पर्सा प्रहरी दिउँसै निदाएपछि...

क्राइमचेक प्रतिनिधि/
वीरगंज/भनिन्छ, प्रहरीले चाहेमा उसको क्षेत्रबाट एउटा सियो पनि हराउँदैन । जनता मस्तसँग निदाएको बेला प्रहरी चाहिं रातभरी जाडो गर्मी केही नभनि जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउन तत्पर हुनुपर्छ । तर अहिले केही समय यता पर्सा जिल्ला र यसको सदरमुकाम वीरगंजका बासिन्दाहरूले प्रहरीको उपस्थिति र शान्ति सुरक्षाको अनुभूति गर्न पाएका छैनन् ।
दिनहुँ चोरी, डकैती लूटपाटका घट्ना बढ्दो छ । प्रहरी मस्तसँग निदाएको छ भने जनताको निद्रा सन्त्रासमा हराएको छ । कतिबेला आफ्नो सामान चोरी हुने हो, कति बेला लुटिने हो भनेर यहाँका नागरिकहरू त्रसित भएर बाँचिरहेका छन् ।
पर्सा प्रहरी प्रमुखमा केही वर्ष पहिले रमेश खरेल आउँदा पर्साबाट मात्र नभई यस क्षेत्रबाट नै विभिन्न किसिमका आपराधिक गतिविधि र समुहका मान्छेहरू रातारात भागेका थिए । सर्वसाधारण जनता निर्धक्कसँग आ–आफ्ना दैनिकी काममा व्यस्त थिए । कसैको रोकटोक र छेकवार थिएन । प्रहरी सबैका सहयोगी थिए । प्रहरी देखि लिएर हरेक क्षेत्रमा एउटा अनुशासन कायम थियो, जनतालाई कुनै समस्या पर्दा तत्कालिन प्रहरी उपरीक्षक रमेश खरेल स्वयंले चासो लिएर हरेक नागरिकलाई शान्ति सुरक्षा र जनधनको रक्षा गर्न/गराउन कटिबद्ध थिए र दत्तचित्त भएर कार्य गर्न तल्लिन थिए तर जब उनी वरिष्ठ प्रहरी उपरीक्षक पदमा पदोन्नति भएर यहाँबाट गए तब पर्साबासीको दिनचर्या अर्थात त्रासमय वातावरणमा बस्नुपर्ने पुरानै शीलशीला कायम हुन थाल्यो ।
चोरी, डकैती, लूटपाट, धम्की, अपहरण, हत्या, बलात्कार, हिंसा लगायतका आपराधिक गतिविधिहरु पुन: शुरु हुन थाल्यो । जनता त्रासमय वातावरणमा बस्न बाध्य हुन थाले ।
रमेश खरेल पर्सा प्रहरी प्रमुख हुँदा प्रहरी नायब उपरीक्षकको रुपमा कार्यरत दिवेश लोहनी यतिखेर पर्सा प्रहरी प्रमुख बनेर यहाँ आएका छन् । उनी यहाँ आउने थाहा पाएपछि पर्साबासीहरुमा जुन शान्ति सुरक्षा र भयमुक्त समाजको आशा थियो त्यो अहिले निराशामा परिणत भएको छ । पर्सा र वीरगंजबासी जनताहरूका सम्पत्ति प्राय:जसो दिनहुँ चोरी भइरहेका छन् । घडिअर्वा, रानीघाट अशोकवाटीका, श्रीपुर, पानीटंकी, कुम्हालटोल लगायतका क्षेत्रमा केही समय यता पुन: चोरीका घटना बढ्न थालेका छन् ।
केहि समय यता यस क्षेत्रमा मोटरसाइकल चोरहरूको गिरोह पनि निकै सक्रिय भएको देखिएको छ । यसै क्रममा गत शुक्रवार कुम्हालटोलबाट ना २८ प २०५६ नम्बरको निलो रंगको १५० सिसीको पल्सर मोटरसाइकल चोरी भयो । घटनालगत्तै सो सम्बन्धमा प्रहरीलाई फोन गर्न जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी कन्ट्रोलको नम्बर ०५१–५२४६०१ मा साँझ ८:३१ मा पटक–पटक फोन गर्दा पनि नउठेपछि ९८५५०९०१३६ मा फोन गरेर घटना विवरणबारे जानकारी गराइयो । सोही दिन मुर्ली बगैंचाबाट एउटा अर्को मोटरसाइकल पनि चोरी भएको रहेछ । घटनाको भोली पल्ट अर्थात शनिवार बिराएर आइतवार प्रहरी प्रधान कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्‍यो । उक्त कार्यक्रममा प्रहरीको कृयाकलापबारे राम्रा र नराम्रा गरी मिश्रित प्रतिकृयाहरु आए, चोरी बढेको, प्रहरीको ज्यादती बढेको, मुस्कान सहितको प्रहरी सेवा भन्ने सिद्धान्त नारामा मात्र सीमिति भएको, टाइगर मोबाइल टोलीको आचरण ठीक नभएको लगायतका टिप्पणीहरु व्यापक सुनियो । टिप्पणीहरुको जवाफमा पर्सा प्रहरी प्रमुख दिवेश लोहनीले प्रहरीको कार्यशैलीको बारेमा वर्तमानमा सुनिएको यस्ता टिप्पणी आगामी तीन महिनापछि गरिने सार्वजनिक सुनुवाईको क्रममा आउन नदिन प्रहरीले आजैदेखी आफ्नो कार्यशैली बदलिने दाबी गरे ।
प्रहरी उपरीक्षक लोहनीले हालसम्म अर्थात १३ गते सम्म चार वटा मोटरसाइकल चोरीको घटना भइसकेको प्रति आफू गम्भीर भएको र चोर गिरोहबारे पत्ता लगाउन पर्सा प्रहरीलाई तदारुकताकासाथ खटाइने दाबी गरे ।
प्रहरी उपरीक्षकले यसरी दाबी गरेको चार घण्टा पनि बित्न नपाउँदै जिल्ला प्रहरी कार्यालय नजिकै रहेको भारतीय महावाणिज्य दूतावास पछाडीबाट अर्को पल्सर गाडी चोरी भयो । त्यसको भोलीपल्ट अर्थात सोमवार वीरगंजको आदर्शनगरबाट पुन: एउटा मोटरसाइकल चोरी भयो भने मंगलवार साँझ श्रीपुरबाट अर्को सुपर स्प्लेण्डर मोटरसाइकल चोरी भयो ।
यसरी मंगलवार साँझसम्म पाँच दिनमै पाँचवटा गाडी समेत गरी करिब ९ वटा जति गाडी चोरी भएको देखिन्छ भने चोरि गरिएका गाडीहरु चोरी भएको आज एक हप्ता बित्न लागिसक्दा पनि प्रहरीले न त चोरको पत्ता लगाउन सकेको छ न त गाडीको नै, प्रहरी मस्त निदाएको देखिन्छ ।
पर्सा प्रहरीले यतिखेर करिब २ दर्जन जति सिभिलमा प्रहरी परिचालन गरेको छ, तिनीहरु आफूलाई “क्राइमको टोली” भन्छन् तर क्राइम कन्ट्रोलमा कुनै उपलब्धी हासिल भएको देखिंदैन । अंचल प्रहरी कार्यालय नारायणी, जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय विर्ता, वडा प्रहरी कार्यालय श्रीपुर लगायतबाट छुट्टा छुट्टै सादा पोषाकका प्रहरीलाई क्राइम कन्ट्रोलका निम्ति परिचालन गरिएको छ, त्यस्तै टाइगर मोबाइल गस्ती पनि परिचालन छ, साइकल गस्ती, मोबाइल गस्ती, र हरेक चोक, दोबाटो, चौबाटो, गल्ली, लगायतका स्थानमा प्रहरीहरू तैनाथ गरिएको दाबी पर्सा प्रहरी प्रमुख ले गरेपनि समाचार तयार गरिरहँदा वीरगंज एफ.एम. नजिकै बसोवास गर्ने कर्ण थर भएका नव दम्पत्तिलाई दुई लाख रुपैयाँ माग सहितको धम्कीपूर्ण फोन आएको उजुरी पर्सा प्रहरीमा गरिएको घटनाले फिरौती लिने कार्यमा संलग्न अपराधीहरूको संजाल पनि बढेको पुष्टी भएको छ ।
पर्सा प्रहरीमा कसलाई कुन ड्युटी दिंदा जनताले शान्ति सुरक्षाको अनुभूति र भयरहित वातावरणमा बाँच्न पाउलान् भन्ने सामान्य ध्यान नै नदिई जसलाई पायो त्यसलाई “निगाह” अर्थात हाकिमको तजबिजको आधारमा जिम्मेवारी दिन थालिएको अवस्था छ । वर्षौंसम्म कुनै चौकीका प्रमुखको मूख्य सहयोगीको भूमिका निर्वाह गर्दै आएका व्यक्ति अहिले क्राइम टोलीमा समावेश भएका छन्, भने वर्षौंदेखि क्राइम गतिविधिका बारेमा दख्खल भएका प्रहरीहरू लठ्ठी लिएर चोकमा ड्युटी गरिरहेका देखिन्छन् ।
वडा प्रहरी कार्यालय विर्ता होस् वा जिल्ला र अंचलबाट खटिने क्राइमका टोली अथवा टाइगर मोबाइल गस्ती नै किन नहोस तिनीहरु विभिन्न प्रवृत्तिका अपराधिबारे पत्ता लगाउनु भन्दा पनि तस्कर र अवैध कारोवारीहरुसँग अवैध साँठगाँठ गर्नुलाई आफ्नो दायित्व ठान्छन् ।
पर्सा प्रहरीको कमजोर नेतृत्वकै कारण आज विभिन्न टोलको घरमा चोरी हुन थालेको छ, मोटरसाइकल लगायतका सवारीहरु चोरेर चोरहरु सजिलै भाग्न सफल भइरहेका छन् भोलि कुनै ठूलै घटना गरेर फरार हुन पनि सक्ने बेर छैन ।
भनिन्छ “उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै वेश” त्यस्तै चोरले चोरी गरेर गइसकेपछि कसरी कुन तरिकाले चोरी गर्‍यो होला भनेर छानबिन र अनुसन्धान गर्नु भन्दा यस्ता घटना र गतिविधि पुन: नदोहोरियोस्, र जनताको जिउधन तथा शान्ति सुरक्षा एवं भयरहित वातावरणमा बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चित गराउन प्रहरी प्रशासनले सानो भन्दा सानो कुरामा एकदम चनाखो हुनुपर्ने आजको प्रमुख आवश्यकता बन्दै गएको छ ।
मोटरसाइकल चोरी, घरबाट ग्यास सिलिण्डर चोरीकार्यलाई हेर्दा सामान्य घटना जस्तो देखिएपनि गम्भीर भएर सोच्ने हो भने आज एउटा मोटरसाइकल चोरी गरेर सजिलै उम्किन सक्नेहरु भोली यो भन्दा पनि छुट्टै र गम्भीर प्रकृत्तिका आपराधिक गतिविधि गर्न बेर नलगाउलान भन्नेतर्फ सम्बन्धीत पक्षको ध्यानाकृष्ट हुन अति आवश्यक छ ।

प्रकाशित मितिः २०७१ पुस १७ गते बिहीवार

यो पनि पढ्नुस...

एस.पी. लोहनीको कार्यदक्षता माथि प्रश्नचिन्ह !

स्याबास चोर, थुक्क प्रहरी !

SHARE THIS

Author:

Facebook Comment