बलात्कारको प्रयास असफल भएपछि हत्या

दाङ–बलात्कार प्रयास विफल भएपछि सल्यानमा एकै घरका चार जनाको विभत्स हत्या भएको तथ्य खुलेको छ। गाउँकै एक युवकले बलात्कार प्रयास विफल भएपछि घरमा रहेका दुई नाबालिका सहित चारै जनालाई पलैपालो हत्या गरेको प्रहरी अनुसन्धानमा पत्ता लागेको छ।

मंगलवार राति सल्यान छायाँक्षेत्र ९ रानागाउँमा दुई बालिकासहित घरभित्रै चार जनाको हत्या भएको थियो। स्थानीय रानागाउँकी २२ वर्षीया सीता खाँण, उनका दुई छोरी अढाई वर्षीया पवित्रा र १ वर्षियासविता र सीताकी १८ वर्षीया बहिनी गीता गिरीको हत्या भएको सल्यान जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

राप्ती अञ्चल प्रहरी प्रमुख एसएसपी प्रेम चन्दका अनुसार स्थानीय २० वर्षीय युवक सञ्जय भारतीले एकै परिवारका चार जनाको हत्या गरेको खुलेको छ। अभियुक्त सञ्जयको बयानका आधारमा प्रहरीले दोषी प्रमाणित गरेर उनलाई बिहीबार सार्वजनिक गरिसकेको छ।

यसरी भयो घटना

मंगलबार दिउँसो सञ्जय र सीता खाँणको भेट भएको थियो। गाउँले साइनो 'भतिजा' कहलिएका सन्जयलाई सीताले मंगलबार बेलुका आफूले सेलरोटी पकाउन थालेको र खान आउन भनेकी थिइन्। बेलुका सेलरोटी खान आउने भन्दै दिउँसो तीन बजेतिर सीतासँग छुट्टिएका सञ्जय बेलुका झण्डै ८ बजेतिर सीताको घरमा पुगेका थिए। मदिराले लठ्ठीएका उनले त्यहाँ अपशब्द प्रयोग गर्न थाले। 'उ त्यहाँ सेक्स्यूअल सम्वन्ध राख्ने उद्देश्यलेनै गएको रहेछ,' एसएसपी चन्दले भने, 'आफ्नो प्रयास विफल भएपछि उसलाई मदिराको नशाले होस बाहिर पुर्यायो।' अपशब्द प्रयोग गरेर सीता माथि हातपात गर्न थालेपछि सीताले प्रतिकार गरिन् र तथानाम भन्न थालिन्।

'मलाई आमा नभएको भनेर भनेपछि एकाएक रिस उठ्यो र म बाहिर निस्किएँ,' सन्जयको भनाइ उदृत गर्दै जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी श्यामवहादुर खत्रीले भने 'त्यसपछि म पुरै होस हराएर त्यहाँबाट निस्किएँ।' घरबाट निस्किएपछि सीताको परिवार निर्धक्क सुत्न पाइनेमा ढुक्क थियो। तर ती अपराधी उतिबेलै घरभित्रै छिरे। 'घरबाट निस्केपछि छिमेकीको घरमा गाई बाँध्न गाडेको 'किलो' (काठको मुंग्रो) ओखलेर फेरी त्यँही पुगेछ,' डिएसपी खत्रीले भने, 'घरको चुकुल फोडेर उ भित्र पसेको छ ।' घरभित्र पसेपछि सन्जयले सीता माथि फेरिीबलात्कारको प्रयास थाले। सीताले प्रतिकार गरेपछि उनले त्यही किलोले हानेर सीताको हत्या गरी दिए ।

त्यसपछि उनी दिदीको घरमा पाहुना पर्न गएकी सीताकी बहिनी गीता माथि जाइलागे । उनले पनि प्रतिकार गरेपछि गीताको पनि त्यही मुंग्रोले हानेर हत्या गरिदिए । आमा र सानी आमाको हत्या भएपछि रोइकराई गरिरहेका अढाई वर्षीया पवित्रा र १ वर्षीया सवितालाई आफ्नो दोषको प्रमाण बन्ने भन्दै उनिहरुको पनि हत्या गरेको उनले प्रहरी समक्ष बयान दिएका छन्। 'सुरुमा बलात्कारको प्रयास भयो, मदिराले मातेको आवेगमा उसले सुरुमा महिलाको हत्या गर्यो,' एसएसपी चन्दले भने, 'त्यसपछि आफू फस्ने डरले मारेको देखेका नाबालिकासहित सबैलाई पालैपालो मारेको रहेछ।' चारजनाको हत्या गरेर त्यहाँबाट निस्केका सन्जयले स्थानीय ६० वर्षीया जुठ्ठी अधिकारीलाई पनि मुंग्रोले हानेर घाइते बनाएको प्रहरीले जनाएको छ। ती बृद्धामाथि पनि उनले बलात्कारको प्रयास गरेको बताइएको छ। ती बृद्धाको अवस्था भने सामान्य छ ।

मंगलवार राति परिवारका चारैजनाको हत्या गरेका सञ्जय त्यो रात घरको बारीमा सुतेका थिए। बिहान पख उनी हत्या भएकै घर नजिकै भेला भएको स्थानीयको समुहमा निर्दोष सरह उभिएका थिए। गाउँलेबाट जानकारी पाएपछि सल्यान जिल्ला प्रहरी कार्यालयबाट घटनास्थल पुगेको प्रहरी टोलीले त्यहाँ पुगेलगत्तै उनि माथि आशंका गरिरहेको थियो। उनको चप्पलमा रगतका टाटा देखिएपछि प्रहरीले उनलाई निगरानीमा राखेको थियो। केही समयपछि मध्यपश्चिम प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरीले सन्जयलाई समातेको थियो । अनुसन्धानका लागि लगिएको कुकुरले हत्यारा पत्ता लगाएको थियो । उक्त कुकुर हत्या भएको घरबाट निस्केर सन्जय सुतेको ठाउँ बारीमा पुगेको र त्यसपछि सन्जयलाई टोकेको थियो । बुधबार राति नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनले घटनाबारे बयान दिएका थिए।

बलात्कारको प्रयास मात्रै भएको र असफल भएपछि हत्या गरेको दोषीले बयान दिएपनि बलात्कार भएको वा नभएको भनि पहिचानको प्रकृया थालिएको छ । जिल्ला जनवास्थ्य प्रमुख डा.मनिषा रावलका अनुसार घटनाको प्रकृति हेर्दा बलात्कार भएको होकी भन्ने बढी सम्भावना देखिन्छ । 'हामीहरु घटनास्थलमा पुगेर हेर्यौँ,र स्याम्पलहरुमा ल्याएका छौँ,' उनले भनिन्, 'घटनाको प्रकृति हेर्दा बलात्कार पनि भएको बढी सम्भावना देखेका छौँ।' मृतक मध्य सीताकी बहिनी गीताको शव अर्धनग्न अवस्थामा रहेको थियो ।
nagariknews

SHARE THIS

Author:

Facebook Comment