राजा ज्ञानेन्द्रको सन्देश र भविष्यका कर्णाधारहरूको दायित्त्व

–सन्तोष मिश्र
नेपालमा २०३८ वर्ष सम्म कायम भएको राजतन्त्रलाई २०६३को जनआन्दोलनले विस्थापित गर्‍यो । शाहवंशका ११ पुस्ताका अन्तिम राजा श्री ५ ज्ञानेन्द्र अपदस्थ भए । २०४७ को जनआन्दोलनले स्थापित गरेको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको ठाउँमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपालको सातौं संविधानका रुपमा २०७२ घोषणा गरिएको छ । तर अक्षरस: पालना र पूर्ण कार्यान्वयन हुन सकेको छैन । संविधान २०७२ जारी भएपछि पनि असन्तुष्टी, आक्रोश यथावत छ । राजा आऊ देश बचाउको नारा देशभर घन्किएपछि राजसंस्थाको पुनरवहाली र पुनस्र्थापनाको माग बढिरहेको छ ।

संविधान निर्माण र जारी गर्न सक्रिय शक्तिहरुबीच राजनीतिक मेलमिलाप र एकता छैन । केवल सत्ता स्वार्थकालागि मात्र राजनीतिक परिवर्तन भएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा माओवादीले मात्र संविधानको उपलब्धीहरु हासिल गर्न खोजिरहेका छन् । बाँकी राजनीतिक शक्तिहरूकालागि संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था ‘आकाशको फल आँखा तरी मर’, कौवालाई बेल पाक्यो हर्ष न विस्मात’ सावित हुँदैछ  अर्थात संघीय लोकतान्त्रिक गणतन्त्रमा आस्थावान राजनैतिक शक्तिहरुमा व्यवस्था अनुशारको राजनीतिक संस्कार, संस्कृति, मूल्य, मान्यता, कार्यशैली, व्यवहार देखा पर्न सकेको छैन ।

कुनै राजनीतिक व्यवस्था, विचार, सिद्धान्त र कार्य व्यवहारको आडमा जनताको समर्थन टिकेको हुन्छ । यतिखेर राष्ट्रिय राजनीति र कुटनीति दुबै  असफल छ । राजनीीतमा असफल भन्ने कुरा केही हुँदैन । छिमेकी राष्ट्र चीन र भारत वर्तमान लोकतन्त्रवादी र गणतन्त्रवादी राजनीतिक दलहरूको कुटनीतिबाट अस्वस्त छैनन् । विश्वको एकमात्र हिन्दू राष्ट्र नेपाललाई धर्म निरपेक्ष राष्ट्र जबरजस्ती घोषणा गरी क्रिश्चियन धर्म परिवर्तन महाअभियान र पश्चिमा राष्ट्रहरूलाई क्रिश्चियन धर्म र आइएनजिओ मार्फत चलखे.ल गर्ने छुट दिइएपछि हिन्दू धर्मावलम्बीहरूको बाहुल्यता रहेको देश नेपालमा सामाजिक भेदभाव, जातीय सद्भाव, धार्मिक सहिष्णुता, क्षेत्रीय सन्तुलन, कुटनीतिक र राजनीतिक सन्तुलन सबै खलबलिएको छ ।

राज्यको पुनर्संरचना र सामाजिक आर्थिक रुपान्तरणको कार्यभार अलमलिएको छ । मधेशवादी दलहरुको आह्वानमा भएको आन्दोलनले ठूला राजनीतिक दल भनिएका नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा माओवादीलार्य गम्भीर चुनौती दिएका छन् । मधेशप्रति हेर्ने तीन दलको दृष्टिकोण एकदमै गलत देखिएकाले तीन दलले आजसम्म देशलाई प्रयोगशाला बनाएर गर्दै आएका राजनीतिक अभ्यासहरू असफल झैं भएका छन् । युरोपेली महासंघको सहयोग र समर्थनमा संघीइ लोकतान्त्रिक गणतन्त्र नेपालको हावापानी, माटो, देश, काल परिस्थिति सुहाउँदो नहोला जस्तो देखिएको छ । अब नेपाली जनताको आक्रोशको केन्द्रबिन्दू भनेको तीन दल नै हुन् । तीन दल एक आपसमा मिलेर चुनौतीको मुकाबिला गर्न नसके नेपाली जनताले विकल्प खोज्ने छन् त्यतिखेर नयाँ राजनीतिक शक्ति विस्थापित हुने र पुरानो राजनीतिक शक्ति स्थापित हुने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई पुरनो शक्तिले कब्जा गर्ने प्रबल संभावना देखिन्छ ।

शाहवंशीय राजसंस्था, राजतन्त्रप्रति आस्थावान जनताहरूको संख्या अझैं पनि ठूलो छ । राजसंस्था र हिन्दू राष्ट्रलाई अझै अपरिहार्य देख्ने राजनीतिक दल राप्रपा नेपाल गठबन्धन सरकारमा छ । वर्तमान परिवेशमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको सक्रिय राजनीतिक भूमिका प्रति केपी ओली नेतृत्वको सरकार नतमस्तक छ । कमल थापाको राजनीतिक कार्यशैली र व्यवहारप्रति दुई विशाल छिमेकी चीन र भारतको पनि अरु दलहरूको भन्दा बढी विश्वास रहेको छ । राजावादी अर्थात राष्ट्रवादी शक्तिहरू विभिन्न घटकको माध्यमबाट आफ्नो मूल्य र मान्यता स्थापित गर्न देशभर क्रियाशील छन् । आ–आफ्ना ढंगले राजनीतिक गतिविधिहरू बढाइरहेका छन् । एमाले, काँग्रेस, एनेकपा माओवादीका नेता, कार्यकर्ता पार्टी छाडेर ‘नयाँ शक्ति’ पार्टीमा सामेल भइरहेका छन् । नयाँ शक्ति पार्टीले एनेकपा माओवादीलाई ध्वस्त नै बनाउने रणनीति अपनाएको छ । अवसरवादी र उपभोक्तावादी चरित्रका मानिसहरू कुनै पनि बेला पार्टी छाडेर कहिं पनि लाग्न सक्दछन् ।

देशभक्त, राष्ट्रवादी राजावादी शक्तिहरू, मधेशवादी दलहरू र नयाँ शक्ति पार्टीकाबीच चुनावी तालमेल र तीन दलका विरुद्ध संयुक्त संघर्ष मोर्चामा सहमति हुने अवस्था पनि छ । के.पी. ओली नेतृत्वको सरकार राष्ट्रवादी वुख्याचा सरकार हो । यसको आधार बलियो छैन । भारतीय नाकाबन्दी, भूकम्पबाट सास्ती खेपेका, पीडित भएका आम नेपाली जनताहरूले वर्तमान सरकारको विकल्प खोजिरहेको र १०/१० वर्षमा नेपालमा राजनीतिक परिवर्तनको परम्परा रहेको तथा राजनीतिक खडेरीसँगसँगै लामो प्रकृतिक खडेरी समेत परेकोले राजनीीतक परिवर्तन सत्ता परिवर्तनको योग परेको छ ।

अपदस्थ राजा ज्ञानेन्द्रले देश र जनताहरूसँगको सम्बन्ध र सामाञ्जस्यतालाई कायम राख्दै आएको पाइन्छ । असन्तुष्ट जनताहरू राजाको कदमप्रति आकर्षित हुने आधार बलियो छ । जनतामाथि दमन गरेर शासन गर्ने दिन अब गए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई उपयोग र प्रयोग गर्ने राजनीतिक दलहरूबीच एकता र मेलमिलाप नहुनु, ती दलहरूले जनताको मन जित्ने कुनै नीति, कार्यक्रम व्यवहारिक रुपमा अगाडी सार्न नसक्नु नै उनीहरूको असफलता हो । एमाले र काँग्रेस पटक पटक शासन सत्तामा असफल भएका पार्टी हुन् । एनेकपा माओवादी जीर्ण हुँदै गएको राजनीतिक शक्ति हो ।

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट नव वर्ष २०७३ को उपलक्ष्यमा बक्सेको शुभकामना सन्देश वर्तमान सरकारमा रहेका दलहरूकालागि चेतावनी र चुनौती बनेको छ भने दलहरूको कार्यशैलीबाट खिन्न भएका जनताहरूलाई आशाको किरणको रुपमा देखा परेको छ ।

राजा ज्ञानेन्द्रले दिएको सन्देशमा ‘आफ्नो भाष, इतिहास र धर्मसंस्कृतिहरू देशका आधार हुन भन्ने विषयलाई मनन गर्दै स्वदेश हेरेर मात्र विदेश हेरौं, स्वदेश चिनेर मात्र विदेश चिनौं, स्वदेश मानेर मात्र विदेश मानौं र स्वधर्म बुझेर मात्र परधर्म बुझौं, यहि मेरो शुभकामना छ । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ।’ भन्ने शब्द, वाक्यहरू अति मार्मिक छन् । यसलाई नबुझे सत्ताशीनहरूको अभिनय भयो भने त्यो अनिष्ट सावित हुनेछन् । पार्टीभन्दा ठूला जनता र देशको सर्वोत्तम हित हो । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान संविधानसभाबाट बनेको हो । यस संविधानमा अधिकतम जनताको सहमति छैन । संविधानसभाको बहुमतद्वारा पारित भएको छ । नेपाली जनताको जनादेश, इच्छा, आकांक्षा विपरित नेपालको संविधान २०७२ बनेको छ । विदेशमा नेपाली नागरिकहरूको ठूलो संख्या छ ।

पूर्वराजा ज्ञानेन्द्रको शुभकामना सन्देश त्यतिखेर सार्वजनिक भएको छ जतिखेर सत्ताशीनहरूलाई देश विखण्डनको आरोप लागिरहेको छ । हुन पनि देश यतिखेर गम्भीर र संवेदनशील अवस्थामा छ । स्वाभिमान नेपालीहरू जो हिमाल, पहाड र तराइ मधेशमा रहन्छन् उनीहरू भावनात्मक एकीकरण चाहन्छन् । वर्तमान संविधानले भावनात्मक एकीकरण गर्न सक्ने  छाँटकाँट छैन । संविधान संशोधन गरी राजासहितको संविधान निर्माण गरेमात्र सबै राजनीतिक शक्तिहरूको सहमहतिमा सबै पक्षलाई मान्य हुने, सन्तुलित संविधान हुने अवसर देखा परेको छ ।

शाही युवा शक्ति गठन भइसकेको छ । जुन राजनीीतक शक्तिले देश र जनताको इच्छा मुताबिक काम गर्न सक्दछ । त्यही राजनीतिक शक्ति रुचिकर हुन सक्दछ । समय र परिस्थितिले देश र जनताको पक्षमा तालमेल गर्न राजनीतिक दलहरूलाई बाध्य बनाउँछ । कुनै पनि संविधान उत्कृष्ट, निर्विवाद र अशंसोधनीय हुन सक्दैन । देश र जनता साध्य हुन् । संविधान साधन र माध्यम मात्र हो ।
देश र जनताको पक्षमा राजतन्त्र सधैं उभिंदै आएको इतिहास साक्षी छ तर दलगत स्वर्थ, गूट, फूट र लूटको संस्कार र संस्कृतिले राजनीतिक दलहरू देश र जनताको रक्षामा निर्वाध नि:संकोच लाग्न सकेको पाइंदैन । धेरै राजनीतिक दल ‘देश उजाड’को अवस्थामा पुगेको छ । विचार मिल्ने दलहरू समेत एक हुन नसकेको कारण संघीय लोकतान्त्रिक गणतन्त्रको ढाँचाबाट देश सञ्चालन हुन नसक्ने सिद्ध अर्थात प्रमाणित भइसकेको छ ।

पूर्व राजा ज्ञानेन्द्रले देश र जनताप्रति चिन्तित भई अति दूरदर्शी बनेर दिइएको सन्देश आम देशभक्त परिश्रमी नेपाली जनताहरूकालागि मार्ग दर्शन बनेको छ । राजतन्त्र र हिन्दूराष्ट्र नेपाल र नेपालीको भलाई गर्ने बलियो खम्बा पनि हो । राजा ज्ञानेन्द्रको सन्देशमा भएको  अभिव्यक्ति ‘हाम्रा राष्ट्रिय मान्यताहरू (धर्म, संस्कृति, भाषा, इतिहास र सभ्यता) विपरित प्रहार भइरहेको वर्तमान अवस्थामा हाम्रा पूर्खाले सुम्पिएको धरोहरू आफ्ना सन्ततिलाई कसरी हस्तान्तरण गर्न सक्छौं भन्ने प्रश्न अहिले अझ पेचिलो बन्दै गएको छ भन्ने कुरा यथार्थ हो ।

दक्षिण एसियाको भू राजनीतिक संवेदनशीलता र शक्ति सन्तुलनको हेक्का राख्न सत्तासिनहरूले सकेका छैनन् । भागबण्डा, गलत सम्झौता, अपवित्र गठबन्धन, विदेशी हस्तक्षेप र सहयोगमा टिकेको सत्ता जनसत्ता र  देशभक्त सत्ता होइन । देश कता जाँदैछ भन्ने कुरा ठूला राजनीतिक दल र सत्ताशीन सरकार आफैंलाई थाहा छैन ।

साझा र सही मानचित्र केही छैन । अन्ध राष्ट्रवाद र नक्कली राष्ट्रवादको अभ्यास र अभिनय गरिंदैछ, जुन गलत छ । देशभक्तिको मिलनबिन्दूमा राष्ट्रघातीहरू कहिल्यै एक हुन सक्दैनन् । शाहवंशीय राजाहरूको इतिहास र योगदानलाई अवमूल्यन गर्नु पाप हो । यो राष्ट्र निर्माणमा हिजो जस्तै आज र भोली पनि सक्रिय भूमिका निर्वाह गर्ने वातावरण कायम हुनु पर्दछ । पूर्व राजा शाहले राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दुरुपयोग गर्ने शासकीय शैलीले नेपाल कमजोर भइसकेको छ, राष्ट्र सम्बन्धी अवराधारणा कमजोर भएको, क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णाबीचको फाटो नोक्सानदायी भइसकेको छ भन्ने विश्लेषण एकदमै सटिक छ ।

विगतका दिनहरूमा राजा र राजसंस्थाप्रति पूर्वाग्रही र संकिर्ण हुँदै आएका वर्तमान शासन सत्तामा रहेका दलहरूप्रति राजा ज्ञानेन्द्र संकीर्ण र पूर्वाग्रही नभई शुभकामना सन्देशमार्फत जुन अतिवुद्धि, उपदेश दिएका छन् यो मनन योग्य छ । राजनीतिक दलहरू असफल, कमजोर हुन सक्दछन् तर दलहरूका कारण राष्ट्र असफल हुनु हुँदैन । राष्ट्रकासामु सवल र सफल बन्न धेरै विकल्प र संभावना हुन्छन् ।

नेपालको स्वाधीनता, नेपालीको अस्तित्व रक्षा, सुख, समृद्धि भाविष्यकालागि गलत तत्व र शक्तिलाई परास्त गर्दै भविष्यका कर्णाधारहरू सबै एक ढिक्का भएर अगाडी बढ्नु पर्दछ ।

(प्रकाशन मितिः २०७३ वैशाख १६ गते बिहीवार)

लेखकलाई फेसबुकमा फलो गर्नुहोस्

SHARE THIS

Author:

Facebook Comment