आकाश पाताल गुड्डी हाँक्ने सरकार


–स्वयम्भुनाथ कार्की


नयाँ नेपालले साँच्चै अभुतपुर्व सरकार पाएको छ । दैनिक जसो नयाँ नयाँ परिकल्पना पस्कन सक्ने तर सामान्य कार्यसञ्चालन गर्न पनि नसक्ने वर्तमान सरकार नेपाल मै मात्र आभुतपूर्व हैन । विश्वभरी नै यस्तो सरकार भएको उदाहरण कठिन छ । कल्पनाशिलतामा त यो सरकार कुनै कवि वा आख्यानकार आदि भन्दा कयौं गुणा माथि छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको “उद्देश्य के लिनु , उडी छुनु चन्द्र एक” लाई चरितार्थ गर्दैछ । तर भुईंचालो पीडितलाई सहयोग आएको चामल झापाको गोदामबाट निकाल्न सकेको छैन, त्यही सड्दैछ ।

सरकारको यो प्रयत्नमा साथ दिने अत्यन्त सहनशिल जनताको साथको योगदान पनि कम छैन । पालमा अनन्तकालसम्म जीवन गुजारा गर्न तैयार छन् । गिठ्ठा भ्याकुरसम्म नपाए पनि भोकै मर्न तैयार छन् । तर हाम्रो निमित्त आएको खाद्यान्न खोई भनेर चुईक्क बोल्न तैयार छैनन् । हेलिकप्टरमा आएर सरकारले शिलान्यास गर्ने वित्तिकै अपूर्व आनन्दको अनुभुति भएको छ । पीडित त पीडित भई नै हाले तर उनीहरुलाई सहयोग वापत पेटकाटेर दिनरात एक गरेर राहत जुटाउनेहरु पनि चुप छन् । सरकारलाई वितरण गर्न बुझाएको आफ्नो सहयोग के भईरहेको छ भनेर सोध्ने छेकछन्द नै छैन ।

एक वर्षमा लोडसेडिङ समाप्त पार्ने कुरा अति महत्वाकांक्षी भयो भन्नेलाई नकारात्मक कुरा गरेको आरोप लगाउनेहरुले जिम्मेवारी बोक्नु परेको छैन । उनीहरुको काम भनेको सररकाले निरन्तर हाँकेका नयाँ नयाँ गुड्डीको प्रसस्ति गाउनु मात्र भए जस्तो छ । नत्र आधा वर्ष पार गरिसक्दा झन विकरालरुपले बढेको लोडसेडिङको जवाफ दिनु पर्ने थियो । नाकाबन्दी समाप्त भएको महिनौ भईसक्दा पनि चुलोमा ग्याँस पाइप त भएन नै तर भरी ग्यास सिलिन्डर देख्न पनि कठिन छ । तर जनता सन्तुष्ट छन्, कुनै कष्ट भएको छैन । भएको भए खै त “ऐया आथ्थु” ?

सरकारले हावाबाट निकालेको विजुलीको उज्यालो चुलोमा ल्याईदिएको पाइपको ग्यासले खाना बनाएर काठमाण्डौको मेट्रो रेलमा चढेर काममा जान जनता पर्खेर बसेको छ । तुइनको बदला झोलुङे पुल तरेर आफ्ना बालबालिका विद्यालय गएको जनताले झलझल देखेकै हुनु पर्दछ । नत्र भने यी परिकल्पना कार्यन्वयनको कुनै लक्षण नदेख्दा सोध्नु पर्ने होईन र ? काम नै शुरु नभई भनेको मितिमा जादुगरले छडी घुमाएर खरायो निकाले झै सबै कुरा फुत्त निकाल्न सकिने त पक्कै हैन । 

नेपाली जनतालाई चहिएको काम भन्दा सपनाको व्यापार रहेछ भनेर आज सम्पूर्ण विश्वले बुझ्दैछ । जनता जति पनि निचोरिन तैयार छन । कसैको नाकको निमित्त पेट कसेर ज्यान फाल्न तैयार छन् । तर खाना नपाएर केही फरक पर्दैन, सुरक्षा नहुनुले महत्व राख्दैन । राख्ने भए खै त त्यसको अभिव्यक्ति ? खै त माग ? कसैको राजनैतिक स्वाथ्र्यमा आफ्नो जीवन होम्न सक्ने जनताको प्राथमिकता के ? जनताले आफूलाई परेको प्रहारले दुखेको पनि अनुभूति गरेको देखिन्न । दुखेको भए खै त ऐया, खै त आथ्थु ?

कहिले महंगी भो भनेर सडक तताएको छ ? छैन । उपभोग्य वस्तु पाईएन भनेर विरोध जनाएको छ ? छैन । सुरक्षा चाहियो भनेर ज्ञापन दिन गएको छ ? छैन । काम गर्ने वातावरण भएन भनेर धर्ना दिएको छ ? छैन । व्यक्तिगत सम्पत्ति खोसियो भनेर चुइक्क गरेको छ ? छैन । तै पनि जनता सडकमा आएको छ, विरोध पनि गरेको छ । विरोधमा मुखर पनि भएको छ, अनि धर्ना पनि दिएको छ । विरोधका हरेक जायज वा नाजायज तरिका अपनाएको छ । ज्यान पनि फालेको छ, तर के का निमित्त ? 

जनता सफाई अभियानमा उत्रेको छ, तर त्यसको श्रेय कुनै दल वा गैरसरकारी संस्थाले पाउछ । आरक्षणको निमित्त ज्यान फालेको छ, त्यसको फाईदा दलहरुले भागवण्डामा गर्न लिएका छन । कुनै दल, गैर सरकारी संस्था आदिको निमित्त फुटाएको आफ्नो टाउकोले मरमपट्टी पनि भेट्दैन तर आयोजकका नेतृत्वका कृपापात्रहरुको हैसियत बन्छ । जनता अरुको निमित्त यति गर्न तैयार छ, तर आफ्नो निमित्त ऐयासम्म भन्दैन ।

यसैले नयाँ नेपालमा अभुतपुर्व पात्र र प्रवृतिको जगजगी छ । भुईचालो पिडितलाई घामपानीबाट बचाउन भन्दा पहिले नयाँ गोरेटोको प्रभुले आफ्नो निमित्त चर्च भेट्छन । सरकारको हरेक आकाश पाताल हाँक्ने गुड्डीले जनताको ताली भेट्छ । नेताले राज्य सम्पत्तिमा भागवण्डा भेट्छ । जनता चुपचाप उनिहरुको निमित्त रगत वगाउछ । आफु निचोरिएर कर दिन्छ जो भागवण्डामा प्रयोग हुन्छ । अनि यस्ता अभुतपूर्व जनता पाउँदा पनि गुड्डी नहाँक्ने त कुरै छैन । जनताले एक पटक “ऐया” मात्र गरेमा सबै पीडा समाप्त हुुन बेर लाग्दैन , तर “ऐया” त गरोस् ।

–विराटनगर–१

प्रकाशन मितिः २०७३ वैशाख १६ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment