आत्मवृत्तान्तको ऐनामा: पात्र राजा त्रिभुवन (सात सालसम्म)

–स्वयम्भुनाथ कार्की
कुनै पात्रको उल्लेख गरिंदा यसरी भाग लगाएर गरिने कुरा अलि अनौठो लाग्नु स्वभाविक नै हो । तर यो नौलो भने होईन । आलेखको कलेवरमा समेटनु पर्ने बाध्यताको साथै हरेक आलेखको स्वतन्त्र पाठकत्व रहोस भन्ने प्रयत्न गर्नु पर्दा विषयलाई त्यसको कुनै न कुनै किसिमको वर्गीकरण गरेर भाग लगाउनु पर्ने नै हुन्छ । यसमा पनि त्यस्तै आधारमा भाग लगाउने प्रयत्न भएको छ । सात सालको शाही घोषणासम्म बिपीको राजा त्रिभुवनसंगको प्रत्यक्ष कुराकानी हुने गरेर केवल एक भेट मात्र भएको उल्लेख आत्मवृत्तान्त कितापमा छ । राजाको नाममा वा काँधमा राखेर चलाइएको कान्तिमा क्रान्तिनायक र नामले काँध दिने बिच संवादहिनताको अवस्थामा पनि कसरी क्रान्ति सफल भयो यो चर्चा रोचक नै हुनेछ । राजा त्रिभुवनलाई राणाहरुको चङ्गुलबाट मुक्ति पाउन नेपाली कांग्रेस बाहेक अन्य विकल्प थिए वा थिएनन् त्यो कुरा भन्दा नेपाली कांग्रेसले संचालन गरेको क्रान्तिलाई उचित ठहर्‍याउन राजाको काँध नै आवश्यक थियो भन्ने कुरा यहि कितापमा पनि निकै स्थानमा स्विकार गरिएको छ ।
परिच्छेद २६ मा वीपीले राजा त्रिभुवनसंग सम्पर्क भएको कुरा उल्लृख गरेका छन् । तर यो सम्पर्क राष्ट्रिय कांग्रेस घटकको थिएन डेमोक्रेटिक कांग्रेस घटकको थियो । वीपी भन्छन “म काटमाण्डूमा लुकेर आउँदा राजाका छोराहरुले मसंग सम्पर्क गरेका थिए, भेट्न चाहन्छु भनेर । पछि डराएर भेटेनन् । हामीहरुको, नेपाली राष्ट्रिय कांग्रेसको सम्पर्क राजासँग थिएन । तर डेमोक्रेटिक कांग्रेसको थियो ” । यति भने पछि पनि शायद डेमोक्रेटिक कांग्रेसले त्यसवेला बिपीलाई भरोस गर्न हुन्छ भन्ने सन्देश पठाउन नभ्याएकोले पो भेट भएन कि भन्ने शंकाको लाभ दिन पनि खोजेका छैनन्, सिधै डरले भेटेनन भनेर फैसला सुनाएका छन । सुवर्णजीले अप्रत्यक्षरुपमा आफुमार्फत नै वीपीको राजासंगको संवाद रहोस भनेर चाहेको कुरा त्यहि वीपीले गरेको अर्को उल्लेखले देखाउछ । उनी भन्छन “सुवर्णजीले मलाई के भन्नुभयो भने राजासँग मेरो सम्पर्क छ, केहि संवाद छ पठाउने हो भने पठाउँm । मैले भनें पठाउनुस ” ।
यो संवाद पठाउने तरिका जासुसी सिनेमा वा उपन्यासको जस्तो थियो । हुन त त्यसवेलाको समयमा यस्तै तरिकाले गोप्य सन्देश आदानप्रदान गर्ने प्रचलन नै थियो । राजा त्रिभुवलाई कलकत्ताबाट सिग्रेट पठाइन्थ्यो वा उनको निमित्त कलकत्ताबाट सिग्रेट मगाईन्थ्यो । त्यो सिग्रेटसम्म सुवर्णजीको पहुँच थियो । ती मध्ये कुनै एक सिग्रेटको सुर्ति झिकेर नेपाली कागजमा लेखिएको सन्देश राखेर सिग्रेटलाई फेरी सुर्ति भरेर डिब्बामा फेरी सिल गरेर सन्देश पठाईन्थ्यो । यसरी पठाएको सन्देश प्राप्त गर्नेले मात्र चिन्ने सिग्रेट मै हुन आवश्यक पर्छ । यसको सिधा अर्थ के भने चाहे बिपी घटकको कांग्रेसले राजाको भूमिका नदेखोस तर डेमोक्रेटिक कांग्रेसमा राजा त्रिभुवनको कुनै न कुनै किसिमको असर भने थियो । इतिहासबाट लुकेको तथ्य के पनि हुन सक्छ कि शायद राजा त्रिभुवन कै निर्देशमा महावीर शम्शेर र सुवर्ण शम्शेरले आÇनो पार्टी नेपाली डेमोक्रेटिक कांग्रेस हुँदाहुदै बिपीलाई पार्टी गठन गर्न सबै प्रकारको सहायता आफैले बोलाएर दिए ।
कुनै अन्तरिम लाभ हुने वित्तिकै त्यो लाभमा आफ्नो हक खोज्ने प्रवृति रहने गर्दछ । यो सधैभरि देखिने गरेको प्रवृत्ति हो । वीरगंजको हमलामा थिरबम मल्ल गुर्मार पनि पचास लाख हात परेको थियो । यो पैसाले संगठन नै छिन्नभिन्न हुने जस्तो परिस्थिति जन्म्यो । परिच्छेद ३० मा वीपी भन्छन् “त्यस बेलामा पैसाको कटुपक्षको पहिला अनुभव भयो । त्यो ५० लाख रुपियाँ लिएर आएपछि, त्यसमा मेरो नियंत्रण बेसी हुनुपर्छ भनेर तेजबहामुर अमात्य आयो ” । नभन्दै यो पैसाको कारणले नेपाली कांग्रेसको क्रान्ति त्यहि तुहिन सक्ने थियो । तर यो झण्डै हलाहल झै भएको त्यो बिषपान गर्न राजा त्रिभुवनको नाम काम लाग्यो । तर विचैमा भारतले त्यो पैसा जफत गरिदिएकोले राजासम्म पुग्नै पाएन । यदि पुगेको भए संभवत नेपाली राजतन्त्रले त्यसैमा पनि अर्को अवगाल पाउने थियो कि भनेर भन्न सकिए पनि आवश्यकता चाँहि परेन ।
राजालाई हेलिकोप्टरबाट पाल्पा पुर्‍याएर त्यहाँबाट नया सरकार बनाउने कुरा असफल भयो । जुन पाल्पाका कमाण्डर इन चिफमा सम्पुर्ण भरोसा गर्नु पर्ने थियो तिनले र तीनका छोराहरुले गर्दा नै के आई सिंहले केन्द्रिय नेतृत्वसंग विद्रोह नै गर्नु पर्‍यो भने त्यो कुरा सफल भएको भए के सम्म हुन सक्थ्यो भनेर कल्पना गर्न सकिन्छ । त्यसैले राजा त्रिभुवनले नेहरुको अतिथि हुन सबैभन्दा उत्तम विकल्प देखे । संभवत नेपाली कांग्रेसको वीपी घटक भन्दा सुवर्ण घटकलाई ज्यादा भरोसा गरे । त्यसैले वार्ताको आव्हानमा वार्ताको वातावरण नबनुन्जेल बिपीसंगको भेट टारे । वार्तास्थलको चुनावमा वीपीको तथ्यमा भन्दा सोचाई र मान्यतामा आधारित तर्कले गर्दा संभवत: राजा त्रिभुवनले आफै वीपी संगको एक भेट पछिको अन्य भेटमा अनिच्छा गरेका हुन सक्छ । त्यसैले त पछि नेपाल फर्किने वेलासम्म न वीपीले राजा भेटन चाहे न राजाले नै भेट्ने चासो दिए । जुन कुरा राजासंग राणासंग हुनु पर्ने थियो त्यो कुरा वीपीले नेहरु र नेहरुका मान्छे संग गरे । कितापमा राजा वीपीको भेटमा न राजा त्रिभुवन नै उत्साहित देखिए न वीपी नै । दिल्लीमा तैयार राजाले गर्ने भनिएको शाही घोषणाको अनुवाद गर्ने जिम्मा भने बिपीले पाए तर त्यसमा उनले डेमोक्रेसीको अनुवाद गणतन्त्र गरेको स्विकार गरेका छन । यसरी सात सालको धोखा नहुन्जेल राजा त्रिभुवनको जुन रुप छ त्यसछि भने त्यसको ठिक विपरित छ ।
बिराटनगर–१

प्रकाशित मितिः२०७१ पुस १० गते बिहीवार


(नोट: आफैले बोलेको आत्मवृत्तान्तमा मात्र आधारित भएर वीपीको र त्यस बेलाको पुनर्मुल्यांकल गर्ने प्रयत्न स्वरुपका पछिल्ला २८ लेखहरु चितवन पोष्टमा प्रकाशन हुदै आएका भए पनि प्रकाशनक्रममा बारंवार लापरवाही भएकाल यी श्रृखलाको बाँकी लेखहरु क्राइमचेकमा प्रकाशित हुँदैछन । पुराना लेखहरु पनि हेर्ने इच्छा भएमा आत्मवृतान्ताका पुराना श्रृङ्खलाहरु  मा उपलब्ध छन ।—लेखक)

SHARE THIS

Author:

Facebook Comment