कोलेस्टेरोल र बच्ने उपाय

डा. अरुणा उप्रेती

अहिले कोलेस्टेरोलको बारेमा धेरै सुन्न र पढ्न पाइन्छ । रगतमा कोलेस्टेरोल बढेपछि मुटुमा धेरै समस्या हुन्छ । कोलेस्टेरोल भनेको एक प्रकारको चिल्लो पदार्थ हो, जुन शरीरमा बगिरहन्छ ।
जब यो बढी हुन्छ हाम्रो नसा र विशेष गरी मुटुको धमनीमा टाँसिन्छ । अनि मानिसलाई सास फेर्न गाह्रो हुन्छ र मुटु दुख्छ । तर कोलेस्टेरोल भन्दैमा सबै नराम्रो नै चाहिँ हुँदैन । कोलेस्टेरोलले शरीरका विभिन्न प्रक्रियाहरूलाई सुचारु रूपले चलाउन मद्दत पनि गर्छ । 
कोलेस्टेरोल विभिन्न किसिमका हुने हुनाले यसको नाम र प्रकार छुट्याउन व्यक्तिलाई गाह्रो पर्छ । तर, त्यसका केहि तथ्यहरूले यसको बनोटबारे स्पष्ट पार्छ । खानेकुरामा पाइने कोलेस्टेरोल एक प्रकारको हुन्छ । यो विशेष गरी भोजनबाट प्राप्त हुन्छ । जस्तै, एउटा अण्डामा २७५ मिलिग्राम कोलेस्टेरोल हुन्छ भने स्याउमा कोलेस्टेरोलको मात्रा शून्य हुन्छ । 
यो जाँच गर्दा २०० मिलिग्रामभन्दा कम भए राम्रो हुन्छ । राम्रो खालको कोलेस्टेरोल पनि हुन्छ जसलाई एचडीएल भनिन्छ । यो कोलेस्टेरोल बढी भएको राम्रो हुन्छ । शरीरमा सिरम कोलेस्टेरोलको मात्रा कम हुनु मुटुको रोगबाट बच्ने उपायहरूमध्ये एक हो । यसका लागि निम्न उपायहरू अपनाउन सकिन्छ ।

तौल घटाउनु :

शरीरको तौल जति मात्रामा बढी भयो शरीरले त्यति नै मात्रामा कोलेस्टेरोल पैदा गर्छ । निदरल्याण्डमा २० वर्षसम्म गरिएको अध्ययनबाट शरीरमा सिरम कोलेस्टेरोल बढ्नुको एउटा प्रमुख कारण शरीरको तौल बढी हुनु हो भन्ने तथ्य पत्ता लागेको छ । तौल घटाउन सजिलो त छैन, तापनि खानेकुरामा विशेष गरी हरियो तरकारी र फलफूल बढी प्रयोग गर्ने र चिल्लो पदार्थ र मासु कम प्रयोग गरियो भने तौल घट्ने सम्भावना धेरै हुन्छ ।

कोलेस्टेरोल घटाउने उपाय

मौसम अनुसार पाइने विभिन्न किसिमका फलफूल र काँचै खान सकिने हरिया तरकारीहरू मुटुका लागि मात्र होइन सम्पूर्ण स्वास्थ्यका लागि राम्रा हुन्छन् । 

चिल्लो पदार्थ कम गर्नु :

चिल्लो पदार्थ जस्तैः तेल, घिउ, मक्खन, मासुको बोसो सकेसम्म कम प्रयोग गर्नुपर्छ । तारेको र बेस्सरी घिउ–तेलमा लदबद गरी पकाइएको तरकारी वा मासुले जिब्रोलाई स्वाद दिए पनि स्वास्थ्यलाई लाभ गर्दैन । मांसाहारीले पनि बोसो नभएको मासु खानु उचित हुन्छ । त्यसैगरी घिउमा बनाइएका मिठाई र  खाद्यपदार्थ सकेसम्म कम प्रयोग गर्नुपर्छ ।

गेडागुडीको प्रयोग :

गेडागुडीमा शरीरलाई चाहिने पौष्टिक तत्व पर्याप्त मात्रामा हुन्छ । यसमा रेशादार पदार्थ (फाइबर) हुन्छ । फाइबरको प्रयोगले शरीरमा रगतको कोलेस्टेरोल घटाउन मद्दत गर्छ । सबै थरीका पौष्टिक पदार्थ हुने दाल, भटमास, क्वाँटी, राजमा, सिमी, केराऊ आदि गेडागुडी खान सकिन्छ । यिनमा भिटामिन, प्रोटिन र खनिजपदार्थ प्रशस्त पाइने हुनाले फेरी–फेरी खानु लाभदायक हुन्छ ।

फलफूल र हरिया तरकारी :

मौसम अनुसार पाइने विभिन्न किसिमका फलफूल र काँचै खान सकिने हरिया तरकारीहरू मुटुका लागि मात्र होइन सम्पूर्ण स्वास्थ्यका लागि राम्रा हुन्छन् । नास्पाती, अम्बा, अनार, अङ्गूर वा अरू कुनै पनि फलफूल तथा काँचै खान सकिने काँक्रो, गाजर, मूलाले तौल घटाउन मद्दत गर्छ । गाजरले कोलस्टेरोल घटाउन निकै मद्दत गर्छ । दिनमा दुईटा गाजरको प्रयोगले धेरैजसो व्यक्तिहरूको कोलेस्टोरल १० देखि २० प्रतिशतसम्म कम गर्न मद्दत गर्छ   ।

व्यायाम :

व्यायामको फाइदाका बारेमा जताततै बोलिन्छ र लेखिन्छ । व्यायामले शारीरिक साथै मानसिक स्वास्थ्यमा पनि ठूलो भूमिका खेल्ने र वृद्धावस्थामा हुने विभिन्न थरीका समस्याबाट बचाउँछ । व्यायाम भनेको शारीरिक श्रम पर्ने कुनै काम, कसरत, दौड आदि बुझ्नु पर्दछ । व्यायामले रगतबाट बोसो हटाउन मद्दत गर्छ । यदि बोसो रगतमा धेरै बेर बस्न पाएन भने धमनीमा टाँसिने सम्भावना पनि कम हुन्छ । विभिन्न अध्ययनले देखाएअनुसार दौडिने मानिसको रगतमा बोसोको मात्रा व्यायाम नगर्नेको दा“जोमा निकै कम हुन्छ ।

भोजन परिवर्तन गर्ने :

हरेक छाकमा मासु खाने व्यक्तिहरूलाई त्यसको मात्रा कम गर्ने वा नियमित प्रयोग नगर्न र बोसो नभएको मासुमात्र खाने सल्लाह दिइन्छ । कोलेस्टोरोल बढी भएका व्यक्तिहरूलाई सकेसम्म मासु त्यागेर तरकारी र फलफूलमा बढी जोड दिन सल्लाह दिइन्छ । एकैचोटि यो गर्न सम्भव नभए पनि विस्तारै भोजनमा परिवर्तन गर्न सकिन्छ र प्रयोग गरेपछि त्यसको सकारात्मक प्रभाव देखिन्छ ।

लशुनको प्रयोग :

रगतमा रहेको बोसो घटाउन लशुनले महत्वपूर्ण भूमिका खेल्ने विभिन्न अध्ययनहरूले सिद्ध गरीसकेका छन् । तर, लशुन गन्हाउने कारणले धेरै व्यक्तिहरू त्यसको प्रयोग गर्न चाहँदैनन् । लशुनबाट निकालिएको गन्धरहित झोलले रगतमा बोसोको मात्रा कम भएको पाइएको छ ।

कफी र चुरोट :

कफीको बढी प्रयोग र चुरोट दुवैले कोलेस्टेरोल बढाउन मद्दत गर्छ भन्ने कुरा विभिन्न वैज्ञानिक अनुसन्धानले सिद्ध गरेका छन् । उत्तर अमेरिकाको न्यू ओरोलोनमा धूमपान गर्ने केहि किशोरहरूमा एउटा अनुसन्धान गरिएको थियो । उनीहरूको रगतमा कोलेस्टेरोल बढेको पाइयो । विशेषगरी हप्तामा २० खिल्लीभन्दा बढी चुरोट खाने किशोरहरूमा यो बढी देखियो । साथै अनुसन्धानमा धूमपान गर्नेहरूको रगतमा राम्रो खालको कोलेस्टेरोल, जसलाई एचडीएल भनिन्छ, कम भएको पाइयो ।

- डा. उप्रेतीको पुस्तक आफ्नो स्वास्थ्य आफ्नै हातमाबाट उज्यालो अनलाइनले साभार गरेको सामग्री


SHARE THIS

Author:

Facebook Comment