मेलामा हराएको बालक र अभिभावक

–सन्तोष मिश्र

धेरै वर्ष अघिको कुरा हो, एउटा गाउँमा एकजना सानो बच्चा आफ्नो बाबुसँग निकै हाँसी खुशी बस्दथ्यो । एक दिन त्यो बच्चाले आफ्नो बुवालाई शहर बजार जान भन्यो । बुवाले सम्झाउँदै भने कि, हेर छोरा शहर ठीक हुँदैन, हामी आफ्नै गाउँमा नै खुशी छौं यहीं खान लान पाएकै छौं, यतै बसौं । तर बच्चाले आफ्नो बुवाको एउटा कुरा पनि सुन्न मानेन । उसले जिद्दी गर्दै रुन थाल्यो,  “भन्यो मेरा सबै साथीहरू शहर गएका छन्, हेरेका छन् म पनि जान्छु ।

अनेकौं किसिमले सम्झाई बुझाइ गर्दा पनि छोराले नमानेपछि अन्तमा छोराले भनेको मानेर बाबुचाहिंले छोरोलाई शहर लगेछ । शहर बजारको रमझम, चहलपहल हेर्दै मेला हेर्न पुगेछन् । बच्चा पहिलो चोटी शहर आएको देखेर निकै खुशी थियो । मेलामा अनेकौं पिङ, ठूला रेलगाडी,  थरिथरिका रमाइला दृश्य हेर्दै र खानेकुराहरू खाँदै रमाइरह्यो ।

आफ्ना पिताको औंला समातेर यताउती चारैतिर घुम्न थाल्यो । उसले आफ्नो पितासँग अनेकौं खेलौना माग्ने, उसले जे किन्न भने पनि बुवाले किन्दै गर्न थाले । त्यो बच्चा यसअघि कहिल्यै पनि त्यति खुशी थिएन । ऊ मेलाको रमझममा यति रमाउन थाल्यो कि उसलाई आफ्नो बुवाको औंला छुटेको थाहै भएन । ऊ मान्छेको भीडमा हरायो ।

ऊ आत्तियो, बुवालाई कहाँ कसरी खोज्ने भन्दै रुन कराउन थाल्यो । मेला, मान्छेको रमझम, खेलौना, खानेकुराहरू, पिङ, सर्कस उसको अगाडी थियो तर उसलाई केही राम्रो लागिरहेको थिएन । ऊ निरन्तर रोइ रह्यो । एक छिनमै उसको सबै उमंग, खुशी, हाँसो सबै हराइसकेको थियो ।

कारण ? आफ्नो पिताको औंला छुट्नु, एक्लो हुनु ।
उता बच्चाको बुवा पनि निकै चिन्तित थिए । उनको सन्तान हराएको थियो । सन्तानको हालत कस्तो होला ? केही भयो कि ? कसैले लेगे कि ? भनेर निकै चिन्तित भए र पिताले पनि आफ्ना छोरालाई खोज्न थाले, निकै बेर पछि बाबुले आफ्ना छोरालाई खोज्न सफल भए । बुवालाई फेरी पनि भेट्न पाएपछि छोरो निकै खुशी भयो ।

कथाको पात्र बालक नेपाली जनता हुन् जसले पात्र “पिता”ले भनेको एउटा कुरा पनि नसुनि “शहरको तामझाम” रुपी गणतन्त्रमा होमिन जिद्दि गर्‍यौं । कथामा पिताले जिद्दी सन्तानको खुशीकोलागि सहरको रमझममा ल्याएझैं राजा ज्ञानेन्द्रले पनि नेपालीलाई त्यसरी नै हाम्रो जिद्दी अगाडी झुके र हाम्रा चाहना पूरा गरिदिए ।

जनता शहरको तामझाम र मेला रुपी गणतन्त्रमा यति रुमल्लिए कि आफ्ना हातबाट पिता अर्थात एउटा कुशल अभिभावक गुमेको पत्तै भएन । हामी जनता यतिखेर अशान्तिको भूमरिमा छौं, जताततै कु–व्यवस्था, कुशासन, हत्या, हिंसा बलात्कार, अराजकता, बन्द हड्ताल चक्काजाम, तोडफोड, बन्दी, वैदेशिक हस्तक्षेप, परनिर्भरता लगायतमा पिल्सिरहेका छौं ।
जनताको यो हालत देखेर हाम्रा अभिभावक पनि खुशी छैनन् । उनी फेरी पनि जनतालाई खुशी भएको हेर्न चाहन्छन् । कथाका पात्र “बालक”लाई पिताको अभाव महसुश नहुँदै पिताले आफ्नो सन्तानको खोजी शुरु गरेझैं आफ्ना देशका नागरिकहरूलाई उनी स्वयं खोज्दै छन्, बारम्बार आह्वान गर्दै एकजुट हुन आह्वान गर्दैछन् ।

उनले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा पुस २६ गते  र त्रिभुवन जयन्तीको अवसरमा फागुन ०६ गते आह्वान पनि गरेका छन् । यदी हामी बेलैमा आफ्ना अभिभावकलाई चिन्न सकेनौं भने न त हाम्रो घर “नेपाल रहन्छ न त “अभिभावक” नै । त्यस्तो बेलामा हामी जति रोइकराइ गरेपनि पछुताउनु शिवाय केही प्राप्त गर्न सक्ने छैनौं । हामीलाई मेलाको भीडभाड, रमझम र अशान्ति चाहिएको छैन । हामीलाई कुशासन होइन सु शासन चाहिएको छ, हामीलाई एकतामा अनेकता होइन अनेकतामा एकता चाहिएको छ, अशान्ति होइन शान्ति चाहिएको छ, विनास होइन विकास चाहिएको छ भने आउनुहोस सबै नेपाली एकजुट होऔं । अस्तु । सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला यो कथा हरेक देशप्रेमी नेपालीको मन–मनमा जाला । अस्तु ।

प्रकाशन मितिः२०७२ फागुन १३ गते बिहीवार



राजा ज्ञानेन्द्रले पुस २६ गते के भनेका थिएः
जनताले कसलाई कस्तो दायित्व दिएका छन् प्रष्ट होसः राजा ज्ञानेन्द्र

राजा ज्ञानेन्द्रले फागुन ०६ गते के भनेका थिएः
धर्म, संस्कृति र परम्परालाई स्पर्श गरेर सही दिग्दर्शन तर्फ एक जुट होऔ 

यो पनि पढ्नुहोस्ः
राजसंस्था प्रति कसैको आशा कसैको डर

“गणतन्त्र” म्याद सकिएको औषधि सरह

पूर्व राजा ज्ञानेन्द्रको चेतावनी, जनता उत्साहित

SHARE THIS

Author:

Facebook Comment