देशान मसान, मान्नेलाई लाग्छ अरुलाई लाग्दैन

सूर्यचन्द्र
संसारभर नै देशान, मसान, भुतप्रेत, हावा वायु मान्ने गरिन्छ । मान्नेहरुले मान्छन् भने नमान्नेले मान्दैनन् । धामी झाँक्री, पीर नजुमी, सेन्ट आदि सबै संस्कृतिमा यस्ता भुतपिशाच, देशान मसान मन्छाउने गुनीहरुको अस्तित्व छ । अनेकौ चमत्कारका कुराहरु पनि प्रचलित छन् । अनौठो कुरो के छ भने यस्ता शक्तिबाट पिरोलिनेहरु त्यसको अस्तित्व मान्ने मात्र छन् । परापूर्वदेखि नै नमान्नेलाई यी शक्तिहरुले पिरोल्न सकेका छैनन भने मान्नेलाई छोडेका छैनन् ।
भनिन्छ एकथरीको कुलायन धेरै नै शक्तिशाली थिए अरे । मान्नमा सानो चुक भयो कि पीर्न शुरु गरिहाल्ने । धेरै नै दिक्क भएपछि तिनीहरुले कुलायनलाई नै नदीमा बगाईदिए अरे । त्यसपछि ढुक्क, पिर्न नै बन्द । अहिले अरुको कुलायन पुजा देखेर फेरी स्थापना गर्न खोज्दैछन अरे । देशान मसान, भुतप्रेत, कुलायन आदि नाम गरिएको कुनै शक्ति हुन्छ या हुन्न भन्ने कुरामा बहस गर्नै पर्दैन । देशान मान्नेलाई देशानले प्रभाव पार्छ, मसान मान्नेलाई मसानले । मसान मान्ने देशान नमान्नेलाई देशानको प्रभाव पर्दैन, देशान मान्ने मसान नमान्नेलाई मसानको प्रभाव पर्दैन ।

नेपालमा आजकल राष्ट्र र राष्ट्रवाद भन्ने परिभाषा पनि बुझ्न नखोजी फेशनको राष्ट्रवादी हुने धेरै छन । यस्ताले निमित्त भारतको धनघोर विरोध गर्नु चीनको पाउमा लम्पसार पर्नु राष्ट्रवाद हो । राष्ट्रवाद भनेको कसैको विरोध वा समर्थन हैन आफ्नो राष्ट्रप्रति समर्पण हो । यो कुरा भन्नेलाई यिनीहरु त्यसलाई भारतीय एजेन्ट बनाउन बेर लाउन्नन् ।

आफ्नो राष्ट्रको हित नगर्ने जो कोही राष्ट्रवादीको शत्रु हुन्छ । आफ्नो राष्ट्रको हित गर्ने राष्ट्रवादीको मित्र । भोली हितको स्थानमा कुभलो चिताउन थाल्यो भने शत्रु हुन्छ, हित नचिताउनेले हित चिताउन थाल्यो भने मित्र । मित्र भनेको केवल मित्र, मालिक या ठूल्दाई होईन ।

यो फेसनको राष्ट्रवादे वास्तवमा भ्रान्तिवाद हो । दालमा नुन चर्को भयो भने भान्से भारतेली एजेन्ट, भात नै डढ्यो भने “र” । मानौ नेपाल र नेपालीको भुसुना बराबर पनि हैसियत छैन । त्यसैले त्यस्ता एजेन्ट ठिक पार्न चीनको सहयोग आवश्यक छ । राष्ट्रसंघमा कुरा पुर्‍याउनै पर्छ । यो पानीमरुवा सोचले नेपाल र नेपालीलाई गरेको अपमान चैं राष्ट्रवाद हो ?

बाहिरी देशको नेपालभित्रका कुराहरुमा हात छैन भन्न पटक्कै खोजिएको हैन । जसले पनि मौका देख्दा त्यहाँबाट आफ्नो फाईदा खोज्छ नै । हाम्रै नेताहरु भारतका प्रान्तिय नेताहरुसंग लम्पसार परेर राजनीतिमा परमानन्द पाँउछन भने भारतको प्रभाव त हुन्छ नै । तर त्यो प्रभावलाई जनताको जीवनशैलीसम्म पुग्न उग्रविरोधीहरुले सहायता गरेका छन् ।

भारतले नै यस्ता उग्र विरोधहरु प्रायोजन गर्ने गर्दछ । हरेक यस्ता विरोधले नेपाल हारेको छ र भारत जितेको छ । विश्वास लागेन ? केही उदाहरणहरु पेश छन । कोशी सम्झौता, जसमा नेपालले कम पाएको थियो, तर यसको विरोध गराएर पछि त्यो कम पनि दिन नपर्ने भयो । सम्झौता अनुसार लौकहीमा बनाईनु पर्ने संरचनाहरुको सुरसार नै छैन, नेपालले भुलिसक्यो । नेपालको भागको पश्चिमी नहरको हालत व्यारेजमा गएर हेरे हुन्छ ।

विवादित १९५०को सन्धी धेरै कुरामा यो असमान छ । असमान हुँदाहुँदै आफ्नो पक्षमा भएका थोरै कुरा पनि पाउन नेपाल बन्चित भएको छ । यसलाई पालन गरेमा भारतीयहरुलाई नेपाली नागरिकता दिनै पर्दैन भारतिय परिचय पत्र भए पुग्छ । बसोवासको, रोजगारीको अधिकार उनीहरुले पाउँछन तर नेपालको शासनमा भगिदारी पाउन्नन् । यो रोक्नाले भारतीयको प्रवाह रोकिएको छैन बरु नागरिकता बाँडिनाले नेपालको शासन व्यवस्थामा पनि भागिदारी पाएका छन् ।

हरेक कुरामा विदेशीको षडयन्त्र देख्ने हो भने त्यसको मात्रा बढ्दै जान्छ । त्यसको अस्तित्व नमानेर सामना गर्ने हो भने प्रभाव घटदै जान्छ । यस्तो प्रभाव पनि देशान मसान नै हो मान्नेलाई पिर्छ नमान्नेको रौ पनि हल्लाउन्न् ।
विराटनगर १

प्रकाशन मितिः २०७३ वैशाख ३० गते बिहीबार
सुर्यचन्द्रलाई फेसबुकमा यहाँ थिच्नुहोस्



SHARE THIS

Author:

Facebook Comment