आत्मवृत्तान्तको ऐनामा : पात्र टंकप्रसाद (आचार्य)

– स्वयम्भुनाथ कार्की

भारतीय सोसलिष्टहरुको सद्भावना र सहयोग अनि लोहिया मार्फत महावीर शम्शेर जयप्रकाश मार्फत सुवर्ण शम्शेरको गरेर पचास हजारको बन्दोवस्त भईसकेपछि कलकत्तामा भएको सम्मेलनमा नेपाली राष्ट्रिय कांग्रेसको जन्म भयो । सारा दौडधुप आफुले गरेकोले स्वभाविक रुपमा पदको अध्यक्षको दावेदार बिपी नै थिए तर डिल्लीरमण रेग्मीको पनि अध्यक्ष पदमा भएको दावीले कुरो सजिलो रहेन । यस अवस्थामा गणेशमानले जुक्ति निकाले जेलमा भएका प्रजापरिषदका टंकप्रसादलाई अध्यक्ष बनाउने, यस कुरालाई भने दुवैले अस्विकार गर्न सकेनन् । जेलमा भएका टंकप्रसादले नयाँ संगठनको नेतृत्व गर्न आउन सक्ने क्रूर थिए अनि प्रजापरिषद छोडेर नेपाली राष्ट्रिय कांग्रेसमा आउने वा प्रजापरिषद विलय गराउने पक्कै थिएनन् । त्यसैले टंकप्रसादको नाम बिपीको अध्यक्षताको निमित्त राम्रो सिंडी थियो । छुटेर आएकै खण्डमा पनि उनलाई प्रजापरिषद नै प्यारो हुने थियो । यता बिपीलाई भने टंकप्रसादको नामले दोहोरो फाईदा भयो । परिच्छेद १५ मा भन्छन् “एउटा सद्भावनाको संकेत पनि हुन्छ, जेलमा पनि छन्, बरु म कार्यवाहक अध्यक्ष भइदिउँला” ।
यत्रो मान गरिएका टंकप्रसादको अरु कामको उल्लेख भने कितापमा गरिएको छैन । बरु उनले आफ्नो काममा व्यवधान गरेको उल्लेख गरेर उनी नकारात्मक थिए भन्ने स्थापित गर्न खोजिएको छ । परिच्छेद ३७मा वीपी भन्छन “ टंकप्रसादको पनि व्यवहार त्यस्तै थियो । उनी विद्यार्थीहरुको जमातहरुलाई लिएर हंगमा गर्ने । म गृहमन्त्री छँदा एक पटक टंकप्रसाद जवाहरलाल नेहरुसँग भेट गर्न गएछन् र भनेछन म त एउटा ठूलो संयुक्त मोर्चाको नेता हुँ” । नेपालको इतिहासमा एक राम्रो नाम कमाउन सफल टंकप्रसाद कितापमा भने अलि खलनायकत्व भएको व्यक्तिको रुपमा चित्रित छन । संभवत पछि टंकप्रसाद मातृकाबाबुको मन्त्रीमण्डलमा गृहमन्त्री भएको पनि एक कारण हुन सक्छ । गणेशमान पनि त्यो मन्त्रीमण्डलमा सामेल रहेपनि बिपी प्रतिको आस्था कायम नै रह्यो तर उनले भने आफ्नो अलग चिनारी कायम नै राखे अनि बिपी भन्दा पहिले नेपालको प्रधानमन्त्री पनि भए ।
मातृकाबाबु प्रधानमन्त्रीबाट हटिसकेपछि संयुक्त मोचा बनाईएको एक प्रसंग पहिच्छेद ४० मा छ । यहाँ टंकप्रसादको उल्लेख अत्यन्त हलुका किसिमले भएको छ । संयुक्त मोर्चा भए पनि केवल नाममात्र साथ भएको अनि कुनै किसिमको महत्व नभएको कुरा यसरी उल्लेख गरेका छन् “के हुन्थ्यो भने यिनीहरुसँग न मान्छे हुन, न केही हुन, केही थिएन । हामीहरुले लै यिनीहरुको झण्डा पनि बनाई दिनु पर्ने, हामीहरुकै भोलन्टियरहरुबाट बोल्न पनि लगाउनु पर्ने । मैले सँगै टुर जाँउ भन्दा गएनन ” । यसले सोच्न बाध्य बनाउछ कि के यो संयुक्त मोर्चा नै थियो त ? यस्तो मोर्चा राख्न नेपाली कांग्रेस र बिपीलाई के आवश्यकता थियो ? अनि यस्तो मोर्चाबाट टंकप्रसादलाई के उपलब्धी भयो ? शायद यसले अभियानमा नेपाली कांग्रेस एक्लो छैन भन्ने जनाउ मात्र दियो होला । त्यसैले नेपाली कांग्रेसलाई केही न केही फाईदा भयो नै होला, कांग्रेसले मोर्चाको नेतृत्व गरेको भान पार्नलाई ।
त्यही परिच्छेदमा टंकप्रसाद प्रधानमन्त्री भएको पनि उल्लेख छ । त्यसबेला उनले बिपीलाई रातीको खानामा बोलाएर “विश्वेश्वर बाबु, मलाई मद्दत गर्नु पर्‍यो । राजाले भनेका छन् कि सकेसम्म बढी सहयोग लिईकन सरकार बनाऊ । तपाईलाई दुईटा सिट दिन्छौं, तपाई आउनु पर्‍यो, तपाईले कसैलाई पठाउनु पर्‍यो” भने । तर बिपीले सिधै “तपाईसँग हामी सहयोग गर्न सत्तैmनौ” भनिदिए । यो स्वभाविक पनि थियो किनभने त्यसवेला बिपीले सरकार हाम्रो हुनुपर्छ भन्ने माग गरेका थिए । त्यसैले उनले चुनाव छिटो गराउने माग मात्र गरे सरकारमा सामेल हुन अस्विकार गरिदिए । सरकारको विपक्षीको रुपमा आफुलाई उभ्याउनु त्यसबेला आवश्यक नै थियो । संभवत टंकप्रसाद पनि नेपाली कांग्रेसलाई सरकामा लिन इच्छुक थिएनन् त्यसैले दुई सिट मात्र दिने प्रस्ताव गरे नत्र संयुक्तरुपमा सरकार चलाउन आग्रह गर्ने थिए ।
टंकप्रसादको प्रभनमन्त्रीत्त्व कालमा नै चीनसंग सम्वन्ध स्थापित भयो । छिमेकीमा भारतको मात्र भर पर्नु नपर्ने नीति नेपालले लियो । चीनले दलाईलामा अपदस्त गरेको कुरामा नेपालले एक चीन नीति अवलम्बन गर्‍यो । टंकप्रसादले यसमा पनि वीपीको सल्लाह र सम्मति मागे । वीपी भन्छन “एक त म समाजवादी विचारको मान्छे तिब्बतको स्वतन्त्रतामा हामीहरुको समर्थन थियो र चीनले गरेको हामीलाई लाग्थ्यो आक्रमण हो”, तर बिपीले यो कुरा टंकप्रसादलाइै अर्कै रुपमा भनें । उनले भने “अहिले किन त्यसमा हतार गर्ने ? अहिले हाम्रो हात माथि छ । पछि त्यस्तो कुनै जरुरत पर्ला नेपाललाई चीनसँग, त्यवेलामा एउटा कुरा छोड्छौ, त्यसको साटो अर्को कुरा मिलायन सकिन्छ” । बिपीको सोच विपरित चीनसँगको सम्बन्ध विस्तारले नेपाललाई कहिल्यै पनि पछुताउनु पर्ने अवस्था भने परेन । त्यही टंकप्रसादको कामले पछि बिपी प्रधानमन्त्री भएर चीन जाँदा जे माग्यो त्यही पाएको कुरा पनि यही पुस्तकमा नै उल्लेख छ । भारतसँगको निर्भरता कम गरेको कारणले बिपीले टंकप्रसादलाई कितापमा उचित स्थान दिएनन् भन्नु अलि अन्यायपूर्ण हुन्छ । तैपनि यस पुस्तकले अवहेलना गरेकै पात्रको रुपमा टंकप्रसाद रहेका छन् ।
विराटनगर–१
प्रकाशित मितिः२०७१ माघ ८ गते बिहीवार



(नोट: आफैले बोलेको आत्मवृत्तान्तमा मात्र आधारित भएर वीपीको र त्यस बेलाको पुनर्मुल्यांकल गर्ने प्रयत्न स्वरुपका पछिल्ला २८ लेखहरु चितवन पोष्टमा प्रकाशन हुदै आएका भए पनि प्रकाशनक्रममा बारंवार लापरवाही भएकाल यी श्रृखलाको बाँकी लेखहरु क्राइमचेकमा प्रकाशित हुँदैछन । पुराना लेखहरु पनि हेर्ने इच्छा भएमा  आत्मवृतान्तका पूराना श्रृङ्खलाहरु आत्मवृतान्ताका पुराना श्रृङ्खलाहरु  मा उपलब्ध छन ।—लेखक)


SHARE THIS

Author:

Facebook Comment