१९ जनामा सर्वस्व सुम्पिने दरबार र १७ हजारमा चित्त नबुझाउने दलहरु, को असल ?

– सोम बिक्रम सिंह
विदेशबाट बाकस आयो की नेपाली जनता स्तब्ध हुन्छन्, परिवारमा कोलाहाल मच्चिन्छ, श्रीमती, आमा, बाबु तथा बच्चाहरु डाको छोडेर घ्वा घ्वा रुन्छन्, वरपर खैलाबैला मच्चिन्छ, दृष्य हृदय बिदारक हुन्छ । किनभयो होला यस्तो, बाकसमा के आउँछ यस्तो जसले वरपरको वातावरणमा खैलाबैला मच्चाईदिन्छ ।

देशका कर्णधार मानिने युवाहरु आफ्नो बाल बच्चा, श्रीमती, बाबु आमाको पेट पाल्न र परिवार संचालन गर्न मुस्लिमको देशमा रगत पसिना चुहाउन मरिहत्ते गर्दै जान्छन् । बिडम्बना धेरै कारणले गर्दा आफनो प्राण भन्दा प्यारो मुलुक, परिवार र समाजलाई संसारबाट छोडी विदेशी भूमीमा ज्यान गुमाउँछन् र क्रिश्चियनको लाश बोक्ने कफीनमा कोही सग्लो त कोही टुक्रा टुक्राको अवस्थामा, कोही सडेर त कोही चिन्नै नसक्ने अवस्थामा मात्रृ भूमीमा आइपुग्छन् ।

जति यस्ता घटना विदेशी भूमिमा घट्न पुग्छन्, तब तब नेपाली जनताले नेपालका राजनैतिक पार्टी र नेताहरुलाई स्मरण गर्छन, एक प्रेमीले आफ्नो प्रेमीकालाई मीस गरे झैं । नगरुन पनि कसरी उनीहरुका प्रत्येक चुनावी घोषणा पत्र र भाषणमा स्वदेशमा उद्योग धन्दा संचालन गर्ने, युवाहरुलाई स्वदेशमै रोजगारी दिने जो हुन्छन् । त्यती मात्रै कहाँ हो र उनिहरुकै रगत पसिनाको कमाईबाट आएको रेमिट्यान्सको पैंसाले चिल्ला एसी युक्त गाडि चढेर आलिशान बंगलामा मस्ती गरीरहेका हुन्छन् ।

जनताको यस्तो दु:ख र आँसुमा केहि नेताहरुले देखावटी नै भला संबेदना सम्म दिन पुग्छन् तर कुनै गुण्डा ईन्काउन्टरमा मारिदा कुर्लने, पार्टिको झण्डा ओढाउन सम्म पुग्ने नेता तथा राजनैतिक दलहरु यतिबेला कहाँ जान्छन् ? आजसम्म मैले त देखेको छैन, कुनै नेपाली मजदुर बिदेशी भूमिमा जाँदा भलै उसको गल्ती नहोस् तैपनी मारिन्छ उसको अन्त्यस्टीमा गएर उनिहरुको परिवारको दु:खमा सामेल भएको ।

म कसरी बिस्वास गरु उनीहरुका पार्टिका चुनावी घोषणा पत्र र भाषणहरु, जबकी हाम्रा देशका प्रथम मजदुर नेता स्व. गिरीजाप्रसाद कोईरालाले उदारवाद र निजीकरणको नाममा चीन र रुसले बनाई दिएका उद्योगहरु कौडीको रुपमा बेचिदिएर मजदुरको पेटमा लात हानेको ? यदि मेरो बुझाई गलत छैन भने चीन र रुसका जनताबाट संकलित करबाट बचेको रकमले बनेका हाम्रा ठूला ठूला उद्योगहरु, जापान लगायत अन्य राष्ट्रका जनताबाट आएको सहयोगबाट बनेका संस्थाहरु आफना कार्यकर्ता भर्तीकेन्द्र बनाईए तथा तहस नहस गरी देशको आर्थिक अवस्था जर्जर बनाईए ।

आर्थिक क्रान्तिको नाममा देशमा बिध्वंश मच्चाएर आफु, पार्टी र परिवारको नाममा अपार सम्पत्ती थुपारी बसेका नव नवाफहरु जन्माउने कार्य यस देशको अर्को धुन्धकारीको जमात माओवादीलाई नै जान्छ । नेपाली जनताको रगतको आहालमा खेली क्रान्तिको नाममा देशको उच्च ओहोदामा बसी ब्रम्हलुट मच्चाउदै बसेका हाम्रा क्रान्तिकारी नेताहरु जुन बर्तमान अवस्था (नयाँ नेपाल) का मुख्य भागीदारहरु हुन् ।

अचम्म लाग्छ, आज यहाँ दिनहु जसो जनताको सम्बृद्धि र देश बिकासका नाममा नयाँ पार्टीहरु खोलिन्छन् । तिनै मध्ये एक हिजोका क्रान्तिबारी धारबाट पैदा भएका बाबुराम भट्राईको नेतृत्वमा नयाँ शक्तिको नाममा नयाँ पार्टी खोलिएको छ । तिनै भट्टराई लगायत अन्य टाउकेहरुको लहडमा क्रान्ति र सशष्त्र युद्धको नाममा मरेका ज्ञात अज्ञात ब्यक्तिहरुको परिवारलाई त्यो घटना बिर्सन आग्रह गरिएको छ । माओवाद र माक्र्सवादबाट मुलुक चल्दो रहेनछ, नेपाली माटो र परिवेशमा त्यो सुहाउदो प्रयोग रहेनछ, संसदवादी धार नै प्रमुख बिकास तथा सम्बृद्धकिो धार रहेछ भने किन त्यत्रो नर संहार तथा देशको खरबौं रुपियाको सम्पत्ती ध्वस्त गरीयो त ? आखिर फेरी त्यही संसदवादी धार र कुर्सिको लुछाचुडीमै ओर्लिएका  बाबुरामलाई प्रश्न छ, के राजा मात्रै यो देशको बिकास र सम्बृद्धिका बाधक थिए त ? यदि उनी बाधक थिए भने १९ जना नमर्दै खुरुक्क राजसंस्था छोड्ने ब्यक्ति हुँदा हुदै १९ हजार माथिका जनतालाई किन अनाहकमा मार्नु पर्यो ? किन १९ खरब भन्दा माथिको देशको सम्पत्ती ध्वस्त गर्न पर्यो ? उनी विकास, सम्बृद्धि, शान्ति तथा आर्थिक क्रान्तिको बाधक थिए भने किन त्यसबेला यसबारे नेपाली जनता माझ बहस चलाईएन ? किन कोही ब्यक्ति गएर तत्कालीन राजा ज्ञानेन्द्र तथा स्व. बीरेन्द्रलाई यस बारे सम्झाउने, बुझाउने प्रयास गरिएन ?

अर्का अवसरबादी र रंग फेर्न सिपालु कहलिएका नेता प्रचण्ड पहिले ठूला ठूला कुरा खोक्थे, राजालाई फाले भनेर कुम हल्लाई हल्लाई मन्द मुस्कान छोडी जनताको अगाडी खुब कुर्लन्थे । तर तिनै ब्यक्ति आज नेपाल भन्दा बाहिर जान छेर भालु छेर छन् । विदेशको नाम सुन्ने बित्तिकै जानको लागि लालायीत हुन्छन् तर जाने बेला आएपछी पुरानो पाप र अपराध कराउन थाल्छ, भ्रमण स्थगित गर्दै बस्छन् । नेपालमा नै बस्न पनि बिचरा आज मरिन्छ की भोली मरीन्छ भनी आगे पिछे जमातका जमात बन्दुकधारी राख्न पर्ने अवस्था आयो । आज यिनै प्रचण्ड र यिनको क्रान्तिका कारण देशमा असुरक्षा र बस्ने वातावरण नहुँदा जनता देशै छोड्न बाध्य भए, बिचरा कोही बन्द बाकसमा आउने क्रम जारी छ ।

पंचायतकाल जति निरंकुश र तानाशाह भनिएपनि केहि विकासका दिर्घकालिन योजना तथा रेखाहरु कोरिएको हामी नर्कान सक्दैनौ । तर पंचायत भित्र पनि केहि त्यस्ता पंचहरुका कारण पंचायत शासनलाई पूर्ण रुपमा राजनैतिक दृष्टिबाट सफल मान्न नसकिएको आम बुझाई छ । जस्तो तत्कालिन अवस्थामा कहलिएका पंच सूर्यबहादुर थापाको रंग फेर्ने चरित्र, उनि लगायत अन्य पंचहरुबीच आपसमै फुट र खिचातानी आदि कारणहरुले गर्दा पंचायतकाल र तत्कालिन राजनैतिक कालखण्ड पूर्णरुपमा सफल हुन सकेन ।

त्यति मात्र होईन, पंचायतका नायक महेन्द्रको राष्ट्रवादी, अभिछिन्न र समुन्नत नेपालको सोचलाई तत्कालिन भारतीय शासकहरुले गिद्धे दृष्टिले हेरेकै हुन् । यहाँनेर एउटा प्रशंग उठाउन खोजे, तत्कालिन अवस्थामा राजा महेन्द्र र ईन्दिरा गान्धि बिच बहस हुन पुग्यो । ईन्दिरा गान्धिले नेपाललाई भारतभित्रै गासौं भन्ने प्रस्तावमा राजा महेन्द्रले हुन्छ भन्दै भने, एउटै बनाउ तर नाम चाँही नेपाल नै राखौं । यो कुरा ईन्दिरा गान्धिलाई पाच्य भएन र भारतीय सम्पन्नताको धक्कु देखाईन । महेन्द्र पनि के कम उनले भनिहाले, हाम्रो देश जति गरिब भएपनि दुई छाक हातमुख जोर्न समस्या छैन, तिमीहरुको जस्तो खानै नपाएर सडकमा भिख मागेर हाम्रा जनता बस्नु परेको छैन । महेन्द्रको यो बाक्यलाई गाली झैं सम्झिएकी ईन्दिराको मौका पर्नासाथ बहुदलबादीहरुको सहकार्यमा बहुदल सँगसँगै सडकमा मगन्तेहरु र मगन्ते संस्कृति बोक्ने संस्कारलाई पनि काठमाण्डौं भित्र्याउने सोच सफल भयो । पंचायत पनि ढल्यो, देशले दश बर्षिय जनयुद्धको मार पनि खेप्यो, अन्तरिम संबिधानमा देश चलेर अन्तत: संबिधान जारी गर्ने सम्ममा राजनैतिक दलहरु सफल भए ।

संबिधान बनेपछी नेपालले दुबै राष्ट्र भारत र चीनबिच राम्रो सुमुधुर सम्बन्ध राख्ने, स्थानीय चुनाव गराएर अन्तराष्ट्रिय छबि राम्रो बनाउन खोजे पनि देश भित्रको अवस्था भने असरल्ल नै छ । अविश्वासको ठूलो खाल्डो, बिकासको बाटोमा ठूला ठूला भ्वांग तथा राष्ट्रको नेतृत्वमा अझै ठूलो खडेरी छ । देशको हालका स्थायी संस्थामाथि जनताले कडके नजरले हेर्ने चलनले गर्दा राष्ट्र अग्रगामी छलांग लगाउन सकि रहेको अवस्था छैन । जहिले सरकार फेर्ने, राष्ट्रिय सहमतिको सरकारको कुरा उठि रहन्छ, जनता रणभुल्लमा छन् ।


राष्ट्रीय सहमतिको सरकारको कुरा पनि उठाईन्छ, जब सम्म बिभिन्न पार्टिले उठाएको एजेण्डा नैं अलग अलग धारको हुन्छ भने कसरी राष्ट्रिय सरकार बन्ला त ? राष्ट्रिय सरकार बनिहाले पनि राष्ट्रिय ढुकुटी सिध्याउने ओम शान्ति भागबण्डाको आधारमा बन्ला । राष्ट्रिय सरकार नबनेको खण्डमा बिदेशी शक्तिले प्रचण्डलाई नयाँ प्रधानमन्त्रीको रुपमा हेरेको देखिन्छ भने देउवा नौ महिना पछि अर्को प्रधानमन्त्रीको रुपमा प्रोजेक्ट भइसकेको अवस्था छ, केपी ओलीले संबिधानसभा बिघटन गरेनन् भने मात्र । त्यसै कारणले देउवा, प्रचण्डको नेतृत्वमा लचक देखिएका छन भन्ने ठम्याई गरे हुन्छ । तर प्रचण्ड पछि देउवाको समयमा चुनावीय सरकारको पनी बहस नचल्ला भन्ने छैन ।

अहिलेको समसामयिक राजनीतिक अवस्थालाई नियाल्ने हो भने पश्चिमा तथा युरोपियन शक्तिले यस संबिधानलाई कार्यान्वयन भएको देख्न चाहन्छ । केपी ओलीको सरकार चिन तिर ढल्केको बुझाईले दक्षिण पन्थि र स्वयं भारत ओलीसँग चिढिई केपीलाई अपदस्त गर्न चाहन्छ भन्ने आम जनताको बुझाई रहेको छ ।

त्यसैकारणले होला हाल प्रचण्ड केपी सरकार ढलाउने प्रमुख गोटीको रुपमा प्रस्तुत भएका । तर नेपालको राजनीतिमा रातिको ११ बजेर ५९ मिनेटमा बिभिन्न राजनीतिक खेलहरु भई पल्ला कता भारी हुन्छ पत्तै पाईन्न् । कतिले त फेरी प्रचण्डलाई रातको १२ बजेको प्रहरमा अर्को ठूलो धक्का फेरी भारतबाट हुन्छ की भन्ने आँकलन गर्दैछन् । राजनीतिक बिश्लेषकको बुझाईमा भारतले यो संबिधान कार्यान्वयन भएको देख्न चाहँदैन । यही नै प्रचण्डको लागि ठूलो प्रहार हुन सक्छ । नेताहरुको खिचातानिमा देश र जनता भडखेलोमा जाने हो ।

ईतिहासलाई नियालेर हेर्ने हो भने यिनै नेताहरुको खिचातानीले गर्दा राजा महेन्द्रले नयाँ राजनैतिक रेखाकंन गर्नु परेको । राजा महेन्द्रले तत्कालीन प्रधानमन्त्री बिपी कोईरालालाई देश दर्शनमा लगेको समयमा नेपाली जनताले आफनो प्रतिनिधित्वता गरी देशको गरिमामय स्थानमा बस्ने ब्यक्तिलाई नचिन्नु, देशको र जनताको यावत अवस्थाबारे र आफनो समस्याबारे राजासँग गुनासो गर्नाले पनि राजनीतिक, रणनिती राजा महेन्द्रबाट तयार भै सकेको थियो । त्यस समय बाउको बिर्ता झैं हाम्रो अस्मितालाई दाउमा राखी भारतसंग राष्ट्रियता र राष्ट्र चुक्ने गरी गरेको सन्धी र सम्झौताले पनि राजा तथा जनता त्यस समयको सरकारको भारी बोक्ने नेपाली कांग्रेससँग चिढिई सकेको थिए । के २०१७ साल ल्याएर देश जोगाउन खोज्नु नराम्रो थियो त ? के प्रजातन्त्रको नाममा देशका जनतालाई राष्ट्र बिहिन बनाउनु चाँहि राम्रो हो त ? यावत कुराहरुले नेपालमा नेपाली नेताहरु फेरीपनि असफल हुदै गईरहेको देखिएका छन् ।

तर यी सबै नाटककारहरुको नाटक मञ्चनले जनताले खुशीको अनुभूति गर्न सक्लान त ? कदापी यी नेतृत्वबाट जनता खुशी हुने वा मुलकले निकास नपाउने देखेरै होला, राजसंस्थाको पक्षमा ठूलो जमात तयार भएर बसेको । तर नेतृत्वको खडेरी भएर नै होला, यसभित्र पनि कहिले बेबी किंगको बहस कहिले राजावादी, राजतन्त्रवादी तथा राजसंस्थावादी भनि स्पष्ट तीन धार उत्पादित भई कहिले निचोडमा नपुग्ने बहस सृजना भएको ।

तसर्थ यो देशमा राजसंस्था स्थापित हुन जरुरी छ र राजसंस्थाको अभिभावकत्व तथा नेतृत्वमा राष्ट्र अगाडि बढ्न सक्छ, समृद्धिमा लम्कन सक्छ र राष्ट्र स्थिर रहन सक्छ भन्ने पक्ष जनतालाई जागरण गराउन जरुरी छ ।

युवराज गौतम दाईले गुनगुनाईरहनु हुने चेतन कार्कीदवारा रचित गीत फेवातालको कत्ले माछा हर्पन खोला धाउछ, बुढो पोईको ओछयान लाउदा जागर मरी आउँछले एउटा मार्मिक दृष्य चित्रण गर्छ । बृद्धाअवस्था लागेका राजाबाट के आशा गर्न सकिन्छ भन्ने शंका कतिपयमा उत्पन्न हुन पनि सक्छ । राजा ज्ञानेन्द्र यसपाली असार २३, २०७३ साल ७० बर्ष पुगे । जनतालाई राजाको उमेरले गर्दा जोश जागर नलागेको भन्दा नेतृत्वको बिश्वासको खडेरीले गर्दा जागँर नलागेको स्पष्ट हुन्छ । नत्र भए राजाको झापा भ्रमणमा किन भान्छा नै उल्टेर राजाको दर्शनको लागी भगवानको रुपनै मानी ह्वारह्वार्ती रानोलाई मौरीको बथानले छोपेझैं छोप्न पुगे त । राजालाई बिष्णु भगवानरुपी नमानेनी बरिष्ठ तथा प्रख्यात निबन्धकार तथा चित्रकार ८० बर्षे मनुजबाबु मिश्र भगवान मान्दैनन् तर उनको लागी राष्ट्रवादी राजा महेन्द्र नै भगवानरुपी हुन भने झै नेपाली जनताले पनि राष्ट्रको लागि राजन ज्ञानेन्द्रलाई भगवान राम रुपी नै मानी आएको प्रमाणीत हुदै गएको छ ।

अन्तमा, राष्ट्रियताको जगेर्ना, राष्ट्रको भलो, नेपाली दाजुभाई तथा दिदी बहिनी बिदेशीनबाट रोक्ने, देशको बिकास गर्न, अर्थतन्त्रमा अभिबृद्धी ल्याउनलाई स्थिर संस्थाको आवश्यकता छ भन्ने बहसको अत्यन्त जरुरी छ । यी सबै पक्षका लागि देशमा राजसंस्थाको आवश्यकता छ भने राजसंस्थालाई उचित सम्बोधन गर्ने सही नेतृत्वको खाँचो छ । कथंंकदाचीत सही नेतृत्व भेटिएनन् भने जनता आफै जाग्न जरुरी छ । जनता आफै सडकमा आई राजालाई ल्याई राजसंस्था स्थापित गरी देशमा राजतन्त्रात्मक शासन ल्याई यो राष्ट्र जोगाउन आवश्यक छ । तसर्थ जनता आउ, राजा ल्याउ, राष्ट्र जोगाउ ।

प्रकाशन मिति ः२०७३ साउन ०६ गते

SHARE THIS

Author:

Facebook Comment