दिग्भ्रमित नेतृत्वको प्रतिस्थापन आवश्यक: सन्दर्भ राप्रपा नेपाल

-स्वयम्भुनाथ कार्की

राजनीतिमा दलहरुको आवश्यकता जनता माथि हुकुम लाद्नको निमित्त हैन, जनताको प्रतिनिधित्व गर्नको निमित्त हो । व्यवहारले यसको उल्टो काम गरेपनि यस कुरालाई हैन भन्ने हिम्मत कसैले गरेको छैन । विभिन्न राजनैतिक दर्शनमा आधारित दलहरुको शक्ति भनेको जनताले दिएको विश्वास नै हो । वामपन्थी दलहरुको विश्वव्यापी असफतामा आफुले लिएको दर्शनमा वलात जनतालाई विश्वास गर्न वाध्य पार्नु नै हो । त्यसैले आधुनिक युगमा त्यसमा परिमार्जन गरेर जनताको मन जित्ने प्रयत्न आम भएको छ ।

वामपन्थी दलहरुमा पनि नेतृत्वको मुल्यांकन गरेर सतर्क गराउने कुराले स्थान बनाउँदैछ । वैचारिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता सामेल भएको प्रजातान्त्रिक भनिने दलहरुमा यो आवश्यक कुरा हो । सदस्यहरुको आवद्धताको कारण र प्रकारले व्यवहारत दलहरुलाई कार्यकर्ता आधारित, जनमानस आधारित र लक्ष्य आधारित तीन किसिमको मान्न सकिन्छ । नेपालमा उदाहरण लिने हो भने वामपन्थी दलहरु कार्यकर्ता आधारित दल हुन । नेपाली कांग्रेस जनमानस आधारित दल हो । राप्रपा नेपाल लक्ष्य आधारित दल हो ।

लक्ष्य आधारित दलहरु सो लक्ष्य अत्यन्त कठिन भएको अवस्थामा बन्छन् । यो बन्ने प्रक्रियामा नेतृत्व गर्नेसँग हुनुपर्ने एउटै योग्यता भनेको आफूलाई प्रकट गर्ने हिम्मत मात्र हो । राप्रपा नेपाल बन्दा पनि यही नै प्रक्रियाले बनेको थियो । रवीन्द्रनाथ शर्मा, पद्मसुन्दर लावतीहरु जस्ता अनेकको हिम्मत भन्दा कमल थापाको हिम्मत ज्यादा देखिन पुग्यो । यदि यसलाई त्यो वेलामा एक्लै उनीमात्र थिए भनिने हो भने त्यो चाप्लुसीको हद हुन्छ । काठमाण्डुमा कमल थापा गिरफ्तार भएका थिए भने मोरङका जेल पनि खाली थिएनन् । र यो कुरा काठमाण्डौ र मोरङमा मात्र सिमित थिएन ।

मञ्चहरु धेरै स्थानमा तोडिएका थिए । कमल थापाले व्यहोर्न नपरेको दुर्व्यवहार अरुले व्यहोरेका थिए । घर घेराउ र तोडफोड हुनेको सुची पनि सानो छैन । वर्तमानमा ती मध्ये धेरै राप्रपा नेपालमा छैनन् । केही समर्थनमात्र दिएर अन्यत्र बसे भने केही कमल थापा नेतृत्वको समितिद्वारा निष्काशित छन् । उनीहरुको 
अपराध के थियो भन्ने कुरामा भनिएको छ “पार्टी हित विपरित काम गरेकोले” । उनीहरुले गरेको कुन काम त्यस्तो थियो भन्ने पनि भनिएको छैन भने त्यो ठहर ठिक हो कि हैन भनेर जान्ने अधिकार अरुलाई हुने कुरै भएन ।

केवल यो सोचको दल बन्नबाट रोक्न ल्याईएको दल दर्ता गर्न दशहजारको सही चाहिने व्यवस्था विफल बन्ने गरेर पचासौं हजार सही संकलन गर्न न एक्लै कमल थापा निस्केका थिए न राप्रपा नेपालका कार्यकर्ताहरु नै । सो लक्ष्यलाई आफ्नो ठान्नेहरुले फारम लिएर सही संकलन गरेर उनका कार्यकर्तालाई दिएका थिए । साधन र श्रोत समेत आफै जुटाएर दल खोल्न मद्दत गर्नेहरु, लाखौ शुभचिन्तकहरु सबैको साझा लगानीको प्रतिफल हो राप्रपा नेपाल । अन्य दल जस्तै फलाना नेता वा फलानाको समुहको भनेर वर्चश्व राख्न सकिने दलमा परिणत हुने वित्तिकै राप्रपा नेपालको औचित्य समाप्त हुन्छ ।

वर्तमानमा राप्रपा नेपालमा चार किसिमका सदस्यहरु देखिएका छन । पहिलो सिद्धान्तवादी, जो सबै थोक भन्दा लक्ष्यलाई महत्व दिन्छन् । लक्ष विपरित नेतृत्व गएको अवस्थामा कारवाही वा निलम्बनको डरले चुप लागेर बस्दैनन् । यहि नै हुन् राप्रपा नेपालका आधारशिला जसलाई हटाईयो भने दल नै ढल्न सक्छ । दोश्रो आशावादी, सिद्धान्तवादीहरु जसमा अझै नेतृत्वमा आवश्यक सुधार आउने छ र फेरी सही बाटो लिएर बढने छ भन्ने आशा बाँकी छ । वास्तवमा उनीहरु विगतमा नेतृत्वले देखाएको हिम्मत, कौशल र क्षमताको मुल्यांकन गरेर अर्को मौका दिनु पर्दछ भन्ने सोच राख्छन् । तर लक्ष विपरित भएको काम भने मन पराउँदैनन् ।

तेश्रो मल्खुवादी, यस्तालाई लक्ष सिद्धान्त आदिसँग कुनै सरोकार नै छैन । दलले प्राप्त गरेको शक्तिबाट अर्जित गर्न सकिने हरेक फाईदामा भागिदार हुन चाप्लुसीको कुनैपनि स्तरमा पुग्न सक्छन । कथं दलले त्यो शक्ति गुमाएको अवस्थामा नेतृत्वको कटुआलोचना गर्ने र दल नै परित्याग गरेर अर्को शक्तिशाली तिर लाग्ने हुन्छन् । अर्थात “जता मल्खु त्यता ढल्कु” । चौथो कथावादी, यस्ताको लक्ष्य, सिद्धान्त सबै कथा अर्थात कमल थापा हो । उनको क्षमता, भाषणकला, व्यक्तित्व आदिका समर्पित भक्त भएका यस्ता सदस्यहरुको निमित्त संसार नै कमल थापाबाट शुरु हुन्छ क.था.मा नै समाप्त । जसरी सिद्धान्तवादी लक्ष्यको सामुन्ने अरु केही ठूलो देख्दैनन् त्यस्तै यिनीहरु कथाको सामुन्ने अरु केही ठूलो देख्दैनन् ।

आज हरेक राप्रपा नेपालका सदस्यहरुले आफु भित्र चियाएर कुन किसिममा पर्दछु भनेर हेर्ने वेला हो । संविधानमा सबै प्रान्त लगायत केन्द्रमा समेत दुई तिहाई स्थान पुर्‍याएर जे पनि संशोधन गर्न मिल्ने प्रावधान छ । कमल थापाले देखेको वा देखाउन खोजेको बाटो त्यही नै हो । सैद्धान्तिक रुपले यो संभव पनि छ तर के व्यवहारिक रुपले यो संभव छ त ? कुनै एक दलले संसारभरी त्यसरी बहुमत प्राप्त गरेको उदाहरण कति छन ? भारतमा केन्द्रमा प्रचण्ड बहुमत ल्याएको विजेपी प्रान्तमा गुल्टिदैछ । यो बहुमत ल्याउन पनि करोडौ स्वयंसेवकहरुले ६३ वर्ष मेहेनत गर्नु पर्‍यो । 

करिव ४ प्रतिशत स्थान ल्याउदा त भुईमा न भाँडामा भएर उम्लने राप्रपा नेपालको नेतृत्वले दुई तिहाई पुर्‍याउन सक्छ ? अहिले थप्दै जानु पर्ने बेलामा हजारौ सदस्यहरुलाई भटाभट निलम्बन गर्ने नेतृत्वमा त्यो ल्याकत होला भनेर पत्याउने आधार के ? यो प्रश्न आज राप्रपा नेपालका हरेक सदस्यले आफूले आफैलाई गर्नु पर्ने बेला भएको छ । कि त यो असंभव कुरा रहेछ भनेर हिन्दू अधिराज्य र सर्वसाधारणको राज्यव्यवस्थामा प्रत्यक्ष भागिदारी सहितको केन्द्रिकृत प्रणालीको लक्ष्य छोड्नु पर्‍यो । हैन भने नेतृत्वले अपनाउन खोजेको बाटो गलत छ भनेर नेतृत्व बदल्न पर्‍यो ।

विराटनगर–१

प्रकाशन मितिः २०७३ जेठ ०६ गते विहीबार

SHARE THIS

Author:

Facebook Comment