र अत्याचारलाई चुनौती दिंदै एउटा अठोट लिएर कदम अगाडी बढाउने हो भने जीवनलाई देवकीको पछिल्लो जीवन जस्तो पनि बनाउन सकिन्छ । त्यसैले सुन्दर विचार सहित सत्कर्म गर्दै आफ्नो सुन्दर भविष्य बनाउन आफूलाई नै चुनौतीको संघारमा उभ्याएर संघर्ष गर्न अति नै जरुरी छ । किनभने जीवन एउटा संघर्ष हो...।