कसरी भाच्लान त अब लाजमान्डूको रेलिंग

– जनकमान डंगोल

अस्ति काम विशेषले नयाँ नेपालको राजधानी जानु पर्यो । नयाँ नेपाल भन्ने देशको राजधानी लाजमाण्डूमा पर्छ । लाजमांडूको रत्नपार्कबाट राजदरबार हुँदै उत्तर ढोका जाने क्रममा जय नेपाल फिलिम हलको बाटो हुँदै पैदल यात्रा गरियो । सडकको पेटी पेटीहरुमा गज्जब गज्जबका फलामे रेलिंग हालेका रैछन् । भैंसी हैन हात्ती बाने पनि उखाल्न नसक्ने गरि सिमेन्टले जाम गरेर बनाका ती फलामे रेलिंग आन्दोलनकारीको लागी सौता साबित हुने देख्दैछु ।

देशको राजधानी लाजमांडूमा पहिला निरंकुश पञ्च सर्खारको पालामा बनाएर राखेका रेलिंग भाँच्नेहरु कम्निष्ट पार्टी एमालेका भुराहरु हुन् । महाकाली सन्धि धोखा हो भन्दै टनकपुरको टनटनमा धेरै रेलिंगहरुलाई सहिद बनाएको पनि देखेकै हौं ।

सरकारमा हुन्जेल मुखमा मह हालेर बस्ने र सरकारबाट बाहिरिए पछि नयाँ सरकारसँग निहुँ खोज्ने चलन नयां र नौलो हैन । प्रतिपक्षहरुलाई निहुँ खोज्न कुनै आईतवार आउनु पर्दैन हजुर । कुनै दिन कर्णाली सन्धि धोखा हो भन्दै फेरी आन्दोलन गर्न बेर लागाउँदैनन् ।

हिजो काँग्रेससँगको मिलिजुली सरकार हुँदा भारतसँग कर्णाली सम्झौता गर्नु हुन्न भनेर मुखारी भन्न सकेनन् तर घामका केहि थान भुराहरुले सामाजिक संजालमा तितो पोखेका थिए ।

त्यो कर्णालीको सम्झौता काँग्रेसले गरेको हो तर साक्षी त आफ्नै पार्टीका सरकार पनि थियो । हिजो महाकाली सन्धिमा पनि साक्षी किनाराको सदर भाको पनि देखिएकै हो । हुन त महाकाली सन्धि पनि कांग्रेस र एमाले मिलेर गरेका हो भन्छन् । नदि नाला र खोला देखि ठुला ठुला विकास निर्माणको ठेक्का पट्टा त देख्नै हुन्न काँग्रेसलाई । सरकारमा पुग्यो की माइतीलाई दाईजो दिएझैं जन्मदाता भारतलाई दिन हतार हुन्छ ।

अहिले घाम पार्टी राष्ट्र देखि सरकार प्रमुखमा छन् । कम्युनिष्टका जन्मजात विरोधि काँग्रेसीहरु हुन् । काँग्रेसका जन्मदाता स्व.बिपीले कम्युनिष्ट संगत गर्नु हुन्न भन्थे र आफु जिम्दो छउन्जेल गरेनन् पनि । पजेरो जन्मदाता काँग्रेसी देउवा ग्यांगका केहि थाने नेताहरु सरकारमा जान मुर्मुरियर बसेका छन् ।

जनयुद्ध गरेर देशमा आमुल परिवर्तन ल्याएको हामीले हो भन्ने नाईकेहरुका केहि बफादारेहरु पनि ठुला मन्त्रालय खान नपाएर रिसले मुर्मुरिएर बसेका छन् । तिनीहरुले पनि अध्यक्ष कामरेड प्रधानमन्त्री बन्नु पर्छ भनेर उचालेको पनि देखिएकै हो । घामभित्रका गुटेहरुको पनि कुनै भर छैन । कुन दिन अर्को दामदेब बनेर आफ्नै सरकार ढाल्न बेर लाउँदैनन् । यो सत्ता भन्ने जिनिस त तिन्पाने खोया भन्दानि डेन्जर हुन्छ हजुर डेन्जर ।

आन्दोलनमा हिंसात्मक भएन भने मज्जानै आम्दैन रे भन्छन । पुलिसको टाउको टाउको ताकेर गुलेली हान्ने देखि बोतलमा प्याट्रोल भरेर त्यसां सलेदो सल्काएर आगो लायो भने प्याटुल बम भन्ने खत्राको जिनिस बन्छ र त्यो बम ताकी ताकी पुलिसलाई हान्नु जस्तो ठुलो मज्जा अरु केमा आउँछ र ? त्यसरी हान्दा घामका भुराहरु आफुलाई सगरमाथा बिजयी तेन्जिंग नोर्गे शेर्पा भन्दा नि ठूला ठान्छन् । राँके जुलुस निकाल्दा राँको पुलिसको जिउमा झोस्न समेत महारत छन हाम्रा पार्टीका आन्दोलनकारीहरु । नेपालको पुलिस पनि आफ्नै देशका नागरिकहरु नभएर सिंगापुरे देखि ब्रुनाईका फौज जस्तै भाडाका सिपाहीहरु हुन भन्ने मनस्थिति पालेसी कसको के लाग्छ र ?

भोलि सरकारमा नभएसी बेरोजगार बन्ने स्थिति आउँछ । अहिलेको सरकारलाई सधैंको लागि भनेर टिका लाएर दिएको पनि पनि हैन । कार्यकर्ता भनेका राजनीतिक पार्टीहरुका खत्रा हत्यार हुन् । हथियारमा खिया लाग्यो भने त्यसले काम गर्दैन । त्यै भएर हथियारमा धार समय समयमा लगाउनु पर्छ । राजनीतिक भाषामा हथियारमा धार लाउनु भनेको खत्राखत्रा आन्दोलन गर्नु हो तर आन्दोलनको क्रममा अहिले लाजमांडूमा हालेका रेलिंग आन्दोलनकारिहरुको लागी फलामको च्युरा बन्ने त हैन ?


प्रकाशन मितिः २०७३ जेठ ०६ गते बिहीबार

SHARE THIS

Author:

Facebook Comment