बजार, महिला र साहित्य

–सन्तोष मिश्र
उपभोक्तावादी संस्कृतिले नेपाली समाजलाई नराम्रोसँग गाँजेको छ । बजारले जहिल्यै उपभोग गर्ने आकांक्षाको निर्माण गर्दछ, यसलाई उपभोक्तवादी संस्कृति भनिन्छ । नेपालको राजनीति झण्डै–झण्डै अवसरवाद र उपभोक्तावादको चक्रव्यूहमा फसिसकेको छ । नेपालको राजनीति व्यक्तिमा आधारित छ ।

नेपालको राजनीति संस्कृति मूल्यनिष्ठ छैन । राजनीतिको राष्ट्र निर्माण गर्ने उद्देश्य र लक्ष्य केही देखिएको छैन । राजनीतिक परिवर्तनको फल केही पुराना र नयाँ अनुहार सीमित व्यक्तिहरूले उपभोग गरिरहेका छन् ।
नेपालको संविधान २०७२ पनि उपभोक्तावादी संस्कृतिमा आधारित संविधान बनेको छ । नेपाली समाज न अध्यात्मवाद न भौतिकवादको दोसाँधमा छ । नेपालीहरूको दैनिक जीवन सरल र सहज छैन । विद्यमान सबैखाले समस्याको गम्भीरताकासाथ बोझिलो बनेको छ । भारतीय अघोषित आर्थिक नाकाबन्दीताका उठाइएका परनिर्भरता, व्यापारघाटा, नेपाली स्वाभिमान र नेपालको स्वाधीनताका कुरा पेट्रोलियम पदार्थ भारतले केही सहज गर्ने वित्तिकै ओझेलमा परेका छन् । उपभोक्तावादी राजनीतिक चिन्तन र व्यवहार अंगालेका राजनीतिक दलका नेताहरू इच्छाशक्तिविहिन उत्साही बनेका छन् ।

बाहिर बोक्रो, भित्र खोक्रोको अर्थतन्त्रको आडम्बरमा हामी नेपाली कहिलेसम्म टिक्ने ? नेपाली बजार, महिला र साहित्यको अवस्था एउटै छ । समग्र नेपालको अवस्था औंल्याउने हो भने ‘डुब्न लागेको घाम’ जस्तो छ । साहित्यमात्र होइन आजकलका सबै रुपहरुको बजारीकरण हुँदैछ । बजारीकरण मनुष्यलाई उसको सारतत्वबाट च्यूत गर्दै बजार अनुकूलको प्राणीमा बदल्ने प्रकृया हो । हामी क्रमश: बजारका अगाडी कमजोर हुँदैछौं, बजारले हामीलाई निर्धारित र नियमित गर्दैछ । सायद बजारकै माग अनुसार होला राजनधानीको मुटु स्थान रत्नपार्क वरिपरी यौन व्यवसायमा लागेका महिलाहरूको भीड ग्राहकको पर्खाइमा रहेको । सायद साना ठूला सबै शहरमा यौन व्यवसायी महिला र यौन साहित्य पढ्ने पाठकको संख्या बढेको छ । नेपाली समाज अश्लिलता र नकारात्मक दृष्टिकोणतर्फ उन्मूख छ ।

वैदेशिक रोजगारी, लाहुरेको कमाई, रेमिट्यान्स नेपालको आर्थिक मेरुद्दण्ड बनेको छ । वैदेशिक रोजगारीका कारण सिर्जित समस्या, विकृति र विसंगति बन्दैछ । विदेशमा लोग्ने कमाउन गएको बेलमा घरकी पत्नी परपुरुषसँग लसपसिंदा त्यो समाजको गति के होला ? हाम्रा विचार, भावना, स्वप्न, समवेदना, उद्देश्य गतिशीलता आदि सबैको निर्माता र निर्धारकका रुपमा बजार उभिएको छ । हामीले होइन, हाम्रो आवश्यकता बजारले निर्धारण गर्दैछ । बजार एक स्थिर प्रणाली र अवधारणाका रुपमा कहिल्यै रहँदैन । पैसा मात्र कमाउने प्रवृत्तिले मनुष्यलाई अनैतिक बनाउँछ ।

त्यस्तै महिलाहरू पनि उस्तै बन्दै छन् । सेलीब्रेटीको काँधमाथि चढेर बजार मात्र व्यापार गर्दैन मिडिया पनि व्यापार गर्छ । आजको बजार सिर्जनशीलता र नैतिकताको विरोधी देखिन्छ । के लेख्ने ? कस्तो लेख्ने ? किन लेख्ने ? कसका लागि लेख्ने ? विकृति विसंगतिका विरुद्ध लेख्ने ? आदिजस्ता प्रश्नहरूलाई बजारले निर्देशित र निर्धारित गर्नु हो । साहित्यको बजारीकरणमा साहित्यकार मूलत: उपभोक्तावादद्वारा निर्मित पाठकीय मनोविज्ञान र प्रकाशन गृहका व्यवसायिक रणनीतिद्वारा डोरिन्छ र आफ्नो लेखन स्वतन्त्रता गुमाउँछ ।

विकृतिविरुद्ध साहित्य लेखनलाई आखिरमा पूर्ण विराम दिइन्छ । नेपाली राजनीति, नेपाली संस्कृति लगभग उपभोक्तावादी बन्दैछ । फेशनरुपी संस्कृतिले नेपाली परम्परागत संस्कृतिलाई आधुनिकताका नाममा कतिसम्म नंग्याउने हो ? आखिरमा अस्तित्व नै समाप्त पार्ने भो !

२०७२ वैशाखको महाभूकम्पपछि महिला बेचविखन, महिला विदेशिने क्रम र महिला यौन व्यवसायको संख्या बढ्यो भनिन्छ । गरिबीले अपराध बढाउँछ, वेश्यावृत्ति बढाउँछ भनिन्छ । नेपाली समाज गरिब र दरिद्र हुँदै गएको हो कि आधुनिक र सम्पन्न ? यसको मूल्यांकन कसले गर्ने ? यथास्थितिमा मुलुकलाई छाड्न चाहने यथास्थितिवादीहरूको पनि कुनै कमि छैन । नेपाली समाजमा दोषादोष गर्ने बाहेक खोसाखोस हुने राम्रो वस्तु केही छैन ।

गरिबी, अशिक्षा, झुठो आश्वासन, तत्कालको आवश्यकता र अवसर, प्रलोभन महिला बेचविखन र तस्करीका मूख्य कारण हुन भनिन्छ । वर्तमान बजारले महिलालाई बिक्रीको वस्तु बनाइदिएको छ । यही हो त महिला स्वतन्त्रताको उपलब्धी ? महिला सशक्तिकरणको परिणाम ? बजारले मान्छेलाई स्वतन्त्रताको भ्रम छरेको छ । बजारको वशमा राज्य संरचना परेको छ । कमजोर, पहुँचविहीन एकता, असंगठित मानिस नै भ्रममा छिटो पर्छन् र बजारमा छिटो बेचिन्छन् । नेपालका युवा युवति विश्व श्रम बजारमा बेचिने खतरा पनि बढेको छ । बजारमा जो आधुनिक समाजको अभिन्न हिस्सा हो । बजार जो सभ्यताको पहिचान बनेको छ । यो मात्र यथार्थ होइन । यसभित्र धेरै वास्तविकता लुकेका छन् । बेलैमा होस नपुर्‍याएपछि पछुताउनु पर्दछ ।

अहिले नै सबैथोक बिग्रिसकेको छैन । सास भएसम्म आश भने झैं सतर्क हुनुपर्ने धेरै ठाउँ बाँकी छन् । नेपालीले बजारको पछाडी दगुर्नेभन्दा बजारलाई आफ्नो स्वार्थ रक्षा अन्तर्गत हिंडाउन सक्नु पर्दछ । विकृति, विसंगतिपूर्ण बजारमा रामाउनु भोलीको दु:खी जीवन भित्र्याउनु हो । बजारले व्यक्तिगत स्वतन्त्रतालाई माथि उठाएको छ कि नेपाली महिला र साहित्यको स्तरलाई तल झारेको छ, घोत्लिने बेला अहिले नै हो ।

(प्रकाशन मितिः २०७२ चैत्र १८ गते विहीवार)

SHARE THIS

Author:

Facebook Comment