महिला हिंसा: १६ दिने अभियान कि सोह्र श्राद्ध ?

–बिम्मी शर्मा
क्रोको वा झुलुवामा सानो बच्चा रोइरहेको छ, एउटी ८/१० वर्षकी बालिका गीत गाएर त्यो बच्चालाई सुताउने कोशिश गर्दैै छे, कहिले उसलाई तेल लगाउँछे, कुनै बेला खुवाउँछे अनि कुनै बेला उसँग खेलिरहेकी हुन्छे । बाउ रिक्सा चलाउन वा अरुको खेतमा मजदुरी गर्न गएको छ, आमाचाँहि अरुको घरमा बनिबुतो गर्न गएकी छ । घरधन्दा हेर्न र साना भाइ, बहिनालाई हेर्ने जिम्मेवारी तिनै बालिका को अवोध काँधमा छ । स्कुल जाने उमेरकी ती बालिका कुनै झर्को नमानी आफ्नो काम खुरुखरु गरी रहेकि हुन्छे । ती बालिकाको ठाउँमा उसकै उमेरको कुनै बालक भएको भए उसले त्यति राम्रोसित आफ्ना साना भाइ, बहिनीको हेरचाह गर्न सक्थेन होला ?
शायद बाउ बनिसकेको एउटा व्यस्क
पुरुषले पनि आफ्ना छोराछोरीलाई त्यसरी सम्हाल्न सक्दैन, जसरी ती अवोध बालिकाले सम्हालिरहेकि हुन्छिन् । कहिलेकाहिं शहरभन्दा बाहिर गएको बेला गरिब, मजदुरहरुको बस्तिमा देखिने यो दृश्यले मलाई सार्है अभिभुत पार्दछ ।
आमा बन्नु ठूलो कुरा हैन मातृभाव हुनु ठूलो कुरा हो, आमाको गृहस्थी सम्हालिरहेका ती बालिकाहरुलाई देख्दा मलाई अनुभव हुन्छ प्रकृतिले नै हरेक नारीमा मातृत्व गुण दिएको हुन्छ । चाहे ती महिलाले बच्चालाई जन्म दिएका हुन् वा नहुन् । ती बालिका पनि त्यही मातृत्व गुणको उदाहरण हुन् ।
तर अचम्म के छ भने ती बालिका हुर्केकै समाजले उनलाई मान्छे मान्नबाट अस्विकार गर्दछ । अर्काको चूल्हो पोत्न जाने जात” भनेर हेपिएका महिला कहिल्यै पहिलो दर्जाको नागरिकमा उक्लिन पाउँदैनन् । अझ कसैको घरमा छोरी मात्रै छन् भने यसको त छोरा छैन वंश वृद्धि कसले गर्छ ? भनेर जिब्रो टोक्ने र हेप्ने आफन्त र छिमेकीहरुले अभिभावकलाई चैनले बस्न दिदैनन् । झन एउटी छोरी मात्र जन्माएर अर्को सन्तान नजन्माएका र नजन्माउने निर्णय गरेका बाउआमालाई अब एउटा छोरा पाउनुपर्यो नि, छोरी त बिहे गरेर अर्काको घरमा गइहाल्छे, सम्पति खान र बुढेसकालको सहाराको रुपमा एउटा छोरा चाहिन्छ नि, भनेर सल्लाह दिने र घोचपेच गर्ने तथाकथित आफन्त र छिमेकीले ती अभिभावकलाई टोकसो गरिरहन्छन् । समाजको काम नै हो आफुपनि चैनले नबस्ने र अरुलाई पनि बस्न नदिने ।
केही वर्ष अगाडि छोरीलाई पनि सम्पतिमा छोरा झैं बराबर अधिकार दिने कानुन बन्यो र लागु भयो । तिनै कानुन बनाउने मध्येका एक अगुवा वकिल जसको त्यो बेला दुईवटी छोरी मात्र थिइन् । तीनले विदेश बसेर कमाएको पैसा सबै छोरीले लैजान्छन् भन्ने डरले छोरी कलेज पढ्ने भएपछि छोरा जन्माए । ती व्यक्ति राजधानीका सभ्रान्त र वुद्धिजीवी मानिन्छन् । तर उनको वुद्धिको बिर्को भने कहिल्यै नखुल्ने गरि लागेको छ । यस्ता व्यक्तिहरु जब समाजका अगुवा पनि टोपल्छन् तब समाज रसातलमा जान्छ नै । छोरीलाई सन्तान मान्ने, बुढ्यौलीको सहारा र आफ्नो सम्पतिको एकमात्र वारिस मानेर त्यही अनुरुप छोरीलाई ब्यवहार गर्ने मानसिकताको हाम्रो समाजमा अहिले पनि विकास भइसकेको छैन ।
हाम्रो धर्म पुराणमा भनिएको छ बाउआमाको मृत्युपछि छोराले गर्ने पितृकर्मबाट ७ कूल मात्र तर्दछ भने त्यही पितृकर्म छोरीले गरेको खण्डमा २१ कूल तर्दछ । यसबाट प्रष्ट हुन्छ हाम्रो धर्म, परम्परामा छोरी, कन्या वा नारीको स्थान पुरुषभन्दा निक्कै माथि छ । तर समाज र चलन परिवर्तनको कममा महिला दोश्रो दर्जाको प्राणीमा ओरालिए र आज उनीहरुले आफ्नो अधिकार माग्नुपर्ने र नदिएमा खोस्नुपर्ने भएको छ ।
विश्वको जनसंख्या ७ अर्बभन्दा माथि छ, ती ७ अर्ब व्यक्ति नै कुनै न कुनै नारी वा आमाको कोखबाट जन्मिएका हुन् । यसबाट प्रष्ट हुन्छ समाज र बिश्वमा नारीको महत्व । धार्मिक ग्रन्थमा भनिएको “यत्र नासऱ्यत्रे पूज्यते तत्र रमणे देवता” को उक्तिलाई आफ्नो मनमाफिक मोडेर समाज र पुरुषले महिलालाई मनोरञ्जनको साधन, मीठ्ठामाथि झिगाँ र फूलमाथि पुतली बसे जस्तो हल्का अर्थमा लिएर त्यही अनुसार महिलासँग ब्यवहार गर्दै आएका छन् ।
महिलाको विज्ञापनमा नचाँहिदो प्रयोग, पुरुषले पनि गर्न सक्ने रिसेप्निष्ट, एयर होस्टेस वा अन्य सार्वजनिक ठाउँमा महिलालाई दिने पद जो पुरुषलाई पनि दिन सकिन्छ त्यसले महिलाको मानमर्दन गरेको छ । वस्तुवादी बन्दै गएको समाजले महिलालाई मान्छे भन्दा वस्तुमा केन्द्रित गरेको यसबाट प्रष्ट हुन्छ ।
छोरीलाई पनि आमाले छोरालाई जस्तै त्यसैगरि नौ महिनासम्म आफ्नो कोखमा राख्छिन् र ठूलो ब्यथा सहँदै जन्माउँछिन् । छोराले अशर्फीको थैली लिएर जन्मिदैन न जन्मिने बित्तिकै काम गरेर पैसा कमाएर ल्याउँछ । छोरालाई पनि हुर्काउन, पढाउन आमाबाउले त्यतिकै मेहनत र खर्च गर्नु पर्दछ जति छोरीमा गरिन्छ । पछिल्ला केही राम्रा उदाहरणहरुले के देखाएका छन भने छोरीमा बाउआमाले गरेको लगानिले छोराभन्दा शतप्रतिशत प्रतिफल दिन्छ । त्यो लगानि भनेको माया, स्याहार, शिक्षादिक्षा र अन्य खर्चको रुपमा हो । छोरी जति बाउआमाको नजिक हुन्छन् त्यति कमै छोराहरु हुने गरेकाछन् ।
छोरीलाई सन्तान नमान्ने, एउटै छोरी जन्माएकाहरुसँग निसन्तान जस्तो ब्यवहार गर्ने यो परिपाटी सार्है उदेक लाग्दो छ । अझ मधेशमा त कसैको छोरी मात्र छ र उ बिहा गरेर गइसकेकी छ भने उसको बाउआमाको सम्पतिमा भाइभतिजाले आँखा लगाउने गर्दछन् । त्यसकालागि मारकाट गर्ने र अदालत सम्म जान डर र लाज मान्दैनन् छोरीलाई सन्तान नमान्नेहरु । हाम्रै समाजमा महिला मन र शरीरले ननिभ्ने गरी जलाइन्छन्, यहीं बोक्सीको निहुँमा मानव मलमूत्र खुवाएर आफ्नो थातथलोबाट महिलालाई निकालिन्छ, एउटी कोपिला जस्ती बालिका फूल बनेर फक्रिन नपाइ कसैको कामुकताको शिकार हुने गरेका छन् । त्यो बेला न राज्यले तीनलाई साथ दिन्छ न आफन्तले । अशिक्षा र अन्धबिश्वासमा रुमलिएको हाम्रो जस्तो अविकसित समाजले न छोरीलाई सन्तान मान्छ न राज्यले पहिलो दर्जाको नागरिक नै मान्छ । राज्य महिलाको नाममा आरक्षण दिएर आफु पन्छिएको छ ।
मात्र १६ दिनसम्म महिला हिंसा विरुद्धको अभियानको नारा दिएर ठूलठूला तारे होटेलमा सभा, सेमिनार गरेर हुन्छ ? यो १६ दिन त महिला अधिकारकर्मी र गैरसरकारी तथा, अन्तराष्ट्रिय गैरसरकारी संस्थाका पुरेतनी बनी टोप्लेका महिलाहरुले पिण्ड खाने मात्र हुन् । अब जति ठूलो पिण्ड हुन्छ तिनले महिलाको पीडालाई त्यति नै बढी भजाएर खान्छन् । महिलाको १६ श्राद्ध गर्या जस्तो यो १६ दिने अभियानको के महत्व ? जब समाजका कुसंस्कार, महिला विरुद्धको भेदभाव, छोरीलाई सन्तान नमान्ने अर्घेलो समाज र पुरुषवादी निकृष्ट सोचको श्राद्ध गरेर संधैकालागि पिण्डदान नगरेसम्म नै महिला हिंसा विरुद्धको अभियान १६ सय वर्षसम्म मनाए पनि रत्तिभर केही हुनेवाला छैन ।
(यस पत्रिकाको वेभपेज धधध।अचष्mभअजभअपलभधक।अयm बाट साभार शीर्षक परिवर्तन गरिएको छ ।)

SHARE THIS

Author:

Facebook Comment