आत्मवृत्तान्को ऐनामा : पात्र विश्वबन्धु थापा

–स्वयम्भुनाथ कार्की
        कितापमा जती स्थानमा वीपीले विश्ववन्धु थापाको उल्लेख गरेका छन त्यहाँ उनलाई नकारात्मकताको छिटा परेको सशक्त पात्रको रुपमा देखाएका छन । विश्वबन्धुको त्यति धेरै उल्लेख पनि छैन जो स्वभाविक नै लाग्दछ , तर जति उल्लेख छ त्यो टार्न नसकिने भएकाले आएको छनक पाईन्छ । सात सालको क्रान्तिमा हतियार उठाउनेहरुमा जजसको नाम वीपीले सम्झेका छन तिनीहरु सबै जसोको पृष्टभूमि कतै कुनै रुपले उल्लेख गरेका छन । उनले पृष्टभूमि उल्लेख नगरेका थोरै पात्रहरु मध्ये विश्वबन्धु एक हुन , जसको स्वभाव चित्रणमा उरन्ठ्यउलो , महत्वाकांक्षी भनेका छन । अवसरवादी पनि भएको छनक दिएका छन । विराटनगरको पहिलो मुठभेडमा माल अड्डा कव्जाको असफल प्रयास र त्यसमा भएको क्षतीको वर्णनमा ‘विश्वबन्धुको त्यहाँ महत्वपुर्ण भूमिका थियो , त्यसमा शंका छैन ’ भनेर परिच्छेदमा २४मा भनेका छन । झलक्क हेर्दा यो विश्वबन्धुको प्रशंसा जस्तो देखिए पनि यसको तुरन्तै पहिले विराटनगरको बडाहाकिम उत्तम विक्रमसंग आउने जाने र उरन्ठ्यउलो भनिनाले यो कब्जा असफलताको दोष अप्रत्यक्षरुपमा बोकाउन खोजे झै लाग्छ ।

        आमनिर्वाचनमा नेपाली कांग्रेसमा वीपकिो निर्णय सर्वौपरि हुने गरेर संसदिय समिति बनेको थियो । यो कुरा परिच्छेद ४३मा उल्लेख छ , यसो हुँदा टिकट वितरण लगायतका चुनावी कार्यहरुमा वीपी कै कुरा अन्तिम हुन्थ्यो । वीपी भन्छन ‘ अरुमान्छेलाइ थाहा पनि थिएन, सुवर्णजीलाईसम्म थाहा थिएन को मान्छे के हुने हो भनेर । त्यसभन्दा पनि जिताउनेप्रचारक त म नै थिएँ ’ । कितापका अनुसार वीपीको टिकट वितरणको निर्णयमा कसैको दावीले असर गरेन । तर केवल विश्वबन्धु मात्र भए जसले वीपीले नचाहे पनि टिकट लिई छोडे त्यो पनि तोकिएको हैन रोजेको क्षेत्रमा , अनि जितेर पनि देखाई दिए । गोरखाबाट लड्न भनेकोमा विश्वबन्धुले चितवन दावी गरेकोकुरा परिच्छेद ४५ मा यसरी उल्लेख छ , ‘ होइन चितौनमा मैले घर बनाएको छु । म चितवनमा लड्छु भनन थाल्यो । चितौनमा बखान सिंह थिए हाम्रो पुराना मानिस ’ । अगाडी भन्छन , ‘ म भनिरहेको छुउसलाई कि तँ गोरखा जा । यो विश्वबन्धुको के चरित्र छ भने भयानक महत्वकांक्षा, व्यक्तिगत महत्वकांक्षा छ । अरु कुनै कुराको त्यसलाई परहेज छैन । मलाई यसबात्र बडो तुच्छता लाग्यो’ ।

        नेपाली कांग्रेस भित्र यसरी विश्वबन्धुको एक सशक्त उपस्थिति देखिन्छ । उनले जे प्राप्त गरे त्यो कुनै नेता वा अन्यको दया वा कृपाबाट हैन संघर्षबाट प्राप्त गरे । कितापका अनुसार सामान्यतया वीपीको स्वभाव आफ्नो कुरा माथि पार्न सक्ने बलियो नेताको देखा पर्दछ । विश्वबन्धुले वीपीको चाहाना विपरित क्षेत्र हासिल गरे, टिकट हासिल गरे अनि चुनाव पनि जिते । यतिमा मात्र सिमित भएनन, संसदमा मुख्य सचेतकको पद पनि लिन सफल भए । वीपी सचेतकको कामबाट सन्तुष्ट थिएनन  तै पनि विश्वबन्धुले या त मन्त्री बनाउन वा मन्त्री सरह सुविधा दिन माग समेत गरे । वीपीे विश्वबन्धुको कामको बारेमा आफ्नो  धारणा परिच्छेद ४७मा यसरी बताउछन ‘मुख्य सचेतकले जो काम विगार्नसक्छ, त्यो उसले बिगार्‍यो ठीक उसले आफुले गर्नुपर्ने कामको उल्टो गथ्र्यो ’ ।

पार्टी अध्यक्ष, संसदिय दलको अध्यक्ष दुवैको अधिकार हातमा भएका वीपीलाई मुख्य सचेतक फेर्न केले रोकेको थियो , त्यो भने अनुत्तरित नै छ । मुख्य सचेतकको हैसियतमा विश्वबन्धुले माग गरेको एउटा कार, दुईतीन जना सेक्रेटरी , एउटा घर इत्यादिको माग भने वीपीले पुरा नगरेको अनुमान हुन्छ । वीपीको सोचमा मुख्य सचेतक हुँदा अलिकति लेखापढीको काम मात्र थपिने हो त्यसैले जे माग्यो दिएर पुल्पुल्याउनु ठिक हैन भन्ने थियो । कितापमा उल्लेख गरिएका अन्य घटनाहरु लगायत नेपाली कांग्रेसले विरासतमा उ्राप्त गरेको पार्टी सभापतिको अवशिष्ट अधिकार जो अहिले पनि संगठनमा देखिन्छ, आदिको सन्दर्भ हेर्दा विश्वबन्धुको सचेतक पदले नै निरन्तरता पाउन कठिन हुनु पर्ने थियो । तर त्यो भएन, उल्टै विश्वबन्धुको मन्त्री पदमा दावी रह्यो । उनको वीपीको आदेशको विपरित गएर पनि दावी गर्न सक्ने व्यक्तित्वको अन्तरतलमा कुन टेवा थियो त्यो भने यस कितापमा भेटिदैन ।

अझ नेपाली कांग्रेसको सातौं अधिवेशनमा त विश्वबन्धुले नेतृत्वलाई कठघरामा नै उभ्यईदिए । परिच्छेद ५४मा वीपीको भनाई छ , ‘त्यसमा विश्वबन्धुले सरकारलाई पूरा च्यालेन्ज दिएजस्तो लाग्यो । ’ करिव करिव हरेक नीति तथा कार्यक्रमको आलोचना भयो । वीपीको भन्छन ‘पूरा विगठनकारी भूमिका उसको रह्यो । र, एकपटक त बडो संकट पनि उसले सृजना गर्‍यो । आधिकारिक लाइृन नै परास्त हुन्छजस्तो लाग्यो  ’ । उनले उठाएका कुराको वीपीले जवाफ दिई सकेपछि भने प्रस्ताव फिर्ता लिए । यो कुरा कितापमा यसरी उल्लेख छ , ‘अनि म नेर आएर माफि माग्छ र भन्छ , त्यो कुरा मैले फिर्ता लिएँ उहाँले अनुरोध गरको हुनाले । बडो उदार भएर मलाई बचाउनको निम्ति जस्तो हामीले उहाँको हात बलियो गर्नुपरेको छ  भनेर प्रस्ताव फिर्ता लिएको छ ’। यसरी कितापमा विश्वबन्धुको पात्रता केहि नकरात्मकता लिएर पनि सशक्त अनि वेवास्था गर्न नमिल्ने देखिन्छ  ।

(नोट: आफैले बोलेको आत्मवृत्तान्तमा मात्र आधारित भएर वीपीको र त्यस बेलाको पुनर्मुल्यांकल गर्ने प्रयत्न स्वरुपका पछिल्ला २८ लेखहरु चितवन पोष्टमा प्रकाशन हुदै आएका भए पनि प्रकाशनक्रममा बारंवार लापरवाही भएकाले यी श्रृखलाको बाँकी लेखहरु क्राइमचेकमा प्रकाशित हुने छन । पुराना लेखहरु पनि हेर्ने इच्छा भएमा आत्मवृतान्ताका पुराना श्रृङ्खलाहरु 
मा उपलब्ध छन ।—लेखक)
प्रकाशित मितिः२०७१ कार्तिक २० गते विहीवार

SHARE THIS

Author:

Facebook Comment