–स्वयम्भुनाथ कार्की

राजा त्रिभुवनसंगको जीवनको पहिलो भेट भन्दा लगत्तै पहिलेका यी घटनाक्रम थिए । पहिलो भेट भयो, परिच्छेद ३२ मा त्यो पहिलो भेट र कुराकानी यसरी वर्णन गरिएको छ, “महाराजधिराजले मलाई आफ्नै काउचमा बस्नुस् भने, म बसें । उनले कस्तो छ, के छ भनेर सोधें । तपाईको बारेमा धेरै सुनिसकेको थिएँ भनेर तारिफ गरे” । त्यसपछि ठूलदाजु(मातृका), सुवर्णजी र शायद सूर्यबाबुले सबैसंग भेटने तर वीपीले केवल नेहरुसंगमात्र भेटने क्रम चल्यो । रावासंग उनको अर्को भेट नै भएन । राउण्ड टेवुल कन्फ्रेन्सलाई यिनै अलगअलग वार्ताहरुले विस्थापन गरिदियो । वीपी बाटो हेरेको हेर्यै भए अचानक उनले “तय हो गया” भन्ने सुने । त्यसपछि सरकार गठनको व्यस्तता शुरु भै हाल्यो राजासंग भेट र सल्लाहको समय नै भएन ।
आत्मवृत्तान्त कितापमा मात्र आधारित यो अध्ययनमा राजा त्रिभुवनको तर्फबाट के प्रयत्न भयो त्यो थाहा पाउने उपाय छैन र पनि नेपाल फर्किसकेपछि बिपीसंग नजिकिने लगातार प्रयत्न भएका उदाहरणहरु छन् । बरु वीपीबाटै ती प्रयत्नको प्रतिकुल प्रतिकृया दिएको पाईन्छ । वीपीको प्रयत्न नेहरु समुहमा सम्वन्ध कम गर्दै जयप्रकाश नारायण समुहसंग घनिष्टता बढाउदै लैजाने भएको देखिन्छ भने राजाको समदुरीमा भारतमात्र हैन अन्यसंग पनि सम्वन्ध कायम राख्ने प्रयत्न देखिन्छ । तर यो प्रयत्न फलामको चिउरा सरह नै हुने परिस्थिति स्वयं बिपीले नै अज्ञानतावस श्रृजना गरिदिएका थिए । आफुलाई प्रशासनिक सहयोगी भनेर ल्याएको भारत सरकारको कर्मचारी गोविन्दनारायणलाई राजाको निजी सचिव बनाएर । यो कामले नेपालको अन्तरंग काम तथा कदमहरुको पहिलो सुचना भारत सरकारलाई अझ भन्ने हो भने नेहरुलाई पहिले पुग्ने परिपाटी बस्यो ।
राजा त्रिभुवनले वीपीलाई विश्वासमा लिन आफ्नो जीवन भरी नै प्रयत्न गर्दै रहे । पारिवारिक समारोहहरुमा, अन्तरंग मनोरञ्जनका कार्यक्रमहरुमा बिपीलाई सामेल गर्नुको पछाडी यो कारण नै देखिन्छ । बिपीको ज्ञान, योग्यता, क्षमता तथा कुशलताको उपयोग दुई नेपाली शक्ति राजसंस्था र नेपाली कांग्रेस मिलेर नेपालको हितमा होस अनि दुवैको बीचमा कुनै बाह्य शक्तिले खेल्न नपाओस भनेर राजा त्रिभुवनले सक्दो प्रयास गरे । परिच्छेद ३७ बाट एक उदाहरण सान्दर्भिक नै हुन्छ । “अनि त्रिभुवनले मलाई भने, हेर्नुहोस, तपाईको र मेरो सम्बन्ध बिगार्नलाई उसले आएर यसरी चुक्ली लगाएको छ । किनभने, तोप लिने अधिकार त राजाको हो । उसले आएर भन्छ, सरकार ने क्या गृहमन्त्री को तोप का सलामी दिया ? भनेर । त्यसरी कुरा लगाएर तपाई र मेरो सम्बन्ध बिगार्न आएको थियो । तपाई सतर्क रहनु होला” ।
बिपीले यस कुरालाई कुनै महत्व दिएनन, बरु बिपीको सल्लाहमा राजालाई व्यक्तिगत आचरण सुधार्न नेहरुले चिठ्ठी लेखे । चिठ्ठीमा “तपाईले बीचबीचमा, हिन्दुस्थानका यी ठूलठूला शहरहरुमा आउन भएन र अलिकति तपाईले संयमसँग बस्नुभयो भने राम्रो हुन्छ कि ?” पनि लेखिएको थियो । एक मुलुकको सरकार प्रमुखले अर्को मुलृकको राष्ट्राध्यक्षलाई लेख्ने भाषा यो थिएन, नेहरु यो कुरा जान्दथे । त्यसैले चिठ्ठीसँग यो तपाइको गृहमन्त्रीको आग्रहमा लेखिएको भनेर राजदुतलाई भन्न पनि लगाए । राजाले बिपीलाई भने “तपाईले विदेशको प्राइममिनिष्टरलाई किन कुरा लगाउनु पर्यो ? मलाई नै भनेको भए भइहाल्थ्यो नि ” । राजा बिपीको सबै कुरा सल्लाह सुन्न तैयार थिए तर यहाँ महशुस भएको कुरा के हो भने वीपीले राजासंग हमेशा दुरी राखे ।
नेहरुले आफु र वीपी बिच फाटो ल्याउन खोजेको कुरा राजा त्रिभुवनले बुझे उनले यो कुरा वीपीलाई सिधा घुमाउरो हरेक तरिकाले बुझाउन खोजे । तर बिपीले त्यो बुझ्न नै चाहेनन् । यसको असर राणा कांग्रेस संयुक्त सरकारको पतन पछि बिपीलाई प्रधानमन्त्री हुन रोकेर पर्यो । राजा त्रिभुवनले आफुले मात्रृका भन्दा बिपीको साथ चाहेको कुरा स्पष्ट शव्दमा भनेको कुरा पनि कितापमा उल्लेख छ । त्यहि परिच्छेदमा राजाले भनेको भनेर बिपीले उल्लेख गरेका छन “होइन, तपाईको र मेरो स्वभाव मिल्छ मातृका बाबुसँग मिल्दैन । तर के भइरहेको छ तपाईसँग मेरो ठ्याक मिल्न लागेको छैन” । यसरी राजा त्रिभुवनले हमेशा साथ लिन खोज्दा पनि यनी आफ्नो जीवन प्रयन्त सफल भएनन् । भारतको साथ घातक हुन सक्थ्यो, राणाहरुलाई फेरी विश्वास गर्नु आगोमा हामफाले सरह हुन्थ्यो, मात्रृकामा संगठन क्षमताको कमी देखेका थिए त्यसैले साथ लिने एकै विकल्प बिपी नै थिए ।
तर राजा त्रिभुवनले बिपीलाई साथमा लिन असफल भएर नै संसार छोड्नु पर्यो । जसको दुष्परिणाम यतिका बर्षसम्म पनि देखिंदैछ । यहि दुष्परिणामले वर्तमानमा नेपालको अस्तित्व माथि नै प्रश्न चिन्ह लगाएको छ । इतिहास केलाउने जिम्मा इतिहासकारको हो । सबै उपलब्ध जानकारीबाट इतिहास परिष्कृत गर्नु यो आलेखको ध्यय भित्र पर्दैन तर इतिहासका एक प्रमुखपात्रले आफ्नो तर्फबाट प्रस्तुत गरेका कुराहरुमा पनि इतिहास परिमार्जनको खाँचो देखिएको छ । राजा त्रिभुवनले बिपीको साथले मात्र मुलुकको भलो देखेका थिए तर उनले गरेका सबै प्रयत्न विफल भए । शुरुमा उनका छोरा राजा महेन्द्रले पनि बिपीको साथ लिन धेरै बर्ष मेहेनत गरे त्यसपछि आफ्नो जीवनको उत्तरार्ध तिर उनलाई विकल्प रोज्नै पर्ने भयो । विकल्प कस्तो रह्यो त्यसको बेग्लै ठेली हुन सक्लान् तर विकल्प भने राजा त्रिभुवन कै समयमा आवश्यक भई सकेको छनक भने कितापमा राजा त्रिभुवनको पात्र विवेचनले दिन्छ ।
प्रकाशित मितिः २०७१ पुस१७ गते बिहीवार
(नोट: आफैले बोलेको आत्मवृत्तान्तमा मात्र आधारित भएर वीपीको र त्यस बेलाको पुनर्मुल्यांकल गर्ने प्रयत्न स्वरुपका पछिल्ला २८ लेखहरु चितवन पोष्टमा प्रकाशन हुदै आएका भए पनि प्रकाशनक्रममा बारंवार लापरवाही भएकाल यी श्रृखलाको बाँकी लेखहरु क्राइमचेकमा प्रकाशित हुँदैछन । पुराना लेखहरु पनि हेर्ने इच्छा भएमा आत्मवृतान्ताका पुराना श्रृङ्खलाहरु मा उपलब्ध छन ।—लेखक)