भगवान र धर्मको वास्तविकता !

–प्रशान्त महासागर
म या तिमी जब जब हामी हुनबाट चुक्छौ तब तब शासनको कुरालाई अगाडि सार्दा सधैं हामी अर्थात तिमी र म दासदासी भई बाँची रहेका हुन्छौं जसबाट मुक्तिको खोजी पनि एक अर्थमा दासत्व नै हुन्छ जुन थाहा हुँदैन भन्ने एकातिर कमी हामीमा छ त अर्कोतिरबाट त्यो किन आवश्यक भन्ने जस्ता शाब्दिक खेलका खेलाडी बनिरहन्छौं । यो भयो हाम्रो रुप र रंग जुन ऐना सामु देखिएका छन् भने अर्को देखाउनेहरुको जमात पाइला पिच्छे भेट्टाउँछन् जसको अनदेखापनमा बाँच्नु हाम्रो शाब्दीक कर्तव्य पनि हो र समाजलाई शान्तिमुखी बनाउन ती नभई नहुने यथार्थता पनि हुन् । अब समाजकै कुरा गरौं जहाँ विभिन्न खेतीहरु छन र ती खेतीहरुमै कसैको रोजीरोटी छन त कसैको आस्थाहरु छन । त्यस्तै सञ्चालक जहाँ आस्थाको कुराबाट हुन्छ भने त्यो त्यहाँ एउटा शक्ति हुनुपर्छ जसलाई निश्चितताको लागि भगवान् नै सबै शास्त्रले भनिदै आएका पाउँछौं । बोली व्यवहारलाई खर्चिएर अगाडि जाने क्रममा सबैले यो मेरो भगवान भन्ने प्रचलन प्रख्यात भएको अवस्था पनि छ त आलु खेतीबाट व्यापार व्यवसाय फस्टाएकै जत्तिकै पनि छन नै जसमा मतमतान्तर गरि रहँदा हात चाट्ने र मह काट्ने एउटै हुनु पर्ने कुराहरु पनि फरक हुन्छ । त्यसैले सोचौं, हामी किन मानव हौं, बुझौं ।

हामीसँग विवेक छ । त्यसको प्रयोग किन र कहाँ गर्ने भन्ने प्रचुर मात्रामा ज्ञान हुँदा नि हामी सानो सानो कार्यबाट पथ विमुख हुँदै जीवन यापनमा तल्लिन हुन्छौं एक अर्थमा दु:खलाई कमाउन जीवनलाई खर्च गर्दैछौं । के त्यो उचित कार्य हो त ? हुन त समय परिवेशले हामीलाई त्यस्तै बनाएका हुन् भने त्यसलाई खुलेआम स्वतन्त्रता दिनु हाम्रो कमजोरी नै हो जसमा लगाम अब लगाउनु नै पर्छ भन्नु मेरो भनाई हो । र आजभोली सबैलाई थाहा भएकै कुरा, हामी समाजमा खर्चबाट मात्र प्रतिस्थिति हुँदै गएका छौं भने अर्कोतिर पथ विमुख भई हिंडेको खण्डमा धन प्रचुर मात्रामा कमाई हुने कुराहरु देखिदै गएका छन् । यसले समाजलाई सन्तुलन बनाउँछ भन्नु मूर्खता नै हुनेछन् भने धनलाई नै सर्वथा सम्झि बाँच्ने जुन विकृति फैलिएको छ । त्यसले पापलाई धर्मको व्याख्यामा रुपान्तरित गरिदै लगेको पनि छ ।

भन्न त सबैले कलिमा यस्तै हो भन्छन् पाप गर्नु हुँदैन पनि भन्छन् तर कसैले पनि त्यसको खराबीलाई अनुशरण गर्न छाडेका छैन । यो भनेको लोभ हो जसको पूर्ति भनेकै क्षणिक सुख हो, सुविधा सोचे भन्दा ज्यादा चाहनु पनि हो । त्यसैले यहाँ पाप, पाप बन्न नसकेको हो भने धर्मको अर्थ अर्कै हुन गएको हो । र संसार सृष्टि र त्यसको भोगचलनमा राम्रो र नराम्रो भन्ने नै ठूलो कुरा थियो त्यही कुरालाई जिउँदो राख्न अझ भनौं मानवलाई सही दिशामा दिशानिर्देश गर्न शास्त्र वेदको उत्पत्ति भए लगत्तै मानवहरुले शब्दका खेतीहरु प्रचुर मात्रामा गर्न सिके त फलहरु फलाउन नराम्रोकै पक्षमा मतहरु खस्न थाले जसले हामी पून: दासत्वमै अल्झि चरणबद्ध खुशीहरुलाई बन्धकी बनाउनमै अग्रसर हुँदै गयौं भने विभिन्न सोचलाई कुरालाई हामी सामु पस्केर पनि फेरि फेरि बन्दी नै बनाउँदै हामीलाई घिसारि लगी रहे, हामी भने खानु र लाउनुमै तल्लिन हुँदै आजसम्म आउँदा विभिन्न धर्मको भन्दै मानव बाँडफाँडमा मानव शास्त्रहरु नै लागी रहे, सिमित स्वार्थहरुले मानवमाथि राज्य गरि रहे । जसको विरोध हामीले कहिल्यै गर्न सकेनौं पनि ।

हामीलाई भन्नुको अर्थ मानव जगतलाई दास बनाउने काममा बल र छलले ठूलो भूमिका खेलेको छ भने अर्को नराम्रो नखेल्ने भन्ने त हुनै सक्दैन पनि । आफ्नो स्वार्थसिद्ध गर्न या क्रियाक्रम चल्ने र चलाउने कुरालाई पूर्णता दिन पनि दुई कुरा भएको हुनुपर्छ भन्ने मेरो सोच हो । त्यसमा एउटा पाप रहे भने अर्को धर्म हुन गए । पाप, नराम्रोसँग लिपिबद्ध भए भने धर्म, राम्रोसँगको सहवासमै रमी रहे तर शासनको कुरामा अहिले आएर धर्मले पनि नराम्रोकै लिवासहरु पहिरन थालेको छ के पहिरिएर हामीलाई बन्धक बनाई सकेका छन् । साधारण बुझाईमा धर्म राम्रो कुरा हो सबैलाई थाहा भएकै कुरा हो । धर्मले मानव कल्याण र उत्थान गर्छन् भन्ने सबैलाई थाहा हुँदा हुँदै पनि त्यसमा अहमत्व कहाँबाट प्रतिपादन भए भन्ने कुरालाई कसैले महशुस गरेन किनभने त्यहाँ मेरो भन्ने धमिरा पसेको छ । जब हाम्रो काम हुनु पर्नेमा मेरो भयो भने एउटा वाक्यमा छ क्रियाहरु फरक फरक हुन्छन् भने त्यसको लाभ प्रतिलाभमा कहाँ कहाँ कसरी के हुँदै के को उत्पत्ति हुँदै जान्छन् भन्ने कुरालाई सबैले बुझेकै कुरा हुन् र आँखा पट्टि बाँधिनुलाई व्यवहारमा उतार्नु कुनै ठूलो कुरा पनि होईन । त्यसैले धर्ममा अहम्लाई स्थान दिनु हुँदैन भन्न मात्र खोजेको हुँ ।

र समाजमा धर्मको अर्थ अर्कै छ भन्नुको अर्थ भगवानसँग जोडिएको छ । तर मैले बुझे अनुसार भगवान् राम्रो हो भने नराम्रो दानव हो । त्यस्तै भगवान् र दानवको समिश्रण नै मानव हो भन्नुको अर्थ हामी जसमा म र तिमी छौ एउटा राम्रो त अर्को नराम्रो नै छ । यहाँ म राम्रो या नराम्रो जाहेर गर्ने भनेकै कर्म हो जुन गर्नै पर्छ । जन्म भाग्य हो भने मृत्यु समय हो भगवान् बुद्धले भनेका कथन हुन जुन हो पनि त्यस्तै कर्मको कुरालाई आफ्नो पहिचान भनेको छ जुन कालान्तरसम्म मानवहरुले सम्झि रहनेछन ।

अब रह्यो धर्म के हो त ? कुनै शक्तिको उपासना गर्नुलाई धर्म कसैले भन्छ भने त्यो गलत नै हो । हामीले सधैं सुनेका बुझेका या बुझाइएका कुराहरुबाट धर्म र भगवानको सम्बन्ध एक–आपसमा छ भन्ने बुझ्छौं तर धर्म र भगवान् दुई ध्रुब नै हो किनभने भगवान् राम्रो हो भने धर्म राम्रो र नराम्रोको समिश्रण हो जुन मानव जस्तै हो भन्नुको तात्पर्य कुनै मर्म जुन सजिव प्राणी हो जस्तै भोक लाग्नु र त्यसको परिपूर्ति गरि दिनु त्यो धर्म हो । प्यास लाग्नु र शरीरलाई प्यास मुक्त गराउनु धर्म हो । चाहना भन्दा ज्यादा परिपूर्ति पनि धर्म हो भने त्यसमा आशय खराब छन जुन भगवान्सँग जोड्न मिल्दैन । धर्मको उद्देश्य प्राप्ति र परिपूर्ति हुने हुनाले धर्म र भगवान् दुई फरक तत्व शक्ति हुन जसलाई हामीले बुझ्नु नितान्त आवश्यक कुरा पनि हुन् । तर हाल आएर भन्नुको अर्थ कलिमा आएर मानवले आफ्नो सिद्धान्तलाई जस्तै हिन्दू धर्म भने त कसैले क्रिश्चियन धर्म भने, कसैले मुस्लीम धर्म भने त कसैले जैन धर्म भन्दै मानव बाँडफाँडको कार्यहरु प्रतिपादन गर्दै केवल झगडाको वीउ रोपे जुन एकदिन त्यो वीउ वृक्ष बन्ने नै छ र त्यो बेला फल र शीतलता क–कस्ले थाप्ने हुन त्यो हेर्न बाँकी नै छ ।

त्यसैले सिद्धान्त जुनसुकै होस् राम्रो सदा राम्रो सबैले भन्नु नै पर्छ र शरीरलाई सुहाउँदो कुरा मात्र सही धर्म हुन र सही धर्मको सही अनुशरण नै कुनै एक मात्र एक शक्ति नै यो सृष्टिको भगवान् हो तर सिद्धान्तको खेतीलाई मेरो भन्ने जुन प्रवृत्ति छ न त्यो राम्रोमा पर्छ न त कुनै शरीरको मर्म नै हो भनेर मनन गर्न सकिन्छ त्यो केवल भ्रम हो जसले युद्ध नाश मात्र चाहन्छन भने हामीलाई दासत्वबाट कहिल्यै मुक्ति गराउँदैनन् पनि । त्यसैले उज्यालो हुना साथ उठ्नु र नित्यकर्ममा जीवनलाई निछावर गर्नु र नियम पूर्वक जिउनु नै धर्म निभाएर भगवान् यानि कि कुनै एक शक्तिसँग रम्नु नै सन्तोषित भई बाँच्नु नै सुख हो । सुख आफ्नो नै हो अरुको हुन नदिन धर्म जुन शरीरको मर्म हो त्यसलाई बुझौं । भगवान् एकमा छ राम्रोमा छ अनेकमा त केवल सिद्धान्त छ । सिद्धान्तभित्र अहम् हुन्छ स्वार्थ हुन्छ मान या नमान मलाई अर्कै हो भन्ने क्रोध हुन्छ । त्यसैले धर्म हामी वीच रह्यो भने भगवान् हराईयो पनि । साथसाथै भगवान् र धर्म दुई फरक कुरा हुन् भने धर्म कहिल्यै परिवर्तन हुँदैन् पनि ।

SHARE THIS

Author:

Facebook Comment