मदिराले मातिएका श्रीमानले लगाए श्रीमतीको शरीरमा आगो

नेपालगन्ज
–घरायसी झगडाका क्रममा एक व्यक्तिले श्रीमतीको शरीरमा आगो लगाएका छन्। दैलेख नारायण नगरपालिका–१ कुइकाना निवासी राजु नेपालीले १९ वर्षीया श्रीमती अनिसा नेपालीको शरीरमा मट्टितेल छर्केर आगो लगाएका हुन्।

जलेर गम्भिर घाइते भएकी अनिसाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचार भइरहको छ।  उपचारमा संलग्न चिकित्सक डाक्टर सुरेश नागका अनुसार उनको ७० प्रतिशत शरीर जलेको छ। प्रचण्ड गर्मीमा घाउ पाक्ने खतरा बढेको छ। घाइते अनिसाले आफूलाई श्रीमानले मट्टितेल छर्केर जलाएको बताइन्। भाउजूलाई ल्याएर लिएर आएकी नन्द सरिता नेपालीले मदिरा सेवन गरेका दाईले मट्टितेल छर्केर भाउजूको शरीरमा आगो झोसेको बताइन्।

उनका अनुसार बुधबार दिउँसो करिव १२ बजेतिर मदिराले मात्तिएर घर आएका राजुले अनिसाको शरीरमा आगो झोसेका थिए। 'भाउजू र म घरमै बसेका थियौं, दाई रक्सी खाएर गाउँबाट आउनु भयो,' सरिताले भनिन्, 'खाना पस्किन भान्सामा गएको बेला दाईले त्यही झगडा गर्नुभयो र भाउजूको शरिरमा मट्टितेल छर्केर आगो लगाउनु भयो।' भान्सा कोठाबाट बलेको आगोसहित चिच्याउँदै भाउजू बाहिर आएको र नजिकका छरछिमेक मिलेर मुस्किलले आगो निभाएको जानकारी दिइन्।

घटना लगत्तै दाई भागेको र ठूलो बुवाको साथमा भाउजूलाई लिएर राति भेरी अञ्चल अस्पतालमा ल्याइपुर्याएको सरिताले बताइन् । घाइते अनिसाको काखमा १२ महिने छोरा छन्। छोराको हेरचाह गर्ने जिम्मा आफन्तलाई लगाइएको छ। चितवन निवासी अनिसा र राजुबीच भारतमा मजदुरी गर्न गएको समयमा २०७१ चैतमा प्रेम बिबाह भएको थियो ।

भेरी अस्पतालबाट काठमाडौं लैजान रिफर गरेपनि रकम अभावका कारण लैजान नसकिएको उनको गुनासो छ । सरिताले भनिन, 'घरबाट ल्याएको १० हजार रुपैयाँ एम्बुलेन्सले लग्यो, अब कसरी उपचार गर्ने होला ?' घटनामा संलग्न राजुलाई जिल्ला प्रहरी कार्यालय दैलेखले नियन्त्रणमा लिइसकेको छ । दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बीरबहादुर ओलीले अभियुक्तलाई बुधबार बेलुका पक्राउ गरेर बिहीबार ज्यान मार्ने मुद्दा दर्ता गरिएको जानकारी दिए ।

SHARE THIS

Author:

Facebook Comment