सदभावनावाद र मधेश क्रान्ति

– देवेन्द्र मिश्र

२०४७ साल वैसाख ३ गते सदभावना पार्टी स्थापना भएर आज २६औं वर्षमा प्रवेश गरेको छ । तर यसपालीको स्थापना दिवसमा एउटा संयोग के भिड्न आएको छ भने यो पार्टीका संस्थापक नेता स्वर्गीय गजेन्द्र नारायण सिंहको जन्मदिन पनि वैशाख ३ गते नै छ । उनको जन्मदिनको तिथि पनि रामनवमी नै परेको थियो भने आज पनि २०७३ साल वैशाख ३ गते पनि उनको जन्मजयन्ती र रामनवमी एकैदिन परेकोले दुबै एकैदिन मनाउने अवसर उनका प्रियजन र उनलाई मान्ने पार्टीहरूले पाएका छन् ।

गजेन्द्र नारायण सिंह

गजेन्द्रबाबुको जन्म सप्तरी जिल्लाको कोइलाडी गाविसमा पिता केपी सिंह तथा माता राधादेवी सिंहको दोश्रो सन्तानको रुपमा सन् १९३० मा भएको थियो । उनको प्रारम्भिक शिक्षादिक्षा गाउँकै स्कूलमा भएको थियो भने म्याट्रिक परीक्षा भारतबाट पास गरेका थिए । त्यस्तै उच्च शिक्षाकोलागि बनारस गएर आइ.ए.मा नामांकन गराए तर राजनीतिक गतिविधिमा लागेको कारणले गर्दा उच्च शिक्षा अध्ययन गर्न सक्नु भएन । उनको विहे श्रीमति आनन्दी देवी सिंहसँग भएको थियो ।

भारतमा भइरहेको महात्मागान्धीको स्वतन्त्रता आन्दोलनबाट प्रेरित भइ उनले राणा शासनको विरुद्ध भएको नेपाल राष्ट्रिय काँग्रेसमा १९४७ मा सरिक हुनु भयो । यसै क्रममा १९४९ मा सत्याग्रह आन्दोलनमा सरिक भएकोमा राजविराज जेल जानु पर्‍यो । १९५०–६० साल नेपाली काँग्रेसको जिल्ला अध्यक्ष हुनुभयो । भने १९६०–७७ सम्म काँग्रेसको केन्द्रिय समितिमा समेत रहनुभयो । २०३९ सालमा नेपाली काँग्रेस परित्याग गरी २०४० सालमा नेपाल सदभावना परिषद गठन गर्नुभयो । जो २०४७ सालमा नेपाल सदभावना पार्टीमा परिणत भयो । उनी पंचायतकालमा पनि २०४२ सालमा राष्ट्रिय पंचायत सदस्य हुनु भएको थियो । प्रजातन्त्रकालमा पनि २०४८, २०५१ मा संसदमा निर्वाचित हुनु भएको थियो ।

उनले जीवन पर्यन्त राज्यद्वारा उपेक्षित, शोषित मधेशी तथा जनजातीको हक एवम् अधिकारकालागि लड्नु भयो । अन्त्यमा २०५८ माघ १० गते उनको निधन भयो ।

सदभावना पार्टी

निर्दलीय व्यवस्था अन्त्यसँगै बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको स्थापना राजा वीरेन्द्रबाट भएको अवस्थामा विभिन्न दलहरू खुल्न शुरु भएको थियो त्यही क्रममा भूमिगत अवस्थामा रहेको नेपाल सदभावना परिषदबाट २०४७ साल वैशाख ३ गते काठमाण्डौको पुरानो बानेश्वरमा रहेको तराई हाउसमा नेपाल सदभावना पार्टीको जन्म भयो ।

नेपाल सदभावना परिषद

नेपालको राजनीतिक घटनाक्रमसँगै जनमत संग्रहपछि सुधारिएको पंचायती व्यवस्थामा सूर्य बहादुर थापा प्रधानमन्त्री भए । त्यही क्रममा २०३८ सालमा प्रधानमन्त्री कार्यालबाट प्राप्त डा. हर्कबहादुर गुरुङको संयोजकत्वमा बसाइ सराई आयोग बन्यो जसको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पेश गर्नु भएको थियो ।

प्रम. सूर्य बहादुर थापा र राजदरबारको खटपटले गर्दा २०४० सालमा लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री भए । यिनको कार्यकालमा हर्कबहादुर गुरुङको प्रतिवेदन जो गोप्य थियो, जार्वजनिक भयो । यो प्रतिवेदन मधेश र मधेशी विरोधी थियो । यसको विरोध भयो । राजविराज, वीरगंज, जनकपुर, काठमाण्डौ चारैतिरबाट सदभावनाको नामबाट राजालाई ज्ञापन दिइयो जससको परिणामस्वरुप गजेन्द्रबाबु, बाबा रामजनम तिवारी, दिलीप सिंह, आस अंसारी, केशर यादव, विश्वनाथ सिंह र काठमाण्डौमा म देवेन्द्र मिश्र गिरफ्तार भयौं, जेल चलान गरियो । केही समयपछि यी गिरफ्तार भएकाहरुको एउटा कमिटि बन्यो जसलाई नेपाल सदभावना परिषद भनियो । जसका केन्द्रिय संयोजक गनेन्द्र नारायण सिंह हुनुभयो । २०४० सालदेखि २०४७ सालसम्म परिषद भूमिगत रह्यो जसमा पालैपालो गरी केदार यादव, विश्वनाथ साह, रामचन्द्र मिश्र संयोजक भए भने २०४६ सालमा म देवेन्द्र मिश्र संयुक्त संयोजक भएँ । नेपाल सदभावना परिषद पार्टीमा परिणत भएको बेला पार्टीको संस्थापक सहअध्यक्ष समेत भएँ ।

स्थापनादेखि जनआन्दोलनसम्म

गजेन्द्रबाबुको नेतृत्वमा सदभावना पार्टीले धेरै आन्दोलन गर्‍यो । २०४७ सालमा पार्टीको विधान दर्ता गराउन पनि काठमाण्डौको भद्रकालीमा १५ दिने रिले अनसन गरियो । पार्टीको पहिलो आमसभा २०४७ साल मंसिरमा काठमाण्डौको टुंडीखेलमा भएको थियो । जसमा राज्यद्वारा सभा विथोल्ने प्रयास भयो । सो क्रममा मलगायत धेरै व्यक्ति घाइते भयौं । मेरो नाक भाँच्चियो र म आठ दिन वीर अस्पतालमा रहें । यसको विरोधमा २०४७ माघमा सिंह दरबार अगाडी जन प्रदर्शन गर्दा बाबा रामजनम तिवारी, गजेन्द्र नारायण सिंहलगायत हामी हजारौं कार्यकर्तालाई प्रहरीको लाठीले घाइते बनायो । गजेन्द्र बाबु लडेर घाइते भए, बाबा रामजनम तिवारीको हाथ भाँच्चियो ।

यस किसिमको घटनाले नेपाल सदभावना पार्टीले मधेश र मधेशीकोबीचमा स्थान बनाउन सफल भयो जसको परिणाम स्वरुप २०४८ को निर्वाचनमा ६ सिट निर्वाचित भएर राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्‍यो ।

२०४८ सालको संसदमा धोतीकुर्ता, हिन्दी भाषाले प्रवेश पायो । तर २०५१ को संसदीय निर्वाचनमा ७ बाट तीन सिटमा सदभावना पार्टी झरेपछि पार्टीमा विघटन शुरु भयो । जसको परिणामस्वरुप पार्टी फुट्यो र श्री रामेश्वर राय यादवको नेतृत्वमा समाजवादी जनतादल बन्यो । फेरी २०५५ सालमा समाजवादी जनतादलसित एकीकरण भयो । तर गजेन्द्रबाबुको अवसानपछि २०५९ सालमा नेपाल सदभावना पार्टी र नेपाल सदभावना पार्टी (आनन्दी देवी) गरी दुई समुहमा विभाजित भयो । त्यस अनुरुप २०६३ सालमा दुबै समुह एक भयो जसको नाम नेपाल सदभावना पार्टी आनन्दीदेवी भयो । एकीकरण लगत्तै पार्टी फोरी विघटन भयो र एउटा नेपाल सदभावना पार्टी आनन्दीदेवी र अर्को सदभावना पार्टी बन्यो ।

संविधानसभाको पहिलो निर्वाचनपछि सदभावना पार्टीको दुई/तीन विभाजन भयो । जसमा एउटा सदभावना पार्टी, संघीय सदभावना पार्टी, संयुक्त सदभावना पार्टीमा परिणत भयो । पछिल्लो समयमा नेपाल सदभावना पार्टी (आ.), संघीय सदभावना पार्टीसँग मिलेर नेपाल सदभावना पार्टी बन्यो भने सदभावना पार्टी संयुक्त तराई मधेश लोकतान्त्रिकसँग फुटेर आएकोसँग मिलेर तराई मधेश सदभावना पार्टी बन्यो । र उता सदभावना पार्टी बन्यो । सदभावना पार्टीको नेतृत्व राजेन्द्र महतो, नेपाल सदभावना पार्टीको नेतृत्व अनिल कुमार झा र तमसपाको नेतृत्व महेन्द्र यादवले गर्दै आइरहनु भएको छ ।

आज संघीयता र सिमांकनको मूख्य मुद्दा बनाएर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा सदभावनाका सबै घटक सामेल भएर आन्दोलन गरिरहेका छन् । सदभावना पार्टीका संस्थापक नेता श्री गजेन्द्र नारायण सिंहको जन्मदिनका साथै पार्टीको स्थापना दिवसको उपलक्ष्यमा सबै सदभावनावादीले एकताको संकल्प लिएर गजेन्द्बाबुको सपना साकार पार्नु नै सदभावनावादको अन्तिम लक्ष्य हुनेछ ।

(देवेन्द्र मिश्र नेपाल सदभावना पार्टीका संस्थापक सदस्य हुन्)

SHARE THIS

Author:

Facebook Comment