“मानव मन”: चोर–डाकाको लुक्ने ओडार र गुफा

-प्रभा ढुंगाना

मानिसको मनभित्रबाट निस्कने खराब विचार जस्तै: व्यभिचार, चोरी, हत्या, वेश्यागमन, लोभ, दुष्ट पना, ठगी, लुच्याई, कुदृष्टी, निन्दा, घमण्ड, मुर्खता यी सबै कुराहरुले मानिसलाई अशुद्ध पार्छन् । थाहा छैन मानिस किन यति निच र अब्यबहारिक हुन्छन । मानवता भन्ने कुरानै बिर्सी सके आज भोलि । मानिसहरु आफ्ना असिमित आवश्यकताहरु पूरा गर्न अनेकौं कुकार्यहरु गरिरहेका हुन्छन् ।

मानिस हरेक दिन उन्नतिको शिखरमा चढ्दै छ । यसको दाँजोमा उसको आफ्नै चरित्र नाश भएर जिउदो प्रेतको नमुना बन्न पुगेको छ । हाम्रा बाबु बाजेले भन्ने गर्थे “वनको बाटो नजाउ बाघ भालुको फेला परौला”। तर आज ती हिंस्रक जनावर भन्दा घातक प्रेत मानिस नै भएको छ । आज एकान्त ठाउँमा जङ्गली हिंस्रक जनावरलाइ देखेर होइन मानिसले मानिसलाई नै देखेर डराउनु पर्ने अवस्था सिर्जना भएको छ । यसको अर्थ मानिसको अन्तरात्मा साह्रै भ्रष्ट भएर गएको छ । उसको विचार, भावना, तथा व्यवहार पशुको भन्दा पनि अति नै निच छ । वथानमा एउटा बाँदर बिरामी भई खाना नखाएर सबै बाँदरहरु चिन्तित भई भोकै बस्छन् तर मानिस्ले मानिसकै मुखमा लगिसकेको गाँस पनि खोसेर खाइदिन्छन् । बिरामी भइ उपचार गर्न केही पैसा सर सापटी वा घर घडेरी बन्धकी राखी उपचार गराउन अस्पताल गएको विरामीको सबै पैसा अर्काले चोरिदिन्छ । सान्सारीक धन सम्पती, मान र इज्जतको कारण मानिसले मानिसलाई नै हत्या गर्ने दाउ खोजिरहेको हुन्छ ।
एकले अर्कालाई घात गर्न घातक हतियार लिएर एकान्त ठाउँमा ढुकिरहेको हुन्छ । फेला परेमा भए भरको सामान लुटेर पनि उल्टै मारिदिन्छ । यदि ऊ भित्र अलिकती मात्र मानवता भइदिएको भए सायद यस्तो हुन सक्ने थिएन होला । बौलाहा कुकुरलाई सुन्दर बालबालिका को के मतलब झम्टेर टोकिदिन्छ । त्यस्तै निष्ठुर, कठोर तथा पतित मानिसहरुलाई दिन दु:खीको के वास्ता ? उसले त मानवताको मूल्य र मान्यतालाई सडकको धुलो बराबर ठानेको हुन्छ कमिलालाई एक थोपा मह या थोरै चिनी खसालिनिने हो भने त्यस कमिलाले अरु त्यस्ता थुप्रै कमिलाको उत्पति गराइदिन्छ । मानिसले भने आफ्नु परिवारको पनि वास्ता नगरी होटलमा बसेर फजुल खर्च गरिरहेका हुन्छन् । संसार यति डरलाग्दो बनेको छ कि कतै आफ्नै घर भित्र कसैले बम पड्काइदिने त होइनन ?

बिहान बेशी खेतमा काम गर्न गएको मान्छे घुम्ती खोल्सातिर चोरको फेला पर्नेत होइन ? यस्तै अनेकौं डर र त्रासले पिरोलिएको छ । यसरी मानिस जाती उन्नतिको शिखरमा चढ्दै गएता पनि उसमा हुनुपर्ने मानवताहरु क्षण मासिदै गएको छ । उ पनि म जस्तै मानिस हो र मलाई जस्तै उसलाई पनि भोक, तिर्खा लाग्छ भन्ने सोचाइ छैन । अरुको अन्याय र अत्याचारमा मलाई असहय हुन्छ भने उसलाई पनि त्यस्तै हुन्छ । खोइ मानिसमा यस्तो प्रकारको विचार अनि भावना ? मानव अधिकारको सट्टामा दानवाधिकार भइरहेकोछ यहाँ । जताततै घटिरहेकामाथिका घटनाहरु अमानवियताका जलन्त उदाहरणहरु तथा मानव असभ्यताका परिचायक हुन । साँच्चै भनौं भने मानिसको “मानव मन” चोर, डाकाको लुक्ने ओडार र गुफा बन्न पुगेको छ । तितेपाती तितै भएर उम्रे झै मानिस पनि पापी स्वभाव नै लिएर जन्मेको हुन्छ । कुकुर स्वाभावैले भुक्छ, सुङ्गुर स्वभावैले हिलोमा जान्छ । मानिसले पनि स्वभावैले पाप गर्छ । डकैती, हत्या, बलात्कारी जस्ता स्वभावहरु मानिसको आत्मा भित्रै लुकेर रहेका हुन्छन् । मौका पाउने बित्तिकै ती सबै बाहिर आउने गर्दछन् ।

प्रकाशन मितिः २०७३ जेठ १३ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment