विकृति नै अपराधको रुप हो

-सीता पौडेल

समय परिवर्तनशील छ र समयको माग अनुसार हामी पनि परिवर्तन हुन्छौं । तर परिवर्तनको नाउँमा विभिन्न विकृतिहरु भित्र्याएर परिवर्तन ल्याउनु हामी आफैंको लागी दुर्भाग्य बन्न पुग्छ । जानीनजानी या आधुनिकताको होडबाजीमा हामी आफ्नो संस्कारबाट धेरै माथि उठेर परिवर्तन चाहन्छौं जस्ले आपराधिक गतिविधिलाई निम्त्याउने गर्छ ।

पछिल्लो लेखमा “यसरी निम्त्याउँछ गरिबीले अपराधहरु” भनेर गरिबीको पाटोलाई औंल्याउने कोशिश गरेकी थिएँ भने आज म विभिन्न खालका गतिविधिहरुलाई राख्ने कोशिश गर्दै छु, यो मेरो नितान्त निजी विचार हो ।

आजभोलि एक पछि अर्को भइरहेको आपराधिक घटनाको बिगबिगीले देशमा एक प्रकारको संत्रास नै फैलिएको अवस्था छ । पटक–पटक बलात्कार अनि हत्याको कारणले घरबाट बाहिर निस्कन डराउनु पर्ने अवस्था छ । निस्किए पनि गन्तव्य सम्म सहि सलामत पुगिन्छ कि नाई त्यसको पनि कुनै टुंगो हुँदैन ।

आधुनिकताको होडबाजीले भित्रिएको विकृतिमा एउटा पक्ष खोलिएका र छोटा पहिरन पनि हो, जसमा हाम्रा देशका चेलीहरु रमाउने पनि गर्छन्, तर उनीहरूले बिर्सीरहेका हुन्छन् कि यस्ता छोटा वस्त्र हाम्रो संस्कार भन्दा धेरै टाढा छ । यस्ता पहिरनले समाजमा विकृति त ल्याउँछ्, ल्याउँछ् साथै विपरीतलिङ्गीलाई आकर्षित गरेर अपराध गराउन पुग्छ । शरीरको विभिन्न अंग देखाएर अति नै छोटो वस्त्र लगाउँदैमा सुन्दर अनि आधुनिक देखिन्छु भन्ने जुन सोचले हाम्रो दिमागमा जरो गाडेको छ त्यो नै सबैभन्दा ठुलो भुल हो ।

अर्को पक्ष हो वातावरण र माहौल । वातावरण या माहौलले पनि त्यतिकै भुमिका खेलेको हुन्छ । घरायसी वातावरण जसमा घरपरिवारले आफ्नो सन्तानको रहनसहन उठबसमा ध्यान दिन अति जरुरी छ । जसबाट हामी केही हदसम्म भए पनि सुरक्षित हुन सक्छौं । छोराछोरी दुबैलाई राम्रो शिक्षा, संस्कार दिने र एउटा साथीको भुमिका निर्वाह गर्दै तिनीहरूसँग नजिकिएर तिनीहरुको गतिविधि बुझ्न सकिन्छ जस्ले गर्दा उनीहरुको गल्तीहरुलाई औंल्याउन धेरै सजिलो हुन्छ ।

केटीहरुको कमजोरी पक्ष कुनै केटाले उसको सुन्दरताको प्रसंशा मात्र पनि गरिदियो भने पनि उनीहरु खुशी हुन पुग्दछ्न् र विस्तारै नजिकिन पुग्दछ्न् र यो थाहा पाउँदैनन् कि केटाको त्यो प्रसंशा भित्र लुकेको डर लाग्दो कालो कर्तुत जस्को लागि उसले मौका पर्खीरहेको हुन्छ र मौका मिल्ना साथ गिद्धले सिनो झम्टे झैँ झम्टिन्छ । फलस्वरूप बलात्कार हत्या जे पनि हुन पुग्छ ।

भन्न मन लाग्यो “तातै खाउँ जल्दै मरु” भन्ने जस्तो सोचले पनि विनाशको भुमरीमा निम्त्याएको हुन्छ । क्षणिक आनन्द र खुशीको लागी अन्धो बन्न पुग्छन्, जब आँखा खोलिन्छ तब सम्म विनाशको भुमरीमा भासिइ सकेका हुन्छन् । जब गलत नतिजा आउँछ तब त्यहाँ पनि हत्या या आत्महत्याले धावा बोल्दछ । त्यसैले पटक–पटक देखे सुनेका यस्ता घटनाहरुलाई नदेखे झैँ गरेर लापरबाही गर्नु नै महाभुल हुन जान्छ ।

एउटा हत्याको केस सेलाउन नपाउँदै अर्को केश घट्न पुग्छ । अति नै संवेदनहीन बनेको हाम्रो कानुन जस्को फाइदा अपराधीहरुले राम्रैसँग उठाइ राखेका छन् । पैसाको चलखेलले पनि धेरै अपराधहरु हावाले बढारेको धुलो जस्तै भएका छन् । र अपराधीहरु खुले आम घुमी रहेका छन् जसले फेरि अर्को अपराध नगर्ला भन्न सकिन्न ।

पटकपटक घट्ने घटनाहरुले सतर्कता अपनाउने चेतना दिंदादिंदै पनि त्यो चेतनालाई आत्मसाथ नगर्नु नै अपराधलाई निम्त्याउनु हो । प्रत्येक पटक घटेका घटनाहरुले केही दिन अपराधीलाई फासी दे भनेर नारा जुलुसले माहौललाई निकै तताउँछ तर केही समय पछि सेलाएको खरानी जस्तै भएर सेलाउन पुग्छ । हत्या र बलात्कार मानौं एउटा गुडियाको खेल भएको छ ।

पीडितहरु विवशताको आँसु पिएर बस्दछन् भने अपराधीहरु खुनको रंगले होली खेल्दै जस्न मनाउँछन् । त्यसैले सक्दो रुपमा बिनालापरवाही आफ्नो सुरक्षा आफैं गर्ने कोशिश गरौं । अपराधीलाई नजिकिँने त्यस्तो कुनै मौका नदिनु नै बेस हुन्छ । आफुसँग भएको शिक्षा र चेतनालाई प्रयोग गर्दै आफ्नो लागि सहि वातावरण बनाउने कोशिश गरौं । र केटाहरुले पनि अरुका चेलीबेटी हाम्रा पनि चेलीबेटी हुन् भन्ने कुरालाई आत्मसात गरुन् । आफु पनि बाँचौ र अरुलाई पनि बचाउँ ।

प्रकाशन मितिः २०७३ जेठ २७ गते बिहीबार

SHARE THIS

Author:

Facebook Comment