के देशलाई सुत्केरी व्यथा लागेकै हो त ?

– झगेन्द्र के दंगाली

शायद म त्यतिबेला ६/७ वर्षको थिएँ होला । एकाविहानै छिमेकी अंकल आएर मेरो मम्मीलाई केही कुरा सुनाए । त्यसपछि मेरो मम्मी माथिल्लो घरको आन्टीलाई लिएर हतार हतार उनै अंकलको घर तिर दौडिनु भयो । र मपनि मम्मिको पछिपछि गए । म आँगनमा नपुग्दै मम्मी र आन्टी अंकलको घर भित्र पसेर ढोका बन्द गरि हाल्नु भयो । म चाहिँ भित्र जान पाइन । भित्र जानको लागि ढोका खोल्ने धेरै कोसिस गरे तर ढोका खुलेन । यत्तिकैमा त्यही घरको अंकल पनि आइ पुगे । अब यिनै अंकल सँग छिर्छु भनेर मैले दाउ हेरि रहेको थिएँ । तर उनी भित्र जान खोजेनन्, आँगनमै यताउति गरिरहे ।

यत्तिकैमा भित्रबाट एक्कासि ठूलो स्वरमा “मरे–मरे मलाई बचाउ” भन्ने आवाज आयो । मलाई डर लाग्यो । आँगन देखि अलि पर आलिमा बसेर सुनिरहें । उक्त आवाज त्यही घरको आन्टीको थियो । एकछिन पछि आवाज आउन अलि कम भयो । र भित्रबाट कसैले ढोका खोल्यो । अंकल हतार हतार भित्र पसे । त्यसपछि फेरि आवाज आउन थाल्यो । तर त्यतिबेलाको आवाज चाहिँ फरक थियो, झगडा गरे जस्तो । तिनै आन्टीले अंकललाई गाली गरि रहेकी थिइन । “अब म मरे पछि जे गर्न मन लाग्छ गरोस । यसले गर्दा नै आज मेरो यो हालत भयो” इत्यादि भन्दै थिइन् ।

त्यसपछि अंकल बाहिर निक्लिएर हतार हतार कतै दौडिए । र म पनि त्यहाँबाट साथीको घरमा खेल्न हिंडिहाले । आखिर केटाकेटी न परें, मैले त्यो घटना बिर्सीहालें । त्यसको १५/२० दिन पछि तिनै आन्टीले एउटा सानो बाबू काखमा राखेको देखेर मैले मम्मीलाई सोधें, त्यो कसको बाबू हो ? मम्मीले भन्नुभयो, “आन्टीको बाबु” । हेर तँ पनि पहिले त्यस्तै सानो थिइस् । म खिस्स हाँसे ।

पछि जब म ठूलो भए, त्यसपछि बल्ल थाहा पाए । त्यो दिन आन्टीलाई सुत्केरी ब्यथा पो लागेको रहेछ । जब उनलाई अत्यन्तै पिडा हुन्थ्यो उनी रुन्थिन, कराउँथिन । जब पीडा अलि कम हुन्थ्यो त श्रीमानलाई गाली गर्थिन । किन कि सुत्केरी हुँदा चाहिने सामानको जोहो श्रीमानले गरेका थिएनन् होला, शायद ।

आज देशको हालत हेर्दा मलाइ त्यही घटना झलझल्ती याद आइरहेको छ । जब भारतले नाकाबन्दी गर्दिन्छ । सि·ो देश नै अस्तब्यस्त हुन्छ । नेपाली जनता दु:ख र पीडामा छट्पटिन थाल्छन् । रुन्छ्न, कराउँछ्न । कोहि नाकामा कति वटा इन्धनका गाडीहरू भित्रिन्छ्न गन्न पुग्छन ।

जब भारतले नाकाबन्दी खोल्दिन्छ । पीडा अलि केही कम हुन्छ । त्यसपछि फेरि त्यही भारतलाई मरुन्जेल गाली गर्न थाल्छ्न । देशका नेता उस्तै जनता उस्तै । कहिले त्यही भारत ठिक । कहिले त्यही भारत बेठीक ।

केही हप्ता अघि भारत र इयु मिलेर जारी गरेको बिज्ञप्तीले पनि देशका मिडिया र संजालहरुमा निकै स्थान पायो । सबैका आ आफ्नै तर्क, आ आफ्नै बिचार । तर वास्तविकता के हो ? कसैलाई थाह छैन । नत यो बिषयमा सरकारसँग सोधी खोजी नै गर्छ्न । भारत किन असन्तुष्ट छ ? के चाहन्छ भारत ? किन स्विकार गर्दैन हाम्रा नेताहरुले बनाएको संसारकै उत्कृष्ट संविधान ? कतै यो कुनै श्रीमान र श्रीमतीले बन्द कोठा भित्र गरेको सहवास जस्तै दिल्ली गएर सुटुक्क गरेको १२ बुंदेको परिणाम त होइन ?

यसको जबाफ नेताहरुले नेपाली जनतालाई दिनै पर्छ । भारतलाई गाली गरेर त्यसै पन्छिन पाइदैन । हो, संविधानमा धेरै असन्तुष्टिहरु छन् । यदि तिनै असन्तुष्टिहरुको लागि भारत असन्तुष्ट भएको हो भने, केही हदसम्म ठिकै पनि हो । यो बिषयमा भारतले बोली राख्नु भन्दा पनि सरकार आफैले जान्नु पर्ने कुरा हो । किनकि आजको असन्तुष्टि भनेकै भोलिको युद्ध हो । २०४६ सालको संविधानमा देखिएको एउटा सानो असन्तुष्टिले जन्माएको जनयुद्ध २०५१ सालबाट शुरु भई १० वर्षसम्म देश नै जर्जर पारेको यथार्थ घटना हाम्रै सामु छर्लङ्ग छ ।

त्यसो त यो संविधानमा झन राजावादी, हिन्दुराष्ट्रवादी र मधेसवादी पूर्ण रुपमा असन्तुष्ट नै छन् । कतै भोलिको दिनमा यहि असन्तुष्टि युद्धमा परिणत हुने हो भने यसको असर नेपालमा मात्रै नभएर भारतमा पनि पर्न सक्छ । किन भने भोलि नेपालका हिन्दुहरु मारिंदा भारतका हिन्दुहरु चुप लागेर पक्कै बस्दैनन् । यदि भोलि मधेस टुक्रिएर अर्को देश बन्यो भने भोलि त्यसैको सिको गरेर भारत पनि नटुक्रीएला भन्न सकिन्न । त्यहा पनि दार्जिलिंगबासीहरु बेला बेलामा आन्दोलन गरिरहेका छन ।

त्यसैले कौवाले कान लग्यो भनेर कौवाको पछि दौडिनु भन्दा आफ्नो कान छाम्नु नै बुद्धिमानी हुन्छ । यदि साँच्चिकै हाम्रा देशका नेताहरूले यो देशलाई अगाडि बढाउने हो भने छिटो भन्दा छिटो असन्तुष्ट जनताको मागलाई सम्वोधन गरि संविधान संशोधन गरि कार्यान्वयन गर्नु पर्दछ । होइन भने यो देशमा स्थिरता कहिले पनि कायम हुन सक्दैन । भोलि अर्को युद्ध शुरु हुन्छ । मर्ने जनता नै हो ।

त्यसैले यदि देशलाई सुत्केरी व्यथा लागेकै हो भने जति कष्ट भए पनि आफ्नो कोखको शिशुलाई आफैले जन्म दिनु पर्छ भारतलाई मात्र गाली गरेर हुदैन । किनकी भारतसँग लुकि लुकि सहवास गर्ने हाम्रा नेताहरू पनि जिम्मेवार हुनै पर्छ ।

प्रकाशन मितिः २०७३ वैशाख ०२ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment