किन जाग्दैछन् तराईका जनताहरु ?

– जनकमान डंगोल 

पंक्तिकारले राजतन्त्रको विषयमा लेख्ने गरेको लेखहरुमा सम्बोधनको अगाडी निलम्बित राजा भनेर लेख्ने गरेको छ । नेपालका महान विद्वान लेखक तथा पत्रकार महोदयहरुले पूर्व राजा भनेर सम्बोधन गर्छन् । किन त्यस्तो लेखे लेख्नेहरु नै जानुन ।

नेपालमा गणतन्त्रको स्थापना नेपाली जनताहरुको चाहनाले ल्याईएको हैन । विदेशीहरुको ईशारामा केहि राष्ट्रघाती नेताहरुले देश र जनता प्रति गद्दारी गरेको नतिजास्वरूप जबर्जस्ती लादिएको यो गणतन्त्र ठिक कि बेठिक भनेर देशमा दुई पटक संबिधानसभाको नाममा निर्वाचन समेत भईसक्यो । निर्वाचनको माध्यमबाट चुनिएको जनप्रतिनिधिहरुले आजका मितिसम्ममा गणतन्त्रलाई संस्थागतरुपमा स्थापना गर्न सकेका छैनन् । गणतन्त्र संस्थागतरुपमा स्थापना देखि लागु गर्न संविधान पूर्ण रुपमा बनेर लागु हुनु पर्दछ । जबसम्म संविधान पूर्णरुपमा लागु हुन्न तबसम्म चेपुवामा पारेर गद्दी छोडन बाध्य बनाईएका अर्थात पद निलम्बनमा पारिएका ज्ञानेन्द्र शाहको अगाडी लेखिने पद भनेकै निलम्बित राजा हो भन्ने यो पंक्तिकारको बुझाई हो ।

गद्दी छाडन बाध्य बनाइएका निलम्बित राजा ज्ञानेन्द्रले समय समयमा नेपाल अधिराज्यको विभिन्न धार्मिक मठ मन्दिरमा धार्मिक पुजापाठ गर्न भन्दै जाने गर्नु हुन्छ । जहाँ–जहाँ पनि राजाको भ्रमण हुन्छ, त्यहाँका नागरिकहरुको भीड हेर्दा नेपालमा अझै पनि राजतन्त्र प्रति जनताको माया तथा मानसम्मानमा कुनै कमि आएको छैन भन्ने भान हुन्छ ।

यसै साल जेष्ठ महिनाको दोश्रो साता नि.राजा ज्ञानेन्द्र शाहबाट पूर्वाञ्चल विकास क्षेत्रको धार्मिक मठ मन्दिरहरुमा पुजा आजा गर्न जाने क्रममा पूर्वका जनताहरुको भिडले नि.राजाको जयजकार गरेको देख्दा नेपालमा राजतन्त्रको अवसान अझै भएको छैन । अहिलेको शासन व्यवस्था मात्र छलावा रैछ भन्न कर लाग्छ । गद्दी छाड्न विवश बनाईएको नि.राजाको समर्थनमा जनता दिन प्रतिदिन जुट्नु भनेको अहिलेको शासन व्यवस्था र पार्टीका नेताहरुको लागी शुभ संकेत भने पक्कै पनि होइन ।

यहि २०७३ साल आषाढ महिनाको दोश्रो साता नेपाल विद्वत परिषद्को अगुवाईमा नेपालको मुख्य प्रवेशद्वार पर्सा जिल्लाको वीरगंजमा तराईको जनताहरुले हातहातमा राष्ट्रिय झण्डा बोकेर “राजा आउ देश बचाउ” को गगनभेदी नारा लगाए । यस्तो देख्दा तराइमा केहि दिन अगाडी सम्म मधेसी जनताको हकहितका लागि लडेका हौं भन्ने विभिन्न मधेसवादी पार्टीका नेता तथा तिनका आसेपासेहरुले मुटु कमाउंदै आश्चर्यको साथ पक्कै पनि जिब्रो टोकेका होलान् ।

केहि दिन अगाडी सम्म मधेस भनेको हाम्रो हो र मधेशलाई छुट्टै राज्य बनाउनु पर्छ भन्ने सोच पालेका नेताहरुको विचारलाई लात हान्दै तराईका देशभक्त जनताहरूले यति छोटो समयमै हातमा राष्ट्रिय झण्डा बोकेर “राजा आउ, देस बचाउ” भन्ने नारा किन लगाए ?

केहि महिना अगाडी सम्म नेपाल भारतको दसगजा सिमा महिनौ महिना सम्म थुनेर सारा नेपाली जनताहरुलाई दु:ख दिनेहरु अरु कोहि नभएर मधेस र मधेसीको लागी लडेका हौ भन्ने केहि उग्रबादी सोच पालेका तराईबासी नेताहरु थिए । वर्तमान ओली सरकारले तिनीहरुको मागलाई बेवास्ता गरेपछि हाल राजधानीमा थुप्रिएर रिले अनसनको नौटंकी देखाएर बसेका छन् ।

सिमाना मध्येका केहि स्थानमा सदियौं देखि बसोबास गर्दै आएका नेपाली जनताहरुको जमीनलाई रातारात भारतीय भूमिमा जुन दिन गाभियो त्यस सम्बन्धमा मधेस र मधेसी लागि लडेका हौ भन्ने कुनै पार्टीका नेताहरुको मुखबाट एक शब्द पनि निस्किएन । देश र जनताको लागी लडेका हौं भन्ने कांग्रेस देखि कम्युनिष्ट लगायत अन्य पार्टीहरु समेत यस्ता बिषयमा मौन बसेको देख्दा तराईका जनताहरु आक्रोशित हुनु स्वभाविकै थियो ।

तराईमा बसोबास गर्ने हाम्रा नेपालीहरुलाई अहिलेका पार्टीका नेता देखि तिनका आसेपासेहरुले समेत जुन घटिया व्यवहार देखाएका छन त्यसलाई तराईका जनताहरुले राम्रैसँग मुल्यांकन गरेका छन् । मधेशीहरु नेपाली हैनन भनेर घटिया सोच राख्ने पनि प्रजातन्त्र देखि गणतन्त्रका नेता देखि तिनका आसेपासेहरु हुन भने यसैलाई आधार मानेर मधेशका मसिहा हौं भन्नेहरुले हिंश्रक आन्दोलन समेत चलाए तर तराइका नेपाली जनताहरुले के पाए ?

राष्ट्रवादको मामिलामा अन्य क्षेत्रमा बसोबास गर्ने नेपालीहरु जति चिन्तित छन् त्यो भन्दा बढी चिन्तित तराईका नेपाली जनताहरु छन भन्ने उदाहरण अस्ति नेपाल विद्वत परिषद वीरगंज, पर्साले निकालेको र्‍यालीबाट पुष्टि हुन्छ । नेपालका अहिलेका राजनीतिक पार्टीका नेताहरु देश र जनता प्रति उत्तरदायी छैनन् । यिनीहरु देश र जनताको लागी नभएर विदेशीहरुको हकहितमा काम कार्यहरु गर्छन् भन्ने कुरा यिनीहरुले देखाएको छुद्र तथा घटिया व्यवहार समय समयमा गरेका र बिभिन्न नामका सन्धिसमर्पणहरुले पुष्टि भई सकेको छ ।

जब राजनैतिक पार्टीका नेता तथा तिनका जिम्मेवार कार्यकर्ताहरु देश र जनता प्रति बफादार हुन्नन् र देश र जनता भन्दा भन्दा बढी विदेशीको ईसारामा नाच्छन् भने अहिलेको कथित धर्म निरपेक्ष नामको गणतन्त्रको पछि किन लाग्ने ?

नेपालका सबै पार्टीका नेताहरु जनताको आक्रोशलाई आँखा चिम्लेर “कुनै जमानाका निरो सम्राटले जस्तरी बाँसुरी बजाउंदै  बसेका छन् । देश र जनताको जलेको ह्दयमा मल्हमपट्टी लगाउनुको साटो आँखा चिम्लेर बाँसुरी बजाउदै बस्छन् भने नेपालका जनताहरुले गणतन्त्र मुर्दावाद मात्र हैन देशमा फेरी हाम्रा बाजेको पालाको २०१७ साल पौष १ गतेको पंचायती ब्यबस्थालाई फेरी फर्काउनु पर्छ भनेर भन्न बेर छैन ।

आन्दोलनको माध्यमबाट व्यवस्था बदलिन सकिन्छ भनेर सिकाउने अहिलेका पार्टीका नेताहरुलाई अब हुने आन्दोलनले विस्थापित गरि दियो भने त्यो दिन नेपालका अहिलेका नेताहरुको स्थिति घरको न घाटको नहोला भन्न सकिंदैन । त्यसैले समयमै चेत खुलोस् भन्ने कामना भन्दा अरु के नै गर्न सकिन्छ र ?

प्रकाशन मितिः २०७३ असार २३ गते विहीबार

SHARE THIS

Author:

Facebook Comment