...डायरी...
–सीता पौडेल
मैले उनको आँखामा हेरेकी मात्र के थिए सधैं झैँ ती अबोध र निश्चल आँखामा फेरि अनेकौं प्रश्नहरुको लहर देखें जसको जवाफ दिन म असमर्थ थिएँ । बारम्बार लाग्दथ्यो ती निर्दोष आँखाहरु मानौं मबाट जवाफ खोजिरहेको छ भनेर, तर यो पनि भन्न सकेकी थिइनँ कि तिमी पनि निर्दोष छौ भनेर, कस्तो बिडम्बना थियो सत्यलाई सामु ल्याउन नसक्नु, केवल समयलाई पर्खेकी थिएँ उनलाई सत्यको बोध गराउन ।
समयसँगै मनमा अनेकौं प्रश्न लिएर ऊनी पनि अगाडि बढिरहेकी थिइन, एकदिन जब म बाहिरी काम सकाएर घर आएँ तब उनलाई मैले मेरो कोठामा बसेर मलाई नै पर्खिरहेको पाएँ, म अलि असहज भए, अचानक मेरो आँखा तिनको हातको डायरीमा पर्याे मतलब उनले मेरो डायरी पढि सकिछन् । म त्यही जड भए शरीरबाट मानौं सारा शक्तिहरु बाहिरी सकेको थियो, म अवाक भएर उनलाई हेरिरहेकि थिए । उनको आँखामा मानौं समुन्द्र नै उर्लिएको थियो, उनी हुत्तिदै आएर मलाई अँगाल्न पुगिन अनि भनिन् मलाई माफ गरि दिनुहोस् आमा अन्जानमा मबाट ठूलो भुल भयो मैले हजुरको भावनालाई बुझ्न सकिन यदि आज पनि यो डायरी मेरो हातमा नपरेको भए म मेरो वास्तविकताबाट सधैं अञ्जान रहने थिएँ र मेरा सारा सवालहरुको जवाफ हजुरबाट पाउँदिनथें होला । पटक पटक हजुरलाई कति असहज बनाइ दिएकी थिएँ ।
धन्य छौ भगवान ¤ म जस्ती वेवारिसे र परिचय नभएकी अनाथलाई यस्ती महान नारीसँग भेटाएर मेरो परिचय बनाइ दिएकोमा ।
विजयादशमीको दिन मन्दिरमा दर्शन गर्न जाने क्रममा मैले उनलाई भेटेकी थिएँ, मानिसको भिडमा घेरिएर काहालिदै रोइरहेकी त्यो बच्ची, कसैले उसलाई हात सम्म लगाउन पनि हिचकिचाइ रहेका थिए । म आफुलाइ रोक्न सकिन अनि हत्तारिंदै त्यो बच्चीलाई उठाएर छातीमा टाँसें त्यतिबेला ऊ शायद पाँच छ महिनाकि थिई होला ।
जब–जब ऊनी हुर्किदै गइन् तब तब उनका प्रश्नहरुले जवाफ माग्दै गए । यस्तै कसम्कसमा समय भागिरहेको थियो र आज...........
आज म मानौं ठुलो बोझबाट मुक्त भएँ जुन काम मबाट हुन सकेको थिएन त्यो काम आज मेरो यो डायरीले गर्यो । तर एउटा प्रश्न सधैं म मा अल्झिएर नै रह्यो जसको शायदै जवाफ होला ¤ आखिर कहिले सम्म बालबालिकाको यस्तो अवस्था रहने हो ? किन बच्चा जन्माएर तिनको परिचय खोसेर अनाथ भनेर चिनाउने हो ? यस्ता घटना बालबालिकाले कहिले सम्म भोग्नु पर्ने हो ? कहिले सम्म यस्ता घटनाले निरन्तरता पाउँछ ? र कहिले यसको समाधान हुन्छ ?
प्रकाशन मितिः २०७२ फागुन १३ गते बिहीवार