नागरिक संवेदनामाथि राजनैतिक सहवास

–भिम खनाल
केही दिन अगाडि सिंहदरबारले धुमधामसँग भुकम्प वर्ष मनायो । राष्ट्र प्रमुख विद्यादेवी भण्डारी एक हुल जत्थाको लावालस्कर लगाएर गोरखा स्थित बारपाक पुगिन र भुकम्प स्मारकको शिलान्यास गरिन् । यसपालीको जाडो हिउँको सिरानी र बरफ ओढेर कठ्यांग्रिंदै कटाउन बाध्य ती पीडित बारपाकेहरुलाई स्मारक आवश्यकता थियो या एउटा सानो ओत लाग्ने झुप्रो ?

तातो पनियुले डामेको भोको पेटमा एक मुठि अन्न आवश्यकता थियो या फगत फाल्तु आदर्श ? यी सब राजा–राणाजीहरुले बनाएको महलमा चयनको जिन्दगी कटाइरहेकी उनलाई हेक्का हुने कुरै भएन । जो वास्तविक पीडा भोग्नेलाई थाहा हुन्छ । तर आजकल यस्तो लाग्छ सरकार भुकम्प पीडित नागरिकहरुको संयमतामाथि निरन्तर सहवास गरिरहेको छ ।

पीडितका आँसु र संवेदनाहरूको बिक्री गरिरहेको छ । अफसोच ¤ राष्ट्रप्रमुखले भूकम्प स्मारक शिलन्यास गर्दै गर्दा हास्य कलाकारको एक जोडी भने मानवियता स्विकार्दै सिन्धुपालचोक स्थित मेलम्ची गाविसमा एकीकृत नमुना वस्तिको आफै शिलन्यास गर्नमा व्यस्त थिए यस्तो लाग्छ ती कलाकारका जोडीले कलाकारिताको बिल्ला आजकाल देशका प्रधानमन्त्रीलाई भिराईदिएका छन, अनि नागरिकका तमाम समस्या, चाहाना र भावना हावामा उडाउँदै फिस्स हाँसिदिन्छन अनि आफैले आफैलाई जबरजस्ती उच्च राष्ट्रवादीको बिल्ला भिराउन लालायित छन् ।

हुन त जसरी भुकम्प पीडितलाई बाँस–गाँसको चिन्ता छ सोही मुताविक राजनीति गर्नेहरुलाई आगामी चुनावको चिन्ता हुँदो हो विभिन्न राष्ट्रहरुले भुकम्प पीडितका लागि दिएको अनुदान रकम भुकम्प पीडितकै लागि हुन पर्छ भन्ने हेक्का राजनिति गर्नेहरूलाई हुन्थ्यौं भने आज भू–कम्प पछिको नव–निर्माणले सार्थकता पाउथ्यो । असलमा पश्चिम कैलालीबाट चुनाब लड्ने नेतालाई पनि उहीँ अनुदान हुत्याउनु छ र पूर्व झापाबाट लड्नेलाई पनि उहीँ अनुदान रकम प्रति गिद्धे दृष्टि छ । वास्तवमा कैलाली या झापा विनाशकारी भूकम्पबाट ग्रस्त भएका जिल्ला हैनन् यद्यपि अन्य यावत समस्याहरु छन् । आफ्ना नागरिकको ज्यु ज्यानको सुरक्षा गर्नुपर्ने जिम्मा सरकारको हुन आउछ, विनाशकारी भुकम्प गएको एक वर्ष बितिसक्दा समेत पुननिर्माण ठप्प पारी सिंहदरबार फगत फाल्तु आदर्श छाटिरहेको छ । यस्तो लाग्छ सिहंदरबार आफ्ना नागरिक को हताहति चाहान्छ हैन भने विनाशकारी भुकम्पकै कारण विभिन्न रोगको संक्रमणबाट अब आईन्दा कुनै पनि नागरिकले ज्यान गुमाउछ भने त्यसलाई मृत्यु मान्न सकिन्न त्यो हराईरहेको मानवियता भित्रको एक बर्बर अपराधिक हत्या हो ।

यतिबेला मुलुक ठूलै आँधिको सामना गरिरहेको छ मधेसका जिल्लाहरु अधिकार प्राप्तिको नाममा आगो ओकलिरहेका छन् । राष्ट्रिय स्वाधिनता र सार्वभौमिकतालाई निरन्तर बिथोल्ने प्रयासहरु भईरहेका छन् । अफसोच ¤ मुलुकको संवेदनशील पदमा रहेकाहरूबाटै रास्ट्रिय हित र पदिय मर्यादा विपरित देश सिक्कीमीकरणको बाटोमा छ या देश बिखण्डन हुन्छ जस्ता गैर जिम्मेवारपूर्ण अभिव्यक्ति आउनुलाई हामी सामान्य कुनै अग्लो पहाडतिरका काला कुल्लि जस्ता लाग्ने नागरिक ले के बुझ्ने ? वौद्धिकताको खोल ओढेकाहरु विभिन्न जात र वर्गका नागरिकहरुलाई भ्रम छर्दै अधिकारको नाममा राज्य द्रोह गर्न लगाउँछन मधेस मात्र हैन देशका हरेक कुनामा असन्तुष्टि र बिद्रोहका आवाज बुलन्द हुने क्रममा छन् ।


सडकमा खाली खुट्टा आफ्नो दरिद्रिपनको नाङ्गो प्रदर्शन गरिरहेका राजनितिज्ञहरुको आर्थिक परिवर्तनकै लागि जनआन्दोलन थिएन । मुलुकको अग्रगामी परिवर्तनको लागि ज्यू जीवनको प्रवाह नगरी उत्साहजनक नागरिकहरु सडकमा उत्रिएका थिए आज राज्यका उहीँ नागरिकहरुबाट पुरानै व्यवस्था ठिक भन्ने अवस्था कसको कारणले सिर्जित भयो ? यी यावत यथार्थता सामुन्ने पर्खाल बनेर खडा हुँदा हुँदै पनि आफ्ना नागरिकहरुको न्यायोचित माग प्रति सरकार कहि कतै संवेदनशील देखिंदैन । यो मुलुकमा १० जना बेरोजगारी लफङ्गाहरु सडकै अबरुद्ध गरि अलग राज्य माग्ने हैसियत राख्छन र पाउने आश्वासन पनि सजिलै दिन्छन् हाम्रा कलियुगका श्री आठहरु । यद्यपि तेस्रो मुलुकले भुकम्प पीडितका लागि दिएको अनुदान घाँटी सुक्ने गरि चिच्याउदा समेत सुन्दैनन मानौ सिंहदरबार धतुरोको नशामा चिर सुतेको छ ।

यो मुलुकमा राजनिति गर्नेहरूका आ–आफ्नै खल्तीमा पत्रकार छन, लेखक छन बुद्धिजीवी छन् जसले समाज भित्र घट्ने यथार्थ घटनाहरु दबाएर आ–आफ्नो सिद्धान्त र हित अनुकुल रोटि सेक्ने ठेक्का लियका छन तिनिहरुको वौद्धिक अपाङ्गताले समाजमा सिर्फ अन्यौल र भ्रमको खेती गरेको छ राज्यको हित अनुकुलको नीति बनाउने जिम्मा राजनिति गर्नेहरुको हो । बालुवा धानि पहाड तिर आखामा निद बोकेर रातभर डण्डा हल्लाउनेहरुको होइन । आफ्ना नागरिकहरुलाई बिकासको मुल प्रवाहमा लगाउनु सरकारको दायित्व हुन आउछ पढेलेखेकाहरुलाई कहाँ छ रोजगारी ? जनवादी क्रान्ति र गणतन्त्रको नाममा मुलुकबाट लखेटिएका आफ्ना नागरिकहरु कुन कुनामा कति छन भन्ने समेत यथार्थ तथ्य छैन त्यो मुलुकमा ।

जननेता मदन, राजा वीरेन्द्र, पण्डित नारायण पोख्रेल र अमर लामाहरुलाई यसै गोलि ठोकिएको हैन यस्तो लाग्छ । मेरो मुलुक विश्व भरका कुख्यात अपराधि चाल्स शोभराजहरुको आरामदायी थलो हो । रवीन्द्र मिश्रले कहि कतै लेखेका थिए “मुलुकमा राजनिति गर्नेहरुलाई सिर्फ प्रतिद्वन्द्वीलाई कसरी पछार्ने, थेचार्ने सत्तमा जाने र कसरी सत्तामा टाँसिरहने भन्ने मात्र मतलब छ ।” हुन पनि सत्तामा पुग्नासाथ मङ्गल ग्रहमा पाईतला राखेजस्तै जस्तै उफ्रिन्छन यी राजनिति गर्नेहरु मानवियता या संवेदना जस्ता कुराहरुको अलिकत पनि हेक्का राख्दैनन् ।

भुकम्पपछिको पुनर्निर्माण र राष्ट्रिय महत्वका मुद्दाहरुलाई तिनीहरुका स्वार्थी, व्यक्तिगत सपनाले पुरिदिएका छन् । तिनीहरु समाज परिवर्तन र दिगो विकासलाई महत्त्व दिंदैनन् र मुलुकको अग्रगामी परिवर्तनको लागि राजनिति गरेका हैनन् तिनीहरु । सिर्फ राजनितिसँग सम्बन्ध राख्ने सत्ता र शक्तिले राजनितिमा टाँसियर बसेका छन् र बसिरहने छन् । घाटमा चित्ता नजलुन्जेल मानौ यी राजनिति गर्नेहरु मानवीय संवेदनाहिन परजीवी हुन् यिनिहरुलाई सिर्फ नागरिकको संयमता र धैर्यता प्रति बर्बर बलात्कार गर्न आउँछ मानवीय मूल्य बोकेर देश दुनियाँ बदल्ने कसम खाएकाहरू सिर्फ आ–आफ्नो हित अनुकुल रोटी सेकेका छन् मान्छेले मङ्गल ग्रहमा बस्ति बसाउने हैसियत राख्दा हामी सिर्फ कपुलित स्वार्थ सिद्धान्त र वादको राजनितिले मच्चाएको आतङ्कमा किरा फट्याङ्ग्रा सरह पिसिएका छौं, मानौ संसारभरका जुठेल्ना चम्काउने जिम्मा हाम्रा पुस्ताले हामीलाई सुम्पेका छन् । बालुवाधानी पहाडहरु हाम्रो जीवनको सापटी मागिरहेका छन् । यस्तै छ यहाँ बोल्नेको जिब्रो काटिन्छ, नबोल्नेलाई आजिबन दासी बनाइन्छ अनि लोकतन्त्रमा बडो राष्ट्रवादका आदर्श छाटिन्छ ।

(प्रकाशन मितिः २०७३ वैशाख १६ गते बिहीवार)

SHARE THIS

Author:

Facebook Comment