यो भन्दा ठूलो भद्दा मजाक अरु के हुन्छ ?

-जनकमान डंगोल
२०४६ सालमा देशमा दोश्रो पटक प्रजातन्त्रको स्थापना भयो । प्रजातन्त्रमाथि खोट लगाउनु पर्ने कुनै ठाउँ थिएन । राजा देखि रंकसम्म अटाईएको प्रजातन्त्रको कलिलै समयमा घांटी निमोठ्ने काम कार्य भयो र त्यस्ता काम गर्नेमा अन्य कोहि नभएर कम्युनिस्ट पार्टीका एक घटक तत्कालिन संयुक्त जनमोर्चा नामको कम्युनिष्ट पार्टीका नेता देखि तिनका कार्यकर्ताहरु थिए ।

२०५१ सालमा हत्या र हिंसाको खेती जसलाई महान जनयुद्धको नाम दिएर १२ वर्षसम्म राज्यमा आतंक मच्चाउने पार्टी भनेर तत्कालिन संयुक्त जनमोर्चा पछि गएर बनेको ने.क.पा माओवादीलाई चिनिन्छ । माओवादी पार्टीमा डाक्टर भट्टराई दोश्रो तहका नेता थिए । सानै देखि अर्थात स्कुले जीवन देखि बामपन्थी राजनीतिमा लागेका डाक्टर बाबुराम भटराईले माओबादी पार्टीलाई लात हानेर केहि दिन देखि नयां शक्ति नेपाल नामको राजनीतिक पार्टी खोलेर देश विदेशमा चर्चा कमाउन सफल भएका छन् ।

अहिलेको युग भनेको विज्ञानको युग हो । लेखिएको तथा बोलिएको केहि मिनेटमै संसारभर पुग्न सक्ने यो जमानालाई डाक्टर बाबुराम भटराईले राम्रैसँग बुझेका छन् त्यहि भएर ईन्टरनेटको दुनियाँलाई प्रयोग गर्दै सबै प्रकारको सामाजिक संजालमा सबै भन्दा धेरै समय सम्म समय व्यतित गर्ने राजनेतामा पनि डाक्टर बाबुराम भट्टराई नै अग्रपंक्तिमा होलान् भन्ने यो पंक्तिकारको ठम्याई हो ।

डाक्टर बाबुराम भटराईले नयां शक्ति नेपाल नामको राजनीतिक पार्टी गठन गर्नु भन्दा पहिला सुन्दर शान्त नेपालमा जनयुद्ध नामको हत्या र हिंसाको खेती गर्ने माओवादी नामको पार्टीमा आवद्ध थिए जुन कुरा यो पंक्तिकारले शुरुकै हरफमा उल्लेख गरि सकेको छ । माओवादीले चलाएको जनयुद्धमा परेर घाईते तथा मृत्यु, अंगभंग देखि गाउँघरबाट विस्थापित हुने नेपालीहरुको आधिकारिक तथ्यांक संयुक्त राष्ट्र संघको कार्यालयमा समेत अभिलेखिकरण भएकै होला ।

बगरेको काम भनेको निर्दोष पशुको घांटी रेट्नु मात्र हो । हिजो आफु स्वयम् आवद्ध भएको पार्टी माओवादीमा हुँदा महान जनयुद्धको लागी पार्टीको आदेश भन्दै आफ्ना कार्यकर्ताहरु लगाएर सोझा र सिधा नेपालीहरुलाई मृत्युको काखमा पुर्‍याउन आदेश दिने डाक्टर बाबुराम भटराईको नेत्र कथित जनयुद्धको समयमा पक्कै पनि सजल भएन होला । न्यायको भिख माग्दामाग्दै मृत्युवरण गर्न पुगेका आफ्नै जिल्लाबासी नन्द प्रसाद अधिकारीको लासले समेत अहिले सम्म सद्गतको मौका नपाएर शिक्षण अस्पतालको मुर्दाघरमा राखिएको बाकसमा बाबुराम भटराईले समय समयमा दिने गरेको हार्दिक श्रद्धान्जलीलाई गिज्याई रहेको छ ।
१२ वर्षसम्म महान जनयुद्ध भन्दै हिंसाको राजनीति गरेका माओबादी पार्टी शान्ति र सम्झौता भन्दै २०६४ सालमा सरकार संग वार्ता गर्न आए । वार्ता पश्चात हत्या र हिँसा गर्ने ठूला नेताहरुले सत्ता र भत्ताको राम्रै संग उपभोग गरे र आजको मिति सम्म पनि गर्दैछन् । डाक्टर भटराईले समेत अर्थ मन्त्री देखि प्रधानमन्त्रीको कुर्सी समेत पड्काएकै हुन् ।

दोश्रो संविधानसभाको निर्वाचनमा समेत जनताले माया र विश्वास गरेर भट्टराईलाई संसदमा पठाएकै हुन तर जनताको मतलाई लात हान्दै पुरानो पार्टी छोडेर नयाँ राजनीतिक पार्टीको गठन गर्दा हिजो आफ्नो कारणले मारिएका नेपाली जनताहरुको सम्झनामा श्रद्धाञ्जली त परको कुरा “युद्धको समयमा केहि मानिस हताहत हुनु ठुलो कुरा हैन” भनेर अभिव्यक्ति दिने डाक्टर बाबुराम भटराईले युद्धग्रस्त अफगानिस्तानको राजधानी काबुलमा आततायीहरुको कारणले मृत्युवरण गर्न पुगेका नेपालीहरु प्रति श्रद्धाञ्जली देखि घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत दिन भ्याए ।

हेर्नुहोस् बाबुराम भटराईको ट्वीट


अफगानिस्थानको राजधानी काबुलमा बम बिस्फोट गर्नेहरु पनि आतंककारी हुन् । डाक्टर बाबुराम भटराईहरुले पनि १२ वर्षसम्म नेपालमा त्यस्तै प्रकारको आतंकित घटना घटाएका थिए भने काबुल घटनामा मारिएका तथा घाईते भएका ती अभागी स्वर्गीय नेपालीहरु प्रति हार्दिक श्रद्धाञ्जली देखि स्वास्थ्यलाभ भन्दै दु:ख व्यक्त गर्नुको के फाईदा ?

गरिब नेपालीहरु आफ्ना राजीखुशीले विदेशमा श्रम गर्न जाँदैनन् । २०४६ साल देखि आजको मिति सम्ममा लाखौ लाख नेपालीहरु विदेशिन बाध्य छन् । गरिब नेपालीहरुलाई विदेसिन बाध्य बनाएको अहिलेको शासन र व्यवस्थाले गर्दा हो । अन्य देशमा प्रजातन्त्र देखि लोकतन्त्रले देशलाई बिकासको गतिमा डोर्याएर विदेसी कामदारहरुलाई श्रम दिन सक्षम भएका छन् तर हाम्रो देश नेपालमा भनेको ठिक त्यसको बिपरित देखिन्छ । सायद प्रजातन्त्र देखि लोकतन्त्रको फाईदा भनेकै यहि होला ।

नेपाली युवा युवतीहरुलाई जानाजानी विदेशिन बाध्य बनाउनमा अन्य राजनैतिक पार्टीका नेता देखि तिनका हनुमाने कार्यकर्ताहरु जति दोषी छन् त्यो भन्दा सयौं गुणा दोषी हत्या र हिंसाको खेति पश्चात अहिले साखुल्ले बनेर नयां शक्ति नामको राजनीतिक पसल खोल्ने डाक्टर बाबुराम भट्टराईहरु पनि उत्तिकै दोषी छन् । आफ्नै कारणले जानाजानी विदेशिन बाध्य पार्ने अनि विदेसमा आतंककारीहरुको चपेटामा परेर मृत्युबरण गर्न पुग्दा साखुल्ले बनेर मृतकहरुको नाउँमा श्रद्धाञ्जली प्रकट गर्नु भनेको त्यो भन्दा ठुलो भद्दा मजाक अरु के हुन सक्छ ?

प्रकाशन मितिः २०७३ असार १६ गते विहीबार

SHARE THIS

Author:

Facebook Comment