यसरी निम्त्याउँछ गरिबीले अपराधहरु

-सीता पौडेल
  बाल्यअवस्थामा पिङमा मच्चिमच्ची आकाश छुने रहर कसलाई हुँदैन र ? रहर गर्नु कुनै अपराध पनि त होईन ! तर हरेक रहर पूरा गर्न गलत बाटो अपनाउनु भने अपराध हो । आजभोलि यस्तै अनौठा खालका विकृतिहरुले सिमारेखा कोर्दै छ त्यो सिमारेखा झन् भन्दा झन् फराकिलो हुँदै गैरहेको छ । त्यसमा गरिबी पनि पर्दछ ।
कुरा गरौं गरीबीको छाना मुनि हुर्कने बालबालिकाहरुको । सधैं अभावै अभावमा हुर्कने गरेका बालबालिकाहरुको मन मस्तिष्कमा गरिबीले एक प्रकारको नराम्रो छाप पारिसकेको छ ।

उनीहरुका सानातिना रहरहरु पूरा नहुनु, खान इच्छ्याइएको कुरा खान नपाउनु, अरुले सुन्दर वस्त्र पहिरिएर हिंडेको देख्दा आफ्नो शरीरको च्यात्तिएको लुगाले गिज्याईरहेको भान हुनु र अरु स्कुले लुगामा ठाटिएर स्कुल गएको देख्दा र आँफु सानै देखि काममा खटिनु परेको कुराले उनीहरु भित्र गरिबीलाई लिएर एक प्रकारको घृणा भनु या आक्रोशले डेरा जमाएको हुन्छ ।

जतिजति उमेर बढ्दै जान्छ त्यति त्यति उनीहरुमा गरिबीको त्यो छाप गहिरिदै जान्छ । खाने, लगाउने र पढ्ने यी इच्छा मात्र नभई घरको कुनै सदस्य बिरामी पर्दा बेलामा सहि उपचार नपाउनु र कहिलेकाहीँ मृत्यु नै भएर आफन्तलाई गुमाउनु पर्ने स्थितिले पनि तिनीहरूको मन मस्तिष्क नै हल्लाएर राखिदिन्छ ।

यी यावत कुराहरूको चोटले मार खाँदै हुर्कदै गरेका हुनाले उनीहरु भित्र त्यो गरिबीपनलाई सधैंको लागि समाप्त गर्ने सोचले जरो गाड्छ र उनीहरू सारा हद पार गर्न पछि पर्दैनन् । फलत: उनीहरूबाट अपराध हुन पुग्छ ।

सुरुवात सानोतिनो चोरी पाकेटमारबाट हुन्छ भने, पछिका क्रमहरुमा लुट्ने, डकैती गर्ने, गुण्डागर्दी गर्ने अनि लागु पदार्थको ओसारपसार गर्ने काममा पनि संलग्न हुन पुग्छन् । बलात्कार र हत्या गर्न सम्म पनि पछि पर्दैनन् ।

पैसा उनीहरुको लागि एउटा नशा जस्तै बनी सकेको हुन्छ । विस्तारै आफू जस्तै साथीहरू भेटेर उनीहरु आफ्नै अखाडा र अड्डाहरु खोल्दछन् । जहाँ आफ्ना गैंगहरुसित मिलेर नशालु पदार्थको सेवन गरेर मस्त हुँदै आफ्नो अलग्गै दुनियाँमा रमाउँछन् ।

त्यसै गरि बालिकाहरु पनि गरिबीका कारण आफ्ना हरेक इच्छा अनि चाहनाहरु दबाउँदै हुर्किन थाल्छन् । उनीहरुमा पनि समय अनुसारको भित्री चाहना र इच्छाहरुले ढोका ढकढक्याउन थाल्छ । बढ्दो उमेर संगसंगै उनीहरुका इच्छाहरु तिव्र हुन थाल्छन् ।

राम्री देखिन, राम्रो लगाएर हिंड्न उनीहरूको यो इच्छालाई पूरा गर्न चेलीबेटी बेचविखन गर्ने जमातले राम्रो मौका पाँउछ, फलस्वरूप पैसा, माया मोहको जञ्जालमा फस्न पुग्छन् र बेचिइन्छन् ।

कोहीकोही त हरेक समस्याबाट बाध्य भई आफ्नो अगाडी अरु कुनै बाटो नदेख्दा आफू खुशी नै आफुलाई बेच्न बाध्य हुन्छन् र देह व्यापार सुरु गर्छन् ।

यसरी गरिबीले पनि निम्त्याउँछ अपराधहरु । यस विषयमा राज्यले अलिक गम्भीर भएर जनचेतना स्वरुपको केही कार्यक्रमहरु संचालनमा ल्याएर बालबालिकाहरुको मस्तिष्कमा परेको छापलाई शिक्षा अनि चेतनाको मद्दतले दुर गर्न सके देशमा घट्ने जघन्य अपराधहरुमा केही कमी आउँथ्यो कि...?

प्रकाशन मितिः २०७३ जेठ ०६ गते विहीबार

SHARE THIS

Author:

Facebook Comment