राजा ज्ञानेन्द्रको शुभकामनाको पूर्ण पाठ

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट
नव वर्ष २०७३ को उपलक्ष्यमा बक्सेको शूभकामना सन्देश

नेपाली दिदीबहीनी तथा दाजूभाइहरु,

२०७२ लाई विदाई गरेर हामी विक्रम सम्वत् २०७३ मा आईपुगेका छौं । नववर्षको शुभागमनको उपलक्ष्यमा म देश विदेशमा रहेका समस्त नेपालीहरुमा सुख, शान्ति, समुन्नतिको लागि कामना गर्दछु ।

विक्रम सम्वतले मिति, तिथि र नेपाली संस्कृतिलाई जोडेको हुन्छ । हाम्रा राष्ट्रिय मान्यताहरु (धर्म, संस्कृति, भाषा, इतिहास र सभ्यता) विपरित प्रहार भइरहेको वर्तमान अवस्थामा हाम्रा पूर्खाले सुम्पिएको धरोहरहरु आफ्ना सन्ततिलाई कसरी हस्तान्तरण गर्न सक्छौ भन्ने प्रश्न अहिले अझ पेचिलो बन्दै छ । त्यसका लागि दक्षिण एसियाको भुराजनीतिक सम्वेदनशीलता र शक्ति सन्तुलनको हेक्का राख्न जरुरी छ ।

हामीको थियौं, कहां थियौं, अहिले कुन स्थितिमा छौं, देश कता जाँदैछ, समाजको मनोदशा के छ, हाम्रो साझा र सहि मार्ग चित्र के हुनुपर्दछ, कसको के कस्तो त्याग र योगदान छ, कसको के कस्तो महत्व र मान्यता छ अनि क–कसको कस्तो अर्गेल्याइँछ भन्ने विषयलाई वर्तमान अवस्थामा सबैले बुझिसकेका छन् । राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दुरुपयोग गर्ने शासकीय शैलीले नेपाल कमजोर भैसकेको छ । राष्ट्रसम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाँ चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णाबीचको फाटो नोक्सानदायी भैसकेको छ । त्यसैले स्वदेशको माटोमा दह्रोसंग खुटृा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधिन प्रमुख रहोस् भन्ने भावनावाट प्रेरित सबै देशभक्तहरुलाई समेटेर अगाडि बढ्नु आवश्यक भैसकेको छ ।


आफ्नो भाषा, इतिहास र धर्म संस्कृतिहरु देशका आधार हुन् भन्ने विषयलाई मनन् गर्दै स्वदेश हेरेर मात्र विदेश हेरौं, स्वदेश चिनेर मात्र विदेश चिनौं, स्वदेश मानेर मात्र विदेश मानौं र स्वधर्म बुझेर मात्र परधर्म बुझौं यहि मेरो शुभकामना ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन । जय नेपाल ।

SHARE THIS

Author:

Facebook Comment