पराले खुट्टाहरु

– जनकमान डंगोल

नेपालमा छयालीस साले बहुदलले दोश्रो पटक डेमोक्रेसी घोषणा गराउन लगाए । के कसरी लगाए, के बयान गराई भो । बहुदलको भनेको धेरै दल भनेर अर्थाउँछन्, कुरा सोरै आना जायज हो र बहुदलमा सबैलाई राजनीतिक पार्टी खोल्न देखि धित मरुन्जेल सराप्न गाली गर्न फ्रि छ । यसरी सराप्ने देखि गाली गर्ने समेतको कार्यलाईलाई स्वतन्त्रताको उपभोग गरेका हौं भन्दा रैछन् ।
छयालीस साल भन्दा अगाडी नेपाला एकदलीय शासन थियो । एकदलीय शासनलाई निरंकुश भन्दा रैछन् । नेपालको उत्तरमा चिनियाँहरु बस्ने चाइना भन्ने देश पर्छ । चाइना भनेको हाम्रा प्रचण्ड कामरेड देखि बैद्यबा हुँदै भर्खरका भुरा विप्लबहरु सम्मको मामाघर पनि भन्छन् । भुराभारीहरूलाई आÇनो भन्दा मामाघर उल्का रमाइलो लाग्छ रे, त्यहि भएर मावलीको सम्झना पार्टीको नाम नै माओवादी लेखेर डामेकाछन् ।
अरु कम्युनिष्टहरुले पनि चाइनालाई मामाघर जस्तै सम्झिन्छन् त्यहि भएर मामाहरुले बेलाबेला भान्जा भान्जीहरूलाई ग्रेटवाल भन्ने पर्खाल देखाउन बोलाउँछन् र फकिर्ने बेला कोसेलीपात दान दक्षिणा समेत दिन्छन् रे झ् भने उता हाम्रो तराईको मधेशी पार्टी देखि काँग्रेसले चैं उता हिन्दुस्थानलाई पनि मामाघर नै सम्झेका छन् । उबेला नेपालको पन्चेतको सरकार निरंकुश हो भनेर बाख्रा पाठापाथी जस्तरी कुर्लिने नेपालको काँग्रेस देखि कम्युनिष्टहरूले परान भुतुक्क भए पनि “निरंकुश चाइनिज, विस्तारवादी भारत” भनेर भन्न सक्दैनन । कसरी भन्नु मामाघर जो परे ।
स्व.गिर्जाउहरुको छयालीस साले डेमोक्रेसीमा पन्चेतको पन्चेहरुलेनि पार्टी खोलेका थिए । सुदुरपूर्वको मुगाली काजिले गाई र सुदुर पश्चिमको चन्द बाउसाप्पले हलो चुनाउ चिन्ह डामेर राष्ट्रिय प्रजातन्त्र पार्टी भनेर खोले तर पहिलो पटकको चुनाउ त्याँ माथि ३० वर्ष एक्लैले दाम काम सबै मेरो उखाना चल्या पार्टी भे र ३/४ थान सिटा चुमुक्र्याथे ।
स्व.गिरिजा बाबुको कृपाले छत्तीसे र चौहत्तरे काँग्रेस बन्ना साथ पन्चे पार्टीको दिन फिरेकै हो क्यार झ् ठुला पार्टी भन्ने काँग्रेस र एमालेलाई टुप्पी रिंगार पालै पालो कहिले मुगाली बाउसाप त कहिले चन्द बाउसापले अलकापुरीको राज गर्न पाए । कसैले सोचेका थे निरंकुश पन्चेहरु ६ वर्ष नपुग्दै धुर्बे तारा बन्छन् भनेर ? तर राजनीति हो जे पनि हुन सक्छ भन्थे चाणक्यका सन्तानहरले हो रैछ ।
लोकतन्त्र आएसी ओरालो लाग्या पन्चेकाजीहरूको पार्टी एकबाट ३ थान भो । हिजो पन्चेतको पालाको एक आर्काको ज्यानी दुश्मन सूर्यमान, चन्द्रमान र श्री ३ का नाती जर्नेल मिलेर लोकतन्त्रा एक बनेर पार्टी एकीकरण गरे तर ति एकीकरण गर्याहरको हलो पार्टी भन्दा मकान्पुरे थापा काजीको गाई पार्टीले अहिले नेपाला चमत्कार देखाम्दै छ ।
नेपाला जय मसि चम्किनु भनेको गाई पार्टीलाई चिट्ठा पर्नु जस्तै भएको छ यतिखेर । आÇनो कुलको धर्म छोडेर लाल्बादमा लागेका मान्छेहरुले  हिजो धर्मकर्म मान्दैनथे । स्याल घोर्ले हुने बैंसमा मात्र हो भन्छन् त्यस्तै मान्छेहरुको चुरीफुरी पनि चालिस देखि पैतालिस सम्म हो क्यारे । नारी छाम्न खप्पिस मकवानपुरे थापा काजीले पाको मौका किन छोड्थे । नेपाल जोड्या बडामहाराजधिराज पृथ्वी नारान शाह सरकारको बडेमानको फुटा र हिन्दुहरुको माता गाईको समेत फुटो राखेर “धर्मो रक्षति: रक्षत” भन्दै हिन्दुस्थानी भाजपा स्टाईलमा रथयात्रा निकाल्न सुरु गरे ।
नेपाले राजनीतिक पार्टीहरूमा उखान टुक्का भनेर जनतालाई मनोरन्जन दिन हाम्रा घाम पार्टीको अध्यक्ष वली कमरेड खल्ली हुनुहुन्छ । उखानमा उहाँलाई जित्न कुनै मईकालालले सक्दैन भन्ने धेरैलाई भ्रम छ तर यो पाली भ्रम तोडिया हो कि जस्तो देखियो गाँठे ।
यो पुषको महिना नि गाई पार्टीले मेची माकाली रथ यात्रा गरे । मेचीबाट सुरु गरेका रथ यात्रा महाकाली पुगेर त्यहाँबाट फनक्क घुमेर बटौली निस्केर पोखरा हुँदै राजधानी कान्तिपुरमा आएर आमसभाकासाथ कार्यक्रमको दि–एण्ड गरे । कार्यक्रम समाप्त गर्नु भन्दा अगाडी हज्जारौ हजारको जनसभामा भाषन दिने क्रममा गाई पार्टीको सह अध्यक्ष केशर बहादुर बिस्टले हाम्रो पार्टीले भोलि सरकार बनायो ३ थान बिहे गर्नेहरुलाई झ्यालखाना कोच्छम भनेर भन्दिए त्यो पनि सिना तानेर । समय समयको खेल हो क्या हिजो ५१ साले तथाकथित जनयुद्ध भन्ने धनयुद्धको बेला काँग्रेस देखि एमाले हुँदै हलो गाईका बथानहरु डरले थुर्रर हुण्डी कट्टुमा सुसू गर्थे अहिले थर्काउन थाले । त्यति मात्र हो र अझ अहिले काँग्रेस देखि कम्युनिष्ट पार्टी भनेका पराले त्यान्द्राको खुट्टोभा पार्टीहरु हो समेत भनेर भन्दे गाँठे । जिन्नदगीमा गाई पार्टीकाले पनि सुपर हिट उखान भन्लान भनेर मुइलेटा सपनानि सोच्या थिइँन ।
बिस्ट काजीले ठिकै भनेका हुन् । नेपालका अहिलेका पार्टीहरुको खुट्टो हिमाल स्टिल जस्तो दरो भैदिएको भए अंग्रजी राजदूतले हाक्काहाकी धर्मको विषयमा बोल्न पाउथे ? हाम्रा काँग्रेस कम्युनिष्ट पार्टीका ठुला नेताहरुको खुट्टा अग्राखा काठ जस्तो दरो भएको भए विदेशीका चम्चेहरुले एक मदेशका राग अलाप्न सक्थे ? सिके राउत, सरिता गिरी जस्ता राष्ट्रघातीहरुले देश टुक्क्रयाउँछु भन्दै हिंड्न सक्थे ? हाम्रा ठूला नेताहरुको खुट्टो हुलासको स्टिल जस्तो दरो भै दिएको भए भ्रष्टहरुले खेल्ने मौका पाउँथे ? नागरिक समाज देखि मानवाधिकारको खेतिवालहरुले जातजातिलाई भड्काउने काम गर्न सक्थ्यो ? बज्र जस्तो खुट्टा भैदेको भए “क्षेत्री बाहुन काटिन्छ आलो रगत चाटिन्छ” भनेर आंग काजी शेर्पाले खुलेआम भन्न सक्थे ?
त्यही खुट्टा दरो टेक्न नसक्ने अर्थात पराले खुट्टा त्याँ माथि मामा देखि पश्चिमा गोरा र कुइरेको खुट्टामा उभिएर हिंड्ने गरेको कारणले गर्दा देशको आजको यो स्थिति भाको हो क्यार । जस्तो देखे त्यस्तै डाम्देको छु र त्यसैले म पनि सहि थाप्छु हो हाम्रा सबै नेताहरुको खुट्टा पराले त्यान्द्रोका हुन र यस्ता पराले त्यान्द्रा खुट्टा र हुत्ती नभएका नेताहरुको पार्टीहरुले देश र जनताको अ, आ, ई भलो गर्न सक्दैन । अ, आ, ई भनेको बुझ्नु भएन ? एक, दुई तीन अर्थात वान, टु थ्री भन्या क्या !

प्रकाशित मितिः२०७१ पुस २४ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment