केशर विष्ट, कमल थापा र राप्रपा नेपाल

–सन्तोष मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राजाको सवल र सक्रिय नेतृत्व मान्ने निर्दलीय पञ्चायती व्यवस्थाका पञ्च मण्डलेहरूको पार्टी भनेर चिनिन्छ । संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र स्थापना भएपछि राप्रपा नेपालको जन्म भएको हो । जन्मनासाथ राप्रपा नेपालमा गुट र फूटको राजनीतिक संस्कार विकास भयो । केही समय यता राजनीतिक सिद्धान्त र विचार केही  नभएको अवसरवादी पार्टीको रुपमा राप्रपा नेपाल पार्टीलाई उभ्याइएको छ । पुराना नेता कार्यकर्ता भेला हुने क्लव हो ।

पछिल्लो पटक राप्रपा नेपालका अध्यक्ष बन्न पुगेका कमल थापाले राजसंस्था र हिन्दू राष्ट्रको पुर्नस्थापनाको राजनीतिक माग राखेर भोट बटुल्न सफल भए । संविधानसभाबाट जारी संविधानपछि गठित सरकारमा राप्रपा नेपालका अध्यक्ष कमल थापा उप–प्रधानमन्त्री र परराष्ट्रमन्त्री बनेर आफ्नो भूमिका, योग्यता र दक्षता प्रदर्शन गरे । भारतीय अघोषित नाकाबन्दीका कारण बिग्रिएको नेपाल–भारत सम्बन्ध सुधारका लागि सक्दो भूमिका निर्वाह गरेर प्रधानमन्त्री केपी ओलीको सक्रिय सहयोगी बनेको कमल थापा अवसरवादी राजनीतिका चतुर खेलाडीका रुपमा देखा परेका छन् ।

सरकारमा बसेर राजसंस्था, राजतन्त्रको पुनस्र्थापना, धर्म निरपेक्ष राष्ट्रको खारेजीको माग गरिरहेका परराष्ट्रमन्त्री थापाले आफ्नो व्यक्तिगत स्वार्थ र पार्टीगत स्वार्थलाई फाइदा पुग्ने काम गरिरहेका छन् । यसैबीच आफ्नो राजनीतिक क्रियाकलापको आलोचना र विरोध गर्ने सहयात्री असल राष्ट्रवादी चिन्तक, पार्टीका सह अध्यक्ष केशर बहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेका छन् ।

केशरबहादुर विष्टजस्तालाई ‘राजनीतिक थिंक ट्यांक’ भनिन्छ । अहिले उनी थापाका लागि आँखाको कसिंगर बनेका छन् । केशर बहादुर विष्ट एउटा निष्ठावान नेताका रुपमा चिनिन्छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विष्टका छोरालाई मन्त्री बनाएर बाबुलाई बर्खास्त गरी नयाँ र नौलो राजनीतिक परिदृश्य कायम गरेका छन् ।

राप्रपा नेपाल कसैको होइन, सबैको हो भन्ने अवस्थामा छ । राजा, हिन्दूवादी, भारत र चीन सबैलाई चक्मा दिन कमल थापा सफल भएका छन् । भ्रममा पार्न सक्ने खुबी भएका थापा चतुर राजनीतिक ठग हुन् ।

पंचायती व्यवस्थाको लोकेन्द्र बहादुर चन्द्रको प्रधानमन्त्रीत्वकालमा कमल थापा ‘जाल काट्ने मुसो प्रवृत्तिका रुपमा चर्चित थिए । धेरै कालसम्म पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापाको एक नम्बरको विश्वासपात्रका रुपमा रहेका कमल थापा पछिल्ला दिनमा विश्वासघाती सावित भएका थिए ।

उनै कमल थापा यतिखेर के.पी. ओली र पुष्पकमल दाहाल प्रचण्डकालागि समेत असल, राम्रो र योग्य पात्र ठहरिएका छन् । कमल थापाले उनीहरूलाई कुनै पनि बेला विश्वासघात गर्न सक्दछन् । पञ्चायती व्यवस्थाको स्कूलिंगबाट प्रशिक्षित, राजा महेन्द्रको राष्ट्रवादबाट अति प्रभावित कमल थापाले केपी. ओली र प्रचण्डजस्ता राजनीतिक हस्ती मानिएकाहरूको विश्वासपात्र हुन पाउनु थापाको लागि गर्व र गौरवको विषय भएपनि राष्ट्रको राजनीतिकालागि अभिषाप हो । अवसरवादी राजनीतिक, षडयन्त्रको राजनीतिको ज्ञाता कमल थापाले मौका पाएमा एमाले र एनेकपा माओवादीसमेतलाई पाखा लगाउन सक्ने हैसियत राख्दछन् ।

राप्रपा नेपालको वैशाखी नटेकी एमाले, एनेकपा माओवादी गठबन्धन सरकार एक मिनेट पनि चल्दैन अनि कमल थापा राजनीतिक हिरो नभएर को हुन्छ ?

कमल थापाले पार्टीका सह अध्यक्ष केशरबहादुर विष्टमाथि कडा कारवाही गरेर अति आलोचित मात्र भएका छैनन्, आफूलाई कमजोर समेत बनाएका छन् । कमल थापा एक्लैले पार्टी हाँक्न सक्दैनन् । परिपक्व सहयोगीहरूको आवश्यकता पर्दछ । अति महत्वाकांक्षी थापाले विष्टले पार्टीलाई पुर्‍याएको योगदानको अवमूल्यन गरेका छन् । हालै राप्रपा नेपालको विस्तारित बैठक वीरगंजमा सम्पन्न भएको छ । विस्तारित बैठकको पूर्व सन्ध्यामा पार्टी सह–अध्यक्ष विष्टलाई पार्टीबाट अपमानजनक तरिकाले विना कसुर निकालिएको छ । यसले थापाको राजनीतिक यात्रालाई निकै घाटा पर्न जानेछ । “प्रजातन्त्र पार्टी”का अप्रजातन्त्रिक पारा प्रस्तुत गर्नु राप्रपा नेपालकोलागि घातक सिद्ध हुनेछ । तर पार्टीलाई भविष्यमा पर्न जाने क्षतिबारे रत्तिभर पनि गम्भीर नभई तानाशाही प्रवृत्ति देखाउने कमल थापा सामूहिक नेतृत्वलाई स्वीकार्दैनन् ।

कमल थापको चाहना राप्रपा पार्टीलाई आजीवन एकल नेतृत्वको पार्टी बनाउने छ । अवसरवाद नै कमलथापाको मूल सिद्धान्त हो । कमल थापाले राजा, हिन्दूवादी सबैलाई उपयोग गर्छन् । आफू उपयोगी हुन सक्दैनन् । राजसंस्था र हिन्दू राष्ट्रको भर्‍र्यांगबाट सदन र सरकारमा गएका थापा सफेदपोस राजनीति गर्ने व्यक्ति हुन् ।

सबैलाई आश्चर्यचकीत पार्न सक्ने खुबी भएका थापालाई विष्टलाई पार्टीबाट हटाएकोमा कुनै ग्लानी र पश्चाताप छैन । व्यक्तिगत स्वार्थकालागि तत्काल पार्टीमा तानाशाही लाद्न सक्ने हैसियतमा उनी छन् । आलोचकलाई शत्रु र चाटुकारलाई मित्र देख्ने कमल थापाले आलोचक विष्टलाई पार्टीबाट निस्कान गरेपछि पार्टीभित्र थापाको विरोध र आलोचना गर्ने अब कोही छैनन्  कमल थापाको भाषणमा तर्क छ, राम्रा तर्क अघि सारेर भाषण गर्दा धेरैलाई मन पर्छ तर व्यवहारमा कटुता छ । आफ्ना सहयात्रीहरूलाई पन्छाउँदै अघि बढ्ने उनको राजनीतिक प्रवृत्ति हो । राप्रपा नेपालको केन्द्रिय कमिटिमा एक सय ६५ जना सदस्य छन् ।

कमल थापाको भारतमा रहेका हिन्दूवादी नेताहरूसँग राम्रो सम्बन्ध छ । चीनले पनि कमलथापालाई विश्वासपात्रकै रुपमा लिन्छ । तसर्थ कमल थापाले आफूलाई समय र भाग्यले साथ दिएको ठान्दछन् । विष्ट नभएपनि पार्टी चल्छ भन्ने उनको ठहरले विष्टलाई बर्खास्त गरिएको हो । भारत–इयुको साझा वक्तव्यले केपी ओली नेतृत्वको सरकारलाई निकै ठूलो संकटमा पारेको छ ।

भारत र इयुसँग कुटनीतिक सन्तुलन बिग्रियो भने फेरी नेपाली जनताले ऐतिहासिक सास्ती खेप्नुपर्ने पनि हुन सक्छ । भारत र इयुसँग कुटनीतिक सन्तुलन कायम राख्न कमल थापाले के धर्म निरपेक्ष राष्ट्र खारेजीको मागसँग सम्झौता गर्न सक्छन ? क्रिश्चियन धर्म परिवर्तन महाअभियानलाई कुनै अवरोध नपुर्‍याउने बाचा बन्धन गरे भने थापा ओली र प्रचण्डभन्दा अब्बल दर्जाको नेता बन्न सक्छन् । त्यतिखेर नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको थलोमा परिणत हुनेछ । चेतनाभया ।

प्रकाशन मिति:२०७२ चैत्र २५ गते विहीबार

SHARE THIS

Author:

Facebook Comment