प्रकाशकीय
क्राइमचेक साप्ताहिक छापा माध्यमले राजनीतिक निरंकुशता, विद्यमान विसंगति, भ्रष्टाचार, कुशासन, तुच्छ व्यक्तिगत स्वार्थ, पार्टीगत विकृति, गुटगत स्वार्थ, विरुद्ध खबरदारी गर्दै राजनीतिक अधिकार तथा नागरिक स्वतन्त्रताको अधिकार प्राप्तिकालागि भूमिका निर्वाह गर्दै आएको छ । देशका सम्पूर्ण नागरिकलाई एकताको सूत्रमा बाँधेर शान्त, समृद्ध र आत्मनिर्भर नेपालको परिकल्पना गर्दै कलम संघर्ष गर्दै आइरहेको क्राइम चेक साप्ताहिकको नवौं वर्ष प्रवेशलाई साप्ताहिक परिवारले मुलुकको आर्थिक विकास र समृद्धि प्राप्त गर्ने वातावरण सिर्जना गर्न सक्दो भूमिका निर्वाह गर्नेछ ।
पर्सा जिल्ला, देशकै प्रमुख प्रवेशद्वार वीरगंजमा राजनीतिका कारण निकै धमिलिएको छ । आर्थिक उन्नतिको मार्ग प्रशस्त हुन सकेको छैन । बिग्रिएको वातावरण बनाउन पत्रिकाले आवश्यक जनमत सिर्जना गर्न सक्दछ । अधिकार खोस्नेहरुका विरुद्ध लड्ने सशक्त माध्यम पत्रिका हो । अधिकार खोज्नेहरुकालागि बलियो हतियार पत्रिका नै हो । पत्रकारितालाई सहयोग गरेर, सदभाव राखेर सूचना र सन्देश ग्रहण गर्न पाठकहरुले सक्नु पर्दछ ।
यस क्राइम चेकलाई सदैव लेख, रचना, समाचार उपलब्ध गराउने, विज्ञापन दिएर सहयोग गर्ने, बेलामौकामा विभिन्न रचनात्मक सुझाव र सल्लाह दिने सम्पूर्ण महानुभावहरुप्रति कृतज्ञ रहने छु । पाठकहरुको रचनात्मक र सकारात्मक सहयोगबाट कमीकमजोरीलाई सच्याउँदै अघि बढ्ने यस क्राइमचेक सबैकोलागि सधैंकालागि साझा पत्रिकाको रुपमा रहन चाहन्छ र आवाजविहीनहरुको आवाज बनि आत्मनिर्भरता, राष्ट्रिय एकता, स्वतन्त्रता र समृद्ध नेपाल निर्माणको महाअभियानमा लागिरहने प्रण गर्दछु ।
प्रकाशन मितिः २०७३ साउन ०६ गते विहीबार