आत्मवृत्तान्तको ऐनामा: पात्र किसुन जी

– स्वयम्भुनाथ कार्की

बिपीको जीवन र राजनैतिक आरोह अवरोहमा कृष्ण प्रसाद भट्टराई अर्थात किसुन जीको भुमिका के कस्तो छ वा नेपाली कांग्रेसमा किसुन जीको महत्व के हो भन्ने कुरा भने यस कितापबाट अनुमान गर्न सकिदैन । वीपीले यस कितापमा किसुनजीको चर्चा गर्न कन्जुस्याई गरेको जस्तो देखिन्छ । तै पनि पानीमा चीनी मिसिए जस्तो कृष्णप्रसाद भट्टराईको अस्तित्व र त्यसको प्रभाव भने किताप भरि नै पाईन्छ । बिपीमा जन्मजात रहेको भनिएको राजनैतिक चेतना बाहिर देखिनु भन्दा पहिलेदेखि नै बिपीको र किसुनजीको परिवारको सम्वन्त्र देखिएको छ । अस्सिघाटमा सरकारी स्कुल बहिष्कार गर्ने बालक बिपीको राजनैतिक चेतना त्यसै बेलादेखि देखिएको भनि हाल्नु अलि अतिशयोक्ति हुन जान्छ । हो बिउ भने मान्न सकिन्छ । त्यसको अंकुर बिपी फेरी बनारस पढ्न गए पछि शुरु भएको छ । स्कुल भर्ना हुन सुन बेच्न जानेमा किसुनजीका दाजु बटुकजी गएको परिच्छेद ५ को प्रसंग नै बिपीको र किसुनजीको परिवारको पुरानै सम्बन्ध भएको प्रमाण हो ।
ं४ अक्टोवर १९४६ को बिपीको एक संगठन बनाउने वक्तव्य पछिका काममा साथ दिन किसुनजीको परिवार नै भने जस्तो तैयार अवस्थामा थियो । परिच्छेद १० अनुसार एम.ए. पढ्दै गरेका किसुनजी आफ्नो अध्ययन छोडेर नै बिपीको साथ लागे । काशी विद्यापिठबाट पत्रकारिता अध्ययन गरेका गोपालप्रसाद भट्टराई, एम. ए छोडेर कृष्णप्रसाद भट्टराईको साथमा राजनीतिमा वास्ता नभएको एम.ए. पास गरेर एक अल्म्यूनियम फ्याक्टरीको एलेक्ट्रप्लेटि· सेक्सनको म्यानेजर हुन ठिक्क परेको बालचन्द्र शर्मा समेत बनारसबाट यो शुरुवाती अभियानमा साथ लागे । किसुनजीका दाजु बटुकप्रसाद उपाध्यायले भने युगवाणीको अभिभारा लिए । यति हुँदा पनि बिपीको देखाइमा किसुनजी कर्मठ भएनन् । त्यहि परिच्छेदमा बिपी भन्छन् “त्यसपछि उनी (बालचन्द्र शर्मा) निष्ठाका साथ राजनीतिमा लागे । किसुनजी त्यति होइन, तर गोपालजी फेरी अर्को कर्मठ किसिमका मानिस थिए” । एम. ए. को पढाई छोडेर जीवन पर्यन्त बिपीको निष्ठावान अनुयायी भएका किसुनजीलाई बिपीले यो कितापमा किन महत्व दिएनन् त्यो भने अनौठो नै छ ।
किसुनजीले भने हमेशा बिपीको साथ छायाँ जस्तो भएर दिई नै राखे । तै पनि जहाँ बालचन्द्र शर्माको कुरो भएकोछ त्यहाँ बिपीले किसुनजीलाई बालचन्द्र शर्मा भन्दा तल नै राखेका छन् । बालचन्द्र शर्माले त क्रान्तिकालमा लुटपाट समेत गरेर गृहमन्त्री बिपीले भारतीय सहायताले पक्राउ समेत गर्न परेको थियो । यस्तो अनुशासन विपरितको काम किसुनजीले गरेको कुनै उल्लेख कितापमा छैन त्यहि पनि बालचन्द्रको दाँजोमा बिपीले किसुनजीलाई अवहेलना गरेको जस्तो छनक भने कितापमा लगातार भेटिन्छ । पद्मशम्सेरको कैदमा जब बिपीको घाँटीको विमारी फेरी शुरु भयो भारतीय नेताहरुकोमा गुहार्न पुग्नेमा किसुनजी थिए । गान्धीजीको पद्मशम्सेरलाई लेखेको चिठ्ठी लिएर आउनेमा उनी किसुनजी सामेल थिए । तै उनीहरु आईनपुग्दै पद्मशम्सेरले बिपीलाई छोडिसकेका थिए ।
मोहन शम्सेरको पालामा काठमाण्डौ संगठन गर्न गएको बिपीको टोलीमा केदारमान व्यथितसंग किसुनजी नै थिए । बिपीको पण्डित भेषमा उनको शिष्यको रुपमा साथ दिन किसुनजी कै आवश्यकता परेको थियो । व्यथित त ब्राम्हण भेष धारण गर्न असमर्थ थिए त्यसैले तराईमा राँगा किन्न आएको साहुको भेष लिएका थिए । सम्पूर्ण अभियानमा यो भेष कायम रहुन्जेल सबैको सेवकको काम गर्नुपर्ने मेहनती भाग त किसुनजीले नै सम्हाल्नु परेको थियो । जव बिपी मोहन शम्सेरको फन्दामा परेर आफ्नो जीवनको सबैभन्दा कष्टकर भाग भोग्दै थिए त्यसबेला नेहरुसंग मद्दत माग्न पनि किसुनजी नै अग्रसर भएका थिए । बिपीले अनेकौ चतुराईले आफ्नो घामको उज्यालोसम्म पनि नपस्ने कालकोठरीबाट उम्काएको चिठ्ठी लिएर नेहरुलाई उनैले पुर्‍याएका थिए । किसुनजीले परिआएका बखत सधैं नै कुशलताले काम गरेका थिए त्यो पनि कुनै नैतिक मूल्य र मान्यता ननाघी । यसै कितापको सेरोफेरोमा निष्पक्ष विवेचना गर्ने हो भने पनि बालचन्द्र भन्दा किसुनजी धेरै उच्च देखा पर्दछन् ।
क्रान्तिमा आफ्नो जिम्मेवारीमा परेको सप्तरी सेक्टरमा किसुनजीले देखाएको कुशलताले सप्तरी र उदयपुर कब्जा गर्न कुनै विषेश लडाई लडनु परेन । परिच्छेद ३१ मा वीपी भन्छन, “किसुनजीलाई सप्तरी सेक्टरमा पठाएको थियो । सप्तरीमा धेरै ठूलो मिलिटरी घटना घटेन । किसुनजी जानुभयो, त्यहाँ रामेश्वर बाबुहरु हुनुहुन्थ्यो । चौकीहरुका मानिसहरुले धमाधम समर्पण गर्न थाले । उहाँ त उदयुरसम्म पुग्नु भयो । त्यसो हुनाले, उहाँलाई अहिले पनि सप्तरीवालाहरु, उदयपुरवालाहरु बढ्ता मान्दछन् । उहाँ गएर बस्नुभयो उदयपुर” । यस्तो चमत्कार त्यस क्रान्तिमा केवल किसुनजीले मात्र देखाउन सक्नु भएको थियो । धनजनको क्षति बिना कब्जा जमाउने उनको त्यो कौशललाई सजिलो सेक्टर परेको भनेर हल्का लिन खोजिएको जस्तो लाग्छ तर त्यो सेक्टर सजिलो भने बिल्कुलै थिएन, किसुनजी भएकोले सजिलो भएको थियो ।
सत्रसाल पछिको नजरबन्द कालमा त बिपीले किसुनजीको जुन चित्रण गरेका छन् त्यो किसुनजीको अन्य व्यक्तित्वको ठिक उल्टो देखा पर्छ । रिसको झ्वाँकमा मेजरको मुखमा जुठो पानी छ्याप्ने काम, भनेजस्तो जुत्ता किनेर ल्याई दिएन भनेर फोहर गाली गर्ने काम किसुनजीबाट भएको थियो होला भन्ने कुरा पत्याउन गाह्रो पर्छ । तर, यो प्रसंग कितापको ५९ परिच्छेदमा आएको छ । समय बिताउन किसुनजीले वीपी लगायत अन्य नजरबन्दमा रहेकालाई उपनिषद् पढाउने कुरा भयो तर बिपीलाई पत्यार परेन र त्यो बन्द भयो । बिपीले राजासंग दर्शनभेट मागेको चिठ्ठीमा किसुनजीले बिपीको इच्छा विपरित गतिरोध र सरकारको ईच्छा भएको शब्द पनि राखे । त्यो किसुनजीको भाषा चार्तुयको नमुना थियो । तर नजिकको तीर्थ हेला भनेजस्तो पारिवारिक सम्वन्ध भएको र शुरुदेखि नै आफ्नो

 निष्ठावान भएकाले बिपीले किसुनजीको मूल्यांकनमा हलुका लिएकोले किसुनजीको पात्रले कितापमा महत्व कम पाएकोछ । तैपनि यो पात्र वातावरणमा हावा जस्तै सर्वव्यापी बनेकोछ ।
विराटनगर–१

प्रकाशित मितिः२०७१ पुस २४ गते बिहीवार

(नोट: आफैले बोलेको आत्मवृत्तान्तमा मात्र आधारित भएर वीपीको र त्यस बेलाको पुनर्मुल्यांकल गर्ने प्रयत्न स्वरुपका पछिल्ला २८ लेखहरु चितवन पोष्टमा प्रकाशन हुदै आएका भए पनि प्रकाशनक्रममा बारंवार लापरवाही भएकाल यी श्रृखलाको बाँकी लेखहरु क्राइमचेकमा प्रकाशित हुँदैछन । पुराना लेखहरु पनि हेर्ने इच्छा भएमा आत्मवृतान्ताका पुराना श्रृङ्खलाहरु  मा उपलब्ध छन ।—लेखक)

SHARE THIS

Author:

Facebook Comment