शिकारको बिलो हो या नेपाल मुलुक हो ?

–स्वयम्भुनाथ कार्की

प्रतिनिधिसभाको चुनाव सम्पन्न गर्न नसकेको आधार बनाई राजाले सरकार विगठन गर्दा नेपालका सम्पूर्ण राजनितिक दलहरुले त्यसमा प्रतिगमन भएको देखे । राजतन्त्रको पक्षधर भनेर सबैले भनेको राष्ट्रिय प्रजातन्त्र पार्टी समेत राजाको त्यस कदमको विरोधमा सडकमा उत्रदा पनि धेरै समयसम्म त्यस विरोध प्रर्दशनमा तीन अंक पुग्ने संख्यामा सहभागिता हुन सकेन । आफ्नो नेताको नेतृत्वमा सरकार गठन हुँदा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी त्यो नेतृत्व पार्टीको नभई व्पक्तिगत आधारको हो भनेर विरोध जनाउन पछि परेन ।

यहि उपापोहले राष्ट्रिय प्रजातन्त्र पार्टी तीन टुक्रा भयो । सातौंआठौं चरणको तिसौं बत्तीसौं कार्यक्रम भनेर विरोध जनाई रहँदा पनि सर्वसाधारण जनता त परै जाओस त्यस ठाँउका पार्टीबाट फाईदा पाउने कार्यकर्ता बराबरको पनि उपस्थिति नहुनु पनि नेपालको लोकतान्त्रिक भनिएको त्यो आन्दोलनको ईतिहास लेखिंदा पक्कै लेखिएला । सबैले भने जस्तो निरंकुशता लादन खोजेको भए राजाले सम्पूर्ण राजनितिक दलहरुको त्यो अलोकप्रियताको उपयोग नगरेर किन राजतन्त्र समाप्त गर्ने मौका दिए । त्यत्रा राजनैतिक शक्तिहरुलाई पछार्न सक्ने तथा सार्कको मञ्चमा भारतको ठूलदाई मनस्थितिलाई तह लगाउन सफल राजामा त्यति क्षमता थिएन होला भनेर आज कसैले भने पनि ईतिहासले यो कुरा मान्ला र ?

राजनितिक दलले गुमाएको जनताको यो भरोसा कायम गर्न अन्तरर्राष्ट्रिय गैरसरकारी संस्था तथा कुटनितिक नियोगहरु सकृय भए । त्यो आन्दोलन ताकाको संचारमाध्यमहरुको अभिलेख हेर्ने हो भने त्यसमा भएको विदेशी चासो र लगानी प्रष्ट हुन्छ । आफुलाई तटस्थ भनेर पनि भन्ने र फलाना दलसंग सैद्धान्तिक सहमति छ भन्ने धक नमान्ने कथित स्वतन्त्र बुद्धिजीविहरु जनतालाई भ्रममा पार्न सफल भए । ‘मुकं करोती वाचालं पंगु लंध्ययते गिरीम्’ भने झै जोसंग जे चिजको कमी छ त्यही पाईन्छ भने पछि जनता मख्ख नपर्ने त कुरै थिएन ।

अब कहिल्यै बन्द हडताल हुँदैन भने पछि दस नंग्री खियाएर पेट भर्न पाईन्छ भनेर किन मख्ख नपर्ने र ? शान्ति सुरक्षा राम्रो हुन्छ भनेपछि किरिया पुत्री आंगनमा दशैंका बोका झै छिनालिएको दृष्य देखेकाले सुन्दर भविष्य र सुरक्षित जीवनको मृगतृष्णा किन नबोक्ने ? नेताहरुसंग भरोसा नभए पनि नागरिक समाजका अगुवा हौं भनेर आउनेहरुको मान जनताले राखीदिए । तर अब कहिल्यै बन्द हडताल नहुने, अशान्ति नहुने रोजगारीको निमित्त विदेशिनु नपर्ने मुलुक बनाउने वाचा सबै हावा भए । परिस्थिति झनै विकराल वनेको छ । र यसैलाई उपलब्धी भनिएको छ ।

कारण जेसुकै होस, पात्र जोसुकै होस त्यहि राजाले २०४७ सालको संविधान बाहिर गएर पुनस्र्थापना गरिदिएको म्याद सकिएको टिके संसद तथा सरकारले आफुलाई स्थापना गर्ने संविधान र राजतन्त्र दुवै समाप्त गरेको घोषणा गर्‍यो । २०४७ सालको संविधान र राजतन्त्रको शिकार गरेपछि त्यसको बिलोस्वरुप देशका सम्पूर्ण साधनश्रोत बाँडने चलन चलेको छ ।

यो मुलुकमा महिनौं न्यायिक, प्रशासनिक वा आर्थिक निकाय नेतृत्व बिहिन हुन सक्छ । विश्व विद्यालयहरुको सम्पूर्ण काम ठप्प हुन सक्छ, सरकार बिहिन अवस्थामा देश र विभागीय मन्त्री विहिन मन्त्रालय हुन सक्छ । तर प्रमुख भनाँउदा दलहरुको विचमा बिलो बाँड्न भने रोकिनु हुँदैन । आफु मात्र हैन आफ्ना अनुकुलका विदेशी शक्तिहरुमा पनि त्यो विलो पुग्नु पर्दछ । यो नै त्यो आन्दोलनको उपलब्धी हो । अहिले त्यो विलोमा कुनै कुनै विदेशी शक्तिकेन्द्रहरुले आफुले ज्यादा भाग दावी गरे । त्यो रोक्न आफुले सधै हियाउने गरेको राष्ट्रवादको साहारा चाहिएको छ ।

शिकार भएको भने संसदिय प्रजातन्त्रको विश्वको उत्कृष्ट भनिएको २०४७ सालको संविधान हो । परापूर्वकालदेखीको तर भन्न भने २४० वर्षको भनिएको राजतन्त्र हो । शिकारी भने लोकतन्त्र र नयाँ नेपाल हो तर बिलो चाँही मुलुकको लगाईदै छ । जनताको शान्ति सुरक्षाको, जनताको नैसर्गिक हक अधिकारको लगाईदैछ । राजाले नारायणहिटी खाली गर्दा नगर्दै गुन्टा बोकेर मधेशका मसिहा बहाली गर्न पुगेका थिए ।

उहिले–उहिले जतिखेर शिकार गर्नु जायज थियो, जंगली जनावरको प्रचुरता थियो त्यसबेला हतियार बोकेर जंगलमा शिकार खेल्न जाने गर्दथे । सफल शिकार पछि शिकार भएको जनाबरको अंग प्रत्यंग शिकारमा सहभागीहरुमा तथा गाँउलेहरुमा भाग लगाईन्थ्यो । यो भाग पनि सहभागीहरुको योगदान, उनिहरको जुँगाको आधारमा हुने गर्दथ्यो । कुनै योगदान नहुने संगैका छरछिमेकीहरुलाई पनि केहि न केही हिस्सा पर्ने गर्दथ्यो । यसैलाई बिलो भनिन्छ ।

सम्पूर्ण अन्याय र अत्याचारको मुल भनिएको राजतन्त्र चलमल नगरी पल्टेको पनि निकै समय भयो । हिन्दु अधिराज्य झगडाको जड हो भनेर मुलुकलाई धर्मनिरपेक्ष बनाएको पनि धेरै भयो । तर थिचोमिचो घट्नुको साटो झनझन बढ्यो । धार्मिक असहिष्णुता यत्तिसम्म बढ्यो कि ईश्वर, गड वा खुदा कसैको ढोकामा गएर पनि सुरक्षित हुन गाह्रो भयो । नेताहरुले नागरिक समाजका अगुवाबाट ईमान्दारी सिक्लान भनेको त उनिहरुले पनि बरु नेताको बहानावाजी पो सिके । नेताको बेईमानीपन जंगलको डढेलो झै सर्बसाधारणमा पनि फैलदोछ ।


हिजोसम्म हरेक कुराको विरोध गरेर नायकत्व प्राप्त गर्न सजिलो थियो । तर अहिले मुलुक नै जिम्मा लागे पछि धान्न कठिन भई रहेको छ । मुलुक संञ्चालन गर्न राष्ट्रवाद चाहिने रहेछ, अनुशासन चाहिने रहेछ । जुनजुन कुरालाई राजाहरुको अन्याय भनेर भनिएको थियो त्यही कुरा चाहिने रहेछ भन्ने बोध भएको देखिदैछ । सामान्यरुपले भन्ने हो भने यी औजारहरु भए मुलुक चलाउन सकिन्छ । तर केवल औजारले मात्र कुनै काम सम्पन्न हुन सक्दैन त्यसलाई प्रयोग गर्ने शिप पनि चाहिन्छ ।

अहिले राष्ट्रवाद नामको औजार प्रयोग हुँदा त्यसमा शिपको कमी भएको प्रष्ट देखिएको छ । यसैले मुलुकलाई, मुलुकवासीलाई पनि कष्ट दिई रहेको छ । यी औजार प्रयोग गर्ने शिप नेपालको राजसंस्थामा छ । मुलुक बचाउने हो भने यसको कुनै अर्को विकल्प छैन ।

विराटनगर–१

प्रकाशन मिति:२०७२ चैत्र २५ गते विहीबार

SHARE THIS

Author:

Facebook Comment