समग्र राष्ट्रको सिंगो विचार

-स्वयम्भुनाथ कार्की

आफ्नो हातमा शासन लिएपछि पाएको एघार वर्षमा राजा महेन्द्रबाट भएका कामहरुको निकै थिए । महेन्द्रको नाम लिंदा पनि कुल्ला गर्ने विरोधीहरु समाजमा नभएका हैनन् । भारतीय संसदमा औपचारिकरुप मै उनको आलोचनाको प्रस्ताव आएको कुरा इतिहासमा छ । आफ्नो कदमबाट पछि फर्कन दवाव दिन तात्कालिन भारतीय नेताहरु एक भएका थिए, तर उनीसँग स्पष्ट सोच र कार्ययोजना थियो । त्यसैले अहिले कुनै वेला महेन्द्रको नाम लिंदापनि कुल्ला गर्ने श्रेणीका विद्वानहरु पनि उनको कुरा गर्न विवश छन् ।

छयालिस पछिका यत्रा वर्षहरुमा अनेकौ सोचका कुरा आए । आफुलाई नलाग्ने तर अरुले मान्नैपर्ने अनेकौ विधि आए । समाजका हरेक वर्गका बालवालिका स्कुले जीवनमा संगै हुर्कने सबै नेपाली मनले नै एक बनाउने परिपाटी तोडियो । बालपनदेखि नै समाजमा वर्ग तैयार भयो, स्कुल र बोर्डिङको फरकले विभाजनको भेटिदै गएको रेखालाई खाडलमा परिणत गरियो । नेतृत्व योजना तर्जुमा संगै त्यो असफल भएको कारण पनि अग्रिम तैयार गर्न तल्लिन भयो । जनताले व्यक्ति भएर निर्वाध उपयोग गरेका अधिकार दलहरुको कृपामा सरुवा गरियो ।

सोच(भिजन)को कारखाना चालु छ । त्यस्तै सोचको मोहमा परेर जनताले दिएको मतले सत्तामा पुगेपछि गरेको काम भने आफ्नो सुविधा बढाउनु बाहेक अरु भएको छैन । यस्ता सोचहरु जो सत्ता बाहिर हुँदा संझिइन्छ र सत्ताामा पुग्ने वित्तिकै भुलिन्छ, के कामका हुन ? बहुदल पुर्नस्थापना भएदेखि सपनाको बाढी आउको छ तर कार्यरुप ? महेन्द्रले विदेशिएका नेपालीलाई स्वदेश फर्काउन सक्दो गरे । तर अहिले उच्च पदस्थ कर्मचारी मात्र हैन मुलुक हाँक्ने नेताहरु पनि विदेशको अस्थाई नागरिकता गोजीमा बोकेर बसेका छन् । पहिल्यै विदेशिएका आफ्ना सन्तान सबै विदेशमै राखेर नेपालको नेतृत्वको दावेदारी गर्दैछन् ।

यस्तो बेलामा पूर्व परिएका राजाले आफ्नो सोच मार्गचित्र समेत प्रस्तुत गरेका छन् । के नेपालीले एक पटक त्यसमा विचार गर्नु पर्दैन र ? अस्विकृत वा स्विकृत जे गरे पनि त्यो सोच र गर्नसक्ने क्षमताको आधार हेर्न आवश्यक हुन्छ नै । विगतका बर्षहरुमा देखाएको व्यवहारले उनीमाथि पूर्वाग्रह राखिएको प्रमाणित हुन्छ । घोषणा गर्ने समयसम्म पनि खाका स्पष्ट नभएको संविधान र विधानको राजाले पेश गरेको खाका दाँजेर हेरिनु पर्दछ ।

“विभिन्न मत, धारणा, सिद्धान्त र विचार फरक हुनु बहुलवादी राजनीति, संस्कृति र पद्धतिको स्वाभाविक विशेषता हो । तर जहाँसम्म सिंगो राष्ट्रको धारणा र मान्यताको कुरा आउँछ त्यहाँनिर सबै मान्य, समन्वयपूर्ण र सामञ्जस्यको अवस्था रहनुपर्छ । मेरो मत, मान्यता र आदर्श भनेकै त्यही सर्वसम्मत राष्ट्रियता हो । देशका सबै जातजाति, वर्ग, समुदायलाई राष्ट्रको मूलधारमा ल्याउने र सबैको समान उत्थान गर्ने समावेशी विधिविधान” के नेपालीको यो आवश्यकता हैन र ?

“जल, जमिन, बन, जडीबुटी तथा खनिज स्रोतका अपार साधन भएको हाम्रो देशमा हामीले तिनै कुराको विकासमा आफ्नो जनशक्ति लगाउन सक्नुपर्छ । आत्मनिर्भर अर्थतन्त्रका निमित्त हाम्रो जोड रहनुपर्छ–सदा स्वतन्त्र, शान्त, सुन्दर र साहसको परिचय दिएर विश्व मानचित्रमा नाम कमाएको देश नेपाल–आर्थिक रूपले पनि सबल हुन सक्नुपर्छ । यसका निमित्त हामीले देशी–विदेशी लगानीको राम्रो संयोजन गर्न सक्नुपर्छ” । यो नेपालीको सपना हैन र ?

युवा पलायनको ओठे चिन्ता सबैलाई छ । तर सत्तामा पुग्ने वित्तिकै युवा निर्यातको बाटो खोजेको प्रष्ट देखिन्छ । यो पलायनको कारण मुलुकमा रोजगारीको घट्दो मात्रा हो जो कार्यकर्ता पालनका निमित्त दलहरुका भातृ संगठनको दवाव हो । “युवाशक्ति नै राष्ट्रको त्यो मूल शक्ति हो जसबाट राष्ट्रको समृद्धिका लागि विशिष्ट योगदान हुनसक्छ । तर हाम्रो त्यो होनहार युवा जनशक्ति आज बिदेशिन बाध्य छ । रोजगारी, इलम र कामधन्दाका लागि विश्वका विभिन्न देशमा पलायन भएको छ । राष्ट्र निर्माणका खम्बा युवा समुदायलाई विदेश जान रोक्ने र गएकाहरूलाई फर्काउने अनि उनीहरूलाई स्वदेशमै रोजगारीका व्यापक अवसरहरू सिर्जना गर्नेतर्फ राज्यको गहन ध्यान जानु आवश्यक छ” । समस्या त पहिचान भएको नै छ तर त्यसको समाधान पनि छ ।

विगतका झण्डै तीन दशकमा तिनै पात्र र तिनै प्रवृतिलाई बारम्बार जनताले मौका दिएको छ । हरेक पटक धोका भएको छ । एक मौका यी कुराहरुलाई पनि दिंदा खासै फरक पर्दैन । राजसंस्था पनि असफल भएमा पाखा लगाउन सकिने रहेछ भन्ने उदाहरण विगतको दशक भएकै छ । बरु आफुमाथि हैकम चलाउन टाउकोमा बसेका केही व्यक्तिहरु स्वघोषित निर्विकल्प भएका छन । इलाज खर्चमा विमारीलाई, शिक्षा खर्चमा विद्यार्थीलाई कर लगाउन सक्ने व्यवस्था कति जनकल्याणकारी हो त्यो भन्ने कुनै आवश्यकता नै छैन । धेरै भयो सपनाको व्यापार, अब यसको विकल्प ल्याउनै पर्दछ । राजासंग भएको समग्र राष्ट्रको सिंगो विचार एक पटक किन परिक्षण नगर्ने ?
विराटनगर–१

प्रकाशन मितिः २०७३ असार ०२ गते विहीबार

SHARE THIS

Author:

Facebook Comment