आत्मवृत्तान्तको ऐनामा : पात्र बालचन्द्र शर्मा

– स्वयम्भुनाथ कार्की
बालचन्द्र शर्मा वीपीको आत्मवृत्तान्त कितापमा देखा परेका रोचक पात्र हुन् । भारतिथ स्वतन्त्रता आन्दोलनमा पनि सकृथ बालचन्द्रको वीपीसंग पहिलो भेट भने विपीको संगठन गर्ने प्रयत्नमा भयो । परिच्छेद १० अनुसार जयप्रकाश नारायण, राममनोहर लोहियासंगको संगठन खोल्ने सल्लाह पछि वीपी बनारस आए । त्यहाँ उनले  कृष्णप्रसाद भट्टराई, गोपालप्रसाद भट्टराई संगै बालचन्द्र शर्मालाई पनि भेटे । बालचन्द्र एम. ए. पास गरेर नोकरी खोज्दै थिए । बालचन्द्रसंगको पहिलो भेटबाटै वीपी उनिसंग प्रभावित भएको छनक पाईन्छ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो सेक्रेटरीको रुपमा बालचन्द्र शर्माको नाम निर्विवाद रह्यो । डिल्लीरमण रेग्मीसंगको खिचखिचले जेलमा भएका टंकप्रसादलाई मानार्थ अध्यक्ष बनाएर आफुले कार्यवाहक अध्यक्षको जिम्मेवारी लिए पनि सेक्रेटरी बालचन्द्र शर्मा निर्विवाद र संभवत निर्विरोध सेक्रेटरी चुनिएका थिए । बालचन्द्रले कार्यवाहक अध्यक्षको साथ आँखा चिम्लेर दिएका थिए ।
गठनको पुगनपुग दुई महिनामा नै विराटनगरमा गिरीजाको नेतृत्वमा शुरु भएको आन्दोलनमा साथ दिन आएका वीपी जब परिवार सहित पक्राउ परे त्यस वेलामा गोपालप्रसाद भट्टराई संगै महामन्त्री बालचन्द्र पनि पक्राउ परे । जुटमीलको आन्दोलन र भर्खर जन्मेको नेपाली राष्ट्रिय कांग्रेसको सुदृढिकरण गरेर राष्ट्रिय आन्दोलनको विजारोपणमा कुन कुरा प्राथमिकतामा हुनु पर्ने थियो भन्ने केलाउने यस आलेखको उदेश्य होईन । जे होस मातृका सो पक्राउबाट बच्न सफल भए, उनले आफुलाई राणा शासनको अन्त्यसम्म पक्राउबाट बचाएर राखे । यसरी उनले आफुलाई मात्र हैन नवजात कांग्रेसलाई पनि नेतृत्व विहिनताबाट बचाए । बालचन्द्र वीपी संगै जस्तो पक्राउ परेको भए पनि संभवत छिटै छुटे । परिच्छेद १४ मा जेलमा वीपीको घाँटीको विमारीमा गान्धीसंग सहानुभूति लिन जानेमा कृष्णप्रसाद भट्टराई संगै बालचन्द्र पनि भएको उल्लेखले उनी छुटेको प्रमाणित गर्छ ।
जव नेपाली राष्ट्रिय कांग्रेस र नेपाली डेमोक्रेटिक कांग्रेसको एकिकरण भयो धेरै जसो कुरा वीपीको प्रस्ताव अनुसार नै भयो । यस बखतका दुई कुरामा वीपीको चित्त बुझेन, पहिलो कुरा आफ्नो तर्फले अध्यक्षता पाउँदा पनि त्यो पद आफुले पाएनन्, मातृकाले पडकाई दिए । अर्को कुरा लेख्ने, पढ्ने सारा व्यबस्था गर्ने बालचन्द्र शर्मा सेक्रेटरी हुन पाएनन । आफ्नो पदको वारेमा त वीपी मौन नै रहे, तर बालचन्द्रको निमित्त चांहि मनमुटाव हुने गरेर भनेको कुरा परिच्छेद २५ मा उल्लेख गरेका छन । बालचन्द्र सेक्रेटरी नभएकोमा चित्त नबुझ्नेमा वीपी एक्ला भने थिएनन, के. आई. सिंहलाई पनि चित्त बुझेन । त्यो जमानामा एम. ए. पास निकै ठुलो योग्यता थियो । बि. ए. पासले त आफ्नो नामको पछाडी सगर्व बि.ए. भनेर उल्लेख गर्ने जमानामा एम. ए. योग्यताले संभवत: वीपी लगायत मन्त्रमुग्ध भएका थिए । जे होस के. आई. सिंहलाई “यतायति पोट–पाट गरेर ठीक” पार्न सुवर्ण सम्सेरलाई कठिन भएन ।
क्रान्तिमा बालचन्द्र शर्मा भैरहवा खटाईएका थिए, के.आई. सिंह पनि त्यतै थिए । कितापका अनुसार गड्वडी त्यतै तर्फ भयो । त्यो गोलमालको उल्लेख गर्दा भने वीपीले के.आई. सिंह र बालचन्द्र शर्मालाई गडवडी गर्ने तत्व भन्न पुगेका छन् । परिच्छेद ३१ मा बालचन्द्र शर्माका समुहको कामबाट आफु र संगठनलाई तटस्थ राखेका छन “बालचन्द्र शर्मा त्यतैपट्टि थिए, स्वतन्त्र रुपमा काम गरिरहेका थिए । उनको भूमिकम उत्ति राम्रो थिएन । बालचन्द्रले लुट्ने र यस्तै काम गरिरहेका थिए” ।  के. आई. सिंहको विद्रोह जस्तै असन्तोषको सम्वोधन गर्न भैरहवा पुगेका वीपीले बालचन्द्रलाई बाटोमा ल्याउने कुनै प्रयत्न गरेको उल्लेख छैन । त्यसैले बालचन्द्रले क्रान्तिको मौका छोपेको जस्तो पनि लाग्न जान्छ । कितापमा पहिले बालचन्द्र ठुटीवारी, भैरहवा तर्फ राखेको र बालचन्द्रले स्वतन्त्र रुपमा काम गरेको कुरा एउटै परिच्छेदमा हुनुले गरेको संकेत के हो भने त्यसवेला बालचन्द्र शर्माले केद्रिय नेतृत्वसंग वा केद्रिय नेतृत्वले बालचन्द्र संग सम्वन्ध विच्छेद गरेको थियो ।
वीपी गृहमन्त्री भएपछि अर्थात क्रान्तिको समाप्ती पछि पनि भैरहवातर्फ लुटपाट भै रह्यो । परिच्छेद ३९ को थप खण्डमा उल्लेख छ, बालचन्द्र शर्माले भयानक लुटपिट र उत्पात गरेको रिपोर्ट आएकाले के.आई.सिंह र बालचन्द्र शर्मालाई (भारतिय) बोर्डर पुलिसहरुको सहयोगमा समातियो । रक्सौलमा हुन लागेको नेपाल भारत सुरक्षा सम्मेलनमा जानु भन्दा पहिले नै वीपीले के.आई. सिंहलाई थुना मै राम्रो व्यवहार गर्ने र बालचन्द्रलाई रिहा गर्ने आदेश दिए । संयुक्त सुरक्षा सम्मेलनमा भारतिय पक्षले आफ्नो सहायताले पक्रेको बालचन्द्रलाई छोडेकोमा आपत्ति जनायो । जवाफमा विपीले क्रान्तिकालमा कुराहरु अपराध नहुने र आफुले बालचन्द्रलाई रिहा गर्न उचित सम्झेको जवाफ दिए ।यसरी आफ्नो रोचक व्यक्तित्वले बालचन्द्र रिहामात्र भएनन कांग्रेस भित्र प्रभावशाली स्थान पनि हासिल गर्न सफल भए ।
बालचन्द्र शशि(भवनको मिटिङमा विपीको आलोचना गर्न पुगे । यो मिटिङ नै केवल आफुलाई विरोध गर्न सुनियोजित ढंगले बोलाएको निष्कर्षमा वीपी पुगेका छन । यसमा खरोरुपमा के

दारमान व्यथितले बोलेको र बलाचन्द्र पनि आफुप्रति आक्रमक भएको वीपीको ठम्याई छ । आफु माथिको अनुशासनको कारवाईको मागमा वीपीले भावुक कुरा राखेपछि मातृकाले त्यो जवाफलाई प्रयाप्त मानेर थामथुम पर्ने कोशिस गरे । अध्यक्षको यो निर्णयको विरोधमा बालचन्द्रहरुले सभा बहिष्कार गरे । कितापको पात्रको रुपमा बालचन्द्र वीपीको सम्वन्धको यो मोड बुझ्न कठिन छ । छायाँजस्तो हमेशा वीपीलाई साथ दिएका बालचन्द्र भैरहवामा किन लुटपाट मच्चाउन पुगे, के.आई. सिंहलाई थुनेर करिव सुपुर्दगी जस्तै भारतले पक्रेर बुझाएको बालचन्द्रलाई किन रिहा गरे, अनि आफुलाई यसरी काखी च्याप्ने विपीको मानमर्दनको प्रयत्न शशिभवन काण्डमा किन भयो ? जस्ता प्रश्नहरु कितापमा अनुत्तरित नै छन् ।
बिराटनगर–१
प्रकाशित मितिः२०७१ मंसिर २५ गते बिहीवार

(नोट: आफैले बोलेको आत्मवृत्तान्तमा मात्र आधारित भएर वीपीको र त्यस बेलाको पुनर्मुल्यांकल गर्ने प्रयत्न स्वरुपका पछिल्ला २८ लेखहरु चितवन पोष्टमा प्रकाशन हुदै आएका भए पनि प्रकाशनक्रममा बारंवार लापरवाही भएकाल यी श्रृखलाको बाँकी लेखहरु क्राइमचेकमा प्रकाशित हुँदैछन । पुराना लेखहरु पनि हेर्ने इच्छा भएमा आत्मवृतान्ताका पुराना श्रृङ्खलाहरु  मा उपलब्ध छन ।—लेखक)

प्रकाशन मितिः२०७१ मंसिर १८ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment