“थर वा जात लेख्न बन्द गरौं”

-रोशन पौडेल (हरपल)
नेपालमा यो जात, त्यो जात, ठुलो, सानो, छुत, अछुत, पहाडी, मधेसी, यो राज्य, त्यो राज्य भनेर कित्ता कित्तामा छुट्टिने, एक सम्प्रदायको बिरुद्ध अर्को समूह वा सम्प्रदाय लाग्ने, भिड्ने, गुटबन्दी गर्ने जस्ता असान्दर्भिक बिषय चरम उत्कर्षमा पुगि विवाद नै विवादको तनावपुर्ण स्थिति रहेको छ । वर्षौंदेखि शोषण, दमन तथा अमानवीय व्यवहार हुनुको साथै अहिलेको विकराल स्थिति आउनुको मुख्य कारण नै थर वा जात लेखेर हो । त्यसैले तुरुन्त राज्य स्तरबाटै थर वा जातको फुर्को लेख्न बन्द गरि समतामूलक समाजको निर्माण गर्नु पर्छ ।

पहाडी दलित होस् वा मधेसी दलित वर्षौदेखि दलित भएकै कारण दमन, शोषण तथा हेपाहा प्रवृत्ति कहालीलाग्दो तथा अमानवीय छ । हड्डी घोटी, घोटी दुई छाक खान सबैले दु:ख गर्न परेकै छ । कसैले फुटेको कौडी दिने होइन तैपनि दलित भएकै कारण हेपिएर, चेपिएर, थर लुकाएर, लोप भएर बाँच्न बाध्य छन् । समाज खोतल्दै जानुस् त हजारौ उदाहरण पाउनुहुन्छ । हुन त म पौडेल थरको क्षेत्री हुँ । समाजकै कुरिती अनुसार ठूलो जात भनेर पगरी गुथाइदिएको हुनाले मैले भोगिन । तैपनि यो विभेद देख्दा मन अमिलो भएर दुख्छ । बाउ बाजेदेखी चलेको परम्परा कसैले चाहेर पनि थर वा जात हटाउन वा फेर्न सक्दैनन् । बाध्यकारी कानुन तथा चलनमा चेपिएर हीनताबोध भएर, मन खिन्न पारेर पनि थर वा जात लेख्न बाध्य छन् । लुकिछिपी पेशा अंगाल्न बाध्य छन् । कतिपयले थर लुकाएर बाँच्न विवश छन् । त्यसैले सबैलाई समान व्यबहार तथा न्याय दिनको लागि यो थर वा जात लेख्न बन्द गर्नुपर्छ ।

सरकारी जागिर, राजनीतिक नियुक्ती, नेता, कलाकार तथा सेलिब्रेटीको हरेक अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल, मिडिया तथा चिया चौतारी जहाँसुकै आफ्नो थर वा जाती अनुकुल चर्को बहस, भद्दा कमेन्ट, पिटौला, मारौला जस्तो गरि उफ्रीने, उग्र विवाद नै विवादले समाज दिनप्रतिदिन विभाजित भइरहेको छ । कसैलाई सम्बन्धित ब्यक्तिको योग्यता, क्षमता, योजना, रणनीति केही थाहा छैन । अधिकांश बुझ्न नै चाहदैनन् तर कुन थर वा जातले के भन्यो, के गर्यो, के बोल्यो, के लेख्यो पुरै नपढी, नसुनी नहेरी आफ्नो जातिअनुकुल चर्को कमेन्ट गर्ने गरेका छन् । सबैले आफ्नो नियतिलाई बिचार गरौं त । त्यसैले राम्रो मान्छेलाई सबैले समर्थन गर्न तथा गुटबन्दी हटाउनको लागि पनि थर वा जात लेख्न बन्द गर्नुपर्छ ।

नेपाली समाजमा महिलाको शिक्षाको स्तर बढ्दो छ । पुरुषवादी समाज हट्दैछ । जन्मने बच्चामा आमा बुवा दुबैको हक अधिकार बराबर भएकाले बाबुको जस्तै आमाको थर पनि लेख्ने चलन बिकास हुदैछ । डाक्टर बाबुराम भट्टराई लगायत कतिपयले बुवाआमा दुबैको थर आफ्नो सन्तानमा लेखेको पाइन्छ । तेस्तैगरी भोलिका दिनमा तिनिहरुले पनि आफ्नो सन्तानलाई आमा, बुवा दुबैको थर लेख्न थाले भने त थर नै कति लामो हुने भयो । अर्को कुरा जन्मिएका बच्चालाई थर बुवाको दिनेकी आमाको भनेर घर घरमा ठूलो विवाद नआउला भन्न सकिन्न । त्यसैले थर वा जात नै लेख्न बन्द गर्न पर्छ टन्टै साफ ।

बहुजाती, बहुभाषी, बहुसंस्कृति भएको हाम्रो समाजमा अन्तरजातीय विवाह तथा प्रेम गर्ने जोडिहरुको संख्याया बढ्दो छ तर थर वा जातको कारण समाजको हेर्ने दृष्टिकोण नकारात्मक भएकाले कयौ मन मिलेका जोडिहरु छुट्टिन परेको छ, समाजबाट टाढिएर एक्लिन परेको छ, कयौं ठाउँमा हत्या, हिंसा, आत्महत्या, झैझगडा बढेको छ । कयौं युवापिढिले जीवन नै बर्बाद गरेका छन् । विभिन्न विकृती, घटना, दुर्घटना बढेर समाज नै विकरालको स्थिति रहेको छ । त्यसैले मन मिलेका जोडीहरुलाई स्वतन्त्र रुपमा जिउन र प्रेममय बाताबरण बनाउन पनि थर वा जात लेख्न बन्द गर्नुपर्छ । समस्याको जड नै यहि थर वा जात हो ।

देशमा मात्र नभएर विदेशमा पनि पहिचानको नाममा कयौ जातिहरु संगठित हुने, अलग्गै समूह बनाउने, गैरजातिलाई हेप्ने, तिरस्कार गर्ने कति ठाउँमा त लडाई झगडा नि भएको छ । देशमै एउटा जाती राज्य दिने र अर्को जाती नदिने नाममा कयौ मरिसके अझै कति मर्छन् थाहा छैन । सार्वजनिक ठाउँमा हिड्दा नि मान्छेदेखि मान्छे डराउने पर्ने स्थिति रहेको छ । आफ्नो थर वा जात समूह भन्दा अलग्गै भएकै स्थितिमा बाच्नै नपाउने हो कि भन्ने डर तथा चिन्ता सबैमा रहेको छ । त्यसैले यो थर जात हटाउनु पर्छ । सबैलाई समान गर्नुपर्छ ।

बास्तबमा थर वा जात नलेख्दैमा आकाश झर्दैन, धर्ती फाट्दैन । सबैलाई समान, स्वतन्त्र रुपम्म बाँच्न दिनको लागि यो थर वा जातको फुर्को लेख्न बन्द गर्नुपर्छ । यहि थर वा जातको कारण आफ्नोले आफ्नैलाई मारेका छन्, समाज विभाजित भएको छ, देश नै ध्वस्त भएको छ, विश्व आतंकित हुँदै गईरहेको छ । मानिसहरु मरेतुल्य भएर बाँच्न बाध्य छन् । त्यसैले यो थर वा जात लेख्न बन्द गरौ । सबैले मनै देखि सोचौ त, थर वा जात नलेख्दैमा कयौं फाइदा पाउनुहेछ ।

थर वा जातकै कारण गैरजातीमा मात्र नभई आफ्नै जातिभित्र पनि ठूलो खाडल तथा विभेद छ । बाहुनबाट बाहुन नै पीडित छन् । दलितमै छुत, अछुत, ठूलो, सानो भनि एक दलितले अर्को दलितलाई हेप्ने प्रवृत्ति छ । मधेसी समुदाय बिच त ठुलो–सानोको नाममा कहालीलाग्दो विभेद छ । जनजातिहरु आफ्नै जातिबाट पिल्सिएका छन् । त्यसैले यी सबै प्रकारको विभेद हटाउन वा जातिय अहंकार अनिवार्य जबर्जस्ती त्याग गराउनकै लागि थर वा जात लेख्न बन्द गर्नु पर्छ । नेपालमा केबल एउटै जाती हुनुपर्छ त्यो हो नेपाली जाती ।
देशका गरिब, अल्पसंख्यक, सीमान्तकृत लोपोन्मुख समुहलाई राज्यले उचित संरक्षण तथा आरक्षण दिनैपर्छ । न्यायपूर्ण समाजको स्थापना गर्नको लागि तपाईं, हामी, राज्य सबैको कर्तव्य हो । त्यसैले थर वा जात लेख्न बन्द गरि सबै प्रकारको विभेद अन्त्य गर्नु पर्छ ।

        (हाल दक्षिण कोरिया)

प्रकाशन मितिः २०७३ जेठ २० गते विहीबार

SHARE THIS

Author:

Facebook Comment