स्वदेश मानेर मात्र विदेश मानौं

–स्वयम्भुनाथ कार्की

राजाले व्यक्त गरेको नयाँ बर्ष २०७३ को शुभकामना नेपाल र नेपालीले भोग्नु परेको यावत समस्या र कठिनाई पहिचान गरिएको छ । छोटोमा नेपालीको कर्तव्यको संकेत गरिएको छ । यसै गरेर विदेशीको हैकम र ईशारा बाहेक नेपाल चल्न सक्दैन भन्ने नेता तथा चिन्तकहरुको लघुताभाषलाई पनि झक्झक्याईएको छ । समग्रमा नेपालीले अव के गर्नु ठिक होला भन्ने कुरा पनि यो शुभकामनामा सामेल छ । पट्यारलाग्दा लामालामा व्याख्या गरेर मुल कुरा बुझ्नै कठिन हुने शुभकामना सन्देशहरुको भिडमा यो सन्देश निर्विवाद राजोचित छ ।

पहिचानको नारा घन्काएर विदेशी संस्कृतिलाई आफ्नो मौलिक संस्कृति नै हो कि भन्ने भ्रम छर्नेहरुको संवोधन यसमा यसरी भएको छ । “धर्म, संस्कृति, भाषा इतिहास र सभ्यता विपरित प्रहार भईरहेको वर्तमान अवस्थामा हाम्रा पुर्खाले सुम्पिएको आफ्ना सन्ततिहरुलाई कसरी हस्तान्तरण गर्न सक्छौं भन्ने प्रश्न अहिले अझ पेचिलो बन्दैछ” । यो भनाईले कुनै एक जाती वा समुदायको निमित्त मात्र होईन । विविधतायुक्त नेपालका सबै विविध विशेषताहरु संरक्षण गरेर सन्ततिलाई हस्तान्तरण गर्नु पर्ने आधारभुत कर्तव्य प्रति ध्यान तान्न खोजेको हो ।

केही दशक पहिले अन्तर्राष्ट्रिय मामिलामा निर्णयक जस्तै भुमिका राख्ने नेपाल अहिले दक्षिण छिमेकीले पेल्यो भनेर उत्तर तिर मुन्टो घुसार्न पुग्छ । आफुलाई निरिह सम्झेर जनतासंग गर्नु पर्ने परामर्शको मस्यौदा विदेशी राजदुतहरुलाई अथ्र्याउन जान्छ । राष्ट्रवाद भनेको एक छोडेर अर्कासँग कचौरा थाप्नु हैन । यसलाई “हामी को थियौ, कहाँ थियौ, अहिले कुन स्थितिमा छौं, देश कता जाँदैछ” भनेर स्मरण गराउने प्रयत्न भएको छ । दक्षिण एसियामा नेपालको के महत्व छ त्यो पनि “दक्षिण एसियाको भुराजनैतिक संवेदनशिलता र शक्तिसंतुलनको हेक्का राख्न जरुरी छ ” भनेर औल्याईएको छ ।

नेपालको हरेक कुरामा विदेशीको सम्मति खोज्ने लघुताभाषलाई पनि सम्बोधन गरिएको छ । “स्वदेश हेरेर मात्र विदेश हेरौं, स्वदेश चिनेर मात्र विदेश चिनौं, स्वदेश मानेर मात्र विदेश मानौ र स्वधर्म बुझेर मात्र परधर्म बुझौं” । पहिलो स्थानमा स्वदेश राखेर स्वदेशको हितलाई सर्वोपरी राखेर मात्र अन्य सम्बन्ध परिभाषित हुनु पर्दछ भन्ने यो भन्दा प्रष्ट धारणा अन्य कसैबाट आएको छैन । सबैले अनौपचारिक रुपमा भन्दै आएको तर औपचारिक रुपमा भन्न डराएको नेपालको वर्तमान दुरावस्थाको कारण यो सन्देशमा प्रष्ट गरिएको छ । “राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दुरुपयोग गर्ने शासकीय शैलीले नेपाल कमजोर भैसकेको छ”।
कसैले भनेको आधारमा हैन आफ्नो स्वमुल्यांकनको आधारमा कसको के योगदान छ, कसको अर्घेल्याई छ भन्ने कुरा जनताले निक्र्यौल गर्नु पर्दछ । देश कता जाँदैछ समाजको मनोदशा के छ अनि त्यो अनुसार कस्तो मार्गचित्र हुनुपर्ने हो त्यो पहिल्याउन जनतालाई अनुरोध गरिनु यो सन्देशको अर्को विषशता हो । अहिले नेपाल नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णाको विरोधाभाषको खाल्टोमा जाकिएको सत्यको निर्भिक अधिव्यक्ति निश्चय नै आजको माग हो ।

अब यो संकटहरणको बाटो पनि प्रष्ट देखाईएको छ । “स्वदेशको माटोमा दह्रोसंग खुट्टा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपाल कै आफ्नो स्वाधिनता प्रमुख रहोस् भन्ने भावनाबाट प्रेरित सबै देशभक्त समेटेर अगाडी बढ्नु आवश्यक भैसकेको छ” । यो भन्दा प्रष्ट र सिधा अर्को कुनै अभियान हुँदैन, मार्गदर्शन हुँदैन । त्यसैले यस्ता देशभक्तहरु आपसका झिना मसिना मनोमालिन्य त्यागेर नेपाल आमाको निमित्त एक हुन आजको आवश्यकता हो ।
विराटनगर–१

प्रकाशन मितिः २०७३ वैशाख २ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment