आत्मवृतान्तको ऐनामा : पात्र भद्रकाली मिश्र

–स्वयम्भुनाथ कार्की

राणा कांग्रेस संयुक्त सरकार र त्यसपछि बनेका निकै सरकारमा लगातार भने जस्तोका सरकारहरुमा स्थान लिन सफल  भद्रकाली मिश्र बिपीका मनपरेका व्यक्ति भने थिएनन् । तैपनि भद्रकाली मिश्रलाई मन्त्रीमण्डलमा राख्न बिपी विवश झैं भएका थिए । दिल्लीमा प्रारुप बनेको मन्त्रीमण्डलमा वीपी माथि भद्रकाली मिश्रलाई राख्न तिव्र दवाव परेको थियो । तर बिपी भद्रकाली मिश्रलाई राख्न चाहिरहेका थिएनन् । तराईबाट लिनै पर्ने भन्ने दवाव थाम्न उनले अर्को पात्र  चयन गरेका थिए, रामेश्वरप्रसाद सिंह अर्थात रामेश्वर बाबु । तर रामेश्वर बाबु दिल्लीमा थिएनन्, उनलाई बोलाउन वीपीले लगातार टेलिग्राम माथि टेलिग्राम दिए तै पनि रामेश्वर बाबु आएनन् । जुन बेलामा ठूला ठूला नामहरु आफुलाई त्यो मन्त्रीमण्डलमा सामेल गराउन अनेकौ प्रयत्न गरिरहेका थिए, नेहरु लगायतका भारतीय नेताहरुबाट बिपीलाई दवाव दिई रहेका थिए त्यो वेलामा मन्त्रीमण्डलमा सम्मिलित हुन लगातार बोलाईएका रामेश्वर बाबु भने बोलावटको उपेक्षा गरिरहेका थिए ।
कितापको परिच्छेद ३२ मा वीपी भन्छन् “अब ममाथि के दवाव परिरहेको छ भने भद्रकाली मिश्रलाई लिउँm । भद्रकाली मिश्रले विरोध गरेको थियो ” । भद्रकाली मिश्र प्रति यति नकरात्मक हुनुपर्ने कारण वीपी खुलाउछन्, मिश्रले कांग्रेसको संघर्षमा हिंसा भयो भनेर त्यसको विरोध गरेका थिए । त्यसैले उनी भद्रकाली मिश्र भन्दा त्यहि संघर्षको विरोघ गर्ने समुहको रामनारायणलाई लिन ठिक भन्ने सोचमा पुगेका थिए । तर वीपीले भद्रकालीलाई रोक्न सकेनन । त्यो मन्त्रीमण्डलमा मात्र हैन पछि टंकप्रसाद आचार्यले आफ्नो प्रधानमन्त्रीत्वमा अन्य व्यक्तिहरु नभेटुन्जेल हरेक जसो मन्त्रीमण्डलमा तराईवासीको एकलौटी प्रतिनिधित्व भद्रकाली मिश्रको नै रह्यो । वीपीले चाहेर अनि प्रयत्न गरेर पनि मिश्रलाई रोक्न सकेनन् । वीपीको मिश्रलाई रोक्ने दुवै राम अस्त्र अर्थात रामेश्वर र रामनारायण असफल नै भए ।
किताप अनुसार मिश्र बिहारको शिक्षामन्त्री डा. महमदको बाहिरपट्टीको घरमा बस्थे । पटनामा एम. ए. पास गरेको वा पढदै गरेकोमा भने बिपी अलमलमा देखिएका छन् । वीपीलाई मिश्र मन नपर्नुका अन्य पनि अनेक कारणहरु हुन सक्छन, मन नपरे पनि सामेल गर्न परेको पनि अनेक कारण हुन सक्छन तर कितापमा उल्लेखित कुराले भद्रकाली मिश्र सूर्यप्रसाद उपाध्याय (सूर्य बाबु) जत्तिकै प्रभावशाली थिए । त्यसैले सोहि परिच्छेदमा अगाडी भन्छन “गान्धीवादी आन्दोलन हुनुपर्छ भनेर हामीले गरिरहेको संघर्षलाई गलत कुरो हो भनेर प्रचार गरिरहेका थिए । सूर्य बाबुका त्यस बेलामा पर्चाहरु निस्केका छन । यी कुराहरु गणेशमानजीलाई ज्यादा याद रहन्छन् । मेरो त उदार प्रवृत्ति रहन्छ, म बिर्सिन्छु अर्काले गरेको ममाथिको अन्याय ” ।
यस्ता पात्र धेरै कम छन जसले त्यस बेलामा लगातार वीपीसंग मतभिन्नता राखेको होस अनि प्रभावशाली स्थान पनि कायम राखेको होस । अन्य पात्रहरु कुनैवेला वीपी नजिक र कुनै वेला वीपी टाढा भएका देखिन्छन् भने किताप भरि कतैपनि भद्रकाली मिश्र वीपी नजिक भएको देखिंदैन । जब सरकार प्रमुख र पार्टी प्रमुख एकै व्यक्ति हुन नहुने अर्थात एक व्यक्ति एक पदको सिद्धान्त प्रतिपादन गरियो यसलाई अंगिकार गर्न जनकपुर महधिवेशन भयो । मातृका पार्टी अध्यक्ष पद छोडेर त्यसमा वीपीलाई स्थापित गराउन वचनवद्ध र कटिवद्ध थिए । उनैले वीपीको नाम प्रस्तावित गरे , त्यसको तिव्र विरोध भद्रकाली मिश्र लगायत १०, १५ जनाले गरे । यहाँसम्म कि उनिहरु सम्मेलन नै छोडेर हिंडे अनि अर्को कांग्रेस बनाए । संभवत यो नै नेपाल तराई कांग्रेसको विजारोपण थियो ।
एक पटक कांग्रेस छोडेर गई सकेपछि भद्रकाली मिश्रको वीपी संग सहकार्य नभएको भने होईन । परिच्छेद ४० मा संयुक्त मोर्चा बनाएर चुनावको माग गर्ने आन्दोलन गरेको प्रसंग छ । त्यो प्रसंगमा संयुक्तमोर्चामा अर्को तर्फका प्रतिनिधिको रुपमा टुरमा भद्रकाली मिश्र गएका थिए । मोर्चाका सहयात्रीहरुको बारेमा वीपी भन्छन “यिनीहरुसँग न मान्छे छन्, न केही हुन, केही थिएन । हामीहरुले नै यिनीहरुको झण्डा पनि बनाई दिनुपर्ने, हामीहरुकै भोलन्टियरहरुबाट बोल्न पनि लगाउनु पर्ने” । संयुक्त मोर्चामा भौतिक तथा बन्दोवस्तिय सहयोग ठूलो हिस्सेदारले गर्नु त्यति अस्वभाविक लाग्दैन तर कुनै अर्को पार्टीको तर्फबाट कुनै पार्टीले आफ्नो कार्यकर्ता मार्फत बोल्न लगाउनु भनेको कल्पना गर्न नसकिने कुरा हो । यस्तो हुन कि त ज्यादा संख्या देखाउन नाम मात्र सामेल गरेको हुनु पर्‍यो कि कसैको ठूल्दाजु हैकम हुनु पर्‍यो वा त्यस्ता राजनैतिक पार्टी कागजी मात्र हुनु पर्‍यो ।
भद्रकाली मिश्र संग वीपीको चिढको परकाष्टा त्यसवेला देखिन्छ जब उनी मिश्रलाई सानो मान्छे उठाएर त्यसैद्वारा हराउन चाहन्छन । परिच्छेद ४३ मा वीपी भन्छन “एउटा राजपूत थियो, जो पछि क्यान्सर भएर मर्‍यो, बडो नामी र योग्य हाम्रो मान्छे थियो, ऊ हाम्रो जिल्ला अध्यक्ष थियो । मैले भनें कुनै कम उच्चवर्गको मानिसलाई टिकट दिनुपर्छ । भद्रकालीको खिलाफ त्यो सिंह तयार भईरहेको थिएन, कोही तैयार भईरहेको थिएन ” । यस्तोमा जलेश्वरको मिटिंगमा आएको “ नचिनेको, कालो, पत्यारनलाग्दो ” मान्छेलाई वीपीले टिकट दिए । नभन्दै त्यो वीपीले पत्यारनलाग्दो भनेको बेणिमाधव सिंहले भद्रकाली मिश्रलाई चुनावमा पछारे । भद्रकाली मिश्रको वीपीको आत्मवृत्तान्तमा एक उल्लेख्य भूमिका देखिएको छ जसले वीपीलाई हमेशा चुनौती दिएर तराईवासीको प्रतिनिधित्व लामो समयसम्म एकलोटी गर्न सके ।

प्रकाशिति मितिः२०७१ पुस ०३ गते विहीवार

(नोट: आफैले बोलेको आत्मवृत्तान्तमा मात्र आधारित भएर वीपीको र त्यस बेलाको पुनर्मुल्यांकल गर्ने प्रयत्न स्वरुपका पछिल्ला २८ लेखहरु चितवन पोष्टमा प्रकाशन हुदै आएका भए पनि प्रकाशनक्रममा बारंवार लापरवाही भएकाल यी श्रृखलाको बाँकी लेखहरु क्राइमचेकमा प्रकाशित हुँदैछन । पुराना लेखहरु पनि हेर्ने इच्छा भएमा  आत्मवृतान्ताका पुराना श्रृङ्खलाहरु  मा उपलब्ध छन ।—लेखक)

SHARE THIS

Facebook Comment